दिनेश यादव-
संविधानसभा–२ को निर्वाचन परिणामले केही रोचक तथ्यहरु उजागर गरेको छ । ती मध्ये पहिलो तथ्य ः संसदबादी दलहरूको अप्रत्यासित बढत, दोस्रो ः राजावादी तथा सनातन हिन्दू धर्मसहितको राष्ट्रको माग गर्ने दलको सफलता, तेस्रो ः संघियता पक्षधर दलहरुको कमजोर प्रदर्शन र चौथो ः मधेसबादी दलहरुको लज्यास्पद हारसंगै त्यसका प्रमुख नेताहरुको पराजय र जमानत जफत हुनु पनि हो । हुनत, निर्वाचन परिणामबारे केही बुद्धिजीविहरुले आ–आफ्नै खाले अनुमान, दाबी र विश्लेषणहरु पनि गरेका थिए । त्यो केहीको ‘संयोग’ ले मिल्न पुग्यो भने केहीको नमिलेको अवस्था रहयो । खासगरि, कांग्रेस, एमाले र एमाओवादीको सिट संख्याबारे गरिएको आंकलन कमैको मिलेको छ । तर मधेसवादी दलहरुबारे गरिएको अनुमान चाही ‘करीब–करीब’ मेल खाएको छ । किनभने उनीहरु फुट, उपगुट र सत्तालिप्सामा तल्लिन रहेकोले जनताहरु धेरै पहिलेदेखि उनीहरुबाट आक्रोशित बन्दै गएका थिए ।
कांग्रेस सबैभन्दा ठूलो दल हुने अटकलबाजी उक्त पार्टीका ‘सक्रिय’ कार्यकर्ताबाहेक अरुले गरेकै थिएन भने पनि हुन्छ । यही स्थिति रहयो, एमाले र एमाओवादीमा । फेरी ‘प्रि–एलेक्सन प्रोजेक्सन’ नेपाल जस्तो दलगत रुपमा विभाजित समाजमा मिल्ले स्थिति पक्कै पनि थिएन, छैन । त्यसैले यहा“ सम्पन्न दुईटा संविधानसभाको निर्वाचनमा पनि त्यो मेल खाने कुरै भएन । फलस्वरुप प्रमुख तीन दलहरुको पक्षमा आएको परिणामलाई धेरैले ‘अनअपेक्षित’ भनि प्रतिक्रिया दिइरहेका छन् । यी प्रतिक्रिया दिनेहरुले यो निर्वाचनबाट सार्वजनिक भएको जनमत यहा“का राजनीतिक दलहरुलाई सचेत भई जनचाहना अनुरुप काम गर्न निर्देशित गर्ने खालको भएको बताउ“छन् । अगामी दिनहरु प्रमुख दलहरुका लागि थप चुनौतिपूर्ण रहेको धारणा समेत उनीहरुको छ । निर्वाचनपछिको जनमत वा जनादेशलाई दलहरुले संयमित र सन्तुलित भई प्रदर्शनका लागि दबाब दिने खालको छ । किनभने चौथो शक्तिका रुपमा मतदाताहरुले ‘राजाबादीहरु’ आफ्नो छनौटमा पारेका छन् । यसलाई वेवास्ता गर्न दलहरुले अब चाही“ गल्ति गर्नु हुन्न ।
![]() |
| सिरहाको लहानमा माघ ५ गते सातौ बलिदानी दिवसमा सहिद स्मारकमा मधेस जनविद्रोहका सहिदहरुको शालिकमा मल्र्यापण गर्दै फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव । |
पहिलो संविधानसभामा एमाओवादीलाई जनादेश दिएर एमाले र कांग्रेसलाई सुधारोन्मुख बन्नका लागि सन्देश दिन खोजेका थिए भने यो दोस्रो संविधानसभाको निर्वाचनले दुई दलहरुलाई आफ्नो पुरानो गल्ति पुन ः नदोहराउन विकल्पका रुपमा राजाबादीलाई प्रमुख दल समक्ष उभ्याइ दिएका छन् । उता, मधेसवादी दलहरुलाई पनि त्यस्तै सन्देश जनताले दिन खोजेको देखिन्छ । हालै सम्पन्न निर्वाचनले मधेसी दलहरुलाई सुध्रिन आग्रह गरिएको जस्तो देखिएको छ । पहिलेको ‘मदर पार्टी’ बाट मधेसी दलमा आबद्ध भएकाहरु जितेर सत्ता केन्द्रित राजनीति र फुटगुटको गलत संस्कारलाई बढावा दिए । अब त्यसलाई परित्याग गर्न मतदाताले आफ्नो जनमतबाट उनीहरुलाई सचेत पनि गराएको छ ।
२००८ सालपछि ‘तराई कांग्रेस’ र २०४६ पछि ‘नेपाल सद्भावना पार्टी’ मात्रै थियो । २०६४ पछि पहिलेको सद्भावना पार्टी (विभिन्न समूह) सहित मधेसी जनअधिकार फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टी गरि तीन वटा मात्रै मधेस केन्द्रित दल थिए । पहिलो संविधानमा यिनै तीन दलहरुका पक्षमा मधेसीहरुले मतदान गरेकै हुन । पचास भन्दा बढीको सहादत र दर्जनौको अंगभंगपछि सफल भएको मधेस आन्दोलनले ‘संघियता र समावेशिकता’ को मुद्दालाई नेपालमा स्थापित ग¥यो , त्यसलाई लिपीबद्ध गरि बैधानिकता प्रदान गर्न मधेसी दलहरु चुके । उनीहरु संविधानसभाको गठनसंगै शुरु भएको पद र सत्ता केन्द्रित राजनीतिमा चुर्लुम्म डुबे । यति भए त हुन्थ्यो नि ती मधेसी दलहरुमा कहिले नटुङ्गिने ‘शृंखलाबद्ध’ विभाजनको खेल शुरु भयो । यसले जन–जनमा निराशा, कुन्ठा, हताशा कायम हुन पुग्यो । बेरोजगारी, सुलभ शिक्षा र स्वास्थ्य सेवाको अवसर बञ्चित हुने मधेसीहरुको संख्या बढ्दै गयो । निर्माण र विकास ठप्प हुन पुग्यो । तराई–मधेसका जिल्लाहरुको स्थानीय निकायमा भ्रष्टाचार मौलाउ“दै गयो । मधेसीजनको दैनिकी कष्टप्रद बन्दै गयो । शितहलर, लू, बाढी, सर्पदंश, आगलागि, खडेरी, बाढीलगायतका दैविक प्रकोपमा परेकाहरुलाई सहानुभूति प्रकट गर्न समेत मधेसी दलका नेताहरुले आफ्नो कर्तत्व ठानेनन् । जनतालाई राहत प्रदान गर्ने खालका कुनैपनि नीति ल्याउन उनीहरु चुके , सत्ता खेलमा उनीहरु डुबे । पार्टी विभाजन गर्दै मन्त्री बन्नतिर व्यस्त भए । पार्टीहरुमा विभाजन यसरी भयो कि नेता पिच्छे दल र दल पिच्छे मन्त्री बन्ने शृंखला शुरु भयो । तर, विगतमा भएका यी विभाजनहरुलाई मधेसका बुद्धिजीवि र पेशाकर्मीहरु मात्रै होइन स्वयं चोइटिएर जानेहरुले ‘मधेसीहरुमा नेतृत्व विकास’ को संज्ञा दिएर पंछिन खोजे । मधेसका जनताहरुले त्यो कुरोलाई ठाडै अस्विकार गरेको पुष्टि यो चुनावबाट भएको छ । जनताको चाहना मधेसीहरु एकजूट भएर आऊन भन्नेनै थियो । तर च्याउ झै उम्रिन पुगेका मधेसका दल र नेताहरुले त्यो चाहना र आकांक्षाहरुलाई नजरअन्दाज गरिदिए । त्यसको परिणाम आज उनीहरु भोग्न बाध्य भएका मात्र हुन ।
झण्डै डेढ दर्जन मधेसी दलमध्ये तीन वटाका अध्यक्षले मात्र निर्वाचनमा जित हासिल गरेका छन् । केहीको जमानत बचेपनि अधिकांशको जफत भएको स्थिति छ । जीत हासिल गर्ने मधेसी दलका नेताहरुमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, फोरम नेपालका उपेन्द्र यादव र तराई–मधेस सद्भावना पार्टीका महेन्द्रराय यादव छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका शरदसिं भण्डारी, फोरम गणतान्त्रिकका राजकिशोर यादव, संघिय सद्भावना पार्टीका अनिलकुमार झा, नेपाल सद्भावना पार्टीकी सरिता गिरी, नेपाल सद्भावना पार्टी (गजेन्द्रबादी) का विकास तिवारीलगायतको प्रदर्शन यो निर्वाचनमा कमजोर रहयो । अझ ती दलका ‘भाइटल पोस्ट’ हरुमा रहेकाहरु एकपछि अर्को गर्दै पराजयको मुख मात्रै हेरेका छैनन्, जमानत समेत बचाउन नसक्ने अवस्थामा उनीहरु पुगेका छन् । खासगरि मधेसी दलका प्रभावशाली मानिएका नेताहरु हृदयेश त्रिपाठी, राजलाल यादव, बृशेषचन्द्र लाललगायतले पराजय बेहोर्नु परेको छ । निर्वाचनमा हारजीत स्वभाविकै प्रक्रिया भएपनि जनतालाई ‘जनार्दन’ नमान्दा समस्या हुने कुरोको सद्बुद्धि अगामी दिनहरुमा यी नेताहरुमा पलाउनेनै छ ।
निर्वाचनमा मधेसी दलहरुको कमजोर प्रदर्शनबारे डा.पारसनाथ यादव भन्छन्, ‘पहिलो संविधानसभापछि हरेक सरकारमा सहभागि भएपनि मधेस र मधेसीको मुद्दालाई संवोधन गर्न नसकेपछि जन–जनमा आक्रोश व्याप्त थियो । त्यसको रिभर्समा मधेसीहरुले मतदान भएको हो ।’ उनको यो भनाईमा मधेसका अन्य बुद्धिजीविहरुले सही थाप्दै भन्छन्, ‘नेपाली कांग्रेस र एमालेले राम्रो काम गरे या यी दुई दलका नेताहरु राम्रा छन भनेर मधेसीले मतदान गरेको पटक्कै होइनन् । मधेसी नेताहरूलाई सन्देश दिन र पाठ सिकाउन उनीहरुले विपक्षमा मतदान गरेका हुन् । यो एउटा आक्रोश मात्रै हो । ’ मधेसका विश्लेषकहरुका अनुसार पहिलो संविधानसभाले मधेसी दलहरुलाई सरकारमा जाने जनादेश दिएको थिएन । ‘पहिचान सहितको संघियता र संघियतासहितको संविधान’ निर्माण गर्न धेरै प्रतिनिधि अघिल्लो संविधानसभामा मधेसीले पठाएकै थिए । ‘तर उनीहरुले सत्ताकेन्द्रित राजनीति शुरु गरेपछि जन–जनमा आक्रोश बढ्न गयो । अझ पार्टी फोडेरै सरकारमा जाने होडबाजीमा उत्रे केही नेताहरु ’ डा.यादव भन्छन्, ‘ जनताको निराशा र आक्रोश परिणाम हो, मधेसी दलहरुको कमजोर प्रर्दशन ।’ सप्तरीका मुस्लिम सामाजिक कार्यकर्ता इब्राहिम अन्सारीले भने, ‘मधेसका प्रतिनिधि कहलिएकाहरु आकाशमा उक्लेका थिए, उनीहरुको भू“ईमा खुट्टै थिएन, बल्ल सतहमा आएका छन, अब पक्कै चेत खुल्ला । ’उनका अनुसार कांग्रेस र एमालेबाट आएकाहरु ‘मधेसबाद’ को नाममा मधेसीमाथि शासन गर्न खोजेकाले मतदाताहरुले बरु राष्ट्रिय पार्टीहरुनै असल भन्दै मत जाहेर गरेका हुन । Kantipur Qutar 28 th Nov 2013


No comments:
Post a Comment