- दिनेश यादव (Dinesh Yadav)
![]() |
| Dinesh Yadav |
भाईबहिनी हो, पृथ्वीको बाहिरी तहमा अचानक हलचलबाट उत्पन्न ऊर्जाको परिणामलाई भूकम्प भनिन्छ । यो ऊर्जा पृथ्वीको सतहमा भूकम्पका तरंगहरु उत्पन्न गर्छ, जुन जमिनलाई हल्लाएर वा विस्तापित गरेर प्रकट हुने गर्छ । पृथ्वीको सतह १२ टेक्टोनिक प्लेटहरुमा अवस्थित छ । यसको तल तरल पदार्थ लाभा छ । प्लेटहरु यसै लाभामाथि तैरिरहेको हुन्छ । जब यो ठोकिन्छ, ऊर्जा उत्पन्न हुन्छ । यसले पृथ्वीको सतहमा कम्पन भई भूकम्प आउँछ । प्लेटहरु किन ठोकिन्छ त ? वैज्ञानिकहरुका अनुसार प्लेटहरु विस्तारै–विस्तारै घुमिरहका हुन्छन् । हरेक वर्ष यी प्लेटहरु ४ देखि ५ मिमि आफ्नो स्थानबाट पर सर्ने गर्छन । कुनै प्लेट अर्को प्लेटको नजिक आउँछ भने कुनै टाढा जान्छ । कहिलेकाली ठोकिने पनि गर्छ । यी प्लेटहरु झण्डै ३० देखि ५० किलोमिटर मुनि छ । तर युरोपको केही स्थानमा भने अपेक्षाकृत कम गहिराइमै प्लेटहरु पाइन्छन ।
भूकम्पबारे अध्ययन गर्ने शास्त्रलाई भूकम्प विज्ञान (सिस्मोलोजी) भनिन्छ । यसको अध्ययन गर्ने बैज्ञानिकलाई भूकम्पवैज्ञानिक भनिन्छ । अंग्रेजी शब्द ‘सिस्मोलोजी’ मा ‘सिस्मो’ ग्रीक शब्द हो, जसको अर्थ भूकम्प हो । वैज्ञानिकले भूकम्पको परिमाणका आधारमा त्यसको व्यापकतालाई मापन गर्छन । भूकम्पको परिमाणलाई मापन गर्ने अनेक विधिहरु छन् । हाम्रो पृथ्वी इनर कोर, आउटर कोर, म्यान्टल र क्रस्ट गरि चार तहबाट बनेको हुन्छ । क्रस्ट र माथिल्लो म्यान्टललाई लिथोस्फेयर भनिन्छ । यो ५० किलोमिटर मोटो तह हो, जसलाई ‘टेक्टोनिक प्लेट्स’ भनिन्छ । यी प्लेट्स आफ्नो स्थानमा हलिरहेका हुन्छ, जब यो धेरै हलिन पुग्छ, भूकम्प आउँछ । यी प्लेट्स दायाँबायाँ वा तलमाथि दुवै तरिकाले आफ्नो स्थानमा हल्लिन सक्छ । हल्लिएर सरेपछि पहिलेकै ठाउँमा आउन खोज्छ । यस्तो अवस्थामा एउटा प्लेट अर्कोको तल आउँछ । जुन बिन्दूबाट भूकम्प उत्पन्न हुन्छ, त्यसलाई ‘हाइपोसेन्टर’ र त्यसको ठीक माथिको बिन्दूलाई ‘इपीसेन्टर’ भनिन्छ । भूकम्कको समय एउटा हल्का झटका महशूस हुन्छ । त्यसको केही समयपछि एउटा ठूलो झटकायुक्त कम्पन महशूस हुन्छ, जुन पहिलेको भन्दा धेरै प्रबल हुने गर्छ । सानो भूकम्पका क्रममा जमिन केही सेकण्ड हलिन्छ । तर ठूलो भूकम्पमा यो एक मिनेटसम्म रहन सक्छ । सन् १९६४ मा अलस्कामा गएको भूकम्प तीन मिनेटको थियो । भूकम्पको तीब्रता मापन गर्न रेक्टर स्केलको प्रयोग गरिन्छ । यसलाई रेक्टर म्याग्निच्युड टेस्ट स्केल भनिन्छ । भूकम्पको तरङहरुको रेक्टर स्केल १ देखि ९ सम्मको आधारमा मापन गरिन्छ । सन् १९३५ मा क्यालिफोर्निया इन्टिच्युट अफ टेक्नोलजीमा कार्यरत वैज्ञानिक चाल्र्स रेक्टरले बेनो गुटेनबर्गको सहयोगमा रेक्टर स्केल पत्ता लगाएका थिए । भूकम्प मापन गर्न मरकेली स्केलको पनि प्रयोग गरिन्छ । भूकम्पले हुने क्षति घर/भवनहरुको खराब बनावट, कमजोर संरचना, भूमिको प्रकार, अव्यवस्थित बसोबासमा निर्भर हुन्छ ।
भाईबहिनी हो, भूकम्प एउटा सामान्य घटना हो । एक अनुमान अनुसार विश्वमा लगभग प्रत्येक ८७ सेकेण्डमा कही न कही भूकम्प गएकै हुन्छ । भूकम्पका यी झट्कालाई महशूस त गर्न सकिन्छ तर यो धेरै शक्तिशाली नभएकाले कुनै क्षति भने हुँदैन । प्रति वर्ष पृथ्वीको सतहमा औसत आठ सय भूकम्प जाने गर्छ, जसबाट खासै क्षति हुँदैन । यसको अतिरिक्त प्रति वर्ष १८ वटा ठूला भूकम्प आउनुका साथै ती मध्ये एउटा चाहीँ बढी तीब्रताको हुने गरेको पाइएको छ । भूकम्प थोरै समयमा विभिन्न समूहमा आउने घटना विरलै हुने गर्छ । अमेरिकाको न्यू म्याड्रिडमा सात सप्ताह (१६ डिसेम्बर १८११, ७ फेब्रुअरी र २३ फेब्रुअरी १८१२) को क्रममा तीन वटा तीब्र भूकम्प गएको थियो । यसैगरि अस्ट्रेलियाको टेनेट क्रीकमा २२ जनवरी १९८८ मा १२ घन्टा अवधिमा तीन वटा ठूलो भूकम्प गएको उदाहरण छ । कुनै ठूलो भूकम्प भन्दा पहिले वा पछि विभिन्न तीब्रताको कम्पन्न उत्पन्न हुने गर्छ ।२०औं सताब्दीको अन्तिम दुई दशकमा पृथ्वीको विभिन्न स्थानमा २६ वटा ठूलो र शक्तिशाली भूकम्प गएको छ । ती भूकम्पहरुबाट करीब डेढ लाख मानिसको अकालमा मृत्यु भइसकेको छ । भूकम्पको परिणाम अत्यन्तै व्यापक भएपनि हालसम्म यसबारे सही भविष्यवाणी गर्न वैज्ञानिकहरू सफल हुन सकेका छैनन । (Kantipur, Kopila)


No comments:
Post a Comment