- दिनेश यादव (DINESH YADAV)__________
तराई–मधेसमा राष्ट्रिय चाड बडादशैंलाई कतै विजयदशमी र दशहरा त कतै दशमीको नामले मनाइन्छ । समुहमा मिलेर मनाइने त्यहा“को दशहरा अलिक फरक खालको हुन्छ । घर–घरमा कलस र जमरा राखिन्न, कुनै सार्वजनिक स्थलमा सामुहिक रुपमा मुर्ति बनाएर घटस्थापनादेखि विजयादशमीसम्मै धुमधामले पुजा गरिन्छ । दूर्गा भवानी, काली, लक्ष्मी, गणेश, महिषासुरलगायतका माटोको मुर्ति बनाएर पुजाअर्जना गर्ने परम्परा छ । यसमा हुने खर्चको जोहो गाउ“ले वा टोलबासीले समिति मार्फत ‘बेहरी’ उठाएर गर्छन् । समितिले यसका लागि पहिलेनै रकम तोकिदिएको हुन्छ । त्यही अनुरुप रकम दिन कसैले आनाकानी गर्दैनन् । दशहराका दिन विजय मुहूर्त, शुभ कार्य र यात्रा शुरु गर्नका लागि महत्वपूर्ण र शुभ हुने मान्यताकै कारण त्यस क्षेत्रमा यसलाई ‘दशद्वार खुला’ रहने तिथिका रुपमा पनि लिने गरिन्छ । सर्वसाधारणहरु वडो आस्था र श्रद्धा भावले भगवती गोहवर (देवालय) मा पुजा गर्छन् ।
तराईको दशैमा सामुहिकता अलिक बढी देखिन्छ । मुर्ति बनाउनेदेखि पुजाअर्चना, बेहरी संकलनदेखि मुर्ति विर्सजनसम्म यो सजिलै हेर्न र अनुभव गर्न सकिन्छ । त्यसैले यसलाई ‘दशगरदा काम’ (धेरै जना मिलेर गरिने कार्य) पनि भन्ने गरिन्छ । अरु समयमा जस्तो जातिय विभेद दशमीका अवसरमा गरिएको पाइ“दैन । हिन्दू वर्णका सबै जातजाति(दलितदेखि उच्च जाति) ले संगसंगै पालैपालो देवालयमा गएर पुजा गर्छन् । त्यसक्रममा श्रद्धालुहरुले ‘फुलाइस’ गर्ने चलन पनि छ । भक्तजनले निराहार बसी दशमीका दिन आफैले बनाएको शुद्ध दूधका मिठाई(पेडा) बनाएर देवालय गई भगवतिको हातमा फुल अछेता राखेर आफ्नो भाकल गर्छन । साडीको आ“चल(अचरी) थापेर त्यो फूल माग्छन, त्यो झरेपछि जय–जयकार गर्दै छप्पन कोटी देउतालाई एकैपटक सामुहिक रुपमा सम्झने प्रयास गर्छन् । यसैगरि दशमी अवधिभर गाउ“ वरपरका धार्मिक स्थलमा दियो बाल्ने चलन पनि छ । खासगरि ग्राम देवता (गाउ“को देउता) भनेर ‘दिहबार’ वा ‘बरहम’ बाबा थानमा शुद्ध तोरी तेलको दियोले झकिझकाउ हुन्छ भने त्यहा“ बालिने सुगन्धित धुपले वरपरका वातावरणलाई मग–मग वासनायुक्त बनाएको हुन्छ । गर्मी सकिने र चिसो शुरु हुने संकेतका रुपमा मानिने दशहरालाई नौ दिनसम्म नवरात्री महोत्सवको रुपमा मनाइन्छ, यस अवधिमा भक्तजनहरुले व्रत समेत राख्ने गरेको पाइन्छ ।
प्रार्थना र पुजासंगै दशहराको सांस्कृतिक महत्व पनि उत्तिकै छ । कतै रामलिला त कतै त्यस क्षेत्रका मौलिक नाचहरू (अलहा रूदल,कु“वर ब्रिजभानलगायत) को आयोजना गर्ने, युवाहरु मिलेर नाटक खेल्ने चलन पुरानै हो । केही ठाउ“मा यी सांस्कृतिक परम्परा अझै कायमै छ तर त्यस्ता ठाउ“हरु औलामा मात्र गन्न सकिने स्थिति छ । यी पौराणिक परम्पराको स्थानमा भाङग्रा, डिजे, डेक र सिडीमा गीतसंगित सुनने चलन पछिल्ला समय शुरु भएको छ । पहिले जस्तो देवालयहरुमा भक्तिमय संगित २४ सै घन्टा लाउडस्पिकरबाट गाउ“–गाउ घन्किनुको साटो हिजोआज हिन्दी गीत, रिमिक्स संगित र अश्लील भोजपुरी गीतहरुले स्थान लिएको छ ।
रौतहट गौरका सामाजिक अभियन्ता अनिलकुमार सिंहले पहिला जस्तै नाचगान मधेसका सबै ठाउ“मा नभएपनि जिल्लाको मत्सरीलगायतका ठाउ“मा मिथिला क्षेत्रका कलाकारहरुलाई ल्याएर सांस्कृतिक कार्यक्रम गरिने चलन अझै रहेको बताए । भन्छन्, ‘सबै क्षेत्रमा आधुनिकताले आफ्नो प्रभाव जमाइरहेको अवस्थामा मधेसको दशमी त्यसबाट अछुतो रहने कुरै भएन । तर, युवाहरु आफ्ना मौलिक सांस्कृतिको जर्गेना गर्न अझै प्रयासरत छन् । ’ उनका अनुसार मधेसको एउटा साझा परम्परा भनेकै सबै ठाउ“मा देवीदेवताको मूर्ति बनाएर सामुहिक पुजाआजा गर्नु हो । धार्मिक आस्थामाथि विश्वास गर्ने रौतहट सबगाढा–१० का रामप्रसाद ठाकुरले दशमीको अवसरमा अचेल धेरै रकम खर्चिएर विशाल पण्डाल, तोरणद्वार र मञ्चहरुको निर्माण गर्ने चलनले आर्थिक रुपमा भड्काउले बन्दै गएको छ । छिमेकी मुलुकबाटै लाख रुपैया“ खर्चेर यी सामग्रीहरुको निर्माणमा तछाड मछाड नै चल्ने गरेको छ । मधेसका सहरी क्षेत्रमा यो परम्परा पछिल्ला समय झा“गिदै गएको छ । खासगरि जनकपुर, वीरगंज, जलेश्वर, गौर, राजबिराज, विराटनगरलगायतका सहरमा स्थानीय क्लबहरुले छिमेकी मुलुकबाटै कालिगढहरु ल्याएर पण्डालहरुको निर्माण गर्ने गर्छन । गाउ“ले परिवेशमा हुर्किएर सहरमा सैलुन खोलेर जिविकोपार्जन गर्दै आएका ठाकुर भन्छन्,‘ युवाहरुबीच सामुहिक सहकार्यको सन्देश दिने नाटकको प्रचलन कम हुदै गएको छ । अहिले लगभग बन्दनै भएको छ, यी गतिविधिहरु । पहिले भिडियो, त्यसपछि सिडीको प्रचलन शुरु भयो । हिजोआज डिजे बजाएर रातभरि रमाइलो गरिन्छ ।’ उनले विगतका दशममीमा नाच हेर्न छरछिमेकका गाउका युवाहरुका हुलका हुल जानेआउ“ने गरेको परम्परा अचेल बन्द जस्तै रहेको बताए । पहिले जस्तौ ‘बाइजी’ अर्थात् महिला नृत्यङ्गाहरुलाई नचाउने कार्यमा पनि कमि आएको उनले सुनाए । ठाकुरले हिन्दू संस्कारमा हजाम र पुजारी÷पण्डितबीच धेरै पहिलेदेखि एउटा अतुलनीय सम्बन्ध कायम छ । उनी दशहरा अवधिभर घरमा पण्डितजीबाट पुजा गराउ“ने गरेको बताउ“छन् । थप्छन्, ‘धार्मिक अनुष्ठानदेखि अन्य काज÷कर्महरुमा हाम्रो जातिको आवश्यकता पर्छ, पण्डितले हाम्रो पुजा निःशुल्क गरिदिन्छन भने हामी पनि त्यसरी नै सहयोग गर्छौ । त्यसैले पुजा गराउनमा रकम खर्चिनु पर्दैन । ’
दशैका बेला कृषिकर्मबाट मुक्त भएर सुस्ताउने अवस्थामा रहेका किसानहरु स्थानीय देवालयमा गएर मुर्ति दर्शन गर्ने र मेला भर्न जाने चलन कायमै छ । साना बालबालिकाहरुलाई आमाबुबाले का“धमा बोकेर गाउ“ नजिकैको बेलामा गई झिल्ली, घु“घनी–मुरही ,कचरी र जिलेबीलगायतका स्थानीय परिकार खाएर आनन्द लिने गर्छन । सप्तरीको ‘पचमेर’ त्यहा“को मेलाको सबै भन्दा लोकप्रिय परिकार हो । पा“च प्रकारका खाद्यवस्तुहरु मुरही, कचरी, चना, मटर, आमादी(का“चो आपको सिकुटी र अदुवाको मिश्रण) लगायतका बस्तुहरु एकै ठाउमा मिसाएर बनाइएको यो परिकार पहिले टपरीमा अहिले कागजमै व्यापारीहरुले बेच्छन । हुनत अन्य समयमा पनि यो बजारमा पाइन्छ । तर, दशैताका यसको विक्री ह्वातै बढ्ने गरेको व्यापारीहरु बताउ“छन् । मधेसका धेरै ठाउ“मा मेला भर्न गएपछि त्यहा“ केही न केही किनेर खानै पर्ने या उपहारहरु लिएर आउ“नै पर्ने पुरानै परम्परा छ, । अहिले पनि यो रीतिरिवाज त्यहा“ जीवितै छ । भनिन्छ, मेलाको रौनक बालबालिकाहरुले बढाउ“छन् । त्यसैले हो, मेलामा माटोको चातो, मुर्तिलगायतका खेलौनाहरुले भरिभराउ हुन्छ । अभिभावकले आफ्ना बालबालिकाका लागि यिनै उपहारहरु किनेर लगि दिने गर्छन्, संगै गएकालाई किनिदिने गर्छन् ।
हालै जनकपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर सक्रिय रहेका संचारकर्मी अजय साह ‘सिवाली’ ले दशैको सामाजिक र सांस्कृतिक महत्व रहेकाले सबैले आ–आफ्नै परम्परालाई जीवन्त राख्नेगरि यो महापर्व मनाउनु पर्नेमा जोड दिन्छन् । भन्छन्, ‘ जनकपुरको दशैं यसपाली पनि तडकभडकबाट अछुतो रहन सकेन ।’ क्लबहरुले ठाउ“–ठाउ“मा ठूल्ठूला पण्डालहरुको निर्माण गर्दै दशहरा मनाउने पहिलेकै होडबाजीमा संलग्न रहेको देखिएको उनले बताए । जनकपुरकै अर्का संचारकर्मी रामेश्वर यादवले अगल–अगल क्षेत्रमा पर्वहरु मनाउने शैलीमा पहिले भन्दा परिवर्तन आएको बताउ“छन् । ‘जनकपुरको दशहरा त हेर्ने लायककै हुन्छ , वरपरका जिल्लाबाट मात्रै होइन छिमेकी मुलुकबाट पनि उल्लेख्य श्रद्धालुहरु आउने मेला भर्न आउ“छन्’ उनी भन्छन्, ‘रामायणकालिन इतिहास बोकेको यो ठाउ“मा त दशमी शुरु भएको साता अघिबाटै भक्ति संगितले धार्मिक नगरीको ऐतिहासिकतालाई पुष्टि गर्ने गर्छ । खासगरि यहा“को राजदेवी मन्दिरमा विशेष प्रकारको मञ्च निर्माण गरि धार्मिक, ऐतिहासिक र सांस्कृतिक तथ्यहरुलाई उजागर गर्ने खालका अस्थायी प्रतिकहरुको प्रदर्शन हुने गर्छ । ’दशहराका अवसरमा मधेसका गाउ“–गाउ“मा बाजाहरु (ढोल पिपहीलगायतका) बजाउने चलन अझैपनि कायमै छ । दलित समुदाय (खासगरि चमार समुदाय) ले बिना पारिश्रमिकको बिहान र बेलुका घर–घरमा गएर ढोल बजाएर दशमीको सन्देश दिने प्रचलन मधेसका केही क्षेत्रमा जीवितै देख्न सकिन्छ । दशैमा दश प्रकारका पापहरू ः काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरीलाई परित्याग गर्ने सद्प्रेरणा प्रदान गर्ने मान्यता त्यस क्षेत्रमा अझै पाइन्छ । त्यसैले त घटस्थापनादेखि फुलपातीसम्म माछा÷मासु पुरै वर्जित मानिन्छ, मधेसी समुदायमा । दशै अवधिभर घरमा माछा भित्र्याइदैन । फुलपातीमा खसी, बोकाको बलिपछि मात्र मासु खान शुरु हुन्छ । फेरी बली चढाएको बोकाको मासु एक्लै खाने चलन पनि छैन । थोरै–थोरै भएपनि ‘तौन्का’(प्रसादका रुपमा मासु) बा“ड्ने गरिन्छ । त्यो प्रसादसंग मदिरा सेवन गर्न हुन्न भन्ने मान्यता छ । तर, सहरी जीवन शैलीको प्रभाव गाउ“मा पनि विस्तारै–विस्तारै पर्न शुरु भएकाले केही घरमा यसको प्रयोग कतै–कतै भेटिन थालेको छ ।
अर्को अनौठो कुरो त के छ भने दशमीमा निलकण्ठ चराको खोजी हुन्छ । किनभने यसको त्यहा“ धार्मिक महत्व छ । खासगरि मिथिला क्षेत्रमा विजयादशमीका दिन बिहानै हिन्दूहरुले निलकण्ठलाई रुख–रुखमा चहार्दै हिड्छन् । भेटिएपछि ढोगछन् र निलकण्ठको दर्शन गर्न नसकेकाहरुलाई बोलाएर त्यसको दर्शन गराउने गरिन्छ । त्यस क्षेत्रमा अन्य दिनहरुमा पनि यो चरा भेटिएपछि ‘ निलकण्ठ बाबा गोड लगैछिय, जतरा धाम मे खोज खरिएह (निलकण्ठ बाबा तिमीलाई ढोगछु, विजयदशमीको दिन सम्झनु)’ भनेर प्रार्थना गर्छन् । निलकण्ठको दर्शन गरेपछि वर्षभरि परिवार र समाजलाई राम्रो हुने धार्मिक मान्यता र जनविश्वास छ । पश्चिम नेपालका कोर मधेसी बहुल्य क्षेत्रमा दशैको रौनक हेर्ने लायक हुन्छ । त्यता पनि मुर्ति बनाएरै पुजा आजा गर्ने चलन रही आएको छ । कोर मधेसी बसोबास गर्ने क्षेत्रहरुमा मान्यजनबाट टिका थाप्ने, पिङ हाल्ने चलन नरहेपनि पहाडे र मधेसी दुवै मिलेर बसेको मिश्रित समुदायमा भने यो परम्पराले मान्यता पाएको देखिन थालेको छ । पहाडी समुदायमा बर्सौ वर्ष बस्नेहरुको घरमा भने यो चलन अलिक बढी छ । दशैको अवसरमा ससुराली जाने चलन पनि छैन, मधेसमा । विजयादशमी राष्ट्रिय पर्व हो, बहुसांस्कृतिक र बहुभाषिक यहा“को समाजमा यो महापर्व मनाउने आ–आफ्नै शैली र परम्पराले एकले अर्कोलाई जोडेकै छ ।
(Published On Kantipur National Daily dated 02 Oct 2016)

No comments:
Post a Comment