Thursday, 14 March 2013
मधेसवादी दलमा युवा नेताहरूको विद्रोह
‘युवाहरूको बलिदान र त्यागलाई वेवास्ता गरिएकै कारण यहाँका कुनै पनि राजनीतिक पार्टीको केन्द्रिय नेतृत्वमा ५–१० प्रतिशत युवाले मात्रै अवसर पाएका छन् । खासगरि मधेसी दलहरूमा युवाको प्रतिनिधित्व छँदै छैन भनेपनि हुन्छ । मधेस आन्दोलनका क्रममा बलिदान दिनेहरुमा अधिकांश युवा समूह नै थिए तर युवालाई नेतृत्वपंक्ति र निर्णायक तहमा नेताहरुले ल्याउन सकेनन् ।’
दिनेश यादव -
युवाहरूले चाहेमा कुनै पनि मुलुकमा आमूल परिवर्तन हुन सक्छ । हाम्रै मुलुकमा पनि हालसम्म भएका जनआन्दोलनमा युवाहरूको उल्लेख्य सहभागितामै राजतन्त्रको अन्त्यपछि लोकतन्त्र आएको हो । विश्वमा धेरै यस्ता मुलुक छन्, जहाँ युवाकै नेतृत्वमा देशले कायापलट गरेको छ, फड्को मारेको छ । मुलुकमा आमूल परिवर्तन र जनआन्दोलनको जनादेशलाई कार्यान्वयनमा ल्याउन बेला–बेलामा युवाहरु जागेकै छन् । राजनीतिक दलका नेताहरूले गलत मार्ग अख्तियार गर्दा उनीहरुले खबरदारी गरेकै छन् । त्यस्तै खबरदारी गर्न पछिल्लो समय जुटेका छन्, मधेसका केही युवा विद्यार्थीहरू । तराई–मधेसका विभिन्न जिल्लाबाट राजधानी आएका उनीहरुले आ–आफ्नो माउ पार्टी परित्याग गरि आफ्नै नेतृत्वविरुद्ध विद्रोह गरेका छन् । नेताहरूको निर्णयलाई चुनौति दिँदै दबाब स्वरुप काठमाडौंको भद्रकालीमा रिले अनसनमा छन् । जुन स्थानमा युवा विद्यार्थीहरुले अनसन थालेका छन् झण्डै अढाई दशकअघि मधेसवादी नेता गजेन्द्रनारायण सिंह पनि त्यहीँबाट मधेसवादको उद्घोष गर्दै आन्दोलन थालेका थिए ।
तराई–मधेसका केही युवाहरू पछिल्लो समय बहसमा ल्याएको प्रधानन्यायाधिश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने प्रमुख चार राजनीतिक शक्तिबीचको सहमतिको विरोधमा फागुन १६ बाट रिले अनसनमा छन् । मधेसी युवा विद्यार्थी जागरण अभियानको नाममा उनीहरुले यो आलेख तयार पर्दाको दिनसम्म त्यसमा जमेका छन् । युवाहरूले प्रमुख चार शक्तिले देश र जनतालाई ओझेलमा पारी जनविरोधी कार्य गरिरहेको र न्यायपालिका जस्तो निष्पक्ष निकायलाई राजनीतिक दलमा परिणत गर्न खोजेको आरोप लगाउँदै त्यसलाई सच्चाउन माग गरेका छन् । त्यस्तै, उनीहरूले स्वतन्त्र व्यक्तिको नेतृत्वमा स्वतन्त्र युवासहितको सरकार गठन, आफू असक्षम भएको घोषणा गरी दलहरूले जनतासंग माफी माग्नुपर्ने, भ्रष्टाचारीहरूलाई कारवाही गरिनुपर्ने, संविधानसभाबाट सहमति भइसकेका विषयवस्तुलाई लिपिबद्ध गरी सार्वजनिक गरेर मात्र निर्वाचनमा जानु पर्ने र कृषकहरूलाई बाली विरुवा बिमाको व्यवस्थालगायतका ३० सूत्रीय माग उनीहरुको छ ।
अनसन बसेका सुनिल साहले भने, ‘चार राजनीतिक शक्तिले देशलाई धोका दिइरहेको छ । खासगरि सत्ताधारी नेताहरू जनताको पैसामा बाँचिरहेका छन् । उनीहरु नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र नेपालको कुरा त गर्छन् तर सबै सत्ताकेन्द्रित छन् ।’ उनको यो अभिव्यक्तिमा आक्रोश र निराशा दुवै अनुभव गर्न सकिन्छ । उनी थप्छन्, ‘नेताहरू नेतृत्व क्षमता गुमाइसकेका छन् , त्यसैले अब देश हाँक्ने जिम्मा युवाहरुलाई दिनुपर्छ ।’ साहले यहाँ भएका सबै आन्दोलनमा युवाहरूको उल्लेख्य योगदान रहेपनि पार्टी नेतृत्वले यसलाई वेवस्ता गरेको आरोप लगाए । ‘युवाहरूको बलिदान र त्यागलाई वेवास्ता गरिएकै कारण यहाँका कुनै पनि राजनीतिक पार्टीको केन्द्रिय नेतृत्वमा ५–१० प्रतिशत युवाले मात्रै अवसर पाएका छन् ’ उनी भन्छन्, ‘खासगरि मधेसी दलहरूमा युवाको प्रतिनिधित्व छँदै छैन भनेपनि हुन्छ । मधेस आन्दोलनका क्रममा बलिदान दिनेहरुमा अधिकांश युवा समूह नै थिए तर युवालाई नेतृत्वपंक्ति र निर्णायक तहमा नेताहरुले ल्याउन सकेनन् ।’ उनले मधेसबादी दलका नेताहरुले समेत सर्वोच्च अदालतलाई मधेसी विरोधी भएको आरोप लगाउँदै आएको अवस्थामा उनीहरु अहिले त्यसैका प्रमुखलाई सरकारको नेतृत्व दिन सहमतिमा पुग्नु न्यायसंगत नभएको बताए । ‘यो मधेसी नेताहरूको कस्तो लाचारी हो ?’ साहले भने, ‘अगामी निर्वाचनमा मधेसी जनताले ती नेताहरूसंग यसको जबाफ पक्कै खोज्नेछन् ।’
मुलुकले युवा नेतृत्व पाउनु पर्ने तर्क गर्छन, युवा नेता जितेन्द्रकुमार मिश्र । उनी प्रधानन्यायधीश रेग्मीलाई सरकारको नेतृत्व दिने निर्णयको विपक्षमा छन् । उनी भन्छन्, ‘व्यवस्थापिका नभएको अवस्थामा न्यायपालिका र कार्यपालिकालाई राजनीतिमा ल्याउन उद्दत नेताहरुले देशलाई बर्बाद र अनिर्णयको बन्दी बनाउन खोजेका छन् । खासगरि हुलाकी सडक, नागरिकता, सेनालगायतका मुद्दामा मधेसको विपक्षमा निर्णय सुनाउने निकायका प्रमुखलाई सत्ताधारी मधेसी मोर्चाले कसरी सर्वमान्य र निष्पक्ष मानेका हुन ? ’ उनले मधेसी नेताहरूको यो दोहरो चरित्र अब जनताले बुझ्न जरुरी भएको बताए । ‘रेग्मीको नाम राष्ट्रपतिबाट र उनलाई पनि बाह्रय शक्ति केन्द्रबाट प्रस्ताव गर्न लगाइएको हो । यति मात्रै होइन संविधानसभा विघटन र रेग्मीलाई सरकार प्रमुख बनाउने कार्यमा मधेसी मोर्चा साक्षी बसेकाले उनीहरुबाट सिंगो मधेसले खासै अपेक्षा गर्नु हुन्न ’ मिश्रले भने, ‘ अब युवाको नेतृत्वमा नयाँ पार्टी र नेतृत्वलाई अगाडि सारेर राजनीतिमा हामीले निर्णायक भूमिका निर्वाह गर्नुपर्छ । ’
मधेसका अर्का युवा आषिशकुमार साहले नेपालका सबै दलहरू असक्षम भइसकेकाले अब जनताले उनीहरुको निर्णय मान्नै पर्ने अवस्था नरहेको बताए । ‘जनता स्वंय सडकमा आएर स्वतन्त्र र सकेसम्म सर्वमान्य व्यक्तिको खोजी गर्दै उसलाई सरकारको नेतृत्व गर्न लगाएर मुलुकलाई सिघ्र चुनावतर्फ डो¥याउन जरुरी छ ’ उनले भने, ‘सबै क्षेत्रका नागरिक समाजले यसमा तदारुकता देखाउँनै पर्छ ।’
आफूलाई स्वतन्त्र व्यक्ति भन्न रुचाउँने विराटनगरका आलोककुमार लालको विचार केही फरक छ । उनले प्रधानन्यायधीशलाई सरकार प्रमुख वा चुनावी सरकार बनाउने कुरा संवैधानिक व्यवस्थाविरुद्ध भएको बताए । ‘यो नेताहरुको बलमिच्चाई मात्र हो । नेताहरूले संविधान विपरित निर्णय र सहमति गर्दै हिडेका छन् ’ उनले भने, ‘ नेताहरु आफै संविधान मिच्दै जाने अनि जनतालाई कानुनको पालना गर भन्नु गलत भएन र ?’ उनले यसको अर्थ जनताले कानुन मिच्नु पर्छ भन्ने नभएको स्पष्ट पारे । लालले नेताहरू खासगरि सत्ताधारीहरुले मुलुकको मूल कानुनलाई अपाङ बनाएर देशमा निरंकुश शासन लाध्न खोजेको आरोप लगाए । ‘जनताहरू ती नेताहरुको निर्णय अब मान्न तयार छैनन् ’ उनले भने, ‘दलका नेताहरुले अब सन्यास लिएर युवापीढिलाई नेतृत्वको जिम्मा दिनुपर्छ ।’
युवाहरुको अभियानमा ऐक्यवद्धता प्रकट गर्न महोत्तरीबाट आएका श्यामसुन्दर साहले राजनीतिक दलहरु रेग्मीकै पक्षमा रहेर देशले निकास पाउँछ भने यो सही विकल्प हुने बताए । उनले भने, ‘तर प्रधानन्यायधीशबाट उहाँले राजीनामा दिएर सरकारको नेतृत्व गर्दा राम्रो हुन्छ । न्यायपालिका र सरकारको प्रमुख एउटै व्यक्ति हुँदा मुलुकमा तानशाही शासनको जन्म हुनसक्छ ।’
युवा विद्यार्थीहरुले आ–आफ्नो पार्टीका नेतृत्वको निर्णयविरुद्ध विद्रोह गर्दै रिले अनसनमा बसेका कारण ती दलका नेताहरु भद्रकाली पुगेका छैन् । तर राजधानीमा बसोबास गर्ने युवा, विद्यार्थी, संचारकर्मीहरुको अनसन स्थलमा बाक्लै उपस्थिति रहने गरेको छ । KANTIPUR Thursday, February 14, 2013, Qutar Edition
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment