Thursday, 11 January 2018

महन्थ ठाकुर जातिवादी नेता हुन :क्रान्तिकारी मधेसी बृद्धिजीवि


केही ढिलोगरि मैले दुईटा अपिलहरु यो साता फेला पारेको छु । दुईटै अघिल्लो चुनावसंग सम्बन्धित छन् । चुनाव सकिएको डेढ महिना भइसक्दा पनि अपिलमा कोट्याइएका विषयवस्तुहरुको सान्दर्भिकता अझै रहेकै महशुश गर्न सकिन्छ । यसो त, एउटा अपिलमा ‘मधेसी दललाई मतदान किन गर्ने?’ भन्ने विषयवस्तु केन्द्रित छ भने अर्को राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरमाथि मात्र लक्षित रहेको छ । पहिलो अपिलको चर्चा अर्को कुनै समयमा गरौंला । यहाँ भने ‘क्रान्तिकारी मधेसी–बृद्धिजीवि तथा पेशाकर्मी समाज जनकपुर (५ मंसिर २०७४)’ नाममा प्रकाशित अपिलको चर्चा गर्दैछुु । अपिलको शिर्षक छ ‘महन्थ ठाकुरहरुलाई मतदान किन गर्ने ?’ के रै’छ अपिलमा भनेर पढेँ । नेता ठाकुरलाई पराजित गराउने मनसायले यो अपिल आएको पुष्टि हुन्छ । तर, उहाँ महोत्तरीबाट जितिसक्नु भएको छ । यद्यपि उहाँमाथि लगाईको संगिन आरोपहरुको जबाफ राजपा पार्टी या स्वयंम माननिय महन्थ ठाकुरले दिनु पर्छ जस्तो मलाई लागेको छ । माननिय ठाकुरमाथि ब्राह्मणवाद, जातिवाद, सम्धीबाद, आफन्तवाद....जस्ता आरोप पनि लगाइएको छ । अपिलमा लेखिएको छ, ‘ठाकुरका अतितलाई सुक्ष्म विश्लेषण गर्दा यिनी घोर जातिवादी, ब्राह्मणवादी, आफन्तवादी र कुटुम्बबादी नेता भएको सजिलै पुष्टि हुन्छ । हाल यिनी आफूलाई मधेसवादी नेताका रुपमा परिचय स्थापना गर्दै पुरानै सांगुरो सोच दोहराई रहेका छन् । यिन सिंगो मधेसीका लागि हालसम्भ केही गरेका छैनन । पटक–पटक मन्त्री हुँदा आफनै जात, नातागोतालाई चिनेका छन् ।’ अपिलमा माननिय ठाकुरमाथि चुनावअघि लगाईका आरोपहरु यसप्रकार छन :-   

  • ५० वर्षको राजनीतिक करियरमा पटक–पटक मन्त्री भईसकेका महन्थ ठाकुर घोर जातिबादी नेता भएकै कारण ब्राह्मण अर्थात मैथिल–ब्राहमणहरुको मात्रै पुष्ठपोषण गर्दै आएका छन् । आफू सत्तामा छँदा सर्लाही जिल्लामा दुई–चार जना पनि गैर–मैथिल ब्राह्मणलाई  सरकारी सेवामा ल्याएनन् । तर, सर्लाहीदेखि महोत्तरीसम्मका कुनै पनि मैथिल ब्राह्मणलाई हरेक क्षेत्रमा यिनले सहयोग गरेको यथेष्ठ प्रमाण र आधारहरु छन् । 
  • भारतजस्तो महान देशबाट भाईचाराको नाताले नेपाललाई प्राप्त हुने थुप्रै छात्रवृत्तिमा यिनले आफन्तजन, आसेपासे, मैथिल ब्राह्मणका सन्तानबाहेक कसैलाई आजसम्म पठाएको उदाहरण भेटिन्न । यिनी आफू मधेसको नेता भन्दै उक्त छात्रवृत्तिको संंधै दुरुपयोग गर्दै आएका छन् । केही समयअघि आफ्नै छोरीलाई भारतको बिएचयुबाट छात्रवृत्ति मै एमडी गराउन यिनी सफल भएका छन् । 
  • नेपाली कांग्रेस छाँडे पनि उक्त पार्टीमा रहँदा अंगालेका आचरण र व्यवहारहरु अझैै यिनले त्यागेका छैनन् । त्यसैले कांग्रेस पार्टी त्याग्दैमा यिनी त्यागी नेता कसरी भए ? यिनी सन्त नेता पनि हैन, सन्तले त ‘सर्वे भवन्तु सुखिनः’ र ‘बसुदैवकुटुम्भकम’ को सिद्धान्त अंगिकार गरेका हुन्छन, यिनी भने आफ्नो जातिभित्रै सीमित केही व्यक्तिमा रमाउने गर्छन् ।  
  • विगतमा मधेसको मुद्दामा सरकारसंग वार्ता भईरहँदा यिनी भने नातागोतालाई लाभको पदमा नियुक्त गर्ने गरेका थिए । त्यसका लागि राज्यसंग आफ्नो मान्छेलाई कुनै पनि सरकारी पदमा राखिदिनका लागि हारगुहार लगाउने गर्थे । व्यक्तिको सूचीसहित सरकार प्रमुख समक्ष प्रस्तुत हुन्थे । उदाहारणका लागि प्रधानन्यायाधिश खिलराज रेग्मी सरकारको पाला विभिन्न राजनीतिक शक्तिहरुसंग हार–गुहार गरी आफ्ना सम्धी उमाकान्त झालाई यिनले मन्त्री बनाएका थिए । त्यस्तै, सरकारसंग मधेसी दलको वार्ता भईरहँदा यिनी मधेसको हित भन्दा पनि व्यक्तिगत हितमा केन्द्रित रहने गरेको थुप्रै उदाहरण छन् । त्यस क्रममा भएका विभिन्न नियुक्तिहरुले पनि त्यसको पुष्टि गरेकै छ । 
  • महोत्तरीका नागरिक समाजले भ्रष्ट र गलत आचरण भएका ताराकान्त झालाई जुत्ताको माला लगाएका थिए । तर मैथिली ब्राह्मण भएकै कारण बदनियत तरिकाले यिनले महोत्तरीको मटिहानी कलेजमा कार्यरत झालाई आफ्नै सिफारिसमा संस्कृत विश्वविद्यालयमा नियुक्ति गराए । 
  • यिनको सिफारिसमा सरकारी निकायमा नियुक्ति पाएका अधिकांश पात्रहरु मैथिल ब्राहमण मात्र छन्, तिनमा पनि घोर ब्राह्मणवादी सोच भएकाहरु मात्रै छन् । जुन बेला तोकको आधारमा मन्त्रीले नोकरी लगाउन सक्थे, त्यसताका पनि यिनले आफ्नै जातिलाई मात्र प्रशय र प्राथमिकतामा राखे । हाल मधेस आन्दोलनपछि पनि यिनी आफ्नै जातिविशेष र आसेपासेलाई प्राथमिकतामा राखेका छन् । अहिले पनि यिनको आचरण उस्तै छ । पछिल्लो समय भइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा पनि आफ्नै जातिका मान्छेलाई पहिलो प्राथमिकतामा राखेका छन् । पार्टीको उम्मेदारहरुको सूची हेर्दा यसको पुष्टि सजिलै हुनेछ । अझै कुनैपनि राजनीतिक योगदान नरहेको आफ्नी सम्धिनी इन्दिरा झालाई समानुपातिक सूचीमा राखेर आफन्त मोह र जातिप्रतिको आशक्ततालाई सजिलै यिनले आफै पुष्टि गरिदिएका छन् । 
  • विभिन्न राजनीतिक नियुक्तिमा आफ्नै पार्टीभित्रै पनि आफ्नै जाति खोज्ने नेता हुन, यिनी । यही व्यवहारकै कारण आफ्नै विश्वासपात्रहरु जंगीलाल राय, अनिता यादवलगायतका प्रभावशाली नेताहरुले यिनलाई परित्याग गरे । विगतमा महेन्द्रराय यादव, रामचन्द्र रायलगायतले तत्कालिन पार्टीमा विद्रोह गरे भने पछिल्लो समय ह्रदयेश त्रिपाठी, ब्रजेश गुप्ता, ईश्वरदयाल मिश्र,सर्वेन्द्रनाथ शुक्ललगायतले बगाबट गर्नुको प्रमुख कारण यिनको संकिर्ण मानसिकता र आसेपासेको घेरा तोड्न नसक्नु नै हो ।  
  • यिनको संकिर्ण र जातिगत राजनीतिले गर्दा तराई–मधेसमा सामाजिक अन्तर्विरोध बढेको छ । 
  • पहिलो र दोस्रो मधेस आन्दोलनपछि बनेको सरकारमा यिनको नेतृत्वमा रहेको पार्टी पहिलो पटक सत्तामा आउँदा उच्चमावि शिक्षा परिषदको प्रमुखमा हेमचन्द्र मिश्रलाई नियुक्त गरेको थियो । त्यसैगरि ईश्वर चन्द्र दत्त(फोरवार्ड क्लास) लाई वृषेश लालमार्फत एमालेबाट रातारात तत्कालिन तमलोपा बनाई त्रिभूवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्ति यिनले गरेका थिए । दत्तको नियुक्तिपछि यिनले पुरै जातिय आधारमा नियुक्ति र बढुवा प्रक्रिया संचालनमा ल्याएका थिए । यसको कारण पहूँच नभएका मधेसीहरु पीडित बने । सत्य निरुपण आयोगमा मञ्चला झालाई ल्याउनुको प्रमुख कारण जातियता नै हो । दत्तकै कार्यकालमा झालाई त्रिवि सेवाबाट यिनले नै स्थायी गरि दिएको हो ।  
  • केही समयअघि माओवादी केन्द्रका नेता पुष्पकमल दालाहलाई गुहारेर त्रिवि अन्तर्गत सेडाको डाइरेक्टरमा अरुण ठाकुरलाई यिनले नियुक्त गराएका छन् । 
  • पहिलो मधेस विद्रोह भईरहँदा यिनी नेपाली कांग्रेसबाट सरकारमा थिए र उक्त जनविद्रोहलाई पानीको बुलबुला भनेर संचार माध्यमहरुमा प्रतिक्रिया दिएका थिए । 
  • समयमै पार्टीको नियमित अधिवेशन गराउन नसक्ने नेता पनि हुन यिनी । तमलोपा पार्टी गठनको आठ वर्षपछि बल्ल अधिवेशन गराउने नेतृत्वलाई अक्षम नै भन्नु पर्छ।त्यो अधिवेशनपनि विवादरहित हुन सकेन । 
  • १० वर्र्षे तत्कालिन माओवादी जनयुद्धमा १३ सय मधेसीको हत्या भएको थियो । ती मध्ये अधिकांश मधेसका सर्वसाधारण थिए । मधेसीको हत्या भईरहँदा यिनी नेपाली कांग्रेसका प्रभावशाली नेता मध्येका एक थिए, तर उक्त बर्बरताविरुद्धमा यिनले एक शब्द पनि निकालेनन् । 
  • मधेस जनविद्रोहका क्रममा भएको मधेसीजनको हत्यामा गैर–नेपाली कांग्रेस पार्टीलाई दोषी ठहराउने यिनी नेपाली कांग्रेसका सुशिल कोइरालाको शासनकालमा मारिएका मधेसीहरुको बारेमा मौन धारण गरेका थिए । 
  • दुई पटक निर्वाचनबाट पराजित र मुटुमा पेसमेकर राखेका यिनले मधेस र मधेसीलाई नेतृत्व दिने सक्ने न कुनै भर छ , न त आधार नै छ ?त्यसैले मतदान गर्दा सचेत भई मतदान गर्न आग्रह गर्दछौं । (स्रोत :‘क्रान्तिकारी मधेसी–बृद्धिजीवि तथा पेशाकर्मी समाज जनकपुर (५ मंसिर २०७४)’

 नोट : एउटा संचारकर्मीका नाताले यो सामग्री सार्वजनिक गरेको हूँ,यसको उद्देश्य अपिललाई दस्तावेजिकरण गर्नु मात्र हो । 

No comments:

Post a Comment