Saturday, 1 August 2015

महँगा खेलाडीहरू




कान्तिपुर दैनिकको अर्थ/वाणिज्य पृष्ठका लागि विभिन्न संचारमाध्यमहरुको सहयोगमा मैले तयार पारेको महंगा खेलाडीहरुबारेको आलेख(१८ साउन २०७२ शनिवार, कान्तिपुर , पृष्ठ ११ र १२ मा प्रकाशित) । यो आलेख अत्यन्तै रोचक र पठनीय रहेको मैले व्यक्तिगत रुपमा पाएको पृष्ठपोषणले पृष्टि गरेको छ । यो सामग्री पढेर फिडब्याक दिन सबै बौद्धिक पाठकहरुलाई विनम्र आग्रह छ । 

काठमाडौ,(श्रावण १६ )- उच्चतम रकम लिएर खेल्ने विश्वका खेलाडीहरू को–को हुन् ? तपाईले मनपर्ने खेलाडीले प्रत्येक वर्ष कति कमाउँछन् ? यी दुई प्रश्नको जवाफ धेरैले सजिलै दिन सक्छन् । हिजोआज पारदर्शिता र मिडियाको विस्तारका कारण यस्ता व्यक्तित्वहरूबारे पढ्न र पत्ता लगाउन जो कोहीलाई पनि गाह्रो छैन । अझ खेलकुदमा चासो राख्नेहरूका लागि त यो विषय झनै सजिलो हुने नै भयो । अन्य पेसामा जस्तो भ्रष्टाचारी र कमिसनखोरी यो क्षेत्रमा कमै हुने गरेका छन् । एकदुई घटनालाई छाडिदिने हो भने खेलाडीहरूले गलत तरिकाबाट पैसा कमाएको पाइँदैन । अथक परिश्रम र कडा मिहिनेत गर्ने कार्यशैलीले उनीहरूलाई विश्वकै उच्चतम तलब लिने व्यक्तित्व बनाएको भेटिन्छ । आफूले आर्जेको रकमबाट केहीले सम्पत्ति जोड्छन्, कार किन्छन् । अन्य केहीले भने रकम पाएपछि आफूले जीवनमा पूरा गर्न नसकेका वस्तु खरिद गर्नतिर लाग्छन् । आफ्नो करियरको अन्त्यमा सुख सयलले बाँच्न पाइयोस् भन्नेहरू मूल्यवान् सम्पत्ति जोड्नतिर केन्द्रित भएको देखिन्छ ।
विश्वका उच्चतम रकम लिने खेलाडीहरूको खेल, रकम वा तलबबारे विश्वका मिडियाहरूले बर्सेनि तथ्यहरू सार्वजनिक गर्दै आएका छन् । फोब्र्स पत्रिकाले अन्य वर्षमा झै यो वर्ष पनि त्यस्ता खेलाडीहरूको सूची जारी गरेको छ । सबैभन्दा बढी रकम पाउनेमा बक्सिङ खेलाडी फ्लोयद मेविथ छन् । उनको तलब वा विजेता भएपछि पाएको रकम ३ सय मिलियन अमेरिकी डलर छ । १ सय ६० मिलियन अमेरिकी डलरसहित उनलाई अर्का बक्सिङ खेलाडी मन्नी प्याक्विआओ पछ्याउँदै दोस्रो नम्बरमा छन् । यी दुई बक्सिङ खेलाडीपछि सबैभन्दा बढी रकम लिने तेस्रो र चौथो खेलाडीहरूमा क्रमश: क्रिस्टिआनो रोनाल्डो र लिओनेल मेसी छन् । विश्व फुटबलका यी दुई हस्तीहरूको कमाइ क्रमश: ७९ दशमलव ६ मिलियन र ७३ दशमलव ८ मिलियन अमेरिकी डलर रहेको छ । सूचीको पाँचौं नम्बरमा टेनिस खेलाडी रोगर फेडेरर परेका छन् । उनले पाउने रकम ६७ मिलियन अमेरिकी डलर छ । फोब्र्सको ‘टप टेन’ सूचीमा यो वर्ष तीन जना बास्केटबल, दुई–दुई जना बक्सिङ, फुटबल र गल्फ तथा एक जना टेनिस खेलाडी छन् । यी सबै पुरुष खेलाडीहरू हुन् । महिला खेडालीहरू यो सूचीमा निकै पछाडि छन् । सूचीकै कुरा गर्ने हो भने बास्केटबलका खेलाडी लिब्रोन जेम्सका ६४ दशमलव ८ मिलियन अमेरिकी डलरसहित छैटौं र यही खेलका केभिन डुरान्ट ५४ दशमलव २ मिलियनसहित सातौं स्थानमा रहेका छन् । यसैगरी गल्फका दुई खेलाडी फिल माइकेल्सन र टाइगर्स वुड्स ५० दशमलव ८ मिलियन र ५० दशमलव ६ मिलियन अमेरिकी डलरका साथ क्रमश: ८ औं र ९ औं तथा बास्केटबलका कोबे ब्रियान्त ४९ दशमलव ५ मिलियन अमेरिकी डलरसहित १० औं स्थानमा छन् । टप टेनमा पर्ने अधिकांश खेलाडी अविवाहित छन् । विवाह गरेकाहरू कोही श्रीमतीसँग छुट्टिएर एक्लै बस्दै आएका छन् । दुई जना बक्सिङका खेलाडीमा भने एउटा समानता पनि छ । खासगरी मेवेदर र मन्नीमा । यी दुई जनाका सन्तान क्रमश: ४ र ५ जना रहेका छन् । यहाँ बक्सिङका खेलाडीहरूले धेरै बच्चा जन्माउँछन् भन्ने भ्रम पाठकलाई नपरोस् ।
१. फ्योयद मेवेदर(Floyd Mayweather): ३८ वर्षीय यिनी यो वर्ष सय सेलिब्रेटीहरूमा अघिल्लो वर्षको तुलनामा छ खुड्किलो जम्प गर्दै पहिलो स्थानमा छन् । अमेरिकी नागरिक फ्योयदले बक्सिङ खेलबाटै धनाढ्य बनेका हुन् । सन् २००८ मा टाइगर्स हुड्सको बैंक खातामा जम्मा गरिएको १ सय १५ मिलियन अमेरिकी डलरको रेकर्ड ब्रेक्र गर्दै फ्योयदले तीन सय मिलियन अमेरिकी डलर सहितको खेल इतिहासमा रेकर्ड बनाएका छन् । मे २ मा मन्नी प्याक्विआओसँग खेलेर बक्सिङमा कयौं वित्तीय रेकर्डसमेत यिनी बनाउन भ्याएका छन् । मन्नीका ४ सन्तान छन् तर एक्लै बस्छन् ।
२. मन्नी प्याक्विआव (Manny Pacquiao): बक्सिङ खेलाडी यिनी फिलिपिन्सका नागरिक हुन् । बक्सिङ खेलबाट उनको कमाइ १ सय ६० मिलियन अमेरिकी डलर रहेको छ । फ्योदसँग खेल्नका लागि यिनले १ सय २५ मिलियन डलर लिएका थिए । त्यस्तै चरिस अलगेइरीसँग भिड्नका लागि नोभेम्बरमा यिनले २३ मिलियन अमेरिकी डलर पाएका थिए । नाइक, फुट लकर, वान्डरफुल पिस्टाचिओज, नेसल्स बटरफिंगरसँ सम्झौता गरेपछि यिनको आम्दानी ह्वात्तै बढेको छ । यिनका पाँच सन्तान छन् ।
३. क्रिस्टिआनो रोनाल्डो (Christiano Ronaldo): पोर्चुगलका नागरिक ३० वर्षीय यिनको सम्पत्तिको स्रोत फुटबल हो । हाल स्पेनको म्याड्रिडमा बस्दै आएका यिनी यो वर्षको १०० सेलिब्रेटीमा १० औं स्थानमा छन् । तीन पटक फिफाबाट विश्वका ‘वेस्ट प्लेयर’ को उपाधि पाइसकेका यिनको विगत ४ वर्षयताको गोल स्कोर ६० वा त्यो भन्दा बढी रहेको छ । यिनले बोनसका साथ सन् २०१८ सम्ममा प्रतिवर्ष ५० मिलियन अमेरिकी डलरभन्दा बढी वार्षिक तलब पाउने सहमति गरेका छन् । विश्वकै अत्यन्तै चर्चित खेलाडीमध्ये हुन्, यिनी । फेसबुकमा यिनका १०२ मिलियन र टिटरमा ३५ मिलियन फ्लोअर्स रहेका छन् । रियल मेड्रिड क्लबबाट खेलिएका हरेक खेलमा यिनले औसतमा एउटा गोल गरेका छन् ।
४ लिओनेल मेसी(Lionel Messi): २८ वर्षीय यिनी अर्जेन्टिनाका नागरिक हुन् । उच्चतम रकम लिएर खेल्ने खेलाडीमा यिनी चौथो नम्बरमा दरिएका छन् । कमाइ ७३ दशमलव ८ मिलियन अमेरिकी डलर रहेको छ । फुटबलका खेलाडी मेसी स्पेनको क्यास्टेलडेफेस्लमा बस्छन् । विश्वका सय सेलिब्रेटीमा यिनी यो वर्ष १३ औं र्‍यांकमा छन् । अघिल्लो वर्षको तुलनामा यिनी १३ खुडकलो छलाङ मार्दै यो र्‍यांकमा पुग्न सफल भएका हुन् । सन् २०१४ मा बार्सिलोनाले चार पटक फिफाको वर्ष खेलाडीको उपाधि यिनले पाइसकेका छन् । सन् २००५ यता ७ औं पटकको करारमा प्रतिवर्ष ९ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् । आफनै प्रयासमा वर्सा प्रतियोगितामा अधिकांश गोल गर्ने सूचीमा पनि यिनी परेका छन् । यिनले ‘ला लिगा’ प्रतियोगितामा अधिकांश गोल र ह्याट्रिक गर्न भ्याएका छन् । सन् २०१८ सम्म एक संस्थासँग यिनको प्रतिवर्ष ५० मिलियन अमेरिकी डलर पाउने सम्झौता भएको छ । ‘सुपरह्युमेन ट्यालेन्ट’ गुणका कारण सामसङले यिनलाई प्रायोजित गर्दै आएको छ ।
५.रोगर फेडेरर(Roger Federer) : टेनिस खेलमा एक्लो वर्चस्व कायम गर्दै आएका यिनी ३३ वर्षका भएका छन् । यिनी यो वर्षको उच्चतम रकम लिने खेलाडीहरूमा पाँचौं स्थानमा छन् । स्विटजरल्यान्डका नागरिक यिनी अघिल्लो वर्षजस्तै यो वर्ष पनि सय जना सेलिब्रेटीमा १६ औं र्‍यांकमा छन् । सन् २०१३ मा यिनी विश्वको र्‍यांकमा सातौं स्थानमा झरेका थिए । गत वर्ष यिनी आफ्नो र्‍यांकमा छलाङ लगाउँदै दोस्रोमा दरिए । सत्र वर्षयता यिनी विश्वका ‘बेस्ट प्लेयर्स’ का रूपमा आफ्नो इज्जत कायमै राखेका छन् । यिनले करियर प्राइज (९० मिलियन अमेरिकी डलर) पाइसकेका छन् । यिनले अधिकांश सिंगल्स ग्रान्ड स्लेममा रेकर्ड बनाएका छन् । सन २००५ यता १९ ग्रान्ड स्लाममध्ये १८ आफ्नो वर्चस्प कायम राखेका छन् । यिनले नाइक, रोलेक्स र क्रेडिट सुइसेजस्ता व्यु–चिप कम्पनीसँग लामो सम्झौता गरेबापत रकम पाउँदै आएका छन् ।
प्रस्तुति : दिनेश यादव (Source : Kantipur Daily)

प्रकाशित मिति: २०७२ श्रावण १६ ०८:२४ 







No comments:

Post a Comment