Tuesday, 5 May 2020

प्रदेश २ मा यसरी गर्न सकिन्छ २४ लाख जनशक्तिको खपत (Research article on manpower management in Province 2)

 प्राकृतिक स्रोतलगायत वन व्यवस्थापनबाट प्रसस्तै 
रोजगारी र आय आर्जन 

डा. नागेन्द्रप्रसाद यादव 
वन तथा वातावरण विज्ञ
 
डा. नागेन्द्रप्रसाद यादव
अहिले कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त भएको बेला हाम्रो देशबाट विदेशमा कार्यरत ३० देखि ४० लाख युवा जनशक्ति देश फर्कने पर्खाइमा छन् । जसमध्ये अधिकांश प्रदेश २ कै हुने छन । ती युवाहरु देश फर्के संघ र प्रदेश सरकारले के मा र कहाँ रोजगारीको व्यवस्था गर्ने ? भन्ने प्रश्न तेर्सिएको छ । प्रदेश २ भू–क्षेत्रको हिसाबमा सबै भन्दा सानो (९ हजार ६ सय ६१ वर्ग किमी) रहेको छ । त्यस्तै सबैभन्दा ठूलो कर्णाली प्रदेश क्षेत्र (२७ हजार ९ सय ८४ वर्गकिमी) रहेको छ । वन क्षेत्रको हिसाबले प्रदेश २ मा सबैभन्दा कम वन क्षेत्र ४ दशमलव ३६ प्रतिशत मात्र रहेको छ । यसै गरी जनघनत्वको हिसाबले प्रदेश २ मा सबैभन्दा वढी ५ सय ५९ दशमलव ३७ प्रति किमी रहेको छ । यति खेर स्वदेशमा रोजगारीका लागि अर्थविद्हरु र सरकारले कृषिमै आधारित रोजगारीका कुरा गरी रहेका छन् ।
प्रदेश २ मा बसोवास क्षेत्र लगायत कृषिभूमि ६ लाख ४२ हजार ४ सय ५८ हेक्टर छ । यसका लागि सिँचाई आवश्यक छ । तर सबै कृषियोग्य भूमिमा सिंचाइ तथा प्राविधिक सहयोग उपलव्ध छैन । कृषिबाहेक अन्य विकल्पहरु के–के हुन सक्छन् भन्नेबारे विचार गर्दा  प्रदेश २ मा २ लाख ७९ हजार ४ सय ७८ हेक्टर वन क्षेत्र छ । जसमा क्षतिग्रस्त र अतिक्रमित वन क्षेत्र पनि पर्दछ । ती मध्ये करिब ५० प्रतिशत चुरे पहाडमा पर्दछ । यसबाहेक सम्वेदनशील र प्राथमिकतामा रहेका ६४ वटा नदी प्रणालीमध्ये २२ वटा यसै प्रदेशमा पर्दछन् । जसले वर्षेनी सयांै विगहा कृषिभूमि कटान गरी बगर बनाई मरुभूमि तर्फ धकेली रहेको छ । यी २२ वटा नदीमध्ये कतिपयमा चुरेको फेदमा जलाशय निर्माण भएर पुरी सकेका छन् । ती नदीहरुबाट वर्षेनी कति नदीजन्य पदार्थ उत्पादन हुन्छ ? के यी रोजगारी र अम्दानीको श्रोत होइन ? यसबारे तिनै तहका सरकारले विषयगत विज्ञहरुको सरसल्लाहमा अगामी आर्थिक वर्षको व्यवहारिक र युवा शक्ति खपत हुने योजना बनाउनु पर्ने हुन्छ । रोजगारीको विकल्प धैरै छ, खोज्नु मात्र पर्छ ।
धेरै पहिलादेखि नै नेपालको वन संरक्षण तथा वन जोगाउन वन कर्मचारी र प्रशासन हैरान छन् । वन जोगाउन सकिएको छैन । दिन प्रतिदिन वन क्षेत्र घट्दै गएको तथ्यांकहरुले देखाएको छ । यस प्रदेशमा पनि वन सम्वद्र्धन प्रणाली अनुसार वनको व्यवस्थापन नभई काठ कुही रहेको अवस्था छ । अर्को तिर जनताको आवश्यकता परिपूर्ति भई रहेको छैन । जसले गर्दा पनि वनमा चोरीपैठारी बढेको एउटा तीतो यथार्थ नै बनिसकेको छ । धनी श्रोतको गरिव व्यवस्थापक भएर पनि समस्या छ ।
समृद्ध प्रदेशका लागि प्रदेश भित्रको प्राकृतिक श्रोत व्यवस्थापन गर्नु पर्दछ । प्रदेशको वन मध्ये ३५ हजार ६ सय ५६ हेक्टर वन क्षेत्र क्षयीकरण , घाँसे मैदान र खाली क्षेत्र गरी ३६ हजार २ सय ६७ हेक्टर रहेको छ, जुन क्षेत्र वन विस्तार गर्न उपयुक्त हुन सक्छ । गत वर्षसम्ममा यस प्रदेशको ८ जिल्लामा ५ सय ३ वटा सामुदायिक वन हस्तान्तरण भएको छ , जसको क्षेत्रफल ७१ हजार ३ सय ६४ हेक्टर रहेको छ । यस प्रदेशको ८ जिल्ला मध्ये #सप्तरी र सिरहाबाहेक ६ जिल्लामा १६ वटा साझेदारी वन छ, जसको क्षेत्रफल ३७ हजार ४ सय ५९ हेक्टर रहेको छ । प्रदेशको सीमाना भित्रको वनको आवश्यकता अनुसार वन व्यवस्थापन र वन पैदावार आपूर्ति गरिएन भने वन विज्ञान र वन प्राविधिक तथा संयन्त्रको औचित्यको पुष्टि हुन सक्तैन ।
तराई–मधेसको उत्पादनशील वनको व्यवस्थापन गरी काठ बिक्री गरेमा वार्षिक रुपमा करिब १३ अर्ब रुपैयाँ आर्थिक उपार्जन गर्न सकिन्छ (स्कौ व्रोइक, साह र सिग्देल २००४) । तराई–मधेसको वन तस्करी, अनियमितताको मारमा परी व्यापक रुपमा विनास भै यसबाट झण्डै ४२ अर्ब रुपैयाँ बराबरको नोक्सान भै रहेको छ । यसै गरी तराईको वन ज्यादै उत्पादनशील भएको कारणले राम्ररी व्यवस्थापन गर्ने हो भने वार्षिक ५० अर्ब रुपैयाँ भन्दा बढीको फाईदा लिन सकिन्छ (वन्जाडे र ओझा २०६६) ।
यस हिसाबले प्रदेश २ को समथर भूभागको वन र चुरेको १० प्रतिशत वनको वन सम्वद्र्धन प्रणाली अनुसार वन व्यवस्थापन गर्दा वार्षिक रुपमा करिब १४ हजार हेक्टरमा योजना अनुसार कटान गर्न सकिन्छ । जसबाट वार्षिक रुपमा करिब २१ लाख क्यूफिट काठ र २६ हजार चट्टा दाउरा उत्पादन गर्न सकिन्छ । यसबाहेक अन्य क्षेत्रमा वन सम्वर्द्धन कार्य गर्दा थप वन पैदावार प्राप्त हुनेछ । उपलब्ध वन पैदावार बिक्री गर्दा करिब ८ अर्ब आम्दानी गर्न सकिन्छ । अहिलेसम्मको अनुभवमा एक हेक्टर वन व्यवस्थापन गर्न वर्ष भरीमा विभिन्न कार्यको लागि करिव १ हजार ६ सय ५४ श्रमदिन ९ महिनामा चाहिन्छ । यस हिसाबले प्रदेशमा उपयुक्त वन क्षेत्र व्यवस्थापन गर्न करिब २४ लाख जनशक्ति आवश्यकता पर्छ । यसरी वन व्यवस्थापन गर्दा प्रदेशमा काठको आवश्यकता परिपूर्ति हुनको साथै, अर्थतन्त्रमा टेवा र स्थानीय स्तरमा रोजगारी सृजना हुनुको साथै जलवायु परिवर्तनको हिसाबले वनको वृद्धि दर वढेमा वायुमण्डलबाट वढी कार्वनडाइअक्साइड शोषण गर्न सक्छ ।

प्रदेश सरकारले प्रदेश भित्र रहेका यी प्राकृतिक श्रोतको योजना बनाई रोजगारी र आय आर्जन गर्न सक्छ: –
  • कृषि तथा पशुपालन प्रवर्द्धन
  • वन क्षेत्रको दीगो व्यवस्थापन: क) पुनरुत्पादन,  ख) वन सम्वर्द्धन, ग) अन्तिम कटान
  •  निर्माण तथा भौतिक विकास
  •  नदी प्रणालीमा नदीजन्य पदार्थ व्यवस्थापन – बालुवा‚ ग्रेभेल संकलन र उपयोग
  • नदी उकास तथा बगर क्षेत्र व्यवस्थापन – कृषि वन कार्यक्रम
  • चुरेको फेदमा जलाशय निर्माण तथा मर्मत, जसबाट सिचाइ हुन सक्छ 

वन व्यवस्थापन गर्दा हुने उपलब्धि:–
  • वन पैदावारको उपलव्धता सहज र आपूर्तिमा वृद्धि
  • स्थानीय स्तरमा रोजगारी सृजना
  • स्थानीय समूह र सरकारको आय, राजश्व वृद्धि
  • नदी जन्य पदार्थको आपूर्तिमा वृद्धि र राजश्व वृद्धि
  • बाढी नियन्त्रण तथा पारिस्थितिकीय सेवामा वृद्धि
  • कृषि तथा पशुजन्य पदार्थको उतपादन तथा अपूर्तिमा वृद्धि

माथि उल्लेखित प्राकृतिक श्रोतबारे तथ्याङ्कको अधारमा वेरोजगारी समस्या समाधानलाइ प्राथमिकता दिई आगामी वर्षको योजनामा कार्यक्रम समावेश गर्न सरकार तथा सम्वन्धित निकायलाई आग्रह छ । 

No comments:

Post a Comment