Monday, 18 September 2023

उपराष्ट्रपति यादवद्वारा हरितालिका तीज, विश्वकर्मा पूजा, र चौरचनको शुभकामना

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचनको पावन अवसरमा स्वदेश र विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि, सुदीर्घ, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
उपराष्ट्रपति यादवद्वारा हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचनको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ
हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचन (चकुचन) पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुदीर्घ र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । हामीले वर्षभरी नै विभिन्न चाडपर्वहरु धूमधामका साथ मनाउँदै आएका छौ । हाम्रा सामाजिक मान्यता, परम्परा, रीतिरिवाज, र पूर्व संस्कारहरुको आधारमा मनाइने चाडपर्वहरुले हाम्रो जीवनमा परिवर्तन र उल्लासको संचार गर्ने गर्दछ । जसरी प्रत्येक समुदाय, जाति र धर्मको आ–आफ्नै मान्यताहरु छन्, त्यसरी नै चाडपर्वहरुको अनुष्ठान र विधिहरुमा स्थान र भूगोल अनुसार विविधता रहेको पाइन्छ । तर, यी सबैभित्र सामुहिकता, एकता, जातिय सहिष्णुता, भाइचारा र मेलमिलापको महत्वपूर्ण सन्देश र मूल भावहरु निहित रहेका हुन्छन् । आपसमा उत्साह, उमङ्ग र खुशी साटासाट गर्दै आपसी वैमनस्यता, रिसराग, द्वेश, क्लेश, हिंसा, हिनता र कलुषित मनोभाव हटाउनमा चाडपर्वहरुले सहयोग गर्नुका साथै सत्य, निष्ठा, निष्कपटता र आत्मविश्वासको उच्च र श्रेष्ठ भावनाहरु व्यक्तिहरुमा संचार गर्न पनि सहयोग गर्दछ । सांस्कृतिक र सामाजिक चेतनाको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्व र उत्सवहरु समाज र देशको कल्याण एवं सुख, शान्ति र समृद्धिहरुको माध्यम पनि भएकाले यही महत्वपूर्ण उद्देश्य, ध्येय र मान्यताका साथ हामीले पर्वहरु मनाउनु पर्दछ ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने एउटा मौलिक र महान पर्व हो । विवाहित महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायू तथा अविवाहिताहरुले सुयोग्य वर पाउने आकांक्षा र आस्थाका साथ तीजको व्रत बस्ने परम्परा छ । श्रद्धालु महिला तथा दिदीबहिनीहरुले नेपाली मौलिकतालाई जीवन्त राख्ने संस्कार र संस्कृतिको परिधीभित्रै रहेर यो पर्व मनाउनु पर्दछ । यसरी मनाउँदा मात्र नेपाली जनजीवनको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचान जर्गेना हुन सक्दछ । आधुनिकताको नाममा मौलिक संस्कृतिलाई ओझेलमा पार्ने र आर्थिक भार पर्ने गरी चाडवाड मनाउने विकृतिहरुलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना हामी सबैले गर्न अति आवश्यक छ ।
यसैगरी, प्रत्येक वर्षको कन्या संक्रान्तिका दिन विश्वकर्मा पूजा (विश्वकर्मा जयन्ती) कलकारखाना, पार्टपूर्जा, यन्त्रहरुको पूजापाठ गर्दै अत्यन्तै भक्तिभाव, श्रद्धाभाव, आस्था र हर्षोल्लासका साथ मनाइन्छ । विश्वकर्मालाई विश्वकै पहिलो वास्तुकार र इन्जिनियर भएको मानिन्छ । सम्पूर्ण सृष्टिमा सबै सृर्जनात्मक कर्मको मूल/स्रोत भगवान विश्वकर्मा भएको मान्यता अनुसार उहाँको पूजा गरे प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा प्राप्त हुने र काममा आउने अवरोधहरु हट्ने जनविश्वास परापूर्वकालदेखि रही आएको छ । यो पर्वले सम्पूर्ण नेपाली नागरीकमा सकारात्मकताको सन्देश संचार गरोस् । विश्वकर्मा पूजाका अवसरमा समाज र देशलाई नवनिर्माणको पथमा लम्काउन सहयोग गर्ने सम्पूर्ण शिल्पीकार, रचनाकार र वास्तुकारलाई हार्दिक बधाई दिँदै सुख, वैभव एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
त्यस्तै, मधेशका जिल्लाहरुमा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि आंगनीमा गाईको गोबरले लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै हिन्दू ब्रतालुले फलफूल र विभिन्न मौलिक परिकारसहित आस्था र निष्ठापूर्वक चौरचन (चकुचन) पर्व मनाउने मौलिक प्रचलन रही आएको छ । गणेश चौंठीको नामले समेत लोकप्रिय यो लोकपर्वमा दही, नरिवल, केरा, पुरी, खीर र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो पूजाको अनुष्ठान सम्पन्न गरिन्छ । यो पर्वले मधेशमा धार्मिक सहिष्णुता, भाइचारा र मेलमिलापमा सघाउ पुर्याउने विश्वास लिएको छु ।
अन्तमा, हाम्रा सबै चाडपर्व, त्यौहार र उत्सवहरु देशलाई एकताको सुत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई बलियो बनाउने भएकाले हामी सबै एक आपसमा मिलिजुली यी पर्वहरु मनाऔं । सामाजिक, सांस्कृतिक, सहिष्णुता र एकताको प्रतीकका रुपमा मनाइने हरितालिका तीज, विश्वकर्मा पूजा एवं चौरचन (चकुचन) को फेरी पनि मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सम्बन्धीत समाचारका लिंकहरु :-
https://www.ratopati.com/story/385335/ramsahaya-yadav
https://nepalpatra.com/politics/281745/
https://www.nepalpress.com/2023/09/18/376134/
https://www.facebook.com/ramsahay2021/?locale=ro_RO&paipv=0&eav=AfbPEpHWi2z8gsZ9RPH5gGHOmBOa17Uwu4Ge8q7mzyJk30d-HxjEA0HJs2bdZlJfSE0&_rdr
https://www.prasashan.com/2023/09/18/472858/
https://gorkhapatraonline.com/news/78717
https://onlineradionepal.gov.np/2023/09/18/426936.html
https://tesroaakha.com/posts/18061
https://purwanchaldaily.com/176472/
https://corporatekhabar.com/yadav-11/
https://www.sunakharinews.com/182723/
https://www.dainiknepal.com/2023/09/649963.html
https://www.drishtinews.com/archives/276399
https://www.digitalkhabar.com/2023/09/18/151281/
https://www.deshkonews.com/archives/157363
https://nepalsamaj.com/2023/09/18/215168/

No comments:

Post a Comment