जेष्ठ १, २०७३- समाजमा पुख्र्यौली सम्पत्तिमा रजाइँ गर्नेहरू प्रशस्तै भेटिन्छन्। कर्म नगर्ने अनि भाग्यमा मात्र विश्वास गर्नेहरू पनि त्यत्तिकै छन्, समाजमा। तर, पुख्र्यौली धन नभएका र सधै कर्ममा विश्वास गर्नेहरूले यो संसारमा नाम र दाम दुवै पाएका उदाहरण पनि भेटिन्छ। ती मध्येका एक हुन्, अमेरिकी व्यापारी केन्नेथ गेरार्ड ल्यांगोन। आफ्नै श्रम र पसिनाले उनी अर्बपति बनेका छन्।
उनका बुबा प्लम्बरको काम गर्थे भने आमा एउटा सानो ‘क्याफ्टेरिया’ मा मजदुरी गर्थिन्। सुन्दा आश्चर्य लाग्न सक्छ, मजदुरका छोरा कसरी अर्बपति बन्न सक्ला? तर, केन्नेथ अर्बपति बनेर देखाइदिएका छन्, व्यापारमा सफल भएर चर्चितसमेत बनेका छन्। हुन त उनको जीवनको सुरुको समय धेरै संघर्षपूर्ण रह्यो। उनले जीवनमा कुनै पनि कामलाई सानो ठानेनन्, मानेनन्। किशोरावस्थामा उनी कसाईका सहयोगी भएर काम गरे। त्यस्तै एउटा लामो द्रुतमार्ग निर्माणको काममा मजदुरीसमेत गरे, माटो खने, पैसा कमाए। उनी हाई स्कुलका विद्यार्थी छँदा प्रिन्सिपलले उनका अभिभावकलाई केन्नेथलाई कलेज पठाउने चिन्ता छाड्न भनेका थिए। अभिभावक भने उनलाई जसरी पनि पढाउन चाहन्थे। किनभने ल्यांगोनलाई आफूजस्तै मजदुरी गरेर जीवन यापन गरोस् भन्ने चाहना आमाबुकाको फिटिक्कै थिएन। बकनेल युनिभर्सिटीमा पढाउन पठाउनका लागि उनीहरूले एक पटक घरमै ल्यांगोनलाई ‘बन्धक’ पनि बनाए। सानैदेखि काम खोज्दै हिँड्ने स्वभावका कारण पढाइ त बिग्रिने होइन भन्ने चिन्ता आमाबुवालाई थियो। पछि ल्यांगोनले पढाइको महत्त्व बुझे। अनि कामसँगै विश्वविद्यालयमा पढ्ने निधोमा पुगे। साढे तीन वर्षमा उनी अर्थशास्त्रमा स्नातक डिग्री गरे। त्यसपछि उनी सेनामा भर्ना भए। वाल स्ट्रिटमा जानुअघि दुई वर्ष उनी सेनामै सेवारत रहे। सञ्चारमाध्यमहरूका अनुसार पछि उनले आफ्नो नामै पनि परिवर्तन गरेर आर डब्लू प्रेसप्रिक राखे।
ल्यांगोनको जन्म न्युयोर्कस्थित रोस्लिन हाइट्समा सन् १९३५ सेप्टेम्बर १६ मा इटालेली–अमेरिकी आमाबुबा र मजदुरी गर्ने परिवारमा भएको हो। बकनेल युनिभर्सिटीमा विद्यार्थी छँदा एक जना कसाईका सहयोगी भएर काम गर्दा खुबै रमाएको उनी बताउँछन्। यति मात्रै होइन उनी म्याचका क्रममा गल्फर्स क्लबमा चियालगायतका समानहरूसमेत पुर्याउने काम गरे। बकनेलमा छँदा उनी आपसी भाइचारा कायम राख्न खोलिएको ‘सिग्मा ची’ क्लबका सदस्यसमेत भए। स्नातक सकेर न्युयोर्क फर्कंदा रोस्लिन हाइट्सको नाम म्यानहटन भइसकेको थियो। त्यहाँ उनले न्युयोर्क युनिभर्सिटी स्टर्न स्कुल अफ बिजनेसमा रात्रिकालीन सेवामा भर्ना भए। दिनभरि काममा व्यस्त रहने राति विश्वविद्यालयको पढाइ गर्थे उनी। साँझको आंशिक समयमा न्युयोर्कमा ‘ल्यांगोन प्रोग्राम’ पनि सञ्चालन गर्न उनी भ्याए। जुन कार्यक्रम लोकप्रिय पनि बन्यो।
सन् १९६० को दशकको सुरुमा उनले बाल स्ट्रिट फाइनान्सियल सर्भिसेज कम्पनीमा आरडब्लू प्रेसप्रिकको नामबाट आफ्नो करियर सुरु गरे। केही समयभित्रै उनी त्यसमा ‘मुभर एन्ड सेकर’ को भूमिकामा नयाँ व्यापार विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सफल भए। सन् १९६८ मा ल्यांनोरले रोज पेरोटसँग भेट्ने अवसर पाएँ। त्यो भेट उनको लागि सार्थक रह्यो। रोजसँगै मिलेर इलेक्ट्रोनिक डेटा सिस्टम व्यापारमा लगानी गरे। सन् १९७४ मा त्यो व्यापारको साटो नयाँ कम्पनी खोल्न उनले सुर कसे। नयाँ कम्पनीहरूले उनलाई सफलता प्राप्त हुँदै गयो। त्यसपछि भवनहरूको विकास गर्ने व्यापारतिर लाग्ने सोच बनाए। यसका लागि योजना बनाउन थाले। संजोग नै भन्नुपर्छ, उनले घर सुधार शृंखला ‘ह्यान्डी डान’ मा लगानी गर्ने अवसर पाए।
‘ह्यान्डी डान’ का सीईओ बनार्ड मार्कस र सीएफओ अर्थुर ब्ल्यांकसँग उनको राम्रो सम्बन्ध कायम भयो। उनी उक्त कम्पनीमा एक जना मामुली लगानीकर्ता भए पनि आफ्नो कडा परिश्रमले दुवैको मन जित्न सफल भए, त्यो व्यापारले केही समयमै फड्को मार्यो। यसले ‘ह्यान्डी डान’ का माउ कम्पनी ‘दि डेलिन कर्पोरेसन’ का सीईओ स्यान्डफोर्ड सिगिलोफसँग उनको घनिष्टता बढ्यो। पछि उनले मार्कस र ब्ल्यांकलाई ‘होम डिपोट’ कम्पनीमा लगानीका लागि तयार गरे। त्यही कम्पनीले उनलाई अर्बपति बनाइदियो। हाल यो कम्पनीमा तीन लाखभन्दा बढी कर्मचारी छन्। उनको चर्चा तब मात्रै भयो जब उनले न्युयोर्क स्टक एक्सचेन्ज खरिद गरे। उनी व्यापारमा मात्रै आफ्नो लगानी र योगदान पुर्याएका छैनन्, विभिन्न सामाजिक र परोपकारी कामका लागि लाखौं डलर सहयोगसमेत गरेका छन्। खासगरी विश्वविद्यालय, मेडिकल रिसर्च र प्रशिक्षण, शिक्षा र बालबालिकालाई सहयोग गर्दै आएका छन्।
हाल अमेरिकी राज्य न्युयोर्कको स्यान्ड्स प्वाइन्टमा बसोबास गर्ने ८० वर्षीय केन्नेथ ल्यांगोन आफ्नैले सञ्चालन गरेको कम्पनीमा गरेको लगानीले अर्बपति छन्। फोब्र्स अखबारका अनुसार यो वर्ष उनी ३ अर्ब अमेरिकी डलरका साथ विश्वका अर्बपतिको सूचीमा ६३८ औं स्थानमा छन्। अखबारको अनलाइन संस्करणमा उनको कुल सम्पत्ति तीन अर्ब अमेरिकी डलर (रियल टाइम २३ मे २०१६) उल्लेखै छ। उनी यो वर्ष अमेरिकाको सर्वाधिक धनाढ्यहरूको सूचीमा २३० औं स्थानमा छन्। केन्नेथ ल्यांगोनको लगानी रहेको प्रमुख कम्पनीहरूमा होम डिपोट, युनिफाई र इली लिली एन्ड कम्पनी हुन्।
(एजेन्सीको सहयोगमा)
No comments:
Post a Comment