Saturday, 18 January 2014

राजनीतिमा मधेसी संचारकर्मी

‘ हाम्रो त कन्तविजोकै भो, न यताको न उताको जस्तोस्थितिमा पुग्यौ । अब पत्रकारिता कसरी गर्ने ? पुरानै पेशामा फर्किदा जनताले अमुक पार्टीको बिल्ला भिडाइ दिने भए '.
दिनेश यादव-



मानव विकास सुचकांक उच्च रहेको र हरेक ऐतिहासिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउ“दै आएको तराई–मधेसका जिल्लाहरूमा मधेसी दलले पछिल्लो निर्वाचनमा शर्मनाक पराजय बेहोरेको छ । अझ भनौ देशकै नेतृत्व प्रदान गर्ने नेता तथा पटक–पटक मुलुकमा सार्वजनिक विचार निर्माणमा समेत अहम मूमिका निर्वाह गर्दै आएको मधेसका ती जिल्ला÷निर्वाचन क्षेत्र समेत मधेसी दलको किल्ला बन्न सकेन । अर्थात् अघिल्लो निर्वाचनमा ती दलहरुले मतदाताहरुबाट पाएको मतलाई समेत सुरक्षित राख्न चुके । यो प्रत्यक्षतर्फ मात्रै होइन समानुपातिक तर्फ पनि त्यस्तै हविगत बेहोर्न बाध्य भयो , मधेसी दल ।  खासगरि मानव विकास सुचकांक बढी भएको झापा, मोरंग, सुनसरी, मकवानपुर, पर्सा, बांकेलगायतका जिल्लामा राप्रपा नेपालले समानुपातिक तर्फ राम्रो मत ल्यायो । यसैगरि नेपालका चर्चित नेताहरुले प्रतिनिधित्व गर्ने वा गरेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, पर्सागायतका जिल्लाबाट
गैर–मधेसवादी दलका प्रतिनिधिले बाजी मारे । मधेसी बहुल क्षेत्रका रुपमा परिचितमिथिला र भोजपुरालगायतका क्षेत्रबाट समेत मधेसी दल र त्यसका नेताहरु विजय हुन नसक्नुलाई नेतृत्वकै कमजोरी ठान्नेहरु धेरै छन् । अझ निर्वाचनको रोचक प्रसंग त के रहयो भने एउटै जिल्ला सर्लाहीबाट चार दलका अध्यक्षले समेत चुनाव हारे । यसरी निर्वाचन हार्नेहरूमा एमालेका झलनाथ खनाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, सद्भावना पार्टीका राजेन्द्र महतो, चुरे भावर राष्ट्रिय एकता पार्टीका बद्रीप्रसाद न्यौपाने छन् ।


 एमालेलगायतका पार्टीलाई छाडेर कुरा गर्ने हो भने ठाकुर र महतो मधेस केन्द्रित दलका ‘प्रभाविशाली नेता’ का रुपमा मधेस क्षेत्रमा दरिएका छन् । यी दुई नेताहरू संविधान सभाको पहिलो निर्वाचनअघि सत्तामै थिए । त्यसपछि पनि महतो आफ्नै नेतृत्व र ठाकुर अध्यक्ष रहेको पार्टी पटक–पटक सरकारमा पुग्यो । तर, सरकारमा पुगेरैपनि निर्वाचनमा पराजय बेहोर्नूलाई धेरैले ‘अक्षम नेतृत्वको गलत निर्णयको फल’ भनि प्रतिक्रिया दिएका छन् ।
प्रत्यक्षतर्फको सम्पूर्ण परिणामले मधेसी दलहरूको आकार सानो भएको देखाइसकेको छ । तर, समानुपातिक तर्फ थोरै मत पाएकाले निर्वाचन आयोगमा बुझाएको सूचीबाट प्रतिनिधिहरु छनौट विषय उनीहरुका लागि ‘फलामको च्युरा चपाउने’ जस्तो भएको छ । समानुपातिकबाट सभासद् बन्ने महात्वाकांक्षीहरु धेरै तर सिट संख्या थौरै भएकाले उनीहरु समस्यामा परेका हुन् । समानुपातिकतर्फनै बढी नाम पठाउने दलका अध्यक्षहरुको त रातिको निन्दनै हराम भएको अवस्था छ । उता, निर्वाचन आयोगले सूचीका आधारमा सबै जाति, वर्ग, लिंग, क्षेत्रलगायतको प्रतिनिधित्व गराउनै पर्ने कडा निर्देशन पनि छ । समानुपातिक तर्फ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले १०, , मधेसी जनअधिकार फोरम नेपाल ८, तराई मधेस लोकतान्त्रिक पार्टीले ७, सद्भावना पार्टीले ५, राष्ट्रिय मधेस समाजवादी पार्टीले ३ र तराई–मधेस सद्भावना पार्टीले २ सिट पाएको छ । अन्य मधेसवादी दलहरुमा संघीय सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकले एक–एक स्थान समानुपातिक तर्फ पाएको छ । यी सबै दलका अध्यक्षमाथि सबै वर्ग, लिंग, जाति र धर्मको प्रतिनिधित्व गराउनुपर्ने दबाब थेग्नै नसक्ने छ । फेरी, पत्नि, सालीलाई समानुपातिक सूचीमा पार्न पनि त्यतिकै चौतर्फी दबाब झेलिरहेका छन्, मधेसी दलका नेताहरु । यसमा पत्रकारहरुको एउटा झुण्ड पनि सामेल भएका छन् । पत्रकारितालाई तत्कालका लागि विराम दिएर पार्टीको बिल्ला भिडेर राजनीतिमा होमिएका झण्डै दर्जन संचारकर्मीले आ–आफ्नो नाम  विभिन्न पार्टीहरुमा समावेश गराएका छन् । सम्बन्धित दलहरुले समानुपातिकमा थोरै मत ल्याएकाले आफूहरुको ‘हरि विजोक’ भएको पीडित संचारकर्मीहरुले नै बताउन थालेका छन् । उनीहरुले आ–आफ्नो नाम सभासद बन्ने सूचीमा समावेश गरि दिन स्वयंम पार्टी अध्यक्ष, त्यो नहुनेले विभिन्न व्यक्ति मार्फत् दबाब दिइरहेका छन् । यसरी विभिन्न पार्टीको सिफारिसमा परेका मधेसी पत्रकारहरुले आफूहरु ‘घर न घाट’ को भएको प्रतिक्रिया पनि दिन थालेका छन् । आफ्नो नाम नछाप्ने सर्तमा समानुपातिक सूचीमा परेका र लामो समयसम्म पत्रकारिता गर्ने एक जनाले भने, ‘ हाम्रो त कन्तविजोकै भो, न यताको न उताको जस्तोस्थितिमा पुग्यौ । अब पत्रकारिता कसरी गर्ने ? पुरानै पेशामा फर्किदा जनताले अमुक पार्टीको बिल्ला भिडाइ दिने भए , त्यसैले जसरी पनि समानुपातिकमा आफ्नो नाम पार्ने कसरतमा छु , बा“की दैबले जानुन । ’ अमूक राजनीतिक पार्टीको झण्डा बोकेरै हिड्नेहरूमा धर्मेन्द्र झा, अनिल कर्ण, पंकज दास, इजाहारुल हक मिकरानी, भोला पासवान, विणा सिन्हा,  शम्भू झा, प्रियंका पाण्डे, रुपा झा, राकेश मिश्र, प्रविणकुमार चौधरीलगायतका छन् । एक्का÷दुक्का बाहेक कसैको पनि समानुपातिक तर्फबाट सभासद् बन्ने सम्भावना नरहेको सम्बन्धित पार्टीका पदाधिकारीहरु बताउ“छन् । 
राष्ट्रिय मधेसी समाजवादी पार्टीले चुनावअघि प्रवक्ता बनाएको मिकरानीलाई ‘बाइपास’ गर्न चुनावपछि अनिल कर्णलाई पार्टीको प्रचार सचिव बनाएकोमा त्यसपार्टी भित्रै असन्तोष देखिएको छ ।  लामो समयसम्म ‘द काठमाडौं पोस्ट’मा पत्रकारिताको अनुभव संगालेका उनको नाम पनि समानुपातिकतर्फको सूचीमा छ । स्रोतले भन्यो, ‘तर मिकरानीको नाम पार्टीले पठाइरहेको छैन । ’ नेपाली कांग्रेसबाट समानुपातिकमा परेका पत्रकार महासंघका पूर्व सभापति धमेन्द्रको संभावना प्रवल रहेपनि पार्टीभित्रै उनको विरोध भईरहेको स्रोतले बतायो । हिमालीनी हिन्दी मासिकका पंकज दास सद्भावना पार्टीबाट परेका छन् । तर उक्त पार्टीले अपेक्षा अनुरुपको सिट ल्याउन नसकेकाले उनको भविष्यपनि अन्यौल बनेको छ । तराई टेलिभिजनमा क्रियाशिल प्रियंकालाई गणतान्त्रिक फोरमले समानुपातिक तर्फको सूचीमा नाम पठाएपनि उक्त पार्टीले एउटा मात्र सिट आफ्नो भागमा पारेको छ । पार्टी अध्यक्ष राजकिशोर यादवलाई आफ्नै श्रीमतिलाई सभासद बनाउन ससुराली तर्फबाट दबाब परिरहेको एक जना पत्रकारले बताए । लामो समय पत्रकारिताको अनुभव संगालेका भोला पासवानको नाम फोरम नेपालबाट समानुपातिकमा परेको छ । उनीप्रति पार्टी अध्यक्ष उपेन्द्र यादव सकारात्मक रहेका छन् । तर, तत्कालै केही भन्न सक्ने स्थिति नरहेको पासवान स्वयंमले बताए । फोरम नेपालबाटै समानुपातिक सूचीमा परेकी ‘द पब्लिक’ की संपादक÷प्रकाशक विणा सिन्हापनि महिला तर्फबाट आफ्नो नाम सभासदमा पार्न जोडतोडका साथ जुटेकी छन् । तर , उनको नामको टुंगो हुन सकेको छैन । रुपा झाको नाम राष्ट्रिय मधेस समाजवादी पार्टीबाट, राकेश मिश्रको नाम तराई मधेस लोकतान्त्रिक पार्टीबाट समानुपातिकतर्फको सूचीमा परेको छ । तर समानुपातिक तर्फ कम सिट भएकाले उनीहरु पनि ढुक्क हुने स्थितिमा छैनन् । प्रविण चौधरी त प्रत्यक्षतर्फ कम्युनिष्ट पाटी संयुक्तबाट उम्मेदबारै भएर चुनाव लडिसकेका छन् । जहा“सम्म शम्भू झाको कुरो छ, उनी आफू समानुपातिकमा नपरेपनि अन्य पत्रकारहरुका लागि लबिंग गर्दै हिडेका छन् । सप्तरीका पत्रकार महासंघका पूर्व सभापति उनी हाल फोरम नेपालका प्रचारप्रसार विभाग प्रमुख हुन । हिमाल दृष्टिका संपादक राकेश मिश्रको नाम भने तमलोपाबाट पर्ने प्रवल संभावना रहेको पार्टीका एक केन्द्रिय नेताले बताए । यसरी सूचीमा परेका अधिकांश युवा छन् । उनीहरुलाई राजनीतिमा किन आएको भन्ने प्रश्न गर्दा खासै तर्कपूर्ण भनाई राख्न सकिरहेका छैनन् । धेरै त निराश मुद्रामा छन भने केही भने अगामी दिन राजनीतिलाई नै आफ्नो लक्ष्य बनाएर बढ्ने मनस्थितिमा छन् । उनीहरूको विचार जे जस्तो भएनी अगामी दिन सूचीमा परेका तर सभासद् बन्न नसकेको अवस्थामा स्थिति कस्टप्रद हुने ठम्याई मधेस क्षेत्रका पत्रकारहरुको छ।  अन्त्यमा, मधेसी दलहरुले सबैलाई समानुपातिकतर्फबाट प्रतिनिधित्व गराउन नसकेपनि प्रभावशाली र विवादरहित निर्णय गरेर अघि बढ्नु पर्ने सुझाब त्यस क्षेत्रका बुद्धिजीविहरुको छ । अन्यथा समानुपातिक सूचीमा परेका संचारकर्मीहरु अगामी दिनहरुमा ठूलौ चुनौति भएर आउन सक्छन् । 
-kantipur Qutar Edition 2070 Dec 14



No comments:

Post a Comment