जनकपुर– विभिन्न दल र संस्थाहरुले मंगलबार जनकपुरमा ‘नेपाल राष्ट्र स्थापना दिवस’ मनाएका छन । कार्यक्रमका सहभागीहरुले महाशिवरात्रीका दिनलाई यो दिवसका रुपमा मनाउनु पर्ने माग गरेका छन् ।
एमाओवादी नेता रामचन्द्र झाका अनुसार पशुपतिनाथको संस्थापक मधेसीमूलका गोपालवंशीहरु भएकाले महाशिवरात्रीको दिनलाई नेपाल राष्ट्र स्थापना दिवसको रुपमा मनाईनु पर्ने बताए ।
करिब ३ हजार ६ सय वर्ष पहिले मिथिला मधेसबाट काठमाडांै उपत्यका उक्लेका पशुपालक गोपालवंशी भूमिगोपले पशुपतिनाथको स्थापना गरेको दावी झाको छ । उनले भने, ‘शाहवंशी राजाहरुको २ सय ७० वर्षको इतिहासलाई मात्र नेपालको इतिहास मान्नेहरुलाई थाहा होस्, मधेसीहरु नेपालका संस्थापक हुन् । बाहिरबाट आएका भगौडा होईनन् ।’
कार्यक्रममा झाले प्रस्तूत गरेको अवधारणापत्रमा नेपालको ३ हजार ६सय वर्षको ईतिहासमा गोपालवंश, महिषपालवंश, किरात, लिच्छवी, सेन, कनाट तथा मल्लहरुले झण्डै साढे तीन हजार वर्ष शासन गरेको उल्लेख छ । शाह अघिका सम्पूर्ण राजवंशहरु मधेसीमूलका भएको इतिहास प्रमाणित विषय हो । पत्रकार राजेश्वर नेपालीले शाहवंशी राजाहरुमाथि नेपाल एकिकरण भन्दा पनि गोर्खा राज्यको विस्तार गरेको बताए । उनले भने, ‘पृथ्वीनारायण शाहको एकिकरण अभियानलाई इतिहासकारहरुले गोर्खा राज्य विस्तार अभियान मानेका छन् । जो सा“चो पनि हो ।’ कार्यक्रममा एमाओवादी केन्द्रिय नेता रामरीझन यादव, महेन्द्र पासमान, प्राध्यापक भोगेन्द्र झा र गोपाल सेवा समितिअध्यक्ष राजाराम अरगरियालगायतले संवोधन गरेका थिए ।
(Kantipur, 2071 Fagun 6, Purwa Page)

No comments:
Post a Comment