Thursday, 18 January 2024

उपराष्ट्रपति यादव र अष्ट्रेलियन राजदूत फेलिसिटीबीच शिष्टाचार भेटघाट

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूसँग बिहीबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसीटी जेन भोल्कले शिष्टाचार भेटघाट गर्नुभएको छ । 

भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । 

‘अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता (ओडीए) मा वृद्धि गरेकोमा खुशी लागेको छ ’ उहाँले भन्नुभयो, ‘सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान उच्च प्रशंसनीय छ ।’ उहाँले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गर्दै भन्नुभयो, ‘दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवर्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन् । ’ 

उपराष्ट्रपति यादवले नेपालमा मानव संसाधन विकास गर्न अष्ट्रेलियाली सहयोगको प्रशंसा गर्दै ‘नेपाल र अष्ट्रेलिया बीचको व्यापार र लगानी सम्बन्धी सम्झौता (टीआईएफए) कार्यान्वयनमा आएपछि दुई मुलुकबीचको सम्बन्ध थप घनिष्ठ र अर्थपूर्ण हुने’ बताउनु भयो । उहाँले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीसहित प्रवासी नेपालीले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध र समझदारीलाई थप मजबुत र अझ प्रगाढ बनाउनमा सहयोग पुगेको उल्लेख गर्नुभयो । अष्ट्रेलियाले कोभिड–१९ संक्रमण कालमा र पछिल्लो समय जाजरकोट भूकम्प पीडितका लागि गरेको मानवीय सहायताका लागि अष्ट्रेलियाली सरकारलाई महामहिम राजदूत मार्फत् हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।  

उपराष्ट्रपति यादवले दुई देशबीचको पर्यटन प्रवर्धनको महत्व र आशाजनक सम्भावनामा जोड दिँदै भन्नुभयो, ‘हजारौंको संख्यामा अष्ट्रेलियाली पर्यटक नेपाल भ्रमणमा आउने गरेको विषयमा जानकार छु । आगामी दिनमा यो संख्या अझ बढ्नेमा विश्वस्त छु । ’ 

अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले दुई देशबीच जनस्तरको सम्बन्ध संगै सरकारसंग बलियो र गहिरो सम्बन्ध रहेको बताउनु भयो । उहाँले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिँदै भन्नुभयो, ‘नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गरे पश्चात नेपालमै फर्किएर नेपालको विकासमा टेवा पुर्याउनका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु । नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ड्युएल डिग्री कार्यक्रम संचालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढाउन सकिन्छ । यसका लागि हालै काठमाडौ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ । ’

राजदूत भोल्कले अष्ट्रेलियाले नेपालमा लैङ्गिक समानता, जयवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न र पर्यटन विकास लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । ‘ खासगरी पर्यटन क्षेत्रमा अष्ट्रेलियाको ठूलो सहयोग रहदै आएको छ ’ उहाँले भन्नुभयो,  ‘सन् २०२२ मा २७ हजार , २०२३ मा ३९ हजार अष्ट्रेलियाली पर्यटक नेपाल आएकोमा अगामी वर्ष यो संख्या थप बृद्धि गराउनमा म प्रयासरत छु । ’

उहाँले दुई देशबीच जनस्तर र उच्च स्तरमा हुने भ्रमणहरुले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृद्ध र बलियो बनाएको बताउनु भयो । राजदूत भोल्कले नेपालको सामुदायिक वन, दिगो वन लगायतका  क्षेत्रमा अष्ट्रेलियाको सहयोग जारी रहने जनाउँदै भन्नुभयो, ‘म आफ्नो कार्यकाल सकेपछि पूर्वी नेपालको ईलामस्थित सूर्योदय नगरपालिकाको गुडविल एम्ब्यासेडरको भुमिका रहने छु ।’ 

२०८० माघ ४ गते बिहीबार । https://onlineradionepal.gov.np/2024/01/18/458095.html

4 comments:

  1. #Congratulations

    ReplyDelete
  2. Right People to Right Place ! You are wellcome to all over Nepal . Go ahead !

    ReplyDelete
  3. https://onlineradionepal.gov.np/2024/01/18/458095.html

    ReplyDelete