एक जना नेता/सांसदले एउटा कार्यक्रममा आफ्नो क्षेत्रमा संसदीय कोषबाट गरेको विकासको बेलिविस्तार लगाउँदै थिए । त्यहाँ केही पत्रकारलाई समेत समाचार कभरेजका लागि बोलाइएको रहेछ । आफ्नो क्षेत्रमा राम्रै काम गरेकोले स्थानीयबासीहरुले ती नेताको मुक्त कंठले प्रशंसा गरिरहेका थिए ।
कार्यक्रम सकेपछि चियापानको व्यवस्था थियो । चियापानमा सबैको सहभागिता थियो, पत्रकार त्यहाँ नपुग्ने कुरै भएन । नेताले चियाको एक चुस्कि मात्रै के लिएका थिए , एक जना पार्टी पत्रकारिता र असुली धन्दामा नामुद कहलिएका पत्रकारले ‘बाईट’का लागि नेतासंग अनुरोध गरेछन् ।
#पत्रकार : नेता जी, तपाईको बाईट चाहियो ।
#नेता : हुन्छ, चिया खाउँ अनि दिउँला ।
(चिया पिईसकेपछि),
#पत्रकार : नेता जी, जाम न त अब ? बाईट दिने हैन, हजूर......अँ..... एकान्तमा जाम न ।
#नेता :हुन्छ, हुन्छ ?
एकान्ततिर जाँदै गर्दा नेताले आफ्ना स्वकीय सचिवलाई फोनमा भन्छन्, ‘ राष्ट्रिय संचार माध्यमका एक पत्रकारले बाईट माग्दैछन्, छिटो मिलाएर आउ है ।’
#स्वकीय_सचिव : हजुर , म आई हाले । ’
(स्वकीय सचिव नेता र पत्रकार नजिकै पुग्छन् । ती पत्रकारलाई नमस्कार ठोक्दै एउटा खाम ट्रक्र्याउँछन् । )
#नेता :पत्रकार जी , बाईट भयो हैन त ?
#पत्रकार : भयो हजुर, धेरै–धेरै हार्दिक धन्यवाद । फेरी–फेरी बाईट चाहियो भनेर यसरी नै सहयोग गरिदिनुहोला....।
(नेता, पत्रकार आ–आफ्नो बाटो तताउँछन् )
(अलिक पर पुगेपछि..........)
#नेता : (आफूसंग रहेका कार्यकर्तालाई भन्छन्) आजकल केही कथित पत्रकारहरुलाई संधै नयाँ दुलही झै व्यवहार गर्नुपर्छ ...... अझ हड्डी खान पल्केका जात जो हुन् । एक ट्क्रो हड्डी मै पनि रमाउँछन् यिनीहरु.....। यिनीहरुले दिनमा दुई/चार वटा बाईट यसरी नै लिई रहेका हुन्छन् । बाईट नदिनेलाई यिनीहरुले बाँकी राख्दैनन् । फेरी हामी यिनका पार्टीका मान्छे पनि होइनौ । यिनी त जनताको पक्षमा भन्दा पनि आफू संलग्न पार्टीलाई राजनीतिक र सामाजिक रुपमा फाईदा पुग्ने काम मात्रै गर्छन् । परिचय दिँदा त भन्छन् –म पत्रकार महासंघको ...... हूँ ।’
(यस्तै भनाई राख्दै नेता आफ्नो गन्तव्यमा पुग्छन् )
उत्ता भिडबाट ओझेल भएपछि पत्रकारले खाम खोल्छन् । जिब्रोमा औंला भिड्याउँदै गिन्ती गर्दा जम्मा पाँच हात्ती रहेछ ।
दायाँबायाँ हेर्दै त्यसलाई राख्ने बन्दोबस्त गर्छन् । अफिस/घर पुगेर ती नेताका बारेमा समाचार बनाई केन्द्रमा पठाउँछन् ।
(समाचार सम्प्रेषण भएपछि फोनमा)
#पत्रकार : नेता जी, धेरै–धेरै बधाई छ । तपाईका समाचार हेर्नु भयो ? हाम्रोमा गजब कभरेज भएछ । तीन/चार वटा बुलेटिनमा राख्ने कुरो छ । आफ्ना समर्थकहरुलाई हेर्न भनिदिनुहोला । भ्युअर्स पनि बढाउनुपर्छ है......।
#नेता : भै हाल्छ नि ।
#पत्रकार :हस्, फेरी चाँडै हजूरसंग बाईट लिन आउँला , नमस्ते बाई बाई.........।
(#नोट : माफ गर्नुहोला, यो कसैसंग मेल खाए संजोग मात्रै हुनेछ । केही अपबाद बाहेक अधिकांश पत्रकारहरुका लागि ‘बाईट’ असुली गर्ने धन्दा बनेको छ । अमुक राजनीतिक पार्टीको लाईनमा पत्रकारिता गर्नेहरुको यो धन्दा झनै चम्किएको देखिन्छ । अझ पत्रकार महासंघको जिम्मेवारीमा बसेकाहरुको समाचार, सामाजिक संजालमा लेखिने तिनका स्टेटस र पार्टी लाईनको निर्देशन रहेको विषयवस्तुमा आफ्ना विपक्षलाई जिउँदो लाश नबनाउञ्जेल खेदो खन्दै आत्मरतिमा रमाउँछन् । यसरी पत्रकारिता किन र कहिले सम्म ?? )
No comments:
Post a Comment