Monday, 8 April 2013

मधेसमा आन्दोलन, अनसन र अभियान

‘चुनावी सरकारको गठनपछि मुलुक चुनावमा गइसकेको अवस्थामा जनताको ध्यान अन्यन्त्र केद्रित गराउन खोज्नु कसैको लागि हितकर हुँदैन . डेमोक्रेसीमा एक क्षेत्रमा एउटै पार्टीले चुनाव लडेको उदाहरण विश्वमा कहीँ भेटिदैन । त्यसैले दलहरुले यस्तो कुरा गर्नु ठीक होइन , बरू चुनावको उपयोग गरि शक्तिशाली बन्न चाहीँ मधेसवादी दलहरु कार्यगत एकता गरेर अघि बढे राम्रो हुनेछ ।

दिनेश यादव 

मधेस क्षेत्रमा केही समययता तीन ‘अ’ अर्थात् आन्दोलन, अनसन र अभियान खुबै चर्चामा छन् । सर्वदलीय र सर्वपक्षीय चुनावी सरकार र चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रधानन्याधीशबाट राजीनामा दिनुपर्ने, जनसंख्या आधारमा समानुपातिक प्रतिनिधित्व र क्षेत्र निर्धारणलगायतका मागसहित संघीय लोकतान्त्रिक मोर्चा आन्दोलनमा छ । २०६३÷०६४ को मधेस आन्दोलनपछि एउटा शक्तिका रुपमा उदाएको फोरम नेपालले उक्त मोर्चाको अगुवाई गरिरहेको छ । केही समयअघि मधेस क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको भन्दै राजधानीमा शारदा भूषाल झाले आमरण अनसन गरेकी थिइन । उनको उक्त अनसनको चर्चा सेलाउन नपाउँदै मधेसका केही युवाहरुको एउटा स्वस्फुर्त समूहले ‘मधेसी युवा विद्यार्थी जागरण अभियान’ का नाममा फागुन १६ बाट झण्डै एक महिना भद्रकालीमा रिले अनसन ग¥यो । उनीहरुले प्रधानन्यायधीशको नेतृत्वमा बनेको चुनावी सरकारको विरोध गर्दै युवाहरुको नेतृत्वमा सर्वदलीय सरकारको माग गर्दै अनसन बसेका थिए । तर मधेसवादी दल र त्यसका नेता तथा वर्तमान सरकारले उक्त अनसनलाई खासै महत्व नदिएपछि युवाहरुले त्यसलाई तोड्दै मधेसमा नेताहरुलाई छिर्न नदिने आक्रोससहित गृहजिल्ला फर्किसकेका छन् । यसैबीच, चैत १५ गतेबाट सप्तरी सदरमुकाम राजबिराजमा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकासकुमार तिवारीले मधेसमा व्याप्त भ्रष्टाचारको अन्त्य माग गर्दै भोक हड्ताल थाले । यो समाचार तयार पार्दासम्म तिवारीको भोकहड्ताल जारी छ । यसअघि जनकपुरमा शिक्षकहरुको नियुक्तिमा अनियमिता हुने गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै गुरुहरुको एउटा समूह आमरण अनसनमा बसेका थिए । जहाँ सम्म अभियानको कुरो छ, भ्रष्टाचारी अभियोगमा १३ महिनाको जेल सजायपछि बाहिरिएका जयप्रकाश प्रसाद गुप्ताले आफ्नै  संयोजकत्वमा ‘तराई–मधेस राष्ट्रिय अभियान’ नाम दिएर राजनीतिक गतिविधिमा तीव्रता दिएका छन् । उनको उक्त अभियान यसअघिको सरकारमा सहभागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको पर्दाफास गर्दै मधेसमा तत्कालै निर्वाचन हुने बातावरण नरहेको भन्दै जनतामा जागरण ल्याउने उद्देश्यले गरिएको दाबी गरिँदैछ । अभियानकै क्रममा चैत १८ गते सुनसरीको इनरुवा पुगेका गुप्ताले ‘तराईका सशस्त्र संघर्षरत समूहलाई समाहित गर्दै छुट्टै राजनीतिक शक्तिको निर्माण हुन लागेको’ खुलासा गरे । संचारमाध्यमसंगको साक्षात्कारमा उनले चुनावका लागि नभई मधेसी, जनजाति तथा अधिकारबाट वञ्चित रहेकाहरूको अधिकार सुनिश्चतताका लागि शक्ति निर्माण गर्न लागेको उनले जनाउ दिए । यता, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मेची–महाकाली मधेस जागरण अभियानमा जुटेका छन् । उनले ‘ चुनावको विकल्प नभएकाले अगामी संविधानसभाको निर्वाचन समयमै हुनु पर्ने’ बनाउँदै आफूहरुलाई अध्याधिक मत दिएर जिताउन जनतासंग अपिल गर्दै हिडेका छन् । मन्त्री छँदै गत वर्ष मधेसमा पूर्वको झापाबाट उनले शुरु गरेको ‘स्वाभिमान यात्रा’ पश्चिम नेपालको कैलाली धनगढीमा समापन गरेका थिए । केही साताअघि उनले पश्चिमबाट ‘मधेस जागरण यात्रा’ थालेर पूर्वमा टुंग्याउँने लक्ष्यका साथ मधेसमा राजनीतिक गतिविधि बढाएका छन् । यसैगरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा लोकतान्त्रिक फोरम अध्यक्ष बिजयकुमार गच्छदारले केही दिनअघि मात्रै चुनावी अभियानको उद्घोष गर्दै ‘आफूहरुलाई मधेस र मधेसीको पक्षमा पहाडेहरुले काम गर्न नदिएको’ भन्दै चर्का भाषण गर्दै हिडेका छन् । यी गतिविधिहरु जारी रहेकै बेला जनकपुरबाट रामचन्द्र झाबारे सम्प्रेषित एउटा खबरले राष्ट्रिय मिडियाहरुमा खुबै चर्चा पायो । झाले एमाले छाडेर एमाओवादीमा जाने कुराले राजनीति बृत्तमा खुबै हल्लाखल्ला पनि मच्चियो । तर एमाओवादीभित्र बाबुराम भट्टराई पक्षधर प्रभू साहले अध्यक्ष पुष्पकमल दाहालले झालाई पार्टीमा सचिव पद दिने मनस्थिति बनाएको भन्दै त्यसको विरोध गरे । उक्त विरोधले झा अलमल्लमा परे भने एमाओवादीमा साहको नेतृत्वमा रहेको मधेसी नेताहरुले ‘मधेस कम्युनिष्ट पार्टी’ खोल्नेबारे दिएको चेतावनीले ठूलै रेक्टरको भूइँचालो गएको छ । अहिले यी विषय एमाओवादीमा ‘बार्गेनिङ टुल्स’ बनेर सतहमा आएको छ । यता चैत १६ गतेबाट तराईमा सशस्त्र संघर्षरत भूमिगत संगठन जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह) समूहले मधेसका जिल्लाहरुमा स्थानीय प्रशासनमा समक्ष हतियारहरु बुझाउँदै निर्वाचनमा जाने उद्घोषका साथ अघि बढेको छ । यसैबीच भूमिगत केही समूह चुनाव भाँड्ने उद्देश्यका साथ एकीकरण वा विलयीकरणमा जाने समाचारहरु पनि सार्वजनिक भएका छन् ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा रहेको निर्दलीय चुनावी मन्त्रिपरिषद्ले दोस्रो संविधानसभाको मिति घोषणा नगर्दै माथि उल्लेखित घटनाक्रमहरू तराई–मधेसमा देखिएका हुन् । यसले अगामी दिनमा तराई–मधेस राजनीतिको ‘हट केक’ बन्ने प्रवल संभावना रहेको बुझाई मधेस क्षेत्रका बुद्धिजीवि एवं विश्लेषकहरुको छ ।
मधेसमा राजनीतिक ‘भ्याकुम’ र मधेसी दलसंग कुनै ठोस मुद्दा नरहेकाले जनताको कुनै आकर्षण र चाहना नभएको विषयमा पार्टीहरु लागेको भनाई लेखक एवं बुद्धिजीवि श्रीमननारायण मिश्रको छ । ‘लोकप्रियता र चर्चाका लागि मात्र मधेसी दलहरुले थरि–थरिका गतिविधि गरिरहेको हो, यसमा जनताको कुनै इन्ट्रेस्ट र आकर्षण छैन ’ उनले भने, ‘जसरीपनि घिस्राउने मुद्दा र मधेसको सवाललाई संवोधन गर्नप्रति इमान्दार नहुनेहरुले बेतुकका कुराहरु गरिरहेका छन् । ’ उनले निर्वतमान सत्ताधारी मधेसी मोर्चाले सरकारमा गएपनि मधेसका दलित, गरीब, अल्पसंख्यक र उच्च वर्गका निर्धनहरुको मुद्दालाई सम्बोधन गर्न नसक्नुका ठोस कारणहरु जनतामाझ अझै भन्न सक्ने अवस्था नरहेको बताए । प्राज्ञ डा. संगिता वर्मा भने मिश्रको भनाईलाई समर्थन गर्दै मधेसी दल र त्यसका नेताहरुबाट शुरु भएको पछिल्लो गतिविधिप्रति जनताको आकर्षण विल्कूल नरहेको बताइन । उनले भनिन्, ‘जनचेतना जगाउनका लागि आन्दोलन, अनसन र अभियान थालिएको हो भने त्यो सकारात्मक पक्ष हो । तर, चुनाव जित्नकै लागि यदि मधेसवादी दलहरुका नेताहरुबाट त्यस्तो भइरहेको हो भने त्यो धोका बाहेक अरु केही हुनै सक्तैन । ’ केही समय प्रध्यापन र पत्रकारिता समेत गरिसकेकी डा. वर्माले निवर्तमान सत्ताधारी मधेसी मोर्चाले आफ्नै हिसाबले निर्णय गरेकाले जनताको त्यसमा कुनै चासो नरहेको पनि बताइन । ‘सत्तामा रहँदा मधेसको मुद्दा विर्सिदिने र सरकारबाट बाहिरिएलगतै मधेसको प्यारो बन्न खोज्ने नियत नेताहरुको विल्कुलै ठीक होइन ’ उनले भनिन्, ‘सबै मधेसवादी दलहरुको अहिलेको प्रमुख मुद्दा अगामी निर्वाचन हुनुपर्नेमा विषयान्तर भई उनीहरुबाट हुने  गतिविधि बेमेल कुरा मात्र हो । ’
विरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्रा.डा. शम्भू पटेलले मधेस क्षेत्रमा देखिएका पछिल्ला घटनाक्रमले मधेसवादी दलहरु आ–आफ्नै डम्फू बजाउनमा तल्लिन रहेको पुष्टि गरेको बताए । ‘मूलभूत मुद्दामा सबै मधेसवादी दल एकजूट र ढिक्का भई संविधानसभामा केन्द्रित हुनेपर्ने बेला आइसक्यो’ उनले भने, ‘तर, मधेसी दलहरु आ–आफ्नै तालमा हिड्नुले जनतालाई निराश पारेको छ । मधेसी जनताहरु एकजूट भएर मधेसवादी दलहरु आऊन भन्ने चाहेका छन् । ’ उनले आन्दोलनबाटै मधेसको मुद्दालाई सम्बोधन गराउन सकिने भएपनि तत्कालै त्यसको कुनै अर्थ नरहेको बताए ।
मधेस क्षेत्रका अर्का बुद्धिजीवि एवं अधिवक्ता नगेन्द्र यादवको भनाई भने अलिक फरक छ । उनले मधेस सँधै आन्दोलनको उर्वरभूमि रहेकै कारण मुलुकमा त्यही आन्दोलनबाटै ऐतिहासिक परिर्वतनहरु भएको बताए । ‘चुनावी सरकारको गठनपछि मुलुक चुनावमा गइसकेको अवस्थामा जनताको ध्यान अन्यन्त्र केद्रित गराउन खोज्नु कसैको लागि हितकर हुँदैन ’ उनले भने , ‘डेमोक्रेसीमा एक क्षेत्रमा एउटै पार्टीले चुनाव लडेको उदाहरण विश्वमा कहीँ भेटिदैन । त्यसैले दलहरुले यस्तो कुरा गर्नु ठीक होइन , बरू चुनावको उपयोग गरि शक्तिशाली बन्न चाहीँ मधेसवादी दलहरु कार्यगत एकता गरेर अघि बढे राम्रो हुनेछ । ’ अधिवक्ता यादवले मधेसीहरु अगामी दिनहरुमा बाह्य रुपमा गैरमधेसी र आन्तरिक रुपमा मधेसी–मधेसीबीच पनि लडाई लड्नु पर्ने अवस्थामा पुगेको बताए । ‘त्यसैले नेताहरुले आफूलाई सुदृद्धिकरण गर्दै अनावश्यक चर्चाका लागि नभई मधेस र मधेसीको पक्षमा अगामी निर्वाचनलाई कसरी उपयोगमा ल्याउन सकिन्छ, त्यसबारे केन्द्रित हुनुपर्छ ’ उनले थपे, ‘मधेस आन्दोलनपछि मधेस क्षेत्रबाट कुनैपनि पार्टीका गैर–मधेसीले चुनाव जित्ने स्थिति थिएन तर निवर्तमान सत्ताधारी मधेसी मोर्चाका कारण मधेस क्षेत्रबाट पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई निर्वाचित गराउने साँठगाँठमा मोर्चा जुट्नु आत्मघाती कदम हो । ’ उनले पछिल्लो गतिविधिहरु आफूलाई चर्चामा ल्याउनका लागि मात्रै मधेस क्षेत्रका नेताहरुले गरिरहेको जनाए । Quatar Edition, Kantipur, 4th April 2013

No comments:

Post a Comment