Sunday, 16 February 2025

स्वार्थ समूहको घेराबन्दीमा संस्था, दुर्घटना असम्भावी !

कुनै पनि संस्था बदनाम हुनुको पछाडि त्यो संस्था अमूक स्वार्थ समूहको घेराबन्दीमा पर्नु हो । संस्थामा नियुक्त 'केही' अक्षम र अकर्मण्य व्यक्तिको भूमिकाले पनि संस्था बदनाम हुने हो । विगतका बदनाम र विवादास्पद, अव्यवहारिक र अप्रमाणिक पद्चिन्हहरूलाई पछ्याउँदा दुर्घटना हुन सक्छ।
पहिले संस्था, त्यसपछि व्यक्ति हो, तर व्यक्ति पहिले भएपछि समस्या निम्तिने गर्छ । संस्था स्थायी हो, त्यहाँ कार्यरत व्यक्ति अस्थायी हो । संस्था एउटा प्रणाली र ठोस नीति अनुरूप चल्नु पर्छ । कसैको लहड र सनकीपनले संस्थाको ओज, सम्मान र प्रतिष्ठामा आँच पुग्न सक्छ ।
कुनै व्यक्तिका स्वार्थ, अयोग्यता र असक्षमता संस्थामा हावी हुन थालेपछि संस्थाको गरिमा ओरालो लाग्न सक्छ ! विगतका थुप्रै नजिरहरू घाम झै छर्लङ हुँदाहुँदै पनि स्वार्थ समूहको चङ्गुलमा संस्था फस्नु दुःखद मात्रै छैन, संस्थाकै सम्मान धारासायी बनाउने खालको छ।
'औपचारिकता पुरा गर्नमा मात्र सीमित' समूहलाई आफ्नो स्वार्थ पुरा गर्न उपयोग गर्दै आफूमाथि आउने भैपरी दोष ती समूहमा लगाएर उन्मुक्ति खोज्ने सोच डरलाग्दो दुष्परिणामको संकेत हो । यो संकेतलाई नजरअन्दाज गर्नु ठूलो भूल हुन सक्छ । समय छँदै सचेत हुन जरूरी छ । संस्थाको विश्वसनीयता कायम राख्न सबैले स्थायी र ठोस प्रणालीमा आधारित भएर काम गर्न आवश्यक छ ।

No comments:

Post a Comment