गाउँमा काकालाई अचेल स्रोता पाउँनै मुश्किल छ । उनलाई सुन्न कोही तयार छैनन् । हुनु पनि कसरी ? गाउँ युवाविहिन छ, पिढी अन्तर छँदैछ, काकाका दौंतरीहरू रोग पत्ता नलागिकनै स्वर्गलोक पुगिसकेका छन् । उनी भने अझै उस्तै तन्दुरूस्त छन् । अझ उनका सामाजिक ज्ञानका कुरा कुनै विश्वविद्यालयमा पठाइने पाठ्यपुस्तक भन्दा कम छैनन् । मैले एकताका पुस्तकहरूमा पढेका कुराहरू उनको मुखारबिन्दूबाट सुन्न पाउँदा बिछट्टै आनन्दको अनुभूति हुने गरेको छ ।
काका आज अन्ध्यारो मुद्रामा भेटिए । निराश, उदास र चिन्तित पनि देखिन्थे । मैले उनको अनुहार हेरेँ अनि सोधें -
'काका आज चिन्तित मुद्रामा किन ?'
नजिकै उर्मिले राखिदिएको चियाको ग्लास नियाल्दै, त्यसमा परेको तर पन्छाउने सुर उनले के कसेका थिए, उनको हातको लौरो भूँईमा एक्कासी बजारिएर चर्को आबाज निस्कियो ...! त्यो आबाज मेरो लागि विरलै सुनिने घटना थियो ।
म : काका ! चिया खानुस् , म लौरो उठाइँ दिन्छु...!
काका : (अलिक भावुक भन्दै...) बाबु ! तिमी असाध्यै असल छौं ।
म: ए....ए....! (एक छिन अलमलिदैं) ।
काका चियाको चुस्कीसंगै सुनाउन थाले - 'बाबु ! जसरी '१०', '१००ʼ, '१०००ʼ, ʼ१००००' ... बढ्दै जान्छ, शून्य (ता) थपिदैं जान्छ । त्यसैले हाम्रा पूर्वजहरूले सगुन र व्यवहारमा '११ʼ, '२१', ʼ५१ʼ, '१०१', '१००१' दिने प्रचलनमा ल्याए ....। किन, थाहा छ ?'
वर्षौं कक्षाकोठामा गणित पढाएको म काकाको यो अंकगणित बुझ्नै मलाई गाह्रो भै रहेको थियो । तत्काल म अनुत्तरित थिएँ । एकैछिन मौन के बनेको थिएँ, काकाले मेरो मौनता भंग गर्दै भने - 'बाबु ! किताबी ज्ञान र व्यवहारिक ज्ञानमा फरक छ । सुन - सगुनमा शून्य अंकको साटो एक थपेर दिनुको अर्थ : एक (एकता) कायम रहोस् , शून्य(ता) हैन....!'
म: (काकाको अनुहार हेरेको हेरे गर्दै,छक्क पर्दै) काकाको अंकगणित गजबको रै'छ ...!
काकाको एकताको यो अंकगणित व्यवहारिक मात्र छैन अर्थपूर्ण, शिक्षाप्रद र धेरै अर्थमा सांकेतिक पनि छ ।
काका जुरूक्क उठ्दै खाटमा अडेस लगाएर राखिएको लौरो उचाल्दै मबाट छुट्टिने तर्खर गर्दै भने - 'बाबु ! गाउँमा अचेल पहिले जस्तो एकता कहाँ छ र ? हाम्रा पूर्वजले कायम गरेको एकता, सद्भाव, सदाचार, मैत्रीभाव, अपनत्वभाव, भाईचारा, मेलमिलाप ... अब छैन । मेरो चिन्ता र निराशाको कारण यही हो ....।' काका आफ्नो गन्तव्यतिर लाग्नु भयो , म भने उनको एकताको मननयोग्य संदेशमा घोत्लिदैं गाउँमा आफ्नो दैनिकीमा व्यस्त भएँ ....। #एकता_नै_ठूलो_बल_हो #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife
#दिनेश_यादव
@राजगढ_०६_फकिरा
२०८०/०८/१७

No comments:
Post a Comment