Monday, 8 February 2021

'भोजपुरी शब्दकोश जतिको माग मैथिली शब्दकोशको भएन'

‘नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको भोजपुरी शब्दकोशको तुलनामा मैथिली शब्दकोशको माग त्यति भएन,भोजपुरी शब्दकोशको माग नेपालमा मात्र होइन भारतबाट समेत विभिन्न संघ संस्थाले गरे तर मैथिली शब्दकोश त्यति चलेन ...’ यी भनाई प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीका हुन् । डा.विश्वम्भरकुमार शर्मा र गोपाल अश्कद्वारा लिखित ‘भाषा र भोजपुरी भाषा’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले उक्त भनाई राखेका हुन् । भोजपुरी शब्दकोश का लेखकहरुमा डा.गोपाल ठाकुर, दिनेश गुप्ता र गोपाल अश्क छन् भने मैथिली शब्दकोशका लेखक डा.योगेन्द्रप्रसाद यादव हुन् । मैथिली र भोजपुरी नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने क्रमशः दोस्रो र तेस्रो भाषा हो । अझ मैथिली भाषामा लेखिएको पुस्तकको डिमान्ड बढी हुनु पर्नेमा कम हुनु राम्रो संकेत होइन । यो के कारणले भयो त्यसलाई खोतल्नु आवश्यक छ ।
लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिष्ठानका कुलपति उप्रेतीले भने,‘भाषा भूगोलको आधारमा छुट्टिदै जान्छ । नेपालमा बोलिने भोजपुरीलाई यो पुस्तकले अपनत्व ग्रहण गर्न सहयोग गर्नेछ, कुनै भाषालाई स्थायित्व र स्थापित गर्न त्यो भाषाको व्याकरण र साहित्य आवश्यक हुन्छ । भोजपुरी त्यो मायनेमा अब्बल छ । ’ उनले नेपालको पहिचान भनेको बहुलता हो भोजपुरी त्यसको एउटा महत्वपूर्ण अंग भएको जनाउँदै विभिन्न भाषाका आफ्नै लिपीहरु भएपनि ती लिपीमा लेखिएका र प्रकाशित कृतिहरु धेरैले नरुचाएको समेत बताए । ‘धेरै मातृभाषामा प्रतिष्ठानले पत्रिकाहरु निकाल्छ । अधिकांशले देवनागरी लिपीमै निकालिरहेका छन् । तर लिम्बू भाषाको पत्रिकाले आफ्नै लिपीमा प्रकाशन गर्दा त्यति चलेन, त्यही भातृभाषाकाले पनि बुझेन वा पढ्नै सकेनन् । पाठक अत्यन्तै कम भए ’ उनले भने, ‘भाषाका विज्ञहरुसंग छलफलपछि लिम्बू भाषाको व्याकरण देवनागरीमै प्रकाशन गर्यौ । अहिले त्यसको पठनपाठन राम्ररी भईरहेको छ । धेरैले त्यो पढिरहेको र रुचाई रहेका छन् । ’ कुलपति उप्रेतीले मैथिली भाषाको व्याकरणको प्रसंग कोट्याउदै भने, ‘मैथिली भाषा शब्दकोश बने तर त्यति लोकप्रिय हुन सकेन , जति भोजपुरी भाषाको शब्दकोशको भएको थियो । ’
लोकार्पण कार्यक्रममा प्राज्ञ देवी नेपालले ‘भाषा र भोजपुरी भाषा’ पुस्तकको समीक्षा गरेका थिए । उनले २१६ पृष्ठको यो किताबमा भाषाको खण्ड सानो भएपनि भोजपुरी भाषा र यसको विकास तथ्य र प्रमाणहरुका आधारमा रहेको बताए । ‘पुस्तकमा भाषिक विभेदहरुको समेत चर्चा गरिएको छ । यसमा नेपालमा भोजपुरी भाषासंग सम्बन्धित सर्वेक्षण समेत गरिएको छ जसमा २००७ पछिका सन्दर्भहरु समेत परेका छन् ’ उनले भने, ‘यो पुस्तक नेपालीभाषामा लेखिएको भोजपुरी व्याकरण हो । नेपालमा १२३ वटा भाषा छन् तर दुई÷तीन दर्जन मात्रै सक्रिय अवस्थामा छन् । त्यसमा भोजपुरी पनि एक हो । यो पुस्तक भोजपुरीमै लेखिएको भए भोजपुरी इत्तर भाषीलाई गाह्रो हुनेथ्यो । ’ उनले भारत आसाम को आफ्नो भ्रमणको सन्दर्भ कोट्याउदै भने, ‘आसामा विद्यार्थीहरुले चार वटा भाषासम्म पढ्छन् । अन्तर्राष्ट्रिय भाषाका रुपमा अंग्रेजी, राष्ट्रिय भाषाका रुपमा हिन्दी, प्रान्तीय भाषाका रुपमा आसामी र मातृभाषाका रुपमा नेपाली पढ्छन् । असामको भुटानी बोर्डरमा भुटानीहरुले जोङ्खा भाषा बोल्छन् । भारतीयहरुले बोडो बोल्छन् । एकअर्काको भाषा नबुझेपछि सम्पर्क भाषाका रुपमा दुवैले नेपाली भाषाको प्रयोग गर्छन् । ’ उनले नेपालको सन्दर्भमा पनि नेपालीलाई सम्पर्कको भाषा बनाउन सकिने बताए । कार्यक्रममा प्राडा देवीप्रसाद गौतमले पुस्तक भोजपुरी भाषाको व्याकरण नभएर भोजपुरीमा व्याकरण लेख्नेहरुका लागि आधार पुस्तक भएको बताए । उनले भाषाको हेर्ने दृष्टिकोण फरक पर्ने विषय भएको जनाए । ‘यो पुस्तकको प्रस्तुतिको भाषा नेपाली तर पढ्ने भाषा भोजपुरी छ । तर नेपाली–भोजपुरीमा समानता छ भन्ने विषय परेका छन् तुलना भने गरिएको छैन यो सकारात्मक पक्ष हो ’ उनले भने, ‘साहित्य नभएका भाषाका लागि लोक साहित्य छ , त्यसलाई लिएर पनि अगाडि बढ्न सकिन्छ । भाषालाई जोगाउने लोक साहित्य पनि त एउटा विद्या हो । ’ प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य तथा भोजपुरी साहित्यका चर्चिक साहित्यकार दिनेश गुप्ताले भोजपुरी भाषाभाषीको संख्या घट्दै जानुप्रति गम्भिर चिन्ता व्यक्त गर्दै ‘भाषा र भोजपुरी भाषा’ पुस्तक आदर्श भोजपुरी वा केन्द्रिय भोजपुरी शैलीमा लेखिएकाले सबैका लागि उपयोगी रहेको बताए । ‘किताब नेपालीमा लेखिएको छ , अनुसन्धनात्मक कृतिहरु नेपालीमै लेख्दा राम्रो हुन्छ ’ उनले भने, ‘प्रत्येक पाठको अन्त्यमा सारंशले पाठकलाई तान्ने काम गरेको छ । ’ उनले बिरगंज शैलीको भोजपुरी भाषाको गीत ‘किस्मत स निकके चैल जैबु, दिल स निकल के नई जैबु.....’ चर्चित रहेको बताए । कार्यक्रममा यो पुस्तकका प्रकाशक ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डे र हिन्दी साहित्यकार डा. स्वेता दिप्तीसहितले आआफ्नो धारणा राखेका थिए । https://ekantipur.com/literature/2021/02/07/161270916945775293.html?fbclid=IwAR3b7-Tv6GToBIUqBVxkL1UMlYM4cogtpKxRYvSrvkI2LM6Awxkezeny_9k

No comments:

Post a Comment