Wednesday, 22 April 2020

साँझको पर्खाई

लघु कथा
  •  दिनेश यादव                                                                                         

कलंकीमा मेरो घरसंगै दुईटा बोट छन् । छिमेकीकोमा नासपाती र मेरोमा अम्बा । नासपातीको बोट ठूलो र अम्बा
अलिक सानो छ । लकडाउनले चारैतिर सुनसान छ । वरपर सन्नाटा अचेल यसरी छाएको छ कि पात हल्लिएको आबाज मेरो कोठासम्मै पुग्छ । बिहानै चराचुरुङ्गीको चिरिबिरी गजब सुनिन्छ । शायद कार्यालयमा संधै रात्रीकालिन ड्युटीले ढिलोे घर फर्किदा अबेरसम्मै ओछ्यानमा मस्त हुँदा वर्षौसम्म यो अवसरबाट बञ्चित थिएँ । बिहान, समाचारहरु सुन्न रेडियो त खोलिन्थ्यो, तर निद्राकै अंगालो प्यारो लाग्थ्यो । अचेल एफएम रेडियोसमेत बन्द गरेको छु । त्यहाँ सरकारको बेमौसमी बाजा बढी सुनिन्छ । जन–जनको आबाज सुनिन्न र आबाज भएकाको आबाज बढी सुनिन्छ । त्यसैले, रेडियो सुन्नै छाड्या छु ।बरु लकडाउनमा चारैतिर फैलिएको मौनतामा थरि–थरिका स्वरहरु सुन्ने प्रयास गरिरहेको छु । 
अचेल संधैभरी एकखाले मौनताले भरिएको दिउँसोलाई जो कोहीले अनुभव गरेकै हुनुपर्छ । सुनसान यस्तो छ कि आफ्नै साँसको आबाज पनि सुनिन्छ । एकदिन डराएर बार्दलीको ढोका खोलें । केही आबाज कानमा पर्यो । म सतर्क हुँदै त्यो आबाजमा कान थापेर सुन्न थालें । पातको आबाज अलिक चर्कै र अनौठो थियो । बार्दलीमा ठिङ्ग उभिएँ । लकडाउनको एकमहिना हुनै लाग्दा पहिलो पटक सुनिएको त्यो आबाजले म स्तब्ध थिएँ । पातहरु झाँगिदै गएसंग नास्पातीको फल पनि ठूलो हुँदै गएको रहेछ । शायद अम्बाको मौसम नभएर फूलसम्म लागेको छैन । अम्बाले खुसु–खुसु सोध्दै थियो, ‘नासपाती काका, यो चैत/वैशाखको गर्मीमा अघिल्ला वर्षहरुमा तपाईको शीतल छहारीमा मानिसहरु केही बेर सुस्ताएको खुबै देखिन्थे । तर यसपटक त्यही बाटो भएर फाँटफूट जाने /आउनेहरु पनि त्यहाँ अडिएको देखिन्न नि ? सबैजना मुख छोपेर मात्रै हिड्छन्, टोलभरी चहल पहल छैन् । के भएछ यस्तो, मानिस आफ्नैसंग पनि तर्किएर हिड्छन् त ?’ अम्बा नन–स्टप भनिरहेको थियो । बीचैमा नासपातीले रोक्दै भन्यो, ‘भतिज अम्बा, त्यही त, म पनि आश्चर्यमा छु, आखिर भई के रहेछ ? सबैजना त्रसित मुद्रामा मात्र देखिन्छन् । कयौ वर्षदेखि यहाँ उभिएको छु, तर यस्तो अवस्था यसअघि कहिले देखेको थिइनँ । पहिला त धेरै अस्पताल पनि थिएन, अहिले छ्यापछ्याप्ती भएपनि मानिस किन यसरी डराई रहेका हुन् ? पहिलेका मानिसहरु खुबै हाँस्थे–खेल्थे र रमाइलो पनि उद्यम गर्थे , सबै नजिक–नजिक हुन्थे । अहिले त सामाजिक दूरीका लागि विश्वका सरकारहरुले उर्दी नै जारी गरेका छन् । अस्पताल छन् तर पनि मानिसको अकालमै मृत्यु भईरहेको छ ।’ अम्बाले आफ्नो पात हल्लाउँदै भनेछ, ‘ हो त, अचेल बच्चाहरु पनि कति ज्ञानी भएका छन् । पहिले छुट्टी भयो कि खेल्न घरबाहिर निस्किहाल्ने गर्थे । हिजोआज छुट्टी भएको हप्तौ भईसक्दा पनि उनीहरु घरमै बस्न थालेका छन् । मलाई त यस्तो सुनसानबाट अब डर पो लाग्न थाल्यो, काका । ’नास्पाती काकाले सहानुभूति राख्दै भनेछ, ‘चिन्ता नगर, मानिस कहिले हार्दैनन् । यो पटक पनि हार्नेवला छैनन्, जितेरै छाड्ने छन् । पहिले जस्तै तीव्रता मानिसले आफ्नो जीवनमा ग्रहण गर्नेछन् । बरु हामी पनि शान्त होऔं, घरमा बसेका मानिसलाई बाहिर निस्कनै पर्ने गरी क्रियाकलाप नगरौं । तिम्रा र हाम्रा पातहरु असिनापानी र हावाहुँरीमा पनि चर्को आबाज आउँने गरी न हल्लाऔं ।’ सूर्यको घाम ओरालो लाग्दै थियो । म भने एउटा आशा र उमंग भरिएको साँझको प्रतिक्षामा थिएँ ।

(कलंकी , शिवनगर, काठमाडौं (नेपाल)। २०७७ वैशाख १० बिहान)   

No comments:

Post a Comment