Tuesday, 9 March 2021

सप्तरीमा हरेक महिना औसतमा ८ जनाले गर्छन् आत्महत्या

सात महिनामा ५९ जनाले गरे आत्महत्या
गोरखापत्र दैनिकमा २४ फागुन २०७७ मा प्रकाशित ‘आत्महत्याको घटनामा वृद्धि’ समाचारले मेरो ध्यानाकृष्ट गर्यो । सप्तरी कल्याणपुर समाचारदाताद्वारा प्रेषित यो समाचार जिल्ला प्रहरीको तथ्यांकमा आधारित रहेछ । समाचारमा एउटै तथ्यांकलाई दुई पटक र एउटै समयावधि (गत वर्ष) मा दुई वटा तथ्यांक छ । यी विषय त समाचारको प्रस्तुति र सम्पादनसंग सम्बन्धित भएकाले म त्यसमा केन्द्रित हुन चाहिनँ । यहाँ सप्तरीमा आत्महत्याको तथ्यांकलाई केलाउने प्रयास गर्छु । यो समाचारमा पाँच वर्षमा २६८ जनाले आत्महत्या गरेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । प्रहरीको यो तथ्यांकले प्रतिवर्ष ५३ दशमल ६ जना र प्रतिमहिना ४ दशमलव ४६ ले आत्महत्या गरेको देखाउँछ । अझ यो वर्षको सात महिनामै ५९ जनाले आत्महत्या गरेका रहेछन् । यो अवधिमा औसतमा हरेक महिना ८ दशमलव ४२ जनाले आत्महत्या गरेको देखिन्छ । यसले सप्तरीमा आत्महत्या गर्नेहरु बढेको पुष्टि गर्छ । यो वर्ष आत्महत्या गर्नेहरुमा झुण्डिएर सबैभन्दा बढी ३५ जना र विष सेवन गरी २३ जना छन् । एक जना भने डुबेर आत्महत्या गरेका रहेछन् । अघिल्लो वर्ष ६५ जनाले आत्महत्या गरेकोमा ४० जना त महिला नै रहेछन् । अझ चिन्ताजनक विषय त के देखिन्छ भने आत्महत्या गर्नेहरुमा १० देखि २० वर्ष उमेर समूहका अत्यधिक छन् । त्यस्तै, ०७४/७५ मा आत्महत्या गर्नेहरुको संख्या प्रहरी तथ्यांकमा ८५ रहेको छ । त्यसमा ३६ जना पुरुष र ४९ महिला रहेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ । यसमा उमेर समूहलाई हेर्दा १५ वर्षदेखि ३० वर्षसम्मका रहेका छन् । यसैगरी ०७३/७४ मा ५९ जनाले आत्महत्या गरेकोमा पुरुष २६ र महिला ३३ रहेका छन् । यसमा १५ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेपनि महिलाको संख्या अत्यधिक छ ।
समाचारमा सप्तरी का प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमालालाई उदृत गर्दै आत्महत्याको कारणहरुमा पारिवारिक कलह, प्रेममा धोखा, बेरोजगारी र मानसिक तनाव उल्लेख छ । कारण जे सुकै भएपनि सम्बन्धित निकायले यो गम्भिर समस्याको न्यूनिकरणमा जोड दिनु अपरिहार्य भईसकेको छ । सचेतनामुलक कार्यक्रम, मनोपरार्श, मनोवैज्ञानिक उपचार, बालबालिकामा सकारात्मक विचार विकासका लागि पहललगायतका विधि अप्नाएर आत्महत्याको घटनालाई न्युनिकरण गर्न सकिन्छ ।

No comments:

Post a Comment