केस १ :
बारा कलैयास्थित एउटा ‘लक्जरियस होटेल’ मा काठमाडौं केन्द्रित एक ‘अनलाईन पोर्टल’ का केही पत्रकारहरु बारा–२ को उपचुनावबारे ‘ग्राउण्ड जिरो रिपोर्टिङ’ गर्न आफूहरु यहाँ आएको बताए । ती पत्रकारहरुले गरेको रिपोर्टिङहरु हेर्दा त्यो पत्रकारिताको कुनै पनि कोणबाट निष्पक्ष पाइन्न । यसबारे सप्रमाण जिज्ञासा राख्दा तिनीहरुले आफ्नो त्रुटिहरु स्वीकार गर्नुको साटो ‘डेक्स’ लाई दोष देखाउँदै पञ्छिन खोजे । अझ अमूक पार्टीले पत्रकारहरुलाई रकम बाँडेको र होटेलहरुमा राखेको आरोप लगाउन समेत पछि परेनन् । यी आरोपहरुको वास्तविकता जान्ने प्रयास गर्दा तिनीहरुले ‘विपक्षीहरुबाट यसप्रकारको भनाई र गुनासाहरु आफूहरुले सुनेको’ प्रतिक्रिया दिए । ‘सुनेकै भरमा पत्रकारले अमूक पार्टीमाथि संगिन आरोप लगाउन कतिको मिल्छ ?’ भनेर सोध्दा तिनले कुनै जबाफ फर्काएनन् । तर, त्यसपछि पनि ती पत्रकारहरुले आफू सम्बद्ध अनलाईनलाई सम्प्रेषण गरेको समाचारहरु एकपक्षीय र पूर्वाग्रही रुपमा कुनै अमूक पार्टीकै कार्यकर्ता झै आइरहेकै छन् । तिनीहरुले लेखेका समाचारहरु स्थानीय मतदाताहरुलाई दिग्भ्रमित पार्ने खालका देखिन्छन् । आफै पूर्वाग्रही भै लेखिने समाचारहरुले पत्रकारिताको निष्पक्षतामाथि मात्रै प्रश्न तेर्साउदैन, सिंगो पत्रकारको मनोविज्ञान, र मानसिकतामाथि पनि गम्भिर सवाल खडा गर्न सक्छ ।
केस २:
बारा–२ को उपचुनाव क्षेत्रमा पर्ने पचरौता गाउँपालिकाकस्थित लङ्गडा चोकको एउटा चिया पसलमा काठमाडौंबाट महँगा कारमा आएका चार जना समूहमा रहेका पत्रकारहरु भेटिए । तिनीहरुले चिसो पेयपदार्थ हात–हातमा लिएर पसलको बेञ्चहरुमा बसी आफ्नो रिपोर्टिङ डायरी र मोबाइलमा नोट गरिएका केही ठाउँहरुको लोकेसन सोध्न थाले । ती सबै लोकेशन कुनै एउटा अमुक पार्टीको बर्चस्प रहेको ठाउँहरुको रहेछन् । यो जानकारी केही स्थानीयले दिए । यसअघि काठमाडौंबाट आएका पत्रकारहरुसंग वीरगंजको एउटा होटेलमा अमूक पार्टीका अध्यक्ष र उक्त पार्टीका सम्पादकबीच गोप्य भेटघाट भएको गाईंगुईं सुनिएकै थियो । तिनीहरु स्थलगत रिपोर्टिङ भन्दा पनि अमूक पार्टीका पक्षमा मतसर्वेक्षण परिणाम सार्वजनिक गर्न आएको भन्ने जानकारी पनि चुहिएकै थियो । यसैबीच त्यसैलाई पुष्टि गर्ने घटनाहरु भए । पसलमा बसेका पत्रकार समूहसंग सोधनी भयो– तपाईहरुले आफू सम्बद्ध अनलाईन पोर्टलबाट नियमित तलब त पाइनु हुन्छ नि ? जबाफ आयो, ‘नियमित तलब पाएरै त महंगा कारमा रिपोर्टिङ गर्न यता आएका हौं ।’ ती समूहसंगको संवाद र रिपोर्टिङका लागि तय गरेका गन्तव्यहरुले ती पत्रकारहरु अमूक राजनीतिक पार्टीको ‘स्पोन्सर’ मा आएको ‘हाइपोथेसिस’ गर्न गाह्रो थिएन । तर, जब ती पत्रकारहरुले स्थगल रिपोर्टिङको नाममा मतदाताहरुमा भ्रम छर्ने गरि निर्वाचनको आचारसंहिता विपरित ‘मत–सर्वेक्षण’ आफू सम्बद्ध अनलाईन पोर्टल मार्फत् सार्वजनिक गरे, तब तिनीहरुको नियत र मानसिकता ‘पेड–पब्लिक पोल’ का लागि भएको झनै प्रमाणित हुन पुग्यो । तिनीहरुबाट आउने परिणामबारे गरिएको ‘हाइपोथेसिस’ सतप्रतिशत सत्य साबित भयो ।
केस ३ :
बारा–२ उपनिर्वाचन क्षेत्र अन्तर्गत पर्ने करैयामाईको एउटा चोकमा काठमाडौंबाट मोटरसाइकलमै आएका केही पत्रकारहरु पनि भेटिए । परिचयका क्रममा तिनीहरु अमूक पार्टीका भातृसंगठनका पत्रकार नेताहरु रहेको खुल्यो । यसले तिनीहरुले गर्ने रिपोर्टिङको अनुमान लगाउन सजिलो हुने नै भयो । तिनीहरु अमूक गठबन्धनका साझा उम्मेदवारलाई जसरी पनि हराउने अभियानमा आएको निस्कर्ष निकाल्न गाह्रो थिएन । यो निस्कर्षलाई तब थप बल मिल्यो जब तिनीहरुले आफू संलग्न अनलाईन पोर्टलमा स्थलगत रिपोर्टिङको नाममा समाचार सम्प्रेषण गर्यो । तिनीहरुले समाचारमा उल्लेख गरेका ‘बाइट’ र ‘कोर्ट’ हरुले आफू संलग्न रहेको पार्टीका उम्मेदवारको पक्षमा वकालत गरेको छर्लङ्गै थियो । ‘ग्राउण्ड जिरो’ मा रहेर समाचार लेख्दा पनि तिनीहरुको पत्रकारिता निष्कलंकित र निष्पक्ष हुन सकेन , देखिएन ।
केस ४ :
बारा–२ को महागढीमाई नगरपालिकास्थित एउटा टोलमा भेटिए पत्रकारहरुको अर्को डफ्फा । महंगा क्यामेरा, बासनादार ईत्र लगाएर टोलका केही स्थानीयहरुको बीचमा गफिदै रहेछन् । नजिकै पुग्दा तिनीहरुको संवादले पत्रकार कम, विभिन्न एजेन्सीहरुका एजेन्टहरु रहेको लख जो कोहीले पनि सजिलै काट्न सक्थे । तिनीहरुले पनि आफूलाई पत्रकारकै रुपमा त्यहाँ परिचय गराएका रहेछन् । तिनीहरुले स्थानीयसंग राख्ने गरेको प्रश्नहरुले ‘पेड–जनर्लिस्ट’ र अमूक पार्टीका लागि ‘स्पोन्सर रिपोर्टर’ का रुपमा यता आएको प्रष्टै भान हुन्थ्यो । पत्रकारितामा संवादमा रहेकाहरुसंग ‘क्रस कोइसन्स’ गर्नु राम्रो हो , तर यसै बहानामा कसैलाई कहि पनि होच्याउन पाइन्न । अझ चुनावका बेला कुनै एउटा उम्मेदवारलाई होच्याउने र अर्कोलाई देवता बनाएर मतदाता समक्ष पत्रकार प्रस्तुत हुनु निर्वाचन आचारसंहिताको उलंघन मात्र होइन, पत्रकार संहिताको बर्खिलाप पनि हो ।
यी त माथिका केही प्रतिनिधि उदाहरण मात्र हुन् । बारामा अचेल मिडियाकर्मीको घँुइचो छ । केही अपवाद बाहेक तथ्यसत्यमा आधारित रिपोर्टिङ अझै हुन सकेको छैन । ‘परमानेन्ट बाईट’ लाई पछ्याउने र आफू अनुकूल बोली दिनेहरुको खोजीमै संचारकर्मीहरु रहेको देखिन्छ । कति पत्रकार त र्युमर फैलाउनमा समेत उद्दत देखिन्छन् । कलैयाको चर्चित चिया पसल (मिनी बालुवाटार) मा सुनिने गफाडीहरुको गफ जस्तो पत्रकारिता हुँदै होइन , जहाँ हरेक आधा–एक घन्टामा एउटा उम्मेदवारलाई जितेको उद्घोष फरक–फरक भीडले गर्ने गर्छ । पत्रकारिता हतारमा गरिने विद्या हो तर चुनावी जनमतलाई नै प्रभावित गर्ने हतार कुनैपनि संचारकर्मीले किमार्थ गर्नुहुन्न । यसले सिंगो पत्रकार, पत्रकारिता र निष्पक्षतामाथिको गर्विलो सम्मानमाथि आँच पुग्न सक्छ । जातीय क्लेश, घृणा, विद्वेश फैलाउने गरी गरिने पत्रकारिताबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । यसरी गरिने पत्रकारिताले चुनावमा एउटा उम्मेदवारलाई समर्थन र सहयोग त पुग्न सक्ला तर, समाज, देश र मधेश हार्नेछ । पत्रकारिता कलंकित र अमर्यादित भएको धब्बा पनि पत्रकारमाथि लाग्ने छ ।
Good Job
ReplyDeleteमिडियाको भूमिकाबारे सही र सटिक विश्लेषण । राम सहनी , पचरौता बारा
ReplyDeleteपत्रकार लोग इस बात पर अमल करें ●सदरूल मियाँ, बीरगंज
ReplyDeleteवाह ! गजब बा । हमनी के आँख खोलि दिहेली । ■पंकज श्रेष्ठ, कलैया
ReplyDelete