Thursday, 18 April 2024

सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताउनु भएको छ ।
उहाँले मधेश प्रदेशको सिरहा नगरपालिका–१४, खिरौना नवटोलीमा श्री रामजानकी महायज्ञ समितिद्वारा आयोजित ‘श्री श्री १०८ श्री रामजानकी महायज्ञ महोत्सव’ को बुधबार समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले महायज्ञबाट सम्पूर्ण आम नागरिकमा आन्तरिक आध्यात्मिक चिन्तनको प्रस्फुटन गर्दै परस्पर मैत्रीभाव, अपनत्वभाव, भाइचारा, मेलमिलाप र भ्रातृत्वभाव पनि बढ्ने बताउनु भयो । ‘महायज्ञ, धार्मिक अनुष्ठानलगायतबाट मानव जीवनमा प्रादुर्भाव हुने अलौकिक आध्यात्म शक्ति तथा धार्मिक चिन्तनले व्यक्तिलाई सही र असल मार्गमा डोर्याउन सघाउँदछ । यसले व्यक्तिलाई सबै मानिस र जीव–जन्तुलाई समान दृष्टिकोणले बुझ्न र सम्मान गर्न पनि सहयोग पुग्ने गर्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो,‘ यी र यस्ता महायज्ञहरुले व्यक्तिलाई भौतिक वस्तुहरुप्रतिको मोह भंग गराउँदै असीम शान्तिको मार्गमा हिड्ने आध्यात्मिक सोचको विकास पनि गराउँदछ । महायज्ञ आफैमा एउटा सांस्कृतिक र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतालाई बढावा दिने अनुष्ठान हो । यसले व्यक्तिलाई नाम, दाम र लोकप्रियता गौण विषय हो भन्ने तथ्य बुझ्न पनि मद्दत गर्दछ । ’
उहाँले द्रुत प्राविधिक विकास र सामाजिक परिवर्तनको यो युगमा, विश्वले शान्ति संकटको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै वैज्ञानिक प्रविधिहरुले हामीलाई एकआपसमा नजिक ल्याएपनि आजको मानव सभ्यता चिन्ता, अवसाद जस्ता मनोविक्षिप्तता र अनेकौं जटिल मनोविकृतिबाट सिर्जित समस्याहरुसंग लड्न बाध्य पनि बनाएको बताउनु भयो । ‘यसले हाम्रो जीवन ऊर्जाको क्षयीकरण हुने गर्दछ । अझ व्यस्त जीवनशैलीले मानिसलाई असन्तुलनको अवस्थामा पुर्याइ दिएको छ ’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा महायज्ञ जस्तो धार्मिक अनुष्ठानको उपादेयता झनै बढी हुने गर्दछ ।’
उपराष्ट्रपति यादवले महायज्ञको भौतिक र आध्यात्मिक महत्व रहेको उल्लेख गर्दै यज्ञको ऊष्माले मानिसको अन्तःकरणमा देवत्वको छाप छाड्न सक्ने बताउनु बताउनु भयो । ‘भनिन्छ, जहाँ यज्ञको आयोजना गरिन्छ त्यहाँको भूमि र प्रदेश सुसंस्कारहरुको छापलाई आफूभित्र धारण गर्न पुग्दछ ’ उहाँले भन्नुभयो, ‘यज्ञमा गुञ्जिने जय जयकार ध्वनीले हाम्रो मनोभूमिलाई उच्च सुविकसित एवं सुसंस्कारी पनि बनाउँदछ ।’
उहाँले कुबुद्धि, कुविचार, दुर्गुण तथा दुष्कर्महरुले युक्त व्यक्तिहरुको मनोभूमिमा पनि यज्ञले व्यापक सुधार ल्याउन सहयोगी र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो । ‘त्यसैले यज्ञलाई त्यागमय जीवनको आर्दशको प्रतिक पनि मानिएको छ । इदन्न मम–(यो मेरो होइन सम्पूर्ण समाजको हो) भन्ने भावना सिंगो मानव जातिमा विकास गराउँन उत्प्रेरित गर्दछ ’ उहाँले भन्नुभयो, ‘यसले हाम्रो सनातन आध्यात्मिक समाजवादलाई जीवन्त बनाउनमा सघाउँदछ ।’ यज्ञको अर्को महत्वपूर्ण पाटो भनेको यो सामूहिकताको प्रतिक पनि भएको उल्लेख गर्दै अगाडि भन्नुभयो, ‘अन्य उपासना, अनुष्ठान र धार्मिक प्रक्रियाहरु एक्लो पनि गर्न सकिन्छ । तर, यज्ञ÷महायज्ञ यस्तो कार्य हो, जसमा बढी भन्दा बढी मानिसको सहयोग आवश्यकता पर्दछ । त्यसैले यज्ञ आयोजनलाई सामूहिकता, सहकारिता र एकताको भाव विकसित गराउने उपर्युक्त माध्यम पनि भनिएको हो । ’
उपराष्ट्रपति यादवले समाजमा विद्यमान गरिबी, सामाजिक विकृति, एक्लोपन र तनावग्रस्त जीवनशैलीले आफुलाई नै सिध्याउने जस्तो नकारात्मकताले हामीलाई गम्भिर रुपमा गाँजेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । ‘यी सबैको जरो मन हो, जसले कालान्तरमा मानसिक समस्या निम्त्याउँदछ । यो समस्या समाधानका लागि पनि महायज्ञ कोशेढुंगा साबित हुन सकोस् ’ उहाँले भन्नुभयो, ‘मानिस आफ्नो योग्यता, शक्ति, विद्या, सम्पत्ति, प्रतिष्ठा, प्रभाव आदिको उपयोग आफ्नो सुखका लागि कम भन्दा कम गरी समाजलाई उसको आधिकारिक लाभ प्रदान गर्न सकोस्, यही आदर्श यज्ञमा सन्निहित हुन्छ । यो तथ्य सबैले मनन र चिन्तन गर्नु आजको आवश्यकता हो । ’ उहाँले सबै क्षेत्र, वर्ग, उमेर, समूह र समुदायका युवाहरुद्वारा नेतृत्व गर्दै यो भेगमा धार्मिक पर्यटनको विकास तथा सामाजिक, धार्मिक संस्कार, परस्पर भाइचारा, ‘बसुदैव कुटुम्बकम्’ को संदेश संचार हुने गरी जुन कार्य भईरहेको छ, त्यो प्रशंसनीय रहेको बताउनु भयो ।
‘तर, यतिले मात्रै पुग्दैन, यस भेगमा थुप्रै अरु सम्भावनाहरु पनि छन् । यसलाई कृषि, स्वास्थ्य, शिक्षा, ग्रामिण पर्यटन, उद्योग, सांस्कृतिक आदिको हब बनाउने उद्देश्यका साथ अघि बढ्न जरुरी छ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘समुदाय, समाज र देशका लागि त्वरित विकासको मार्गलाई अवलम्बन गर्दै त्यसलाई सम्मुन्नत र समृद्ध बनाउने जिम्मा पनि तपाईहरु जस्ता युवाहरुकै काँधमा छ । त्यसैले यतातिर पनि सबै नागरिक समाज दत्तचित्त, कटिबद्ध र प्रतिबद्ध भई सक्रियताका साथ अघि बढ्न सक्नु पर्दछ ।’ उहाँले कुनै पनि धर्म र आध्यात्मिक चिन्तनले समुदाय, समाज, जातजाति, वर्ग, लैङ्गिक विभेद, आपसी मनोमालिन्यता, द्वेष, क्लेस, मनमुटाब र अछूतको भावनालाई बढाबा नदिएको जनाउँदै भन्नुभयो, ‘त्यसैले आपसी समरसता, समानता र सहिष्णुताका साथ अघि बढ्नु निर्विकल्प छ । यसलाई मूल मन्त्रका रुपमा आत्मसात गर्दै अघि बढ्न यो महायज्ञ सफल हुने विश्वासका साथ समाज र देशको समृद्धि र सम्मुन्नतिका लागि सबैको ऊर्जा संगठित र एकजूटताका साथ सामूहिक रुपमा अघि बढ्न उत्प्रेति गर्न सकोस् ।’ उहाँले महायज्ञका आयोजकहरु, साधुसन्तहरु, धार्मिक अनुयायीहरु, सहभागिहरु, सहयोगी हातहरु लगायत सम्पूर्णको सुख, शान्ति, सुदीर्घ, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामनासहित महायज्ञको सफलताको कामना पनि गर्नुभयो ।
News Links:
1.https://ejanakpurtoday.com/2024/04/18/91963/
2.https://gorkhapatraonline.com/news/104216
3.https://nagariknews.nagariknetwork.com/politics/1433227-1713362365.html
सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव #महायज्ञ ריאל מדריד# #सांस्कृतिक

No comments:

Post a Comment