नेपालको संविधान ०७२ फास्ट ट्र्याकमार्फत जारी गर्न किन हतार गरियो भन्नेमा संविधानविद् दमननाथ ढुंगानाको एउटा विश्लेषण रहेछ । सुशील कोइराला उमेर र बिरामीका कारण यथाशीघ्र संविधान जारी गरी ‘फादर अफ कन्स्टिच्युसन’ बन्न आतुर थिए ।
| Writter :Pradip Giri |
कांग्रेसमा गणतन्त्रको उठान सबैभन्दा पहिला नरहरि आचार्यले गर्नुभयो । यसपछि संविधानसभा र आरक्षणको प्रस्ताव गर्ने मैं थिएँ । प्रस्ताव राख्दा नेताहरू ‘यो प्रस्ताव पारित भए म सभापति बन्छु नि हैन’ भनेर सोध्थे । ‘बन्नहुन्छ, बन्नुहुन्छ– बरु पारित भएन भने कसरी सभापति बन्नुहुन्छ हेरौँला’ भनेपछि नेताले भनेका थिए ‘जे लेख्नु छ लेख्नू’ । यो हो हाम्रा पार्टीको अन्तरकथा, जुन देशको अन्तरकथा पनि हो । संविधानको १७–१८ ठाउँमा सार्वभौमसत्ता लेखिएको छ ।
संविधान जुन भाषामा लेखिनुपथ्र्यो– चुस्त, दुरुस्त छैन र लगभग अपरिवर्तनीय बनाइएको छ । संविधान कसरी लेखिन्छ, विश्वको सबैभन्दा सानो अमेरिकाको संविधान पढे पुग्छ । अब त्यो संविधानको लेखनशैलीसँग तुलना नगरौँ । अमेरिकाका ‘फाउन्डिङ फादर्स’ (थोमस जेफर्सन, बेन्जामिन फ्र्यांकलिन, जोन एडम्स, अलेक्जेन्डर ह्यामिल्टन, जोन जे, जेम्स म्याडिसन र जर्ज वासिंटन ) को त्यो बौद्धिकता हाम्रा नेताबाट आश गर्नु हुन्न । सहानुभूति राख्नुपर्छ । तिनीहरूले जुन सम्पन्नता, मौका र स्रोत पाए हाम्रा नेताले पाएनन् ।
यसैले संविधानको भाषा त संविधानजस्तो भएन भएन, अरू पनि धेरै कमजोरी भए । मैले बिए राजनीति शास्त्रमा पढेको– संविधानको अवशिष्ट अधिकार तल (प्रान्तमा) दिइएको हुन्छ । हाम्रो संविधानमा स्पष्ट लेखिएको छ– सबै अवशिष्ट शक्ति केन्द्रमा रहनेछ ।
कुनै पनि संविधानमा उल्लिखित राजनीतिक प्रणालीका दुई अनुहार हुन्छन् । धारा, उपधारा देखाएर मुलुकमा निष्पक्ष न्यायपालिका हुनेछ लेखिएको हुन्छ । व्यवस्थापिकाले कानुन बनाउनेछ, लेखिएको हुन्छ । सबै नागरिक समान हुनेछन्, भनिएको हुन्छ । अर्को व्यवहार (प्राक्टिस) हुन्छ । लेखिएका कतिपय कुरा भइरहेको व्यवहारभन्दा फरक हुन्छन् । अन्तर कसले ल्याएको हुन्छ ? संविधान त समाज विशेषको प्रेरणाबाट, हब्स/रुसो पढेर, माओ/लेनिन/रोजा पढेर, गान्धी/लोहिया/जयप्रकाश नारायण आदि पढेर तिनका आदर्शका आधारमा बनाइएको हुन्छ ।
तर, समाजमा त जाति प्रथा हुन्छ । जाति प्रथाको आधारमा विभेद, लैंगिक विभेद, दमन हुन्छ । छुवाछुत हुन्छ । ती हरेक समाजमा हुन्छन् । अमेरिकामा पनि काला र गोराको छ । यस्तै मान्छेका पनि दुई अनुहार हुन्छ, देखाउने र वास्तविक अनुहार । अमेरिकामा अहिले पनि थोमस जेफर्सन सबैभन्दा आदर्श र लोकतन्त्रवादी मानिन्छन् ।
हरेकपटक यस्तो किन दोहोरिन्छ ? सत्ताको हस्तान्तरण हुन्छ, राज्यको रूपान्तरण हुन्न । श्री ३ मोहनशमशेरको ठाउँमा श्री ३ मातृका कोइराला आउनुहुन्छ । जनताको छोरोबाट पहिलो प्रधानमन्त्री (मातृका) भएपछि राजाले सोधेछन् ‘मातृका के दिऊँ ?’ जर्नेल पाऊँ सरकार भनेछन् । २००७ सालको क्रान्तिको नायक मातृकालाई जर्नेल बन्न लोभ लाग्यो, मेजर जनरलको उपाधि पाए ।
सेनाको वरीयतामा मेजर जनरल माथि लेफ्टिनेन्ट जनरल हुन्छ, प्रधान सेनापति हुन्छ । उनलाई जनरलको उपाधि दिइएको इतिहासमै लेखिएको छ, तर मेजर जनरल सायद लेखिएको छैन, मलाई किशुनजीले सुनाउनुभएको थियो । एकचोटि विदेशी पाहुना आउँदा मातृकाबाबु जनरलकै पोसाकमा जानुभएछ, लेफ्टिनेन्ट जनरललाई स्यालुट हान्नु भएछ । हाम्रो प्रवृत्ति हो यो । जुनसुकै पराधीन देश स्वाधीन भएपछि शासक आफ्नो माटो, हावापानीअनुरूप बदलिँदैनन् ।
प्रभु देशको प्रभु वर्ग, प्रभु जातिमा परिवर्तित हुन चाहन्छन् । जसबाट शोषित, उत्पीडित छ, त्यस्तै हुन चाहन्छन् । ‘रेसेट अफ अर्थ’मा फ्रान्स मेननले उपनिवेशमा रहेका देश स्वाधीन भएपछि शासकका लुगा लगाउने तरिका, खाने तरिका टेबुलमा बस्ने तरिका कसरी परिवर्तन भयो भनेर विस्तारमा लेखका छन् । अंग्रेजकै शोषणमा परेकाले ‘इफ यु डोन्ट माइन्ड, सरी, थ्याङ्क्यु’ भन्न सिके, गोराको शासनपछि नवगोराको शासन सुरु भयो । हामीकहाँ पनि यही समस्या छ । श्री ३ भइहाल्न परेको छ केपी ओली, प्रचण्ड, शेरबहादुरलाई । बिपी कोइरालालाई पनि थियो ।
कम्युनिस्टचाहिँ अलि फरक बन्लान् भन्ने अनुमान गरेको थिएँ । २००७ सालाको क्रान्तिपछि कांग्रेस नेताको ध्याउन्न राणाकी छोरी बिहे गर्नेमा थियो । कम्युनिस्टले भूमिगतकालमै जनजाति चेली बिहे गरे । अब ब्राह्मणवाद हुन्न भन्या त, झन् चर्को ब्राह्मणवादी भएर निस्के । मधेसी नेतालाई पनि पहाडे मूलकै बिहे गर्न पर्या छ । शोषित/उत्पीडित वर्गको नेतालाई माथिल्लो वा शोषक वर्गमा बिहे गर्नपर्ने भएको छ । शोषित समाजबाट माथि उठ्न परेको छ, शोषक समाजसँग साइनो गाँस्न परेको छ । राजधानीमा घर बनाउन परेको छ, काठमाडौंमै नातागोता विस्तार गर्नपर्ने भएको छ । अनि राजधानीमा एलिट वर्गमा स्तरोन्नति चाहिएको छ ।
राणाकालमा सारा कुरा शक्तिमा केन्द्रित थियो, शक्ति स्वविवेकमा केन्द्रित थियो । त्यही कुरा क्रान्तिकारीले सिके । राणाकालमा विद्वान् थिए कुलचन्द्र गौतम । वनारसबाट पढेर फर्किएपछि उनका बुबाले श्री ३ महाराजको प्रश्नमा ठाडो उत्तर नदिनू भनेका रहेछन् । त्यो वेला पढेर आएपछि जागिरका लागि महाराजको दर्शनभेट गर्नुपथ्र्यो । महाराजले सोधेछन्– कति पास गरेर आइस् ?
कुलचन्द्रले भनेछन्, ‘प्रभु प्रसन्न हुँदा सारा विद्या बेकार छन्, प्रभु अप्रसन्न हुँदा सारा विद्या बेकार छन् ।’ राणाकालमा जुन प्रभु अप्रसन्न हुँदा सारा विद्या बेकार हुन्थे, अहिलेसम्म हामी वहन गरिरहेकै छौँ । राणाकालमा जसरी नियुक्ति, बढुवा र खोसुवा हुन्थ्यो– अस्तिसम्म देख्यौँ । लोकसेवा पास नभएका मान्छे मुख्यसचिव भए, अख्तियार प्रमुख भए । के गल्ती गरे हामीले थाहै नपाई अख्तियार प्रमुख बनाउने कांग्रेस–एमाले उनलाई बर्खास्त गर्न कुदे ।
देशमा पजनी प्रथा लोकसेवा आयोगका बाबजुद चलिरहेको छ । सरिता परियारको एउटा लेख पढेको थिएँ– राणाशासकले समातेपछि टंकप्रसाद आचार्यले अरू जेसुकै भए पनि मेरो जात नजाओस् भने रे । त्यत्रो क्रान्तिकारी नेता, बाउनको जात जाला भन्ने पिर रहेछ– जात जाला भन्ने पिर, माथिल्लो जातिमा उक्लिने अभिलाषा ।
यो फेरि काठमाडौं वा जनकपुरमा मात्र भएको होइन । क्रान्तिपछि नेता कसरी बिग्रिन्छन् भन्नेमा जर्ज अरवेलको एउटा किताब छ । कसरी व्यवस्था परिवर्तन हुन्छ, नेतृत्वले पुराना शासक हटाउँछ, नयाँ शासक जन्मिन्छन् र कसरी तन्त्र फेरिन्छ भनेर । अहिलेको व्यवस्था लोकतन्त्रको नाममा अल्पतन्त्र हो । हामी एकतन्त्रबाट अल्पतन्त्रसम्म बामे सरेका छाैँ, साँचो अर्थमा ।
कम्तीमा दुई–अढाइ सय वर्षदेखि एउटा चक्र चलिरहेको छ । हाम्रो चिन्तनलाई फ्रान्सेली राज्यक्रान्तिले सबैभन्दा प्रभावित गर्यो, फ्रान्सेली राज्यक्रान्तिको बिम्ब र मिथकले बोल्सेभिक क्रान्ति प्रभावित भयो । यो जुन चक्र चलिरहेको छ, नेपालमा मात्र केपी ओलीको उदय भएको होइन । सम्राट् नेपोलियनको उदय कसरी भयो ? नेपोलियनको इरादा बडो असल थियो ।
क्रान्तिकारी नेपोलियन, जेनरल नेपोलियन, ट्रिब्युन नेपोलियनले सोचे सबै राजाले यो राजा होइन भनेर मेरो विरोध गरेका छन् । अस्ट्रिया, जर्मनी, स्विडेन, हल्यान्डका सम्राट्ले पिछा गर्या छन् । उनले भनेका छन्– यसकारण राजा हुन विचार गरेँ कि राजतन्त्रसँग सम्झौता चाहन्छु । अब मुलुकको विकास गर्न चाहन्छु । छेउछाउका सम्राट्हरूसँग झगडा गरेर बस्दिनँ । के नेपोलियनलाई विकास गर्ने अधिकार थिएन र ? त्यत्रो अध्ययन, जागरुकता र जनरलको रूपमा खुलापन र लोकतान्त्रिक बिरलै हुन्छन् ।
आफूभन्दा ६ गुणा ठूलो सैनिक शक्तिलाई बम र तोप होइन, सहयोगीको सहारामा हराउने हैसियत राख्थे । सहयोगीसँग उनको व्यवहार अत्यन्त मानवीय थियो । प्रजातन्त्र मासिएर तानाशाही आयो, तानाशाही मासिएर प्रजातन्त्र कायम भयो, गणतन्त्र आयो, फेरि उनकै भतिजो नेपोलियन तृतीय राजा भए । यही चक्र चलिरहेको छ । क्रान्तिको सारसंक्षेप के हो भने क्रान्तिपछि केही मुठीभरले सत्ता कब्जा गर्छन्, क्रान्तिका मर्मज्ञहरू सत्ताको दुश्चक्रबाट बाहिरिन्छन् ।
राजनीति धेरै भावुक र संवेदनशीलले गर्ने होइन । भावुक र संवेदनशील पिसिन्छन् पिसिन्छन् । असल मान्छे राजनीतिमा कस्तो अवस्थामा पुग्छ भन्ने गान्धीजीको अन्तिम दिनका उदासीबाट थाहा हुन्छ । कांग्रेसमा गणेशमानजी र किशुनजीको जुन दुर्दशा भयो, त्यसबाट थाहा पाइन्छ । यसको अर्थ क्रान्तिकारी निराश हुने होइन ।
विकासको पश्चिमा मोडल हाबी छ, भूमण्डलीकरणले गाँज्दै छ । हाम्रा नेता कहिले सिंगापुर बनाउँछाैँ भन्छन्, कहिले स्विट्जरल्यान्ड । कहिले सुपरसोनिक उडाउने कुरा गर्छन्, कहिले चुच्चे रेल गुडाउने । विकासको यो भ्रान्त मोडेलले पनि आज कतिपय समस्या बढाइदिएको छ । उत्पीडनलाई विकासको तथाकथित मोडेलले झन् उचाइमा पुर्याएको छ ।
भेदभावलाई मलजल गरेको छ । लैंगिक असमानतालाई झन् बल पुर्याएको छ । यसबारे उनै फकिर (गान्धीजी) प्रस्ट थिए । उवेलै भनेका थिए– बेलायतजस्तो विकास गर्न सक्दैनौँ, जर्मनीजस्तो विकास गर्न सक्दैनौँ । त्यस्तो विकास गर्न चाहिने फलाम आदि खानी हामीसँग छैन, ऊर्जा हामीसँग छैन । अर्को कुरा, यो मोडेलका लागि श्रम हटाउनुपर्छ, यसका लागि पुँजी चाहिन्छ । त्यो पुँजी हामीसँग छैन । उनले पत्रकारसँग भनेका थिए– भारतलगायत थुप्रै देशको शोषण गरेर बेलायत अहिलेको बेलायत बन्यो ।
भारत बेलायत हुन त भारतजत्रा अरू १० देशको शोषण गरेर पनि पुग्दैन । विडम्बना, अहिले सबै विकासको यही मोडेलप्रति लालायित भइरहेका छन् । केही वर्षअघि आइप्याड किन्न चीनमा युवाले किड्नी बेचेको समाचार पढेको थिएँ । आइप्याड मात्र होइन, माक्र्सको व्याख्याअनुसार उत्पादन प्रणालीकै कुनै मानवीयता हुँदैन–त्यहाँ उत्पादन उत्पादन उत्पादन हुन्छ । त्यही मोडेल थोपरिएको छ । यसले परम्परागत विकृति र उत्पीडनलाई झन् बढाएको छ । यसैले विचारधारा र चिन्तनको क्षेत्रमा पनि नयाँ किसिमले सोच्न परेको छ ।
अहिले पनि गणतन्त्रका नाममा, लोकतन्त्रका नाममा ‘डोमिनेन्ट क्लास’ले ‘क्रियटिव क्लास’उपर शासन गरिरहेको छ । नेतृत्वका दुईथरी परिभाषा छन् । एउटा जनशील नेतृत्व, जहाँ तपाईं प्रतिभा देखाएर, बुद्धि देखाएर, साहित्य लेखेर, बाटो देखाएर महत्व प्राप्त गर्नुहुन्छ । अर्को जहाँ चार लाठीधारी गार्ड राखेको छ, एनिमल फार्ममा बडे–बडे कुकुर पालेझैँ शारीरिक शक्ति छ, मौद्रिक शक्ति छ । त्यही बलमा पार्टी सभापति भएको छ, त्यस्तै बलमा प्रधानमन्त्री भएको छ ।
प्रधानमन्त्री भएपछि ओलीले आफूलाई भगवान् कृष्णभन्दा ठूलो ठान्न थाल्नुभा छ । भगवान् कृष्ण सबैमा श्रेष्ठ थिए– घोडामा उच्चैश्रवा, हात्तीमा ऐरावत, धनुर्धारीमा राम, पाण्डवमा अर्जुन । प्रतीकात्मक अर्थ के भने कुनै कुरामा कृष्णलाई उछिन्ने छँदै थिएनन् । त्यस्तै नेता ओली भन्ने अवस्थामा देश आइपुगेको छ । यो मनस्थितिसँग लड्ने दायित्व बुद्धिजीवी वर्गको हो । तिनले भन्नुपर्छ– हामी डोमिनेन्ट क्लास मान्दैनाैँ, क्रियटिव क्लास मान्छौँ ।
नश्लवाद बडा खतरनाक छ । कांग्रेस पार्टीले भन्यो– अधिनायकवाद आउँछ, अधिनायकवाद आउँछ । प्रस्तुति विश्वसनीय थिएन । अधिनायकवाद त अधिनायकवाद तर कस्तो अधिनायकवाद ? अब महेन्द्रले कु गरेजस्तो अधिनायकवाद आउँदैन । सैनिक कब्जा गरेर आउँदैन, हत्या गरेर पनि आउँदैन । तैपनि अधिनायकवाद आउँछ । अमेरिका, बेलायतमा किताब लेखिँदै छ, अधिनायकवाद कसरी आउँछ ? पुँजीवादी विश्वमा साना/मझौला अर्थतन्त्रभन्दा ठूला बहुराष्ट्रिय कम्पनी छन् । तिनको धनबलबाट जनशक्ति, न्यायालय प्रभावित पारेर अधिनायकवाद आउँछ ।
यस्तो अधिनायकवादको बलियो आधार हो, नश्लवाद । हिटलरले यहुदी शत्रु भनिदिए, सबैलाई तर्साइदिए । शासकले शत्रु घोषणा गरिदिएपछि राष्ट्र एक हुन्छ । भारतमा नरेन्द्र मोदीको लोकप्रियता घट्दो छ, पार्टीभित्र र बाहिर पनि । चुनाव हार्न सक्छन् । तर, पाकिस्तानमाथि हमला बोलिदिए भने जित्छन् भनिँदै छ । जब एउटा समुदायलाई घृणा गरिन्छ, घृणा गर्नेले राजनीतिक लाभ लिन्छ । यो विश्वका अनेक ठाउँमा देखिएको छ । ट्रम्पको कहानी पनि यही हो । आप्रवासीले खाए भनेको छ, भारतीयले खाइदिए भनेको छ, पाकिस्तानीले खाइदिए भनेको छ ।
मधेसलाई यसैगरी नश्लवादी राष्ट्रवादले तारो बनाएको छ । यो कुरा मैले कुनै बौद्धिक विश्लेषणका आधारमा भनिरहेको छैन, मेरा अनुभूतिका आधारमा भनिरहेको छु, कुरा सुनेका आधारमा भनेको छु । गान्धीजीको उनैले गुरुदेव उपाधि दिएका रवीन्द्रनाथ टैगोरसँग पत्रमा भनाभन भयो । गान्धीले विदेशी वस्त्र, विदेशी स्कुल बहिष्कार भनेपछि गुरुदेव हामी संकीर्ण त हुन थालेनौँ भनेर प्रश्न गर्छन् । हामी छुद्र बन्न थालेको हो भनेर सोध्छन् । विदेशबाट पनि लिनुपर्छ, आत्मकेन्द्रित भएर हुन्न, दुनिया“ विशाल छ भन्छन् ।
सबैतिरबाट ज्ञान आओस् भन्ने वेदको उदाहरण दिँदै वसुधैव कुटुम्बकम सम्झाउँछन् । गान्धी जवाफ दिन्छन्, ‘मेरो घरमा झ्याल छ, मधुर हावा स्विकार्छु । तातै हावा पनि स्विकार्छु । तर, घरैबाट विस्थापित गर्न खोज्छ भने घर छाड्नेवाला छैन । घर उडाउन दिन्नँ ।’
मलाई सामाजिक विभेदबारे सबैभन्दा पहिले लोहियाजी (राममनोहर) को रचनाले सचेत गरायो । सिरहाको बस्तीपुरमा जन्मेँ, हुर्कें । नेपाली भाषा घरभित्रै सीमित थियो, घरबाहिर निक्लिनासाथ मैथिली वा हिन्दी बोलिन्थ्यो । कहिलेकाहीँ नितान्त रहरमा धोतीकुर्ता लगाउँथेँ, अहिले पनि लगाउँछु । ०२१ सालमा पहिलोचोटि काठमाडौं आउँदा धोती, कुर्ता लगाउनेमाथि के हुन्छ, मैले भोगेको छु । यस्तो चर्को विभेद हुँदो रहेछ थाहा पाएको छु । विभेदको पीडा भोग्नेले बुझेको हुन्छ, म पनि बुझ्छु भन्दिनँ।
अर्कै संस्कारमा रहेकाले बुझ्ने झन् कुरै भएन । हामीले नारी हुनुको पीडा बुझ्छाैँ ? एक दिन संसद्मा मधेस–पहाडको कुरो उठिरहेको थियो । ‘अब त पुग्यो त मधेसीलाई, कति मधेस मधेस भन्नुहुन्छ,’ सांसदले नै भने, ‘उपेन्द्र यादव उपप्रधानमन्त्री बनिसके, अब कति चाहियो ?’ केही महिला सांसद थिए । मैंले एकजनालाई तपार्इंको सबै पीडा तपाईंको श्रीमान्ले बुझ्नुहुन्छ भनेर सोधेँ । बुझ्नुहुन्छ भनेर जवाफ दिनुभयो ।
मासिकस्राव हुँदा पनि केही अप्ठ्यारो हुँदैन भन्दाभन्दै मन्दिरमा जानचाहिँ डर लाग्छ भन्नुभयो । त्यत्रो क्रान्तिकारी महिला, समाज बदल्न भनेर हिँडेकी छन्– एउटा स्वाभाविक प्राकृतिक क्रियामा मन्दिर जान डराउँछिन् । झाँसीकी रानी लक्ष्मी बाईको एक मात्र प्रमाणिक कथा छ । सबैले लेखेका छन्– उनी एकदम सुयोग्य सेनापति थिइन् ।
एउटा लडाइँमा उनको मासिकस्राव हुन्छ । उनी भन्छिन्– अब लडाइँमा जान मिल्दैन । लोग्ने मान्छेले मलाई देखे मलाई पाप लाग्छ । महिलाको पीडा जस्तै संवेदनशील भए पनि, जति नै सहानुभूति राखे पनि पुरुषलाई बुझ्न गाह्रो पर्छ । त्यही भएर गान्धीजी कहिलेकाहीँ पागलजस्तो भएर भन्नुहुन्थ्यो– म महिला भएर हेर्न चाहन्छु, अर्धनारीश्वर भएर हेर्न चाहन्छु ।
मधेसले शासित भएदेखि जुन पीडा भोगेको छ, त्यो शासक जातिले बुझ्दै बुझ्दैन । राज्यबाट त तिरष्कृत छ छ, मधेसबारे यस्तो किताब लेखेको छु भन्नेबाट पनि मधेस तिरष्कृत पाएको छु । विश्लेषण होइन, सूचना मात्र हो । गान्धीको अलि विवादास्पद किताब छ ‘हिन्दू स्वराज’, त्यसमा उनी भन्छन्– अंग्रेजले हामीलाई पराजित गरेका हैनन्, हामी आफैँ पराजित भएका हौँ । हामीभित्रका कमजोरी, रुढिवादी, विभेद, छुवाछुतले पराजित भएका हौँ । अत्याचार गर्नेभन्दा अत्याचार खप्ने ठूलो अपराधी हो । ‘अत्याचारी वही रहते हैं, जहाँ दब्बु रहते हैं’ भनिएको छ ।
मधेसी वा नारीले आफ्नो कमजोरी पनि हेर्न पर्ने हुन्छ । आज यो उमेरमा आइपुग्दा म कहाँनेर गल्ती गरेँ सम्झिन्छु । राजनीतिका साथै सिर्जनात्मक काम गर्नुपर्छ भन्ने बुझेको थिएँ । तर, खालि राजनीति गरेँ, त्यो मेरा लागि राम्रो भएन । हाम्रो पुस्ताले तीन–तीनवटा क्रान्ति गर्यो, गर्व छ । तर, अबचाहिँ राजनीति र सिर्जनात्मक काम समानान्तर रूपमा लानुपर्छ । शक्तिनीति र बौद्धिक क्रान्ति सँगसँगै हुनुपर्छ । राजनीतिक विचारधारा र राजनीतिक मूल्य–मान्यता नभए राजनीतिक आन्दोलन आत्मघाती हुन्छ, अघि बढ्न सक्दैन ।
मधेस आन्दोलनको समस्या के छ भने यो पहिचानको लडाइँ मात्र होइन, भूखण्डको मात्र पनि होइन । मधेसले अधिकारका लागि सिंगो नेपाललाई डोर्याउनुपर्छ । उत्पीडन सबै ठाउँमा छ– चाहे दलित, महिला सबैतिर । महिला, दलित, जनजाति, अन्य उत्पीडितलाई जोडेर एउटा विचारधारा निर्माण गर्नुपर्छ । यसका लागि चाहिने विचारधारा माक्र्समा छैन । समाज बदल्न जरुरी छ, सत्ता मात्र पाएर हुँदैन भन्ने एन्थोनी ग्राम्स्कीले ‘हेजिमोनी’ नगरी समाजमा कुनै क्रान्ति हुँदैन भनेका छन् ।
गान्धीको जीवन अद्भूत थियो । राजनीतिक क्रान्ति सकिनासाथ रचनात्मक कार्यको क्रान्ति सुरु गरे । कहिले खादी त कहिले ग्रामोद्धार भन्थे । लोहियाको सप्तक्रान्ति र जयप्रकाश नारायणको सर्वोदय क्रान्ति बुझाउने काम मधेसको हो । मधेसले राजनीतिक अधिकार लिएर मात्र पुग्दैन– प्रत्यक्ष अनुभव गरिसकेको कुरा हो । मधेस आन्दोलनका मसिहा सत्तामा पुगे, सत्तामा पुगेपछि तिनका चालढाल देख्न पाउनु हाम्रो पुस्ताका लागि ठूलो राजनीतिक शिक्षा हो ।
हामीले दुईस्तरमा काम गर्न परेको छ । अधिकारको संघर्ष त छँदै छ । संघर्षको क्रममा राजनीतिक, शैक्षिक र वैचारिक अभियान पनि चलाउनुपर्छ, आत्मनिरीक्षण गर्नुपर्छ । आत्मनिरीक्षण नगरी गल्ती कहाँ भयो थाहा हुँदैन । ‘हात हमारा नहीं उठेगा, हमला चाहे जैसा भी हो,’ सत्याग्रहको नारा थियो, ‘लडते भी रहो, कट्ते भी रहो, कट्ते बाजु भी बहुत हैं, सर भी बहुत हंै ।’ गान्धीजी जहिले पनि भन्थे– अपराधलाई घृणा गर, अपराधीलाई हैन ।
तपाईंलाई बन्दी बनाएर राख्ने मान्छे आफू पनि बन्दी हुन्छ– हरदम डरको बन्दी । भयभीत रहन्छ । मधेसलाई बन्दी बनाउने ताकत कति भयभीत होला भन्ने बुझ्न संविधान काफी छ । ऊ यति भयभीत छ, एकै पेजमा पाँच ठाउँसम्म सार्वभौमसत्ता रहनेछ लेख्छ । एकचोटि लेखे पुग्दैन ? एउटा कथा छ– आइन्स्टाइनको सापेक्षताको सिद्धान्त लोकप्रिय भएको रुसीलाई मन परेन ।
स्टालिन चाहन्थे– द्वन्द्वात्मक भौतिकवाद भएपछि सापेक्षताको सिद्धान्तको के काम ? सयौँ वैज्ञानिक खटाइए गलत सावित गर्न, सयौँ किताब लेख्न थालियो । आइन्स्टाइनलाई सोधियो, तपाईंको सिद्धान्त गलत साबित गर्न सयौँ किताब लेखिँदै छन् नि । आइस्टाइनले जवाफ दिए– म गलत भएको भए एउटै किताब काफी हुने थियो ।(वीरगन्जमा आयोजित ‘संविधानमा जनताको अवधारणा : बहस र मन्थन’मा व्यक्त विचारबाट सम्पादित)
Sources : ,#NayaPatrika ,२०७५ असोज १२ .
http://www.nayapatrikadaily.com/2018/09/28/99578/






