Wednesday, 20 September 2023

उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
“सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ आजकै दिन [असोज ३ गते] जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस ९राष्ट्रिय दिवस० को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”
उहाँले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशितालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा उहाँले सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
“सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यानाकृष्ट हुने विश्वास लिएको छु”, सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि युवा बिदेसिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नका लागि सरोकारवाला सबैलाई आह्वान गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षका क्रममा ज्यान गुमाउनुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ ।
सम्मानीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को सुखद अवसरमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ-
हजारौं नेपालीको वलिदान, योगदान, आहूति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान २०७२ आजकै दिन (असोज ३ गते) जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस (राष्ट्रिय दिवस) को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइहरु तथा दिदीबहिनीहरुलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधानको प्रस्तावना ‘हामी सार्वभौम सम्पन्न नेपाली जनता’ बाटै शुरु भएको छ । संविधानको आत्मा भनेको जनताको प्रतिस्पर्धात्मक संघीय बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने हो ।
हाम्रो संविधानले मुलुकमा वर्षौदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई संवोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । प्रजातान्त्रिक राजनीतिक व्यवस्था अपनाइएका मुलुकहरुमा संविधानलाई मुल कानूनको रुपमा मानिएको हुन्छ । संविधानसंग बाँझिने कानूनहरु बाँझिएको हदसम्म अमान्य हुन्छन् ।
नेपालको संविधानले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात समेत गरेको छ । कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैक्तिगत स्वतन्त्रताबाट वञ्चित गरिने छैन भने विषय मौलिक हकमै समावेश गर्नुले संवैधानिक उच्चता र गरिमालाई दर्शाउँदछ ।
संवैधानिक अंग र निकायहरुको पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने संवैधानिक व्यवस्था हाम्रो संविधानको मूल मर्मलाई किन्चित अवहेलना गरिनु हुन्न । संविधानको अक्षर र भावनाहरुले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्म लोकतान्त्रिक संघीयता, समावेशीता आदिलाई सबैले पालना गर्नु पर्दछ । संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँडमा केही ढिलाईहरु भएकोले आगामी दिनमा संघीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यान आकृष्ट हुने विश्वास लिएको छु ।
तर,जनसांख्यिक लाभांशको रुपमा रहेका लाखौं कर्मशील युवाहरु श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको लागि निरन्तररुपमा विभिन्न मुलुकमा विदेशिनुले नेपाली नागरिकहरुले गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुन कठिन हुने भएकाले सम्बन्धीत सबैले यो विषयबारे गम्भिर चिन्तन र मनन गर्दै समस्या समाधान उन्मुख हुन जरुरी छ । संविधानको मर्म र भावना अनुसार प्रत्येक नागरिकलाई स्वदेशमै रोगजारीको अवसर प्राप्त हुनेगरी काम गर्न सबैजना दत्तचित्त भै अघि बढ्नै पर्दछ ।
अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेश जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको संघर्षका क्रममा अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण ज्ञात÷अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते र अंगभंग भएकाहरुप्रति उच्च सम्मान एवं संघर्षका लागि पथ प्रदर्शन गर्नु भएका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मानसहित उच्च प्रशंसा व्यक्त गर्दै संविधानको कार्यान्वयनमार्फत नेपाली आमजनको हित र सिंगो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु
समाचारका सम्बन्धीत लिंकहरु
https://gorkhapatraonline.com/news/78934
https://www.nepalpress.com/2023/09/20/376825/
https://onlineradionepal.gov.np/2023/09/20/427486.html
https://www.sanghunews.com/content/75013
https://shilapatra.com/detail/121393
https://purwanchaldaily.com/176590/
https://newspolar.com/archives/200783
https://www.newsabhiyan.com.np/news-details.php?nid=307279
https://vpn.gov.np/message-details/65/16345334
https://barnanmedia.com/detail/1695165513-u-p0-23-09-20
https://nepaltvonline.com/2023/09/79654/

No comments:

Post a Comment