Saturday, 13 February 2021

अमेरिकी महिला अर्थमन्त्री येलेनको सफलताको कथा

‘संधै याद राख्नुस्, सफलताका लागि तपाईका आफ्नै संकल्प कुनै अन्य संकल्प भन्दा बढी महत्व राख्छ’ –यी भनाई अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनका हुन । हो, कुनै व्यक्तिलाई सफलताको शिखरमा पुग्ने अस्त्र उसको आफ्नै संकल्पको विकल्प छैन । शायद यसैलाई पछ्याएकी छन् अमेरिकी इतिहासमा पहिलो अर्थमन्त्री बन्न सफल जेनेट येलेनले । त्यसैले त उनी जीवनमा एक होइन, धेरै पटक इतिहास रचेकी छन् । पुरुषहरुको दबदबा रहेको समाजमा महिला भएर सफलताको चोटीमा पुग्नु चानचुने कुरा होइन । भनिन्छ, ‘मरुभूमिमा फूल्ने फूलले प्रमाणित गर्छ कि परिस्थिति जतिसुकै प्रतिकूल भएपनि त्यसलाई आफ्नो अनुकूल बनाउन सकिन्छ ।’ येलेनले आफ्नै अनुभव, लगन र बलबुतोमा आफू अनुकूलको परिस्थिति बनाउँदै लगिन, सफल भईन । चौहत्तर वर्षअघि अमेरिकाको न्युयोर्कस्थित बुक्रलिनमा एक मध्यम वर्गीय यहुदी परिवारमा जन्मेकी उनको पुरा नाम ‘जेनेट लुइज येलेन’ हो । यिनी सानैदेखि मेधावी हुन् । छोरीको अब्बल दर्जाको प्रतिभाबारे आमा अन्ना रुथलाई थाहा नहुने कुरै भएन । त्यसैले छोरीलाई स्याहर्नकै लागि उनले इलिमेन्ट्री हाई स्कूलको शिक्षण पेशा छाडिन । बुबा जुलियस येलेन पेशाले चिकित्सक थिए । आफ्नै घरको भूईतल्लामा उनको क्लिनिक थियो, तर अति व्यस्त थिए । आमाबुबा दुवैको व्यस्त दिनचर्याका कारण येलेनको स्याहार र हेरचाह राम्ररी हुन सकिरहेको थिएन । छोरीलाई स्याहार्नै आमाले जागिर छाडेकी एसोसिएटेट प्रेस (एपी) को समाचारमा छ । हामीकहाँ पैसा र जागिरको पछि दौड्दा पछिल्लो समय धेरै अभिभावकका सन्तानको बाल्यपन गुमेको र बालबालिका कुमार्गमा हिडेको उदाहरण भेटिने गरेको छ । मुलुकमा ‘किन्डरगार्टेन’ र ‘रिहाइबिटेसन सेन्टर’ को बढ्दो संख्या र त्यहाँ भर्ना गरिएकोहरुको भीडले त्यसको थोरबहुत पुष्टि गर्छ । येलेन भने अमेरिकामै भएर पनि यो मामिलामा भाग्यशाली छोरी हुन ।
आज ती छोरी २३१ वर्षको अमेरिकी इतिहासमा पहिलो महिला बनेकी छन् । अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’ का अनुसार येलेन अमेरिकाको ७८औं अर्थमन्त्री बनेकी छन् भने त्यहाँका ४६औं राष्ट्रपति जो बाइडेनको मन्त्रिमण्डलमा तेस्रो वरियतामा परेकी छन् । यति मात्रै होइन, अमेरिकी संघीय सरकारको तीन अत्यन्तै शक्तिशाली र प्रमुख आर्थिक निकायहरु–अर्थमन्त्रालय, केन्द्रिय बैंक (फेडरल रिजर्भं) र ह्वाइटहाउसमा आर्थिक सल्लाहकार परिषदको नेतृत्व गर्नेमा पनि उनी पहिलो व्यक्ति बनेकी छन् । ‘ब्रिटानिका डटकम’ का अनुसार येलेन जुन–जुन पदमा पुगिन पहिलो महिला दर्ज भईन । आर्थिक मामिलाकी राम्रो जानकारका रुपमा विख्यात भईन । उनी कुनैबेला सम्पादक समेत बनेकी थिइन । ‘इन्भेस्टोपेडिया’ ले यसबारे लेखेको छ, ‘येलेन संयोगवस आफू पढ्ने ‘फोर्ट हेमिल्टोन हाईस्कूल’ ले प्रकाशन गर्ने पत्रिकामा सम्पादक समेत बन्न भ्याइन ।’ गजब कुरा त के छ भने उनी स्कूल पढ्दाताका बनाएको नोट अनौपचारिक पाठ्यपुस्तकका रुपमा समेत प्रयोग हुने गरेको छ । विद्यालय तहमै शैक्षिक उपलब्धी राम्रो हुनेलाई दिइने उपाधी ‘भ्यालेडिक्टोरियन’ समेत पाउन उनी सफल भईन । त्यस्तै, ‘डिक्टिन्सन’ सहित शैक्षिक उपाधि प्राप्त गर्नेलाई लेटिन भाषामा दिइने सम्मान ‘सम्मा कम लाउडे’ र अति प्रतिष्ठित सम्मान ‘फी बिटा कम्पा’ पनि उनले प्राप्त गरिन । उनी कक्षाकोठा बाहिर लजालु र शान्त तर कक्षाभित्र भने सक्रिय र प्रत्यक्ष सहभागिता जनाउँथिन । आफ्नो प्रतिभा प्रस्टफुटन हुने कुनै पनि मौका उनी गुम्नै दिन्नथिन । येलेन ब्राउन र येल विश्वविद्यालयबाट स्नातक हुन । उनीसंग विश्वकै सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरु हावार्ड, द लन्डन स्कूल अफ इकोनोमिक्स र क्यालिफोर्निया विश्वविद्यालयमा अर्थशास्त्र पढाएको अनुभव छ । सन् १९७१ मा येले विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गर्ने २४ जनामध्ये येलेन एक्लो महिला थिईन । विश्वव्यापी बित्तिय संकटका कारण घटदो रोजगारी र निरन्तर आर्थिक सुधारको चरणमा फेडरल रिजर्भको प्रमुखका रुपमा येलेनलाई सम्झिने गरिन्छ । यिनी सन् २०१४–१८ सम्म अमेरिकाको केन्द्रिय बैंक ‘फेडरल रिजर्भ सिस्टम’ (द फेड) को गभनर्स परिषदका अध्यक्ष रहिन । संचार माध्यमहरुका अनुसार नवनियुक्त राष्ट्रपतिको आर्थिक नीतिहरुलाई सही आकार र दिशा प्रदान गर्ने कार्यमा निर्णायक भूमिका खेल्न सक्ने भनेर उनलाई अर्थमन्त्रीमा ल्याइएको हो । उनीमाथि २२ लाख २१ हजार ६०० करोड रुपैयाँ (१ दशमलव ९ ट्रिलियन डलर) को अमेरिकी ‘रेस्क्यु पलान’ को रेखदेख गर्ने, एक लाख ६० हजारको प्रोत्साहन चेक सर्वसाधारण समक्ष पुर्याउने, बेरोजगारी घटाउने र कोभिड–१९ खोप कोषको निगरानी गर्ने दायित्व थपिएको छ । यसअघि उनी अमेरिकामा बेरोजगारी दर ६ दशमलव ७ प्रतिशतबाट घटाएर ४ दशमलव १ प्रतिशतसम्म ल्याउन सफल भईसकेकी छन् । त्यस्तै, सन् २०१५ मा प्रमुख ब्याज दरहरुमा बृद्धि गर्न उनी सफल भएकी थिइन । येलेन फेडरल रिजर्भको अध्यक्ष छँदा १६ डिसेम्बर २०१५ मा ब्याजदर (रेपो रेट) मा बृद्धि गरेकी थिइन । उनको ब्याजदरमा बृद्धि गर्ने उक्त निर्णय सन २००६ पछिको पहिलो थियो । श्रम बजारको दृष्टिकोणले महत्वपूर्ण मानिएको फेडरल रिजर्भ सिस्टममा सबैभन्दा लामोसमय अध्यक्ष भएर काम गर्ने भाग्यशाली महिला पनि हुन् । उनको कार्यकालमा बेरोजगारी दर ६.७ प्रतिशतबाट घटेर ४.१ प्रतिशत अर्थात् २.६ प्रतिशत घटेको थियो । पछिल्लो समय अमेरिकी अर्थतन्त्र जर्जर अवस्थामा छ । यसको प्रभावलाई न्यून गर्न बाइडेनले १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेज अघि सारेकाले येलेनको भूमिका झनै महत्वपूर्ण हुनेछ ।
अमेरिकी सिनेटको सुनुवाईका क्रममा गत २५ जनवरीमा सिनेटमा येलेनको समर्थनमा ८४ र विपक्षमा १५ मत परेको थियो । सिनेटमा सत्ताधारी डेमोक्रेटिक पार्टी र प्रतिपक्ष रिपब्लिकन पार्टीको ५०–५० सदस्य छन् । डेमोक्रेटिक पार्टीका सदस्य येलेनले कडा प्रतिस्पर्धात्मक दुई दलिय मतदानमा रिपब्लिकनको ३४ मत पाउन सफल मात्रै भएकी छैनन्, तीमध्ये धेरैले उनीसंग काम गर्ने वाचा समेत गरेका छन् । यो उनका लागि सकारात्मक पक्ष हुन सक्छ । सिनेटमा बहुमतका नेता चक शुमरले भनेका छन्, ‘ येलेनको मनोनयनलाई दुई दलहरुले समर्थन गर्नु भनेको उनको अनुभवलाई स्वीकार्यता प्रदान गर्नु हो । साथै हाम्रो यो समयको आर्थिक चुनौतिहरुको व्यवस्थापन गर्नका लागि उनको योग्यताको विकल्प नरहेको पुष्टि गर्नु हो । ’ यसअघि पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उनलाई फेडको सदस्यका रुपमा नियुक्त गरेका थिए । त्यस्ताका सीनेट बैंकिग कमिटीले येलेनलाई एकविरुद्ध १८ मतले अनुमोदन गरेको थियो । नर्थ क्यारोलिनाबाट रिपब्लिकन सिनेटर लौच फेयरक्लोथले मात्रै उनीविरुद्ध एक मत हालेका थिए । उनीविरुद्ध मतदान गर्नुको कारणबारे फेयरक्लोथले भनेका थिए, ‘येलेनको चिन्ता मुद्रास्फिति, मुद्रास्फिति र मुद्रास्फिति’ मा सीमित हुनुपर्छ ।’ किनभने येलेन मुद्रास्फितिको विपक्षमा थिइन । त्यसबेला सिनेटमा भने उनको अनुमोदन ६ विरुद्ध ९४ मतबाट भएको थियो । महिलाबारे महिलाले सोच्नु पर्ने मान्यता उनी राख्थिन । त्यसैले सन् १९९७ को फेब्रुअरी १८ मा बिल क्लिन्टनको आर्थिक परिषद्को सल्लाहकार(सीईए) मा नियुक्तिपछि ज्यालामा लैङ्गिक विभेदको अन्त्यका लागि प्रयास गरेकी थिइन । येलेन फेडको अध्यक्ष छँदा अमेरिकी हाउस र सीनेटका सदस्यहरुसंग रचनात्मक सम्बन्ध निर्माण गर्ने काम गरेकी थिइन । सन २०१४ मा तत्कालिन राष्ट्रपति बराक ओबामाले येलेनलाई फेडको अध्यक्षका रुपमा अघि सारेका थिए । उनी दश वर्ष फेडको बोर्ड सदस्य र चार वर्ष उपाध्यक्षका रुपमा काम गरेकी थिइन । ओबामाले एकताका उनीबारे भनेका थिए, ‘फेडरल रिजर्भकी महत्वपुर्ण व्यक्तित्व येलेनकै कारण मेरो कार्यकालमा मुलुकलाई आर्थिक मन्दीबाट माथि उकास्न सहयोग मिलेको हो ।’ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फेडमा पुनः नियुक्ति गर्न अस्वीकार गरेका थिए । त्यस लगतै उनी आफूलाई एउटी प्रखर र अब्बल अर्थशास्त्रीका रुपमा स्थापित गर्न अग्रसर भईन । सन् २०१८ मा फेडबाट फुर्सद पाएपछि उनको कुशल नेतृत्वलाई सम्मान गर्दै धेरैले उनको कोटको कलरको सिग्नेचर स्टाइल कपी समेत गरेका थिए । अमेरिका कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक हो । यो सामग्री तयार पर्दासम्म ‘वल्डोमिटर’ को तथ्यांकमा त्यहाँ यो महामारीका कारण ४ लाख ४३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको र दुई करोड ६३ लाख भन्दा बढी संक्रमित रहेको उल्लेख छ । यसले अमेरिकाको अर्थतन्त्रलाई तहसनहस पारेको छ । अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने जिम्मेवारी पनि येलेनको काँधमा आएको छ । उनले केही साताअघि भनेकी थिइन, ‘मेरो पहिलो प्राथमिकता मन्दीबाट सबैभन्दा बढी प्रभावित भएकाहरु हुनेछन् । खासगरी अल्पसंख्यक श्रमिक तथा महिलाहरु मेरो प्राथमिकतामा पर्नेछन् ।’ उनले कोभिड महामारीको विध्वंसले सबै क्षेत्र प्रभावित भएकोले त्यसलाई सामान्य अवस्थामा ल्याउनु आफूहरुको जिम्मेवारी र दायित्व भएको प्रतिक्रिया दिई सकेकी छन् ।
सन् १९८६ मा भिक्टर डीलेन्टले माइक्रोइकोनोमिक्स कक्षामा येलेनको परिचय लिएका थिए, तब उनको पहिलो धारणा ‘सानी’ महिला भन्ने थियो, जसले १२५ जना ओपिनियनेटेट विद्यार्थीको सामना गरिरहेकी थिइन । कक्षामा तीमध्ये धेरै उनको आर्थिक सिद्धान्तलाई चुनौति दिन इच्छुक थिए । येलेनले त्यहा जबरजस्ती प्रश्न तेर्साउने बुद्धिजीहरुलाई अत्यन्तै शालिन, सभ्य र आत्मविश्वास तथा तर्क गर्ने क्षमताका साथ निरस्त गरेकी भिक्टर सम्झन्छन् । फेडमा छँदै अमेरिकी केन्द्रिय बैंकको क्याफटेरियामा जर्ज अकेर्लफसंग भेटघाट भएको थियो । भेटघाट बाक्लिदै गएर एक वर्ष नबित्दै सन् १९७८ मा उनीसंग विवाह गरिन । जर्ज सन् २००१ मा अर्थशास्त्रमा नोवेल पुरस्कार पाउने सह–विजेता हुन । उनीसंग मिलेर येलेनले गरीबी, बेरोजगारी र बच्चा जन्माउँदा लाग्ने खर्चलगायतका विषयमा निरन्तर अनुसन्धान गरेकी छन् । तर दुबैबीच असहमति पनि छन् । येलेन स्वतन्त्र व्यापारका पक्षपाति हुन भने उनका श्रीमान यसको विपक्षमा छन् । उनको कूल सम्पति १ अर्ब १६ करोड ६७ लाख ६० हजार रुपैयाँ रहेको छ । यसमा ५१ करोड रुपैयाँ भन्दा बढी विभिन्न वित्तिय कम्पनीमा दिएको भाषणबाफत पाएको रकम र स्टक होल्डिकबाट प्राप्त आम्दानी समेत छन् ।
Source :Nari-Fagun_2077(KMG)

No comments:

Post a Comment