Thursday, 10 April 2025

महावीरका सिद्धान्तहरु आर्थिक, सामाजिक र नैतिक सुधारका मार्गदर्शन हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले जैन धर्मका २४औं तीर्थंकर महावीरका अहिंसा, सत्य, करुणा, समानता, अपरिग्रह, ब्रह्मचर्य र अनेकान्तवादजस्ता सिद्धान्तहरू देश र समाजका लागि आर्थिक, सामाजिक, राजनीतिक तथा नैतिक सुधारका मार्गदर्शन रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले महावीरको २६२४औं जन्मजयन्ती (जन्म कल्याणक दिवस) को अवसरमा नेपाल जैन परिषद्ले काठमाडौं कमलपोखरीस्थित जैन निकेतनमा बिहीबार आयोजना गरेको विशेष समारोहमा उक्त कुरा बताउनुभएको हो ।
महावीरका सिद्धान्तहरु सिंगो मानव जीवनका विविध पक्षलाई समृद्ध बनाउने मार्गदर्शनका रूपमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई सुदृढ बनाउने अवसर प्रदान गरेको छ । ’ नेपाल जैन परिषद्ले भगवान महावीरका सिद्धान्तहरूलाई सम्पूर्ण समाजमा फैलाउन गरेको योगदानको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले देश र समाजलाई थप शान्तिपूर्ण, सम्पन्न र समृद्ध बनाउने प्रेरणा प्रदान गर्न महावीरका विचारहरूको महत्वलाई उजागर गर्नुभयो ।
‘मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको संदेश दिन्छ । सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरुलाई थप सवल, सुदृद्ध र बलियो बनाउने अवसर पनि प्रदान गर्दछ ’ उहाँले भन्नुभयो, ‘महावीरले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिकमार्गमा हिड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ ।’
जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षासहितको विविधतायुक्त नेपाल जस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरुले देश र समाजका सबै वर्गहरु बीच सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘महावीरका विचारहरुलाई आत्मसात गर्दै हाम्रो समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताको आधारमा संगठित गर्नका लागि अग्रसरता देखाउनु आजको आवश्यकता हो ’ उहाँले भन्नुभयो, ‘राजनीतिक रुपमा, महावीरले सत्य र नैतिकताको मार्ग अपनाउनमा जोड दिनुभएको छ । उहाँले हामीलाई सच्चा नेतृत्वको पाठ पनि सिकाउँनु भएको छ ।’
उहाँले नेतृत्कर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आमनागरिकको हितमा काम गरेको अवस्थामा मात्र सच्चा नेतृत्वदायी भूमिका निर्वाह गरेको ठहरिने समेत बताउनुभयो । उपराष्ट्रपति यादवले आर्थिक रुपमा, महावीरका ‘अपरिग्रह’ को सिद्धान्तले भौतिक सम्पत्तिको लोभलाई त्यागी सन्तुलित र न्यायपूर्ण आर्थिक प्रणालीको परिकल्पना गर्न सबैलाई प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ आजको विश्वमा, जहाँ आर्थिक असमानता बढ्दो छ, भगवान महावीरका यो सिद्धान्तले सम्पत्ति वितरणलाई समतामूलक बनाउने दिशामा अग्रसर हुन सक्ने मार्गदर्शन पनि प्रदान गर्दछ ।’
‘नैतिक रुपमा, भगवान महावीरको जीवन र सिद्धान्तले मानव जीवनमा सद्गुण, आत्मानुशासनको महत्वलाई उजागर गरेको छ ’ उहाँले भन्नुभयो, ‘ महावीरका पाँच प्रमुख व्रत/सिद्धान्तहरु– सत्य, अहिंसा, अपरिहग्रह, ब्रह्मचर्य र अनेकान्तवाद– मानव जीवनलाई नैतिक मूल्यमाथि आधारित बनाउने प्रयासहरु हुन् । यी सबैले व्यक्तिगत जीवनदेखि देश र समाजसम्मको समग्र सुधारका लागि मार्गदर्शकमा निहित सिद्धान्तहरु हुन् । हामी सबैले यसलाई अंगिकार गर्दै अघि बढ्न सक्नुपर्दछ ।’
उपराष्ट्रपति यादवले आफ्नो सम्बोधनका क्रममा सम्पूर्ण जैन धर्मावलम्बीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै भगवान महावीरका सिद्धान्तहरुको पालना गर्दै सबै एकजुट भई देश र समाजसंगै सिंगो विश्वमा सकारात्मक परिवर्तन र रुपान्तरण ल्याउने प्रतिबद्धताका साथ अघि बढ्ने प्रण लिन उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभयो । समारोहमा जैन धर्मावलम्बीहरू, नेपाल जैन परिषद्का पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो ।
२०८१ चैत २८ गते बिहीबार ।

No comments:

Post a Comment