- दिनेश यादव (Dinesh Yadav)
![]() |
| Dinesh Yadav |
भाईबहिनी हो, मानव भएर जन्मेपछि हामीले आफ्नो जीवनमा धेरै पटक धेरै खाले झट्काहरु खाएकै हुनुपर्छ । ती मध्येको एउटा, विद्युत झट्का पनि हुन सक्छ । हो, कुनै न कुनै बेला हामीले विद्युत झट्का खाएर तर्सेको पक्कै छौ, होला । त्यसैले हामी जब विद्युतको अवधारणहरू पढ्छौ, शरीरबाट विद्युतको प्रवाह कसरी हुन्छ भन्नेबारे बुझ्ने जिज्ञासा उत्पन्न हुने गर्छ । विद्युतको झटकाबाट सचेत रहन तपाईहरु मध्ये अधिकांशले आफ्नो टोल वा गाउँमा राखिएका ट्रान्सफर्मर,जेनेरेटर वा विजुलीको हाइ–टेसन खम्भाहरूमा झुण्ड्याएको बोर्डहरु पक्कै हेरेकै हुनुपर्छ । जहाँ लेखिएका हुन्छन्, सावधान† , ४४० भोल्ट । खतरा† ११०० भोल्ट । यसबाट अधिकांश मानिसले विद्युतको झट्काको एक मात्र कारण विद्युत भोल्टेज भएको मान्ने गर्छन् । तर यसमा पूर्ण सत्यता छैन । तपाइलाई विद्युत झट्का दिनेमा भोल्टेज कारण भएपनि यो मात्रै तथ्य भने होइन । हामीलाई विद्युत झट्का तब मात्रै लाग्छ जब करेन्ट (विद्युत धारा) हाम्रो शरीरबाट प्रवाह हुन थाल्छ । विद्युत धारा हाम्रो शरीरबाट प्रवाह हुनुमा दुई अवस्था आवश्यक छ । एउटा हो, यसका लागि हाम्रो शरीरबाट विद्युत बहनका लागि एउटा पूर्ण विद्युत परिपथ बन्नु पर्छ । अर्को कारण, शरीरको जुन दुई बिन्दूहरुको बीचमा विद्युत बहने हो, त्यसको भोल्टेज (विद्युत चाप) मा फरक हुनुपर्छ । तपाईहरुले चराहरू मजाले विद्युत तारमा बसेको पक्कै देख्नु भएकै होला । किन तिनीहरूलाई विद्युत झट्का लाग्दैन ? वास्तवमा यसको श्रेय तारहरुलाई दिनुपर्छ । ती तारहरु जसको कुनैपनि दुई नजिकको बिन्दूहरुमा विद्युत चाप (भोल्टेज) लगभग समान हुन्छ । यही कारणले तारमा बसेको चराहरुको दुई खुट्टा (विद्युत प्रवाह हुन सक्ने माध्यम) को भोल्टेजमा कुनै फरक हुँदैन । फलस्वरुप चराहरुको शरीरमा विद्युत धारा प्रवाह हुन सक्तैन र झट्का लाग्दैन । यदि तपाई पनि हजार भोल्ट भएको तारलाई हातले समातेर झुन्डिनु भयो भने केही हँुदैन । हो, तर यो विर्सनु हुँदैन कि तपाईको शरीरको कुनै पनि अंग अर्को तार या पृथ्वीको सतह (जसको भोल्टेज पहिलो तार भन्दा धेरै भिन्न होसं) लाई छोएमा मृत्युको मुखमा पुग्न सक्छौ । त्यसैले यस्तो प्रयास कहिले पनि कही गर्नु हुँदैन । चमेरो या अन्य केही चराहरु यसप्रकारको दुर्घटनामा परेको कहिलेकाही हेर्न पाइन्छ ।
भाईबहिनी हो, धेरै पटक यो पनि सोच्छौ कि चराचुङ्गीहरु विद्युतको तारमा बिना झट्काको कसरी लामो समय बस्न सकेको होला । खासगरि विद्युतको खम्भामा लागेको तारमा काग, परेवा लगायतका चराहरू बसेको पाइन्छ । तर, यिनीहरुलाई करेन्ट वा विद्युत झटका (इलेक्ट्रिक शक) लाग्दैन । यसलाई जान्नका लागि विद्युत झट्का के हो त्यो बुझ्न जरुरी छ । उच्च भोल्टेज भएको लाइनको सम्पर्कमा आएपछि शरीरको माध्यमबाट विद्युत धारा प्रवाहित भएपछि ठूलो दुर्घटना हुन्छ , जसको कारण जल्ने र मुटुको कार्यप्रणाली प्रभावित हुन पुग्छ । यस्तो स्थितिमा मुत्यु हुनेगर्छ । अर्को कुरो, जीवहरुको शरीर विद्युतको सुचालक(गुड कन्डक्टर) हो । सुचालक भनेको विद्युत सजिलै प्रवाह हुने बस्तु हो । जब कुनै चरा विद्युतको लाइनमा बसेका हुन्छन, त्यो अवस्थामा एउटा मात्रै सुचालकको सम्पर्कमा हुन्छन् । यस्तो अवस्थामा त्यसको शरीरबाट विद्युतधारा प्रवाह हुँदैन । तर अर्को तारमा छोएमा विद्युत परिपथ पुरा भई चराको शरीरबाट उच्च भोल्ट प्रवाह हुन थाल्छ । यसबाट चरा जल्ने वा त्यसको मुटुको गति रोकिएर तत्कालै मुत्यु हुनसक्छ ।
भाईबहिनी हो, एक हजार भन्दा बढी बाज, चील, उल्लु लगायत अन्य ठूला चरा विद्युत लाईनमा बस्दा करेन्ट लागी हरेक वर्ष ‘इलेक्ट्रोक्युसन’बाट मर्ने गरेको एक रिपोर्टमा उल्लेख छ । विद्युत झट्काले घाइते वा मृत्यु हुनुलाई ‘इलेक्ट्रोक्युसन’ भनिन्छ । हालसम्म १७४ मिलियन चरा विद्युत तारमा बस्दा मरिसकेको अनुमान छ । साना चराहरु सामान्यतया सुरक्षित हुन्छन् । किनभने ती साना चराहरुको पँखेटा र खुट्टाहरु ‘इलेक्ट्रोक्युसन’ का लागि चाहिने पुर्ण विद्युत परिपथ पुरा हुने गरी एकैपटकमा दुई वटा तार छुन सक्तैनन् ।
विजुलीको तारमा बसेको अवस्थामा चराहरुलाई झट्का नलाग्नुको अर्थ बिना कुनै क्षतिको चराहरुको शरिरबाट विद्युत पास हुनु हो । विज्ञानमा रुची राख्नेहरुलाई पक्कै थाहा हुनुपर्छ । सुचालकको माध्यमबाट इलेक्ट्रोनको प्रवाह भएपछि बल्ल विद्युतले काम गर्छ । विद्युत तारमा चराहरु बस्न सक्षम हुनुको अर्थ चराहरु विद्युतको राम्रो सुचालक होइन । चारको उपस्थितिलाई विद्युत धाराले वेवास्ता गर्छ । पानी जस्तै विद्युत पनि न्युन अवरोधमा प्रवाह हुन्छ । विद्युत पावर लाइनहरुमा तामा वा अल्मुनियमको तारबाट विद्युत प्रवाहित हुन्छ । तामा विद्युतको राम्रो सुचालक हो । यसबाट विद्युत सजिलै बहन्छ । अर्को तर्फ एउटा चरा कोष र तन्तुहरुबाट बनेका हुन्छन् । कोष र तन्तुहरुबाट तारमा विद्युत सजिलै बह्दैन । किनभने यी राम्रो सुचालक होइनन । यति हुँदाहुँदैपनि यदि चरा आफू बसेको भन्दा अर्को तार र अन्य कुनै बस्तुमा त्यही समय छुन पुगे त्यसमा ‘इलेक्ट्रोक्युसन’ हुन सक्छ । पृथ्वीको सतहमा छुएको दोस्रो वस्तु या दोस्रो तारले अर्को भोल्टेज बोकेको छ भने पोटेन्सिय फरकका कारण दुई तारहरुबाट विद्युत प्रवाह भई चरालाई करेन्ट लाग्न सक्छ । विद्युतको एउटा यो पनि गुण हुन्छ कि यो जहिले पनि उच्च भोल्टेजबाट निम्न भोल्टेजमा यात्रा गर्छ , जसरी पानी माथिबाट तलतिर बग्छ । एउटा चरा वा अन्य कुनै जीव जसले एउटा तार मात्रै छोएको हुन्छ (जहाँ विद्युत उच्च भोल्टेजबाट न्युन भोल्टेजमा बगेको हुन्छ) र जमिनमा भएको धातुको सम्पर्क (जहाँ कुनै भोल्टेज हुँदैन) विद्युत प्रवाह गर्ने एउटा पथको निर्माण हुन पुग्छ , त्यो शरीरबाटै प्रवाह भई निम्न भोल्टेजतर्फ बहन्छ । यस्तो अवस्थामा शरीरबाट विद्युत बग्दा ‘इलेक्ट्रोक्युसन’ हुन पुग्छ र चरा मर्न सक्छ ।
अब चराहरुको विशेष गुणहरुको बारेमा चर्चा गरौं । चराहरु नजिकै रहेको अग्ला रुखहरूमा नबसेर तारमै किन बस्छन त ? यसबारे भौतिकविद्हरु भन्छन्, ‘चराहरुका लागि विद्युत पोलहरुमा झुन्ड्याइएका तारहरु बढी आरामदायीक हुन्छ । खासगरि साना चराहरुका लागि यो ‘नाइस रेस्टिङ’ क्षेत्र हो । वैज्ञानिकहरुले तारमा बसेका चराहरुको अध्ययन गर्ने क्रममा एउटा रोचक तथ्य पनि फेला पारेका छन् । त्यो हो, चराहरु तारमा बस्दा एउटै दिशातर्फ फर्केर बसेका हुन्छन् । यसको कारण चाही चराहरु हावाको दिशातिर बस्नु नै हो । यसरी बस्दा तिनीहरुलाई सजिलो हुन्छ । तपाईहरुलाई थाहा छ ? कुन समयमा बढी भन्दा बढी चराहरु विद्युत तारमा बसेका हुन्छन् ? यसबारे सही जानकारी पाउन तपाईहरुले चराहरुको अवलोकन गर्नैपर्छ । अनुशन्धाकर्ताहरुका अनुसार खराब मौसम भएको वेला धेरै चराहरु विद्युत तारमा बसेको पाइएका छन् । यसको कारणबारे उनीहरु भन्छन, ‘अधिकांश चराहरुमा एक विशेष प्रकारको मध्य–कान प्रापक (मिडल–इयर रिसेप्टर) हुन्छ, जसलाई ‘भाईटाली’ अंग भनिन्छ । उक्त अंगले अविश्वसनीय रुपमा ‘ब्यारोमेट्रिक’ चापमा हुने सानो भन्दा सानो परिवर्तनलाई पनि चराले सजिलै थाहा पाउन सक्छन् । यसले अगामी मौसमको संकेत तिनीहरुले सजिलै प्राप्त गर्छन । यस्तो अवस्थामा चराहरु पृथ्वीको धेरै माथि आफ्नो उडान भर्दैन वा तारहरुमा गएर बस्नु भनेको वायु चाप घटेको संकेत पनि हो । अन्त्यमा, बिद्युत धारा प्रवाहका लागि विद्युत परिपथ पुरा भएको, विद्युत चाप(उच्च भोल्टेजबाट न्युन भोल्टेजतर्फ विद्युत प्रवाह) र परिपथमा न्युन अवरोध हुनुपर्छ । चराहरु एउटै तारमा दुइटै खुट्टा राख्नु , विद्युत चाप(पोटेन्सिय डिफरेन्स) नहुनु र तारका लागि प्रयोग भएको तामा/अल्म्युनियमको तुलनामा चरामा रेसिस्टेन्स(अवरोध) बढी हुनुले तिनीहरुलाई करेन्ट नलागेको हो ।
#science, #Dinesh #Yadav , #Nepal,


No comments:
Post a Comment