–दिनेश यादव लघु कथा (नेपाली भाषा)
तराई-मधेशतिर अचेल पोखरीमा यसरी पौडी खेलेको दृश्य विरलै देख्न पाईन्छ । मानवजन्य क्रियाकलापले जल पनि प्रदूषण मुक्त रहेन । फेरी अव्यवस्थित गाउॅबाट सहरतिर बसाई सर्नेहरूको लर्को वर्षौदेखि जारी छ । गाउॅघरमा गरिबी व्याप्त छ । महॅगाई ढाड सेक्नेगरी बढ्यैको बढ्यै छ । महॅगीको मारले गाउॅघरका भूमिहीन र ज्यालामजदूरी गर्नेहरूले जुॅगाको रेखी नबस्दै आफूसंगै आफ्ना नाबालक सन्तानलाई लिएर भारतको दिल्ली, बम्बै, पंजाब,कश्मीर सस्तो मजदूरी गर्न हानिनु एउटा परम्परा बस्यो । अनि साना बालकहरूले आफ्ना बालसखा पाउनै छाडे । हुनेखानेले सन्तानलाई नजिकका सदरमुकाम पढ्न पठाए । त्यसपछि गाउॅमा बालक कम हुने नै भई हाल्यो । अनि पोखरीको डिल, लङ्डा बम्बै र माल्डह ऑपको रूख, सिकैट, तेतईर र सरही ऑपको हॉगामा चढेर हाम फाली रमाईलो गर्ने दिन हराई हाल्यो । यसमा खतरा धेरै थियो, तर रमाईलो उल्का भएपछि अभिभावकको चेतावनी र गाउॅले काकाहरूको सम्झाई बुझाईको बेवास्तै हुन्थ्यो । माईजन काकाले पोखरीमा गोही हुन्छ, फलानो गाउॅमा बच्चालाई गोहीले लग्यो भनेर पटक पटक सुनाए पनि पुच्चेहरूले मान्दैन्थे । चैत/बैशाखमा लकडसुनङ्गहा (बालबालिकालाई बेहोस् बनाई बोरामा कसेर लाने काल्पनिक पात्र) को डर पनि देखाउॅथे । त्यसको डर पनि मान्दैन्थे,केटाकेटीहरू । बरू बिभिन्न बहाना बनाउॅथे । सबैभन्दा सजिलो बहाना चाहीं 'मैदान जाने' (त्यस्ताका शौचालय हुन्नथ्यो, पोखरी छेउछाउमा शौच जाने चलन) भन्ने थियो । यसमा रोक्ने कुरै भएन, तर केटाकेटीहरूमा शौच भन्दा पनि डिलबाट पोखरीमा डाईफ हान्न चाहना हुन्थ्यो । केटाकेटी उत्ता फुत्केर जान्थे र डढिया पैन्ट फुकालेर यो खेलमा नाङ्गै रमाउन मस्त हुन्थे । यता प्रचण्ड गर्मीका कारण अभिभावकहरू निद्रामा मस्त रहन्थे ।त्यस्ताका केटाकेटीले बिना घडी समय थाहा पाउथे । पौडी खेलेर घर फर्किदा र घरमा दिउॅसो सुतेका अभिभावक उठ्ने समय संगसंगै जस्तो हुन्थ्यो । कहिले काही पानीले आखॉ रातो भएको बेला बाहे केटाकेटीको पौडी खेल्न चोर बानी घरमा विरलै थाहा
पाउॅथे । थाहा पाए, बाॅसको एक/दुई कर्ची भेट्थे । यति हुंदाहुंदैपनि रमाइलो चाहीं औधी गर्थे । अब त्यो समय कहॉ छ र ! पहिले दिल्ली- पंजाबले बाल्यकाल खोस्यो, त्यसपछि खाडी मुलुकले खोस्न थाल्यो । उमेर बढाएरै पनि नागरिकता लिने र विदेश पठाउने परम्परा शुरू भयो । जसले धेरै विकृतिहरू गाउॅघरमा मौलाएका छन् । सबै भन्दा दुखद कुरो : त्यहॉका बालबालिकाहरू जवान/युवा हुन नपाउॅदै बुढा बन्ने गरेका छन् । विश्वभरी जारी कोरोनाको कहरले सबैलाई केही न केही पाठ सिकाएकै छ , सकारात्मक सुधारको आशा गरौं । कोरोनाका कारण लकडाउनले वातावरणमा व्यापक सुधार आएको छ , म चाहीं पहिलेको जस्तै गाउॅको पुरनी पोखरी, लभका पोखरी र अखडाहा पोखरीमा पौडी खेल्ने दिनको प्रतिक्षामा छु ।

No comments:
Post a Comment