कीर्तिपुरको एउटा जुत्ता बनाउने पसलका साहुलाई सोधें - 'पार्टी वेयर सूज छ ?'
साहू : ''छ '
(मैले लगाएको स्पोर्ट सूज र मेरो अनुहार हेरेपछि) तिनले सोध्यो, ' कसका लागि हो ?'
म : 'बुवाको लागि हो । '
तिनले स्टोरबाट पुराना मोडेलका जुत्ताहरू निकाल्दै भन्यो,'
'बुढापाकाका लागि यिनै जुत्ताहरू अहिले चलनचल्तीमा छन् ।'
म: 'यी त पुराना मोडेल पो हुन्, नयाँ मोडेलहरू देखाउँनुस् न।'
साहु :(मेरो अनुहार हेर्दै), कहाँको पार्टीमा लगाउने ?'
म : 'बुझिनँ , साहूले के भन्नु भएको ?'
साहू : 'मैले भनेको यतैको पार्टीमा लगाउने हो या मधेशतिरको पार्टीमा लगाउने जुत्ता तपाईंलाई चाहिएको हो ?'
यो भनाईपछि एकछिन म अलमलिएँ ...! भने,' भूगोल अनुसार जुत्ता पनि हुने रै'छ, हो ?'
साहू: 'हो त नि ।'
म :'ए..ए..! त्यसो भए दुवै ठाउँमा लगाउन मिल्ने जुत्ता चाहियो ।'
साहू: 'कुन पोशाकका लागि: कोट,धोती-कुर्ता या पाइजामा कुर्ताका लागि ?'
म : (फेरी अलमलिदै), सबैमा फिट हुने जुत्ता साहूजी ।'
साहूले चुच्चो न चुच्चो कालो हिल जुत्ता र जालिदार लेदर स्याण्डल दुवै एकै चोटी मेरो अगाडि प्रर्दशनमा राख्यो ।
म : 'बुढापाकाका लागि चुच्चो हिल त मिल्दैन हौ, लगाउँदा लड्न सक्छन् ।'
साहू: 'यहाँ चल्ने यस्तै हो । त्यसो भए लेदर स्याण्डल नै लिनुस्-सबै पोशाक, सबै ठाउँको पार्टीमा लगाउन मिल्छ ।' यति भन्दै तिनले स्याण्डलको विशेषता एउटा मौसमविद्, जलवायूविद्, भूगोलविद् जस्तै व्याख्या गर्न थाल्यो ।
म केही छिन मौन बस्दै भने, 'म जुत्ता लिन आएको हूँ, लेडर स्याण्डल हैन ।'
साहू अझै भन्दै थिए,'मिलाएर दिन्छु लानु न ।'
म जुरूक्क उठें अनि सोधें, 'वरपर अरू पसल होला नि ?...'
यति के भनेको थिएँ,अब तिनी आर्थिक विश्लेषकको भूमिकामा पो पुगेछ । आर्थिक मन्दी, बजार-व्यापार स्खलनको अन्तहिन व्याख्यान दिन थाले छन् ।म तिनलाई बिचैमा रोक्दै भने, '....जे होस् यो मन्दी अवस्थामा पनि तपाईंले पुर्खौली पेशालाई टेको दिनु भएकोमा खुशी लाग्यो ।' मैले शुभकामना भन्न नपाउँदै तिनी एकाएक जंगिदै भने,' कुन र कसको पुर्खौली पेशा... ? के भन्नु भा'को.... ? म प्योर क्षेत्रीको छोरा हूँ । साथीभाईको संगतले जुत्ता बनाउन तिर लाग्या हूँ । तपाईंले सोचे जस्तो जातको म होइन, बुझ्नु भयो ....?'
साहूको शृंखलाबद्ध शब्दबाणबाट आजित म उम्किने बहाना खोजिरहेकै बेला तिनले भनेछन्, 'तपाईंलाई आफ्नो कुनै उत्पादन बेच्दिन ....!'
जुत्ता किन्न गएको म, एक जना व्यापारीबाट थरी-थरीको विश्लेषण, आक्रोस, कुन्ठा सुनेर घर फर्कें ।
'अमूक जातिसंग 'जोडिएको' कर्म, काम, पेशा, व्यवसाय अन्य जातिकाले गर्दा वा गरेमा के तिनले पनि जुत्ता बनाउने र बेच्ने यी साहू जस्तै आक्रोश र कुण्ठा पालेका होलान ?' 'के मन्दी बजारका व्यापारीहरू ग्राहक/उपभोक्त्तासंग यसरी नै पेश हुन्छन् ?' जिज्ञासा राखें !
#दिनेश_यादव
काठमाण्डौ (नेपाल)
२०८०फागुन २० आइतबार ।


No comments:
Post a Comment