प्रदेश २ मा विभिन्न तीन पद (संचार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र तथा लोक संचार प्रर्वधन बोर्ड) मा भएका नियुक्तिबारे मैले धेरै प्रतिक्रियाहरु पाएको छु । शायद संचार क्षेत्रमा वर्षौदेखि क्रियाशिल रहेको र मेरो सरोकारको विषय भएर पनि यी प्रतिक्रियाहरु आएको हुनुपर्छ । सम्बन्धित व्यक्ति र अन्य सरोकारवालालाई यो विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले मैले प्राप्त गरेका प्रतिक्रियाहरु यहाँ उल्लेख गर्दैछु –
१. सप्तरीबाट एकजना वरिष्ठ पत्रकार– संचार प्राधिकरणमा त्यस्ता ब्यक्तिलाई नियुक्त गरिएको छ, जो जिल्लामा नेतृत्व गर्न संधै डराउने गरेका थिए । पत्रकार महासंघमा वर्षौ क्रियाशिल रहेपछि अध्यक्ष बन्ने आँट देखाउन तिनले कहिले सकेनन् । मिडिया काउन्सिलमा नियुक्त भएका व्यक्ति वर्षौ पत्रकारितामा क्रियाशिल रहेपनि तिनको मधेस आन्दोलनमा खासै योगदान छैन । यसअघि संचार क्षेत्रकै अन्य पदमा गैर–मधेसी पार्टीको सिफारिसमा पटक–पटक अवसर पाईसकेका व्यक्ति हुन् । यो नियुक्ति पनि तिनले बाबुराम भट्टराईको सिफारिसमा पाएका हुन् ।
२. जनकपुरबाट अर्का वरिष्ठ पत्रकार – सचार प्राधिकरण र मिडिया काउन्सिलमा गरिएको नियुक्तिमा क्षेत्र र भूगोलको सन्तुलन मिलाउन नसक्नु गम्भिर त्रुटी हो । यी दुई पदमा संचार क्षेत्रकै व्यक्तिहरुको नियुक्ति भएपनि प्राधिकरणको अध्यक्ष पदमा अत्यन्तै कनिष्ठ परेका छन् । सप्तरीमा उनी संलग्न रहेको संस्थाहरुमा संधै ‘बोरो’ र ‘फ्लोअर्स’ को रुपमा मात्र काम गरेका छन् । काउन्सिलका अध्यक्षमा नियुक्त व्यक्ति मधेसका हुन तर मधेसी होइनन् । उनी अनुभवी भएपनि उनका आचरण मधेसको पक्षमा कहिले देखिएको छैन । प्रदेश दुईबाट गैर–मधेसीको सिफारिस हुन्छ भने मधेसी अब कहाँ जाने ?
३.प्रदेश २ का बहालबाला एक जनामन्त्री – अत्यन्तै निराशाजनक नियुक्ति गरिएको छ । नियुक्ति गर्ने जिम्मेवारी पाएका मन्त्रालयका मन्त्री कुनै सही भिजननै नभएको व्यक्ति हुन् तिनले गरेको निर्णय राम्रो हुन्छ भनेर कल्पना गर्न सकिन्न । उनी आँखामा पट्टी लगाएको टमटममा जोतिने घोडा हुन्– तिनमा कुनै मौलिकता पनि छैन । भनिसके–भिजनै नभएको व्यक्तिबाट गरिएका यी नियुक्तिहरु उपेन्द्र यादव र बाबुराम भट्टराईको ठाडो आदेशमा भएको हो । यी नेताको कोटामा मन्त्रालय परेकाले हामीले केही गर्न सकेनौं, दुःख लागेको छ ।
४. धनुषाका एक पत्रकार – दाजू , प्रदेश –२ त पुरै जातिवादीमा गईसक्यो । पछिल्ला नियुक्तिहरुले त्यस्तै पुष्टि गर्छ । उपेन्द्र यादवको पक्षधर मन्त्रीले दुई यादवलाई नियुक्ति गर्यो, राजेन्द्र महतोको पक्षधर मन्त्रीले दुई साहलाई नियुक्ति गर्यो । महन्थ ठाकुरको पक्षधरले ब्राह्मणलाई नै सिफारिस गर्छन् । मैथिलीमा ब्राह्मणबाहेक अन्य वहिष्करणमा परेका छन् । हामी यी क्याटेगरीभन्दा पृथक समुदायकाले त अवसर नै नपाउने अवस्था छ । के मधेस आन्दोलन जातिवादलाई प्रश्रय दिनका लागि गरिएको थियो ?
५. सर्लाहीका एक युवा नेता – पछिल्ला नियुक्तिमा सम्बन्धित क्षेत्रमा क्रियाशिल रहेकाहरुले ठाउँ पाउनु सकारात्मक भएपनि पदीय हैसियत अनुसार काम गर्ने एक जना पनि नपर्नु दुखद छ । चलचित्र बोर्डमा काम गरिसकेकालाई फेरी नियुक्त गरेर एउटै व्यक्तिलाई पटक–पटक अवसर दिनु राम्रो होइन । यो क्षेत्रमा अन्य धेरै छन् तिनीहरुलाई पनि ल्याउन सक्नु पर्छ ।
६. वाराका एक पत्रकार – सप्तरी, सिरहा, धनुषा र महोत्तरी बाहेक अन्य जिल्लाबाट नियुक्ति पाउनै मुश्किल भईसक्यो त, प्रदेश २ मा । नेताहरुको भिजनै छैन । आठ वटा जिल्लालाई समेत जोडन सक्ने र सन्तुलन गरेर लैजाने हैसियत नभएका नेताहरुका कारण प्रदेशमा जनता निराश छन् । जात मिलाउन नसकेपनि कम्तिमा भूगोल त मिलाउनै पर्ने हो । त्यो पनि मिलाउन नसक्नेलाई खै कसरी पो नेता मान्ने ?
७. समाजिक संचालमा प्रतिक्रिया –भावनामा बगेर प्रतिक्रिया दिनेहरु धेरै भेटिए । नियुक्ति पाएका व्यक्तिहरुको समाजमा राम्रो व्यवहार र आचरण भएरै यस्तो प्रतिक्रियाहरु आएको हुनुपर्छ । तर, सप्तरीबाहेककाले सहि व्यक्तिहरुको छनौट भएको भन्ने भेग थाहा पाउने गरी प्रोफाईलसहितको प्रतिक्रिया कहि कतै आएको छैन । धेरै मिडियाले यो समाचार कभरेजसम्म गरेको पाईएन । अझ सरकारी मुखपत्रमा समेत आज यसबारे समाचार लेखिएको छैन । त्यस्तै, व्यावसायिक पत्रकारिता गर्नेहरुमध्ये साथीभाई र चिनेजानेका बाहेक अन्यले आफ्नो प्रतिक्रिया यी नियुक्तिहरुमा अझै जनाएको देखिएको छैन ।
माथि उल्लेखित प्रतिक्रियाहरु केही उदाहरण मात्र हुन । मैले ३५ वटा जति फोनमार्फत् प्रतिक्रिया पाएको थिएं । अधिकांशले संचार क्षेत्रमा नियुक्ति भएका व्यक्तिहरुबारे मसंग जिज्ञासा राखेका थिए । उनीहरुको भनाई थियो –तपाईले प्रदेश २ को सबै गतिविधि र नियुक्तिमा प्रतिक्रिया जनाउने तर पछिल्लो नियुक्तिबारे कुनै प्रतिक्रिया नदिनुको कारण के हो ?
यसमा मेरो जबाब–पत्रकारिता क्षेत्रमै क्रियाशिल र अन्यको तुलनामा विवादरहित व्यक्तिहरुको चयन भएकाले काम हेरेर प्रतिक्रिया दिने बाचा गर्छु । संचार क्षेत्र मेरो आफ्नै सरोकारको क्षेत्र भएकाले गुण र दोषको सहि विश्लेषण गर्दै तथ्यपूर्ण प्रतिक्रिया म लेख्नेछु, अहिलेका लागि नवनियुक्त अध्यक्षहरु शिवहरी भट्टराई, श्यामसुन्दर यादव र धर्मेन्द्र मरवैता यादवलाई हार्दिक बधाई तथा शुभकामना ।
No comments:
Post a Comment