Thursday, 11 January 2018

कान्छो ब्राएन वोङ

‘मैले पाइरेटेट फोटोसप प्रयोग गरेँ, १२ वर्ष उमेरकाले यस्तै त गर्ने हो नि ? ८ सय अमेरिकी डलर खर्चेर सफ्टवेयर खरिद गर्ने हैसियत त्यो उमेरमा कोसँग पो हुन्छ ?’ 



काठमाडौँ — छब्बीस वर्षीय ब्राएन वोङ एकजना क्यानाडेली इन्टरनेट उद्यमी हुन् । विश्वकै कान्छो सफल उद्यमीहरूमध्ये उनी पनि एक हुन् । बुबा एकाउन्टेन्ट र आमा नर्सका जागिरे थिए । तर, छोरा आफ्नो व्यापारमा सफल भए, त्यो पनि कलिलै उमेरमा चर्चित र धनाढय उद्यमीका रूपमा ।
उनी भ्यानकोभरमा जन्मे अनि त्यहीँ हुर्के । बाल्यकालमै अति चलाख र मेधावी थिए । जिज्ञासु पनि उत्तिकै थिए । डिजाइन र प्रविधि क्षेत्र दुवैमा उनको लगाव र झुकाव प्रशस्तै थियो । त्यसैले त सानै उमेरमा फोटोसपको प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकेका थिए । अझ त्यही उमेरमा आफ्ना साथीहरूका व्यापारी अभिभावकका लागि वेब पेजसमेत डिजाइन गर्न भ्याइसकेका थिए । वोङले पाइरेटेड फोटोसप चलाएर डिजाइन सिकेका थिए । उनले एक साक्षात्कारमा भनेका छन्, ‘मैले पाइरेटेट फोटोसप प्रयोग गरें, १२ वर्ष उमेरकाले यस्तै त गर्ने हो नि ? ८ सय अमेरिकी डलर खर्चेर सफ्टवेयर खरिद गर्ने हैसियत त्यो उमेरमा कोसँग पो हुन्छ ?’
प्राथमिक तहमा शिक्षकहरूले पटक–पटक उनलाई कक्षा चढाउनुपरेको थियो । अर्थात प्राथमिक विद्यालयको ४ कक्षासम्मको शिक्षा लिएनन्, उनले लिनु परेन । त्यही कारणले १४ वर्षकै उमेरमा हाई स्कुल डिप्लोमाको डिग्री उनले हासिल गरे । वोङले युनिभर्सिटी आफ ब्रिटिस कोलम्बियाबाट १८ वर्षको उमेरमा स्नातकको उपाधि प्राप्त गरेका हुन् । उनी विश्वविद्यालयमा छँदै पहिलो कम्पनी ‘फ्लो फर्मेसन’ सञ्चालनमा ल्याएका थिए । राम्रा टीटरहरूलाई पछाउन सजिलो होस् भन्ने उद्देश्यका साथ उनले कम्पनी खोलेका थिए । पछिल्लो समय उनी ‘किप’ कम्पनीका सह–संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
‘किप’ कम्पनी खोल्नुअघि उनले ‘डिग’ को व्यापार विकासका लागि काम गरेका थिए । उनकै कार्यकालमा डिग एन्ड्रोइड मोबाइल एप्प सार्वजनिक भएको थियो । तर, छ महिनामै उनले उक्त कम्पनीको जागिर छाडे । केही महिनाजति उनी आफ्नो अनुभव र सीपलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने योजना बनाउनमै बिताए । त्यसपछि ‘किप’ खोलेका हुन् । उनले ‘डिग’ मा नोकरी छोड्नुको कारण पनि रोचक छ । उक्त कम्पनीमा कर्मचारीको संख्या १ सय १५ थियो । क्रमिक रूपमा उनी कम्पनीका १ सय १५ औं कर्मचारी थिए । फोब्र्सले उनको भनाइलाई उद्धृत गर्दै लेखेको छ, ‘सन् २००९ मा डिग धेरै ठूलो कम्पनी थियो, म कम्पनीमा जोडिएपछि यसको प्रगति झनै भयो, कम्पनीमा १ सय १५ कर्मचारी थिए, सबैभन्दा अन्तिम सदस्य म नै थिएँ, अर्थात् कर्मचारी नं. ११५ ।’ उनको यो भनाइले कर्मचारीले काम गरेको आधारमा मूल्यांकन गर्नुपर्ने भन्ने बुझ्न सकिन्छ । तर, जे भयो, उनका लागि राम्रै भयो । कम्पनी नछाडेको भए, उनी आफैंले खोलेको सफल कम्पनीको मालिक बन्ने थिएनन् ।
१० घण्टाको एउटा विमानयात्राका क्रममा यात्रुहरू ‘आइप्याड्स’ मा झुन्डिएको देखेर वोङलाई ‘किप×’ कम्पनी खोल्न उत्प्रेरित गरेको हो । धेरै विमान यात्रुहरू खेलमा व्यस्त थिए, त्यही बीच बिनामूल्यको विज्ञापन आउने गरेको उनले देखेका थिए । प्रत्येक यात्रुहरूको इन्ट्रेस्टलाई उनले नजिकैबाट नोट गर्दै यसलाई रकम कमाउने माध्यम बनाउन सकिने निष्कर्षमा उनी पुगेका हुन् । इन्टरनेट मोबाइल विज्ञापन उनको कम्पनीको दरिलो आम्दानीको स्रोत बन्यो । उनको त्यही ‘किप’ कम्पनीले सनफ्रान्सिस्कोमा मुख्यालय खडा गरी न्युयोर्क, लसएन्जेलस, सिकागो, टोकियो र लन्डनमा समेत कार्यालय सञ्चालन गर्दै आएको छ । कम्पनीले हालसम्म ४० भन्दा बढी प्रमुख ब्रान्डसँग रणनीतिक साझेदारी स्थापित गरिसकेको छ । तीमध्येका ‘१–८००–फलोवर्स, अमेजन डट कम, अमेरिकन एपारेल, वेस्ट बाई, काल्र्स जुनियर, डिस्ने, डा, पिपर, जीएनसी, केवाई जेली, पेप्सी, प्लेबोय,पपचिप्स, सेफोरा, भिक्टोरियाज सेक्रेट, भिटामिन वाटरलगायतका केही हुन् । मोबाइल विज्ञापनमा आधारित कम्पनीको म्याकडोनाल्ड्स र कोका– कोलासँग पनि साझेदारी छ । व्यापारमा आफ्नो प्रभाव कसरी बढाउन सकिन्छ भन्ने कुरा वोङलाई थाहा भएरै पनि विश्वका ठूलठूला कम्पनीसँग साझेदारी गर्न उनी सफल भएका हुन् ।
केही सञ्चार माध्यमहरूले ‘व्यापारको दुनियामा ब्राएन वोङ एकजना महानायक हुन्’ भनेर लेखेका छन् । हुन पनि हो, यिनी २० वर्षको छँदै आफ्नै व्यापारबाट करोडपति बनिसकेका थिए । ‘सीएनबीसी’ अनलाइनका अनुसार सन् २०१७ मा वोङको कम्पनीले २ करोड अमेरिकी डलर राजस्व उठाउन सफल भएको थियो ।
पहिलोपटक उनले १६ वर्ष उमेरमा वेब डिजाइन कम्पनी खोलेका थिए । मोबाइल विज्ञापन सञ्जाल सञ्चालन गर्ने उनको कम्पनी सुरुकै वर्ष ५५ जति विभिन्न उपकरण तथा नौ सय जति एप्सबाट १५ मिलियन अमेरिकी डलर सम्पत्ति बनाउन सफल भएको थियो । वोङ भन्छन्, ‘१६ वर्षको उमेर भइसक्दा पनि तपाईले पहिलो व्यापार सुरु गर्नुभएको छैन या २० वर्षको उमेरमा आफैंले सञ्चालन गरेको व्यापारबाट १० लाख अमेरिकी डलर कमाइ गर्नुभएको छैन भने जीवन गाह्रो छ । मैले त यी कुरा गरे, अहिले सफल पनि भएको छु । तपाईले आफूलाई एउटा ‘सुपरपावर’ का रूपमा ठान्नुस्, जीवनको हरेक क्षेत्रमा सफल पक्कै बन्नुहुनेछ ।’
कम्पनी खोलेकै वर्ष उनी सर्वाधिक कान्छो कम्पनी नेतृत्वकर्ताको उपाधि पाइसकेका थिए । उनी २० वर्षकै उमेरमा आफ्नै व्यापारबाट करोडपति बने । उनले ‘डीईडीएक्स’ र ‘एसएक्सएसडब्लू’ सहित विभिन्न लोकप्रिय कन्फेरेन्समा आफ्नो भाषण दिइसकेका छन् ।
यति मात्रै हैन, वोङ र किप दुवैका बारे विश्वका चर्चित प्रकाशनहरू ‘फोब्र्स, इन्टरप्रेनिर, दि वाल स्ट्रिट जर्नल, दि न्युयोर्क टाइम्सलगायतमा प्रोफाइल नै छापिसकिएको छ । सन् २०१४ को सेप्टेम्बर अंकमा ‘इन्टरप्रेनियर’ को कभरमा बदलिँदो विश्वका लागि उदाउँदो एक युवा करोडपति भन्दै समाचार नै बनाइएको थियो । सन् २०११ मा फोब्र्सले ‘थर्टी अन्डर थर्टी’ को सोसल/मोबाइल सूुचीमा वोङको नामसमेत समावेश गरेको थियो । वोङले आफ्नो सफलताको रहस्यबारे ‘द चिट कोड’ पुस्तक लेखेका छन् ।
एउटा पुरानै भनाइ छ, ‘उपभोक्ताहरूको भावना चाहे त्यो खुसीदेखि आत्मसन्तुष्टिसम्म या संवेदनात्मकतादेखि विशुद्ध रमाइलोसम्म नै किन न होस्, त्यसलाई पक्रिन सक्ने नै व्यापार र बजारमा छलाङ मार्न सफल हुन्छ ।’
कान्छो ब्राएन वोङले यो भनाइलाई पछयाए, आज सफल भए । मात्र सात वर्ष भयो उनले खोलेको कम्पनीको । तर, कम समयमै उनको कम्पनीले प्राप्त गरेको सफलता धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । कम्पनीले आफ्नो सफ्टवेयर प्रणालीबाट खेलाडीदेखि खेल पेयपदार्थको उत्पादक र बैंकसम्म आफ्नो पहुँच कायम गर्न 
 सफलभएको छ । (Published on KantipurDaily dated 22th paush 2017)
https://www.kantipurdaily.com/author/author-9043
https://www.kantipurdaily.com/business/2018/01/06/20180106080142.html?author=1

No comments:

Post a Comment