Tuesday, 11 August 2020

सप्तरी पत्रकार महासंघका अध्यक्षलाई प्रश्न : के मानव अधिकारको पक्षमा बोल्नु अपराध हो ?

अध्यक्ष जीतेन्द्र खड्गा ज्यू  ! सर्वप्रथम प्रतिक्रियाका लागि धन्यवाद । लामो समयपछि तपाईसंग संवाद स्थापित भएकोमा औंधी खुशी छु । तर, तपाईको तल्लोस्तरको स्टेटस लेख्ने शैली र बुझाई हेर्दा खिन्नता बोध भयो । ‘स्तरै नभएको व्यक्ति’ संग संवाद किन गरुं भन्ने पनि लाग्यो । तर, म पनि साधारण सदस्य रहेको संस्था ‘नेपाल पत्रकार महासंघ’ को तपाई जिल्ला अभिभावक भएकाले मात्र यो प्रतिक्रिया लेख्दै छु । एक जना पत्रकार भाई (मेरा प्रिय अनुज र संभावना भएका युवा पत्रकार भएकाले संवाद गर्या हुँ) संगको मेरो संवादको हावाला दिंदै तपाईले ममाथि तेर्साउनु भएको प्रश्नहरुको शृंखला मप्रति तपाईको गलत बुझाई र व्यक्ति (ममाथि) लक्षित छ । त्यो नै ठूलो दूर्भाग्य हो । पेशागत पत्रकारको अभिभावक संस्थाका एक जना नेतृत्वकर्ता तपाई जसरी र जुन रुपमा प्रस्तुत हुनु भएको छ, त्यसलाई मैले खेदजनक र दुखद भनि रहँदा आफैलाई लाज्याबोध भईरहेको महशुस गर्दै छु  । जिल्लाले कस्तो नेतृत्व पाएछ भन्ने आत्मग्लानी पनि भईरहेछ । मेरा यी भावना र मूल्यांकनहरु अन्यसंग मिल्दोजुल्दो हुनैपर्छ भन्ने छैन । यहाँ भनिदिउं, म कसैको पक्ष–विपक्ष, पृष्ठपोषक–अपृष्ठपोषक, मलजल गर्ने/नगर्ने वा समर्थक–विरोधी बन्नु पर्ने कुनै कारणै छैन् । पत्रकारका नेता बन्नकै लागि जागिरको थमौति गर्नेहरु, ठेक्कापट्टा गर्नेहरु, दलविशेषका झोला बोक्नेहरु, अमुक मेयरको कक्षमा दिनहूं हाजिर ठोक्नेहरु...ले तपाईले भन्ने जस्तै गर्लान्, म चाहिं आफूलाई त्यो श्रेणीबाट मुक्त राखेका छु । म जागिरे रहेको संस्थाले मलाई पुग्नेगरि तलब दिएकै छ । फुर्सद्को समयमा आफ्नो श्रम बेचेर थप आयआर्जन भएकै छ । म अरुको पछि किन लाग्नु पर्छ ? त्यसैले, जे देख्या हुँ, त्यही लेख्या हुँ । हो, मेरो भनाईप्रति विपति राख्ने अधिकार जसलाई पनि छ ,त्यो अधिकार तपाईलाई पनि छ । तर, जुन रुपमा व्यक्तिगत सवाल उठाउनु भएको छ, त्यो तपाईको अपरिपक्व मानसिकताकै उपज हो भन्ने ठानेको छु । मैले लेखेका सबै स्टेटस अझैपनि फेसबुक वालमै छन् , तपाई अनुभवी पत्रकार भएकाले त्यसका कन्टेन्टहरुको विश्लेषण गर्न आग्रह गर्छु । अर्को कुरा कसैसंगको व्यक्तिगत संवादका कुराबारे तपाईले यसरी प्रतिक्रिया जनाउने नै होइन । महासंघको कुरा आएपनि तपाईले आफ्नो भनाई राख्ने पद्धति र प्रक्रियाहरु छन् । त्यसलाई पालन गरी थिति बसाल्न आग्रह गर्छु । सप्तरी मेरो गृह जिल्ला हो, त्यसैले त्यहाँको सबै विषय र गतिविधिबारे चासो राख्छु, छ । म काठमाडौंमा छु र त्यसै आधारमा मप्रति तपाईमा पुर्वाग्रह छ भने त्यो दोष मेरो होइन । गलतलाई गलत भन्ने ल्याकत म राख्छु, यसमा तपाईलाई आग्रह वा पूर्वाग्रह लाग्न सक्छ, यो दोष पनि तपाईकै हो । एउटा व्यक्ति र संस्था फरक कुरा हुन । अमुक ‘व्यक्ति’ को सवाल नीजि मामिलासंग सरोकार राख्छ भने कुनै ‘संस्था’ को सवाल सार्वजनिक चासोभित्र पर्ने विषय हुन् । कुनै व्यक्तिको नेतृत्व कुनै संस्थामा आज छ, भोली नहुन सक्छ । तर, संस्था त संधै रहने हो । जिल्लाकै सिंगो पत्रकारिता बदनाम भईरहदा त्यसको दोषको अंशियार त्यहाँका पत्रकार महासंघ पनि हुनसक्छ, हुन्छ । यसको अर्थ तपाईको नेतृत्वमाथि प्रश्न उठाइएको भन्ने होइन । कसले के भन्यो त्यसको पछि कमसे कम म दौड्ने व्यक्ति फिटिक्कै होइन । मैले पत्रकारितामा बेथितिको कुरा गर्या हुं , पेशागत मर्यादा , आचरण र संहिताको कुरा गर्या हुं । यो गर्छु र गरिरहने छु । पछिल्लो घटना त फगत एउटा सन्दर्भ मात्रै हुन सक्छ । पत्रकार महासंघप्रतिको जवावदेहिता तपाईको जति छ, एक साधारण सदस्यको नाताले मेरो पनि थोरबहुत हुने नै भयो , अझ सप्तरीबासीको नाताले झनै बढी छ जस्तो मलाई लाग्छ । त्यो मान्ने वा नमान्ने कुरा चाहि फेरी तपाईमाथि नै निर्भर छ, हुन्छ । एउटा युवाले ‘आत्महत्या’ सम्मको कुरा गर्छ, त्यो पनि आफूलाई पत्रकारकै हैसियतमा । उसको घरमा राति ११ बजे अज्ञात व्यक्तिहरु पुग्छन् र परिवारका सदस्यहरुलाई ढोका खोल्न दबाब दिन्छन्, समाचारकै विषयमा ती युवालाई अमुक व्यक्तिले गालीगलौज गर्छन (यसबारे अप्रमाणित तपाईको दाबी आईसकेको छ)...अनि तपाईले आफ्ना सबै पहल विफल भएको दाबी गर्दै विभिन्न आरोपपत्र वा उजुरीलाई हावाला दिंदै ‘ ती व्यक्ति र तिनका परिवारमाथि जे भई रहेको छ, ठीकै छ ’ भन्ने जस्तो भाव, आशय र अभिव्यक्ति आउनु अर्को दुखद विषय हो । जतिसुकै अपराध प्रमाणित भईसकेका व्यक्तिहरुमाथि पनि यसरी पूर्वाग्रही रुपमा पेश हुने व्यक्ति मानवीय मूल्य र मान्यताको धज्जी उडाउने कोटीमै पर्छन् । गलतलाई गलत ठहराउने निकाय पत्रकार होइन, न्यायालय हो । तपाईलाई त्यो अधिकार कस्ले दियो ? जघन्य अपराधीलाई समेत अदालतले त्यसको अपराध पुष्टि नभएसम्म अन्यले अपराधी भन्नै मिल्दैन , पाइन्न । फेरी आरोपकै आधारमा कोही अपराधी ठहरिन्न । कसैले पनि अमूक व्यक्तिसंग रिस उठेकै झोकमा पत्रकारितालाई त्यसको हतियार बनाउन मिल्दैन, त्यो छुट न मलाई छ, न अरु कसैलाई छ । पत्रकारितालाई लेनदेनको विषय बनाउनु निकृष्ट अपराध हो, त्यस्तालाई दण्डको भागिदारी बनाउनै पर्छ । विश्वव्यापी मान्यता पनि यही हो ।  मात्रै तौरतरिका, कानून र विधान सम्मत चाही त्यो हुनै पर्छ । कसैलाई बिना लाइसेन्सको बन्दूक राख्ने अधिकार कसले र किन दियो ? मैले थाहा पाए अनुसार तपाईले त त्यो ‘लाईसेन्स’ दिनु भएको छैन । त्यसैले निवेदनकै भरमा अघि बढ्नु त्रुटि भयो, तीन दिने अल्टिमेटम त्यसैलाई आधार मानि फतबा झै जारी गर्नु गल्ति भयो , यहां तपाईको म्याचुरिटी देखिएन । कुनै पनि पत्रकारले कसैको चरित्रहत्या गरेको छ भन्ने त्यसविरुद्ध जाने अधिकार सबैको छ । तर, त्यसको एउटा प्रक्रिया छ । संचार क्षेत्रमा हो भने सर्वप्रथम प्रेस काउन्सिल, त्यसपछि अदालत नै हो । अझ साइबर क्राइम हो भने प्रशासन पनि हो । कसैको मानहानी वा चरित्र हत्या ठहरिए त्यसै अनुसार कानूनी उपचारको पद्धति छ । तर, यी उपचारबिनै पत्रकारको एउटा अभिभावक संस्था संहिता, नियम र विधिको शासनविरुद्ध जान खोज्नु त्यो संस्थाको नेतृत्वले आफूलाई न्यायाधिश ठान्नु भएन र ? पत्रकारितासंग जोडिएको व्यक्तिका परिवारलाई कसैले मानसिक यातना दिन्छ भन्ने निर्दोष परिवारका सदस्यहरुको प्रतिरक्षा गर्ने वा ठीक भइरहेको छ भन्दै समर्थक बन्ने ? के अभिभावक संस्थाको नेतृत्वले मानवीयता बिर्सने ? म मानवअधिकारको पक्षपाती हुं त्यसैले मलाई यो कुरो अखडियो र आबाज उठाएं । तपाईको मनसायले ‘गल्ति गरे’ हो ? तपाईको विचारमा जीवनरक्षाको पक्षमा र मानसिक यातना दिनेको विपक्षमा उत्रिनु भूल हो ? 

मेरो आग्रह, तपाईले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्छ, गर्नुस् । एक पटक होइन, दुई पटक होइन, पटक–पटक गर्नुस्, किनभने तपाई एक जना अगुवा हुनुहुन्छ । अगुवा बन्न सजिलो भए सबै बनिहाल्थे नि । फेरी ‘रोल मोडेल’ पेशाका नेता तपाईको जिम्मेवारी धेरै छ । आफ्नो नेतृत्वलाई सकेसम्म विवादरहित बनाएर अघि बढ्ने दायित्व पनि तपाईकै हो । पत्रकारिता पेशा अरुको अधिकारको कुरा गर्ने पेशा, यसमा आफ्नो अधिकार गौण विषय हुन्छन् । अन्त्यमा, फेरी पनि भन्छु, आत्महत्याको कुरो आएको छ , तपाई पत्रकार नेतृत्वमा हुनुहुन्छ, कुनै अप्रिय घटना भए , त्यसको सबै दोष पत्रकार महासंघलाई जाने हो, तपाईले भने अनुसार ‘म वा अन्य’ लाई होइन, क्या ?  दाई–भाई र एक जना शुभचिन्तकको नाताले यो सुझाब मात्र दिएको हूँ । यसमा कसैलाई आत्मरति लिन मन लाग्छ भने त्यो उसैसंग सम्बन्धित कुरो हो, मेरो सरोकारको विषय भएन । संसारमा दूधले धोएको कोही छैन । प्वाल सबैमा छ, कत्ति टालेर ईज्जत जोगाउने हो भन्ने कुरा मात्र महत्वपूर्ण छ । पत्रकारिताको नाममा असुली गर्ने, धन्दा चलाउने, ठेक्कापट्टा गर्ने छुट कसैलाई छैन, हुँदैन । अन्त्यमा, म काठमाडौंमा छु तर मन र प्राण आफ्नै माटोपानीमा छ । त्यसैले चासो राख्या हुँ, यसलाई कसैले अन्यथा ठान्नुपर्ने कुरै छैन । धन्यवाद ।     

     

No comments:

Post a Comment