Tuesday, 1 October 2024
ज्येष्ठ नागरिकलाई कदर गर्न सक्नुपर्दछ: उपराष्ट्रपति यादव (Senior citizens should be respected: Vice President Yadav)
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्दै उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्न सक्नुुपर्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा उहाँले आज दिनुभएको सन्देशमा उक्त कुरा बताउनु भएको हो । ‘विश्वभरका ज्येष्ठ नागरिकहरुको योगदानलाई सम्मान र मान्यता प्रदान गर्न समर्पित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ’ उपराष्ट्रपति यादवको निजी सचिवालयबाट जारी सन्देशमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्न यो दिवसलाई हामीले एउटा अवसरका रुपमा लिन सक्नुपर्दछ । यो उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि प्रण लिने र प्रतिबद्धता व्यक्त गर्ने दिवस पनि हो ।’
उहाँले वृद्धावस्था जीवनको एउटा स्वाभाविक र सामान्य प्रक्रिया भएको उल्लेख गर्दै यसै रुपमा ज्येष्ठ नागरिकले आफ्ना अनुभवहरुबाट युवा र समाजलाई लाभान्वित गराउने प्रयास पनि गर्न सक्नुपर्ने बताउनु भएको छ । ‘यसले समाजमा ज्येष्ठ नागरिकको उपादेयता प्रमाणित हुनुका साथै उहाँहरुमा आत्मविश्वासमा पनि बृद्धि हुन सक्दछ । ज्येष्ठ नागरिकहरु समाजका उपयोगी व्यक्तित्वहरु हुन ’ संदेशमा छ, ‘ हामीले उहाँहरुलाई कुनै न कुनै रुप (ज्ञान, सीप, अनुभव आदि) मार्फत् समाज कल्याणमा योगदानका लागि प्रोत्साहन गर्न सक्नुपर्दछ ।’
उहाँले हाम्रो पूर्वीय दर्शन अनुसार प्राचीनकालमा समाजमा ज्येष्ठ नागरिकको अत्यन्तै उच्च सम्मान रहेको स्मरण समेत गर्नुभयो । ‘संयुक्त–परिवारमा सबै ‘हर्ता–कर्ता’ सर्वाधिक आयु भएकै व्यक्ति हुन्थे । जीवनको लामो अनुभवका कारण उहाँहरुको उपदेश र निर्देशहरु परिवारले ‘ब्रह्मवाक्य’ मानी संयुक्त परिवार संचालित हुन्थ्यो ’ सन्देशमा अगाडि उल्लेख छ,‘ परम्परागत रुपमा ज्येष्ठ नागरिकहरुलाई ‘प्रतिष्ठा सूचक’ मानिन्थ्यो । खासगरी, संयुक्त परिवारको विघटन पश्चात र समाजमा आधुनिकताको प्रवेशसंगै ज्येष्ठ नागरिकलाई आफ्नै परिवारबाट हेला हुनु अत्यन्तै चिन्ताको विषय हो ।’ उपराष्ट्रपति यादवले औद्योगीकरण, सहरीकरण, एकल परिवार, व्यक्तिवाद, पाश्चात्य संस्कृति, धनको बढ्दो महत्व, भौतिकवादी मूल्य लगायतका कारण ज्येष्ठ नागरिक आफैमा समाज, समुदाय र देशमा जटिल समस्या बन्दै जानु अर्को एउटा तितो यथार्थ भएको संदेशमा उल्लेख गर्नुभएको छ ।
‘एकातिर ज्येष्ठ नागरिक प्रति परिवारमा आदर, सम्मान, प्रेम र लगाव समाप्त हुँदै गएका छन् भने अर्कोतिर उहाँहरुमा स्वयं भावनात्मक असुरक्षाको भावना तीव्र रुपमा बढ्दो छ । यी दुखद अवस्थाको अन्त्य हुन नितान्त जरुरी छ । हामीले ‘वृद्धावस्था’ लाई ‘बोझ’ होइन, प्रेरणा, अनुभव, ज्ञानको चौतारीका रुपमा लिन सक्नुपर्दछ ’ सन्देशमा उल्लेख छ, ‘‘वृद्धावस्था’ एउटा सर्वकालिक र सर्वव्यापी अवस्था पनि हो । यो अवस्थालाई बाल्यकाल झै अन्यन्तै संवेदनशील मानिन्छ । उत्तरदायित्व समाप्तिपछि व्यक्तिले यो अवस्थामा आध्यात्मिक चिन्तनतर्फ झुकाव बढाउँदछ । शारीरिक क्षमताहरु कम हुन थाल्दछन् । स्मरण शक्ति कमजोर, निर्णय क्षमतामा कमी लगायतका लक्षण पनि देखिन थाल्दछन् । यो अवस्थामा समायोजनको पनि अभाव पाइन्छ, किनभने नयाँ पीढीसंग उहाँहरुको मूल्यलाई लिएर कहिलेकाहीं टकराव पनि हुने गर्दछ । यस्तो अवस्थामा उहाँहरुले आफूलाई असहाय र उपेक्षित पनि अनुभव गर्नु हुन्छ । थरी–थरीका शारीरिक र मानसिक परिवर्तन हुन्छ, रोगहरु पनि यो अवस्थामा धेरै लाग्ने गर्दछ । उच्च तनाव, उच्च रक्तचाप, ज्ञानेन्द्रियहरुको क्षमता र काम गर्ने शक्ति कम भएको लक्षण देखिने गर्दछ ।’ उहाँले समुचित हेरचाह तथा सहानुभूति ज्येष्ठ नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा अकाल मृत्युवरणको जोखिम पनि बड्न सक्ने संदेशमा उल्लेख गर्नुभएको छ ।
‘समाज, परिवारका सम्पूर्ण सदस्यसहित नयाँ पीढीले ज्येष्ठ नागरिकलाई घर, समाज र परिवारको धरोहर मान्दै उहाँहरुसंग सामंजस्यता काम गर्न सक्नुपर्दछ । हामीले ज्येष्ठ नागरिक प्रतिको आफ्नो सामाजिक दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ’ उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘ज्येष्ठ नागरिकहरुलाई समाजमा अनुभवहरुको भण्डारका रुपमा हेरिनु पर्दछ । यो एउटा दुर्भाग्य नै हो कि समाज, अर्थव्यवस्था र मुलुकका लागि आफ्नो सबै कुरा अर्पित गरिसकेपछि उमेरको अन्तिम समयमा जब उहाँहरुलाई केही प्राप्त गर्ने अवस्था आउँछ , तब उहाँहरु अभाव र विवशतामा पुग्नु हुन्छ । अझ, ज्येष्ठ नागरिकहरुले सामाजिक, व्यक्तिगत, पारिवारिक, मनोवैज्ञानिक, आर्थिक लगायतका समस्याहरुको न्यूनिकरणमा सम्बन्धित सबै क्षेत्र, वर्ग र तप्का सक्रियताका साथ लाग्न पनि उत्तिकै आवश्यक छ । ’
उपराष्ट्रपति यादवले परिवार, समाज र देशमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानहरुको सम्मान गर्दै उहाँहरुको अनुभव र ज्ञान हामी सबैलाई हरेक क्षेत्रमा उपयोग गर्न यो दिवसले उत्प्रेरित गर्न सकोस् भन्दै ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, व्यवस्थित, मर्यादित र सुखद बनाउनमा सहयोग पुर्याउन सबैमा हार्दिक आह्वान समेत सन्देश मार्फत् गर्नुभएको छ ।
Subscribe to:
Post Comments (Atom)


https://gorkhapatraonline.com/news/125614
ReplyDeleteएकातिर ज्येष्ठ नागरिक प्रति परिवारमा आदर, 'सम्मान, प्रेम र लगाव समाप्त हुँदै गएका छन् भने अर्कोतिर उहाँहरुमा स्वयं भावनात्मक असुरक्षाको भावना तीव्र रुपमा बढ्दो छ । यी दुखद अवस्थाको अन्त्य हुन नितान्त जरुरी छ । हामीले ‘वृद्धावस्था’ लाई ‘बोझ’ होइन, प्रेरणा, अनुभव, ज्ञानको चौतारीका रुपमा लिन सक्नुपर्दछ ’
ReplyDelete'ज्येष्ठ नागरिकहरुलाई समाजमा अनुभवहरुको भण्डारका रुपमा हेरिनु पर्दछ । यो एउटा दुर्भाग्य नै हो कि समाज, अर्थव्यवस्था र मुलुकका लागि आफ्नो सबै कुरा अर्पित गरिसकेपछि उमेरको अन्तिम समयमा जब उहाँहरुलाई केही प्राप्त गर्ने अवस्था आउँछ , तब उहाँहरु अभाव र विवशतामा पुग्नु हुन्छ । अझ, ज्येष्ठ नागरिकहरुले सामाजिक, व्यक्तिगत, पारिवारिक, मनोवैज्ञानिक, आर्थिक लगायतका समस्याहरुको न्यूनिकरणमा सम्बन्धित सबै क्षेत्र, वर्ग र तप्का सक्रियताका साथ लाग्न पनि उत्तिकै आवश्यक छ । ’
ReplyDelete