Monday, 31 May 2021

‘पत्रकारहरु पत्रकारिता मार्फत् कमाई धन्दामा’ (भाग–१)

....पत्रकारहरु पत्रकारितालाई माध्यम बनाई कमाई धन्दामा लागेका छन्.....पत्रकारहरुले स्थानीय सरकारी कर्मचारी, व्यापारीसंग रकम माग्ने गरेको समेत पाइन्छ । स्थानीय सरकारी कर्मचारी, व्यापारी पनि आफ्नो विपक्षमा समाचार नआओस् भन्ने ध्येयले पत्रकारलाई पैसा दिन्छन् । विशुद्ध पत्रकारिता मात्रै गरेर जीवन यापन गर्ने पत्रकार अत्यन्तै थोरै छन्........।
‘मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरु’ शीर्षकमा तुलानारायण साहले ‘मिडिया अध्ययन ५’ का लागि तयार पारेको आलेखमा उल्लेख गरिएका वाक्यांशहरु हुन यी । मैले जेठ १६ मा राजबिराज सदरमुकामका दुई तस्बीर र आफ्नै गाउँ फकिराबारे लेखेको फेसबुक स्टेटसपछि तराई–मधेशका पत्रकार र पत्रकारिताबारे धेरै तथ्यहरु विभिन्न क्षेत्रका बौद्धिक वर्ग मार्फत् प्राप्त भएका छन् । ती सबै हेर्न भ्याएको छैन । तर, जति हेरेको छु, सिंगो पत्रकारकै शिर निहुंराउने खालका छन् । यो लेखि रहँदा कसैलाई आग्रह वा पुर्वाग्रह लाग्न सक्छ । तर, तितो सत्य के हो भने मधेसका केही पत्रकारहरुलाई डाम्न सक्ने आधार/प्रमाणहरु थुप्रै छन् । यही बाहनामा सबै पत्रकारलाई जेनेरलाईज गर्न भने सकिन्न, त्यो पक्षमा म छैन । धेरै ईमानदार पत्रकारहरु पनि रहेको ती बौद्धिक वर्गहरुले मसंगको साक्षात्कारमा बताएका छन् । खासगरी प्रदेश २ को
पत्रकारिताबारे तिनीहरुले पठाएका र संवादका क्रममा भनेका सबै तथ्यहरुप्रति मेरो आफ्नै रिजरभेसन छ । त्यसमा मेरो सहमति र विमति खोज्नु भन्दा पनि पर्दा पछाडि र पत्रकारितालाई बद्नाम गर्नेहरुलाई सार्वजनिक गर्ने दायित्व सबैको हो । त्यसैले जे मैलै पाएँ, सुनें त्यो यहाँ पस्कने जमर्को गर्दैछु । यहाँ एउटा कुरा भनि दिउँ, यो ब्लगको उद्देश्य कसैलाई होच्याउने, अपमान गर्ने, गिराउने वा गिज्याउने नियतले पक्कै लेखिएको होइन । यसमा लेखिएका कन्टेन्टहरु कसैसंग मेल खान गए त्यो संयोग मात्रै हुनेछ । यदि कसैलाई यसबाट चोट पुग्न गए क्षमायाचना गर्छु । एक जना पत्रकारका हैसियतले मैले सत्य सार्वजनिक गर्नैपर्छ, त्यो गरेको छु । यसै आधारमा कसैले मविरुद्ध साइबर बुलिङ गर्न सक्छन् । त्यसको प्रवाह मलाई पिटिक्कै छैन । यहाँ नाम सार्वजनिक नगर्ने सर्तमा मैले ब्लग लेख्न पाउने अनुमति पाएकाले त्यही अनुरुप जिल्लागत रुपमा आएका प्रतिक्रियाहरु यहाँ उल्लेख छन्
सप्तरी : केही बाहेक यहाँका अधिकांश पत्रकारहरु पैसा कमाउने धन्दामा छन् । गलत तरीकाले धन आर्जन गर्ने र राजनीतिक हैसियत बढाउँन तल्लिन छन् । पत्रकार कम पार्टीका कार्यकर्ता बढी छन् । नेपाली कांग्रेस, एमाले (विभिन्न गुट), माओवादी(गुटगत), जनता समाजवादी पार्टी(गुटगत) वा जातिय हिसाबमा पत्रकारहरु वर्गिकृत छन् । ज्ञानेन्द्र शाहको ‘कू’ पछि सप्तरीमा खोलिएको राष्ट्रवादी पत्रकार समाजका पदाधिकारीको नाम समेत भन्दै तिनीहरु पनि तत्कालिन पत्रकार महासंघको अध्यक्षबाट जातिय आधारमा विभेदमा परेको सप्तरीका बौद्धिक वर्गले बताएका छन् । उक्त विभेद त्यस बेला सतहमा आयो जब तत्कालिन सूचना तथा संचारमन्त्री टंक ढकाललाई राजबिराजमा स्वागत गर्नेहरुलाई गिरिजाप्रसाद कोइरालको नेतृत्वमा रहेको सरकारका गृहमन्त्री कृष्ण सिटौला राजबिराज आएका थिए । तत्कालिन कांग्रेस समर्थित पत्रकारले ढकाललाई स्वागत गर्नेहरुमध्ये पत्रकार महासंघका तत्कालिन अध्यक्षलाई सिटौलाको कार्यक्रममा प्रवेश गर्न दिए , अन्यलाई निषेध गरेको थियो । सप्तरीका पत्रकारहरु ठेक्कापट्टामा लागेको कुरा पनि आएको छ । त्यसको पुष्टि विभिन्न माध्यमबाट भएकै छन् । अझ पत्रकार महासंघको तत्कालिन अध्यक्ष समेत ठेक्कापट्टा धन्दामा लागेको पुष्टि नै भइसकेको छ । मैले पाएको जानकारी अनुसार केही पत्रकारले आफ्नो केरा खेतमा लाखौं रुपैयाँ खर्चेर पिच लगेको , आफ्नै श्रीमति र परिवारका अन्य सदस्यहरुको नाम राखेर उपभोक्ता समिति खडा गरी सरकारी विकास बजेटमा कुम्ल्याएको, विभिन्न ठेकेदार कम्पनीबाट रकम असुलेको र रकम दिन नमानेपछि समाचार बनाएको जस्ता आरोप लगाउनेहरु पनि भेटिएका छन् । अझ ती प्रमाणहरु समेत आफूसंग भएको भनेका छन् । गहिरो दुःख व्यक्त गर्दै तिनले भनेका छन्– अनि सडक नबनेको, पुल नबनेको, विजुलीबत्ती नपुगेको, स्कूलमा शिक्षकले नपढाएको, दलितमाथि बर्बर दमन भएको, महिलामाथि परिवारिक सदस्यबाट हिंसा भएको, स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले बजेटको दुरुपयोग गरेको ...........जस्ता समाचार पत्रकारले किन लेख्छन् ? के कसैले जानी–जानी दुधालू गाईलाई लठ्ठी हान्छ ? ....थुप्रै अनुत्तरित प्रश्नहरु ममाथि नन–स्टम तिनले तेर्साए । म निरिह जस्तै बन्न पुगें । अबाक पनि भएँ । ....थुप्रै कुरा छन् । सांकेतिक रुपमा मात्रै उल्लेख गरेको हुँ । आवश्यक परे नामसहित पनि सार्वजनिक गर्न सकिन्छ । तर, मेरो उद्देश्य सम्बन्धित पत्रकारलाई सचेत र सावधानी गर्ने मात्र रहेकाले त्यता जान चाहिनँ ।
सिरहा: यहाँका पत्रकारहरु अन्य ठाउँको जस्तै पार्टीगत, जातिगत, व्यक्तिगत, वर्गगत रुपमा विभाजित छन् । सबैभन्दा बढी यहाँका पत्रकारहरु प्रहरीमैत्री हुने गरेका छन् । अरुलाई शक्ति र पावरको धौंस देखाउनका लागि उनीहरुले त्यसो गरेको हुनुपर्छ । मलाई उपलब्ध केही नामावली र तस्वीरहरुले त्यो कुरालाई सहजै प्रमाणित गर्न सक्ने खालका छन् । यहाँ पनि केहीलाई अपवादका रुपमा छाडि दिने हो भने अधिकांश पत्रकार कम , पार्टीका कार्यकर्ता भएर बढी सक्रिय छन् । सिरहाका बुद्धिजीविले समाचार समेत कटिङ गरेर पठाएका छन् । अझ सरकारी संचार माध्यममा कार्यरत एकजना पत्रकारले पटक–पटक लहानका मेयरसंग फोटो खिचाएको र उसैको पक्षमा लेखेको दाबीसहित सामग्री पढाएका छन् । तिनले भनेका छन्– अव्यवस्थित बजारप्रति केही पत्रकारले त्यो बेला आबाज उठाउँछन्, जब लेनदेन मिल्दैन । अनि असल पत्रकार र पत्रकारिता र विकास पत्रकारिताको कुरा तपाई गर्नु हुन्छ...। ’ यी र यस्ता धेरै प्रश्न समेत ममाथि तेर्साए ।
धनुषाः सबैभन्दा बढी गुनासा धनुषा जिल्लाबाटै आएका छन् । पत्रकार महासंघका तत्कालिन बहालवाला अध्यक्षले नगरप्रमुख मात्रै होइन एक जना पत्रकारसंगै पनि लेनदेन डिल गर्न खोज्दा नमिल्दा आफ्नो गुट तिनीहरुविरुद्ध परिचालन गरेको त्यहाँका बुद्धिजीविले बताएका छन् । उनीहरुले भनेका छन्, ‘एक जना पत्रकारको चरित्र त यस्तो सम्म देखिएको छ, तिनी नेपाली कांग्रेस सरकारमा हुँदा त्यो पार्टीको मधेसी नेतालाई कामधेनू गाई बनाएर दुहिरहे । अचेल मधेसी दलका केही नेता र मन्त्रीलाई आफ्नो दुहूनो गाई बनाएका छन् । तिनका लागि दलगत सिद्धान्त, आचरण र चरित्र फगत रकम असुल्ने धन्दा बाहेक अरु केही होइन भन्ने प्रमाणित हुन्छ । अझ एक जना त पत्रकार महासंघमा अध्यक्ष पद्मा एउटा पार्टीबाट आधिकारिक उम्मेदवार बनाउने आश्वासन धेरै पहिले पाएका थिए । तर, आश्वासन जातिगत यू–टर्न गरेपछि ती पत्रकार बौख्लाहटको सिकार भए । अहिले तिनी आफैपनि जातिगत मोर्चा बनाउन तल्लिन देखिएका छन् । धनुषामा केही पत्रकारहरु प्रायोजित समाचार लेख्ने गरेको तथ्य समेत फेला परेको ती बृद्धिजीविले बताएका छन् । अझ धनुषामा दारु र मांसमा बिक्ने पत्रकारहरु धेरै रहेको तिनले दाबी गरेका छन् । विवादास्पद व्यक्ति प्रमुख भएर आएपछि तिनलाई फूलमालासहित स्वागत गर्दै फोटो सार्वजनिक गर्नेले जनताका हितमा पत्रकारिता गर्लान् भन्ने आश नगरेको भो– भन्दै आक्रोस समेत तिनले पोखे । जनकपुरमा एकै जनाको नाममा चार भन्दा बढी संचार माध्यम दर्तामा छन् । अब भन्नुस्–तिनले गर्ने पत्रकारिता कस्तो होला ? तिनले केका लागि पत्रकारिता गर्दैछन् यहाँ भनिराख्नु पर्छ जस्तो लाग्दैन । एक जना आफै संचारजगतको नेतृत्वमा छन् तर तिनले अरुलाई माथि उठाउनु भन्दा आफ्नो श्रीमतिलाई जिताउन पत्रकार महासंघको चुनावमा लागि परेका थिए– फेरी उही मधेसका असली पत्रकार रे भन्दै मलाई व्यंग्य सुनाए । जनकपुरमा सफाई अभियानका नायकका रुपमा चिनिने एक जना नेता जो पहिले आफै पनि पत्रकार थिए–तिनीविरुद्ध केहीलाई उचालेर बदनाम गराउने कुचेष्टा भएकोमा जनकपुरका ती बृद्धिजीविले दुख व्यक्त गरे । तिनले भन्दै थिए– एउटा दैनिक पत्रिकालाई पार्टी र त्यसको गुटगत समुहबाट प्रदेश २ को सबैभन्दा बढी विज्ञापन प्राप्त हुन्छ । तर तिनले लेखेको सामग्री पनि विवादमुक्त हुन सकेको छैन । ‘जता माल त्यतै ताल’ भन्ने उक्ति अचेल तिनले प्रमाणित गरेका छन । त्यसैले तिनले गर्ने पत्रकारिता आमनागरिकका लागि नभई आफ्नो लागि पैसा कमाउन मात्र भएको दाबी गरेका छन् । भूमाफिया, गुन्डा नाईके, भ्रष्टाचारी जस्ता उपाधिले डामिएका व्यक्ति केही पत्रकारलाई आफ्नो खल्तीको चेक बनाएका छन्, तिनलाई जुनबेला आवश्यक पर्छ– भजाउने गरेका छन् ।
क्रमशः
http://www.martinchautari.org.np/files/Media-Adhyayan/Media-Adhyayan-5_Commentary_Tulanarayan-Shah.pdf

No comments:

Post a Comment