- दिनेश यादव(DINESH YADAV)- काठमाडौं ----
कुनै पनि व्यापार थप फस्टाउनका लागि तीन कुराहरू आवश्यक
पर्ने भनेर हामीलाई सिकाइन्छ । पहिलो : कयौं ग्राहकसँग अपिल गर्नु, दोस्रो :
अरूभन्दा फरक उत्पादनमा केन्द्रित हुनु र तेस्रो : नयाँ–नयाँ वस्तुहरू
बजारमा ल्याइरहनु । तर, वास्तवै के यी तीन कुरा अन्तिम सत्य हुन् त ?
अमेरिकी अखबार ‘फोब्र्स’ को ४ सयजना अर्बपतिको सूचीलाई विश्लेषण गर्दा
योभन्दा फरक र नयाँ तथ्य फेला परेको छ ।
अर्बपति बनेकाहरूको रुझान र प्रवृत्ति हेर्दा व्यापारमा विविधिताको तुलनामा
विशिष्टतालाई उजागर गरेको छ । अर्थात् कुनै एउटा व्यापारमा केन्द्रित भई
अगाडि बढ्दा अपेक्षा गरेभन्दा बढी सफलता हासिल भएको पाइएको छ । ‘फोब्र्स’
सूचीमा समावेश विश्वका अधिकांश सफल र धनाढ्यहरू आआफ्ना एउटै कारोबारमा
अतिकेन्द्रित र विशिष्टताका साथ अघि बढेको पाइएको छ । फेसबुक र मिन्ट
कम्पनीमा एकजना कर्मचारी नोआह कागनले तयार पारेको विश्लेषण/रिपोर्टले
त्यस्तै देखाएको छ । कागनले तयार पारेको रिपोर्टमा आधारित भई ‘बिजनेस
इन्साइडर’ अनलाइनले सार्वजनिक गरेको विश्लेषणले व्यापारमा विविधताको साटो
विशिष्टताका साथ एउटैमा केन्द्रित भएकाहरू बढी सफल भएको पुष्टि गरेको छ ।
उक्त अनलाइनले आफ्नो विश्लेषणलाई थप प्रस्ट्याउन विश्वका तीन अर्बपतिको
उदाहरण पनि प्रस्तुत गरेको छ । सुरुमा वारेन बफेट, मार्क जुकरबर्ग र फिल
नाइटलाई आफ्नो उदाहरण बनाएको छ । यी तीनजना अर्बपतिहरूको व्यापार अन्य
विभिन्न उद्योग/कम्पनीबाट चम्के पनि सुरुमा तिनीहरूको एउटै मात्र व्यापार
थियो । त्यसैमा तिनीहरू बढी केन्द्रित भई धन आर्जन गरेका थिए । अर्थात्
तीनजना पहिले एउटै व्यापारलाई आआफ्नो च्यानल वा रणनीति बनाएर अघि बढेका थिए
। वारेन बफेट बर्कसायर हाथावेमा लगानी गरी ७३ दशमलव २ अर्ब अमेरिकी डलरको
सम्पत्ति बनाए भने जुकरबर्ग फेसबुकबाटै ६१ दशमलव ७ अर्ब अमेरिकी बराबरको धन
जोड्न सफल भएका थिए । त्यस्तै नाइक कम्पनीकै कारण फिल नाइटले २४ दशमलव ३
अर्ब अमेरिकी डलर बरोबरको सम्पत्ति बनाएका थिए ।
अर्को कुरो अर्बपतिहरू झनै अर्बपति हुनुको कारणचाहिँ तिनीहरू मानिसको
आवश्यकतामा केन्द्रित भएर अघि बढ्नु पनि हो । विशिष्ट क्षेत्रमा
अतिकेन्द्रित रणनीतिहरू बनाएर अघि बढ्दा व्यापार थप फराकिलो बन्छ । तर,
धेरै मानिस ठान्छन्, विविधता (एकैपटक धेरै व्यापार) ले कुनै पनि व्यापारलाई
विस्तार गर्नमा सहयोग पुर्याउँछ । विविध व्यापार र उद्योगको विपक्षमा
रहेकाहरूले यसलाई अस्वीकार गरेका छन् । उनीहरू भन्छन्, ‘यसो गर्नु भनेको
उद्यमीको सोचलाई विभाजित गर्नु हो । सोच डाइभर्ट भएको अवस्थामा सफलता हासिल
गर्न कठिन हुन सक्छ ।’ यसको साटो एउटै व्यापारमा मात्रै केन्द्रित हुनुलाई
उनीहरूले राम्रो भनेका छन् । विविधतामा विश्वास गर्ने उद्यमी र
व्यावसायीहरूले धेरै कुरा सही तरिकाले गर्न सक्तैनन् ।
अनलाइनले अर्को उदाहरणका रूपमा स्टेभ जब्सलाई अघि सारेको छ । उसले जब्सले
एप्पललाई कसरी बचाए ? भनेर आफ्नो विश्लेषणमा बेलिविस्तार गरेका छन् ।
अनलाइन लेख्छ : सन् १९७६ मा ‘एप्पल आई’ को सुरुआत एउटै मात्र उत्पादनबाट
भएको थियो । कम्पनीको विस्तार भएपछि एप्पल टोलीले विभिन्न बजारहरूलाई
लक्षित गरी नयाँ ब्रान्डहरू ल्याउन सफल भयो । सन् १९९१ मा म्याकिन्तोस
क्वाद्राको बजार उच्च विन्दुमा रह्यो । त्यसपछि सन् १९९२ मा परिवारलाई
लक्षित गरी म्याकिन्तोस फरफर्मा सेरिज कम्पनीले ल्यायो । त्यस्तै सन् १९९३
मा मिड–रेन्जको म्याकिन्तोस सेन्ट्रिस लाइन पनि ल्यायो । यी उत्पादनहरू
परिचयात्मक यन्त्रका रूपमा विभिन्न मूल्य विन्दुमा बिक्री भएका थिए ।
कम्पनीको सुरुमा विभिन्न सेग्मेन्ट बजारमा ल्याउने लक्ष्यका साथ अघि बढेको
थियो । तर, त्यो सम्भव हुन सकेन ।
तीनवटा उत्पादनहरू ९० को दशकमा ल्याए पनि त्यसले अपेक्षा गरेअनुरूपको लाभ
कम्पनीलाई प्राप्त हुन सकेन । फेरि यी उत्पादनहरू त्यस बेला ल्याइएको थियो,
जब विश्वव्यापी रूपमा कम्प्युटरलाई स्वीकार गरिएको थिएन । किनभने
उपभोक्ताहरूले यी उत्पादनहरूबीच फरक बुझ्न नसकेर कन्फुजनको अवस्थामा थिए ।
तीनैवटा उत्पादनलाई एउटै ठानेका थिए, उपभोक्ताहरूले । फलस्वरूप सन् १९९४
देखि १९९७ सम्म प्रत्येक वर्ष कम्पनी घाटामा गएको थियो । सन् १९९७ मा
मात्रै कम्पनीले ७ सय ८ मिलियन अमेरिकी डलर घाटा बेहोर्नुपरेको थियो । तर,
कम्पनी आफ्नो यही उत्पादनमा केन्द्रित रह्यो, अन्य व्यापारमा हाम फालेन ।
आफ्नो विशिष्टता जोगाउनका यी उत्पादहरूलाई जीवितै बनाउने सोचमा कम्पनी रहेको थियो । यसै क्रममा आफ्नो घाटा जोगाउन सन् १९९७ मा कम्पनीले स्टेभ जब्सलाई भित्र्यायो । तत्कालै स्टेभले आवश्कताहरूमा केन्द्रित भई काम गर्न थाले । जब्स कम्पनीमा पुनप्र्रवेशअघि एप्पलका एक दर्जनजति विभिन्न मोडलका कम्प्युटर बजारमा थिए । तर, सन् १९९८ मा एप्पलका चारवटा मोडलहरू पावर म्याकिन्तोस जी ३, म्याकिन्तोस सर्भर जी ३, पावरबुक जी ३ सेरिज र आइम्याक जी ३ बजारमा रहेका थिए ।

आफ्ना यी उत्पादनहरूमा अतिकेन्द्रित भएपछि कम्पनीको नाफा ३ सय ९ मिलियनसम्म पुग्यो । जब्सले आफ्नै भनाइलाई चरितार्थ गर्न कम्मर कसेर लागेपछि उनी एप्पल कम्पनी
जोगाउन सफल भएका हुन् । उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘धेरै मानिसले
काममा केन्द्रित हुनुलाई आफूले पाएको कामलाई ‘सही’ भन्नु मात्रै भएको
ठान्छन् तर यो सधैं लागू नहुन सक्छ । त्यसैले ‘नो’ भन्न सक्नुपर्छ । ‘नो’
शब्दले सयौं नयाँ विचारहरू ल्याउन सक्छ, जसले मानिसलाई सफल बनाउँछ ।’
जब्सको ‘नो’ शब्दले कम्पनीलाई पुनर्जीविन दिन सफल भएको हो ।
अन्त्यमा, धेरै मानिस आफ्नो व्यापारलाई विस्तार गर्न नयाँ सोच वा तरिकाको खोजीमा अनावश्यक समय र ऊर्जा खर्च गर्छन् । त्यो ठीक नभएको विश्लेषण गरिएको छ । किनभने एकैपटकमा धेरै व्यापार थाल्दा कुनै पनि उद्यमी/व्यापारीसँग पहिलेदेखि भएको व्यापारमा केन्द्रित हुन असम्भव हुन्छ । घाटा लाग्यो भनेर केही उद्यमीहरू अन्य व्यापारमा हात हाल्छन् । अझ एकैपटकमा धेरै व्यापारमा हाम फाल्नेहरू पनि भेटिन्छन् । हुन त कहिलेकाहीँ यसमा सफलता पनि प्राप्त हुन सक्छ तर बढी असफलता नै हात पर्छ । (असार १०, २०७४,KANTIPUR DAILY) (एजेन्सीहरू)

No comments:
Post a Comment