एउटा चर्चित शब्द छ– नेपालीमा ‘लाल बुझकर’, हिन्दीमा ‘लाल बुझक्कड’ र अंग्रेजीमा ‘वाइजेकर’ । जसको अर्थ हुन्छ–यस्तो मुर्ख व्यक्ति जसले वास्तवमा केही जानेको हुँदैन, अटकलबाजी गर्छन र उटपट्याङ अनुमान लगाएर दुरुह कुरा गर्छन (पुस्तक डट ओआरजी) ।
पत्रकारितामा यस्तै लाल बुझक्करहरुका बारेमा यो ब्लग लेख्दैछु । सत्य र तितो छ, यथार्थमा आधारित छ । कसैको चित्त दुखे क्षमा गर्नुहोला । यहाँ उल्लेख गरिएको घटना सप्तरीमा एउटा दलितको हत्यासंग सम्बन्धित छ । घटना अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिनको हो अर्थात मे १ तारिखमा सप्तरी राजगढ–५ मलेकपुरका मुसहर समुदायका बुधु वा बुधन वा बुध (व्यक्ति एउटै तर नाम फरक–फरक मिडियामा छुट्टा–छुट्टै उल्लेख) को निर्ममतापूर्वक हत्या गरिएको जानकारी मैले सामाजिक संजालमार्फत् हिजो मात्रै (२०२१ मे ३ मा) पाएँ । त्यसको स्रोत सिरहाका एक जना दलित अधिकारकर्मी राजेश विद्रोहीको फेसबुक वाल बन्न पुग्यो । बिहानको समय थियो, एउटा निर्धन, निःसहायको हत्या भएको घटनाको खबरले मन मेरो कुडियो । अझ मेरै गाउँपालिका राजगढसंग सम्बन्धित घटना रहेछ । ध्यानाकर्षण हुनु स्वभाविकै थियो । म उकूसमुकुसमा परे, एउटा संचारकर्मीको नाताले के सहयोग गर्न सकिन्छ भन्दै धेरै बेर घोतलिए , एकोहोरिए । पछि कविता लेखेर सामाजिक संजालमा पोस्ट्याउने सोच बन्यो । कविता एकाएक फुर्यो, मैले लेखे अनि आफ्नो स्टेटस र राजेश जीको वालबाट फोटो लिएर पोस्ट्याउनुअघि गुगल गरे, बुधुबारे सामग्री कत्तै भेटिएन । फेरी बिहानीको एफएमहरुको समाचारमा पनि उक्त घटनाबारे केही सुनेको थिइनँ । अत्यन्तै सम्वेदनशील विषयमा मिडियाहरुमा कभरेज नदेख्दा मन झनै खिन्न भयो । त्यसपछि मैले आफ्नो सामग्री फेसबुकमा पोस्ट्याएं–

स्टेटस राखेको झण्डै एक घन्टापछि मेरा सहकर्मी समेत रहेका प्रिय भाई अवधेशकुमार झाको स्टेटस आयो । स्टेटसमा लेखिएका शब्दावलीहरु पढ्दा दुःख लाग्यो । मैले कसैलाई मेन्सनै नगरी लेख्दा पनि अवधेश भाईको चित्त साह्रै दुखेको रहेछ, मेरो स्टेटसबाट । केही बेरमा उनले कान्तिपुरको लिंक समेत पठाई आफ्नो कार्यलाई पुष्टि गर्ने प्रयास गरेका रहेछन् । जुन आवश्यक थिएन । तरपनि उनको त्यो कार्यलाई स्वभाविकै ठानेर ‘गुड’ र ‘थ्याङ्क्स’ लेखिदिएँ ।

मेरो स्टेटसमा उनको प्रतिक्रिया विरलै आउने गरेको अवस्थामा यो प्रतिक्रियाले म अचम्भित पनि भएँ । उनको यो स्टेटस एउटा पत्रकारको जस्तो नभएर दलिय स्वाँठहरुको जस्तो आएको देखेर खिन्नता बोध भयो । भाई अवधेशलाई पेशागत व्यवसायिकतामा जोड दिन आग्रह छ । भाईले अझै म्याच्युरिटी देखाउनु पर्छ । पत्रकार महासंघको नेतृत्व गरिसकेको अवस्थामा सप्तरीकै एक जना अग्रज पत्रकारको नाम उनको देहवसान भईसकेको कयौं दिनपछि पनि त्रुटिपूर्ण रहेकोले सच्चाउन भाईलाई सुझाब पनि छ । नाम, थर र फ्याक्टहरु क्रस चेक गरी मात्रै लेख्नुपर्छ । होइन भने विश्वसनीयता घट्छ । साथै, सामाजिक संजालमा स्टेटस लेख्दा काम गर्ने संस्थालाई लज्जित बनाउने गरी अशुद्ध लेख्नेहरुको झुण्डमा सर्वोत्कृष्ट बन्ने प्रयास नगर्दा राम्रो होला । पत्रकारितामा तपाईको सक्रियता र योगदानको खाँचो सप्तरीलाई धेरै छ । एउटा अग्रजको नाताले यति चाहिं सुझाब दिएको हुँ । लाल बुझक्कड पत्रकार नबन्नु । बरु संकेत चाल पाएर सर्तक र सावधान हुनु ।

मेरो वालमा सप्तरीका अर्का पत्रकार एवं ‘मानवअधिकारवादी’ समेत रहेका मनोहर पोखरेल जी पनि आफ्नो सप्रमाण प्रस्तुत भए । मेरो वालमा उनले प्रतिक्रिया लेखेको मलाई सम्झना छैन । तर, उनको यो प्रस्तुति बडो अनौठो लाग्यो । बिना नाम मेन्सनकै ‘पत्रकार’ र ‘अधिकारकर्मी’ लेख्दा पनि उनी तेब्बर रुपमा आफैलाई भनेको जस्तो गरी प्रस्तुत हुनुले दुखी बनायो । के सप्तरीमा उनी मात्रै अधिकारकर्मी र पत्रकार हो ? मैले चिनेको पत्रकार मनोहर पोखरेल शालिन व्यक्तित्वको धनी भन्ने हो । तर, मेरो त्यो ‘हाइपोथेसिस’ उनको यो एउटै स्टेटसले फेल गरी दिएको छ । शायद प्रिय मनोहर जीलाई राजेश विद्रोहीको नाम मेन्सनबाट ईष्र्या रहेछ, त्यसैले त मोफसल र काठमाडौंको विषयवस्तुलाई आक्रोशित भावमा लेखेका रहेछन् । तपाई मानवअधिकारवादी पनि हो, के मैले एउटा पीडितको पक्षमा लेख्नै नहुने हो ? गलतलाई गलत भन्न सक्ने ल्याकत मसंग छ । गल्ति गर्नेको नामै मेन्सन गरेर लेख्ने शायद कोही संचारकर्मी छन भने ती मध्ये एउटा म पनि हो ।
एउटा दलितको निर्ममतापूर्वक हत्या भएको घटनामा पीडितले जसरी पनि न्याय पाऊन भन्ने चाहना मात्र मेरो थियो, हो । कसैप्रति म आग्रह वा पूर्वाग्रह बन्नु पर्ने कारणै छैन । अर्को कुरा, कसैको भावनामा आघात पुर्याउने आशय वा उद्देश्यले मैले आफ्नो स्टेटस लेखेकै हैन, छैन । हो, त्यस्तो कसैलाई लागेको छ भने त्यो उसैको कमजोरी र समस्या हो । यसमा म के पो गर्न सक्छु ? यो स्टेटसको एउटा सुखद पक्ष चाहि के

अनुभव गरे भने– सप्तरीया पत्रकार र मानवअधिकारकर्मीहरु स्थानीय संवेदनशील घटनाप्रति प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सचेत/सतर्क छन् , कसैले उनीहरुको काम र सक्रियताको क्रेडिट दिओस् भन्ने चाहना पनि उनीहरूमा रहेछ । यो स्वभाविकै पनि हो । तर, कसैको नामै मेन्सन नगरिए पनि कुनै प्रतिक्रियालाई आफूमाथि ‘प्रहार’ बुझ्नु चाहिं उनीहरुको कमजोरी हो । त्यसैलाई टेको समेत बनाई प्रतिक्रिया दिनेविरुद्ध खनिनु अर्को गम्भिर त्रुटि हो । गम्भिर र संवेदनशील घटनाप्रति मेरो ध्यानाकर्षणपछि लाल बुझक्कड भई तपाईहरुले जुन प्रतिक्रिया र आक्रोश पोख्नु भएको छ, त्यसलाई सकारात्मक रुपमा लिएको छु । तर, तपाईहरु सच्चिनै पर्ने स्पेस अझै छ । जस्तै–
१.एउटै क्षेत्र र स्थलबाट गरिएको तपाईहरुको रिपोर्टिङमा मृतकको नाम कुनैमा ‘बुधु’ र कुनैमा ‘बुध’ वा ‘बुधन’ भनेर आएको छ । (कान्तिपुरमा ‘बुधु’, अन्नपूर्ण पोस्टमा ‘बुधन’, गोरखा पत्रमा ‘बुध’....) कुन चाहिं सहि हो ? यस्तो त तब मात्रै हुन्छ जब सतही रिपोटिंङ गरिन्छ वा कसैको भनाईमा गरिने रिपोर्टिङमा मात्रै यस्ता त्रुटि आउने हो । कसले, कहाँ र कसरी त्रुटि गरे– त्यसमा सचेत हुनुपर्छ र सच्चिनु पर्छ ।
२. नयाँ पत्रिकाकर्मीले पोस्टमार्टमका लागि शवलाई धरान पुर्याउन शववाहनका लागि गरेको १० हजार आर्थिक सहयोग अत्यन्तै प्रसंशनीय कार्य हो । यो सहित अन्य सहयोगी हातहरुलाई सलाम र सम्मान छ । पीडित परिवारको दयनिय आर्थिक अवस्था छ । राजबिराजमा पोस्टमार्टम् हुन नसक्दा धरान लानुपर्ने बाध्यता बुधु जस्ता निमुखा परिवारले अब झेल्न सक्तैनन् । यो विषयमा साइड स्टोरी गर्न सकिन्छ । त्यो तपाईहरुबाट हुन जरुरी छ ।
३.सप्तरी गाउँ नै गाउँले भरिएको जिल्ला हो । त्यसैले गाउँघरमा धेरै बेथितिहरु छन् । स्थलगत रिपोर्टिंग मार्फत् उजागर गर्नुस् । दक्षिण भेगका जनताका लागि स्वास्थ्य, यातायात र शिक्षामा अझै पहुँच छैन । यता पनि ध्यान पुगोस् । जिल्ला प्रशासन, प्रहरी कार्यालय, अस्पताल वा अदालतमा आएको विषयहरुलाई मात्रै समाचार नबनाउन आग्रह छ । सिरहा रोडको दास पेट्रोल पम्पमा बर्सौदेखि टेम्पोमा सिन्डिकेट लगाइएको छ । त्यहा गैरकानुनी रुपमा असुली हुने गरेको छ । त्यसलाई निर्मूल पार्ने गरी रिपोर्टिंग गर्नुस् ।
४.बिना लाईसेन्सको भाङ पान पसलमा छ्याप्छयाप्ती झुन्ड्याइएका हुन्छन् । यो गैरकानुनी हो । पान पसलबाट यी सामग्री यसरी बेच्न पाईन्न । यत्तातिर पनि तपाईहरुले रिपोर्टिंग गर्नु पर्ने देखिन्छ ।
५.सोसस इस्युहरुमा सामग्रीहरु कम देखिएका छन् । त्यता पनि ध्यान दिनु जरुरी छ ।
६.गाउँघरमा अनाधिकृत रुपमा जाँड पसलहरु खोलिएका छन् । त्यहाँ पाइने रक्सी कमअसल खालका भएकाले धेरै जना बिरामी हुने गरेको र केहीको ज्यान पनि गएको छ (केही महिनाअघि मेरै गाउँका दुई जना बिते) । यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
यी त केही प्रतिनिधिमुलक उदाहरण मात्रै प्रस्तुत गरें । अन्य मुद्दा र सवाल पनि हुनसक्छन्, खोजिनीति गर्दै उजागर आवश्यक छ ।
अन्त्यमा तपाईहरुले लेखेको समाचारमा जन–जनको पहुँच किन हुन सकेन ? एउटा सोचनिय बिन्दू यो पनि हो । बुधुकै समाचार सामग्री गुगल गर्दा अपेक्षा गरे अनुसारको भेटिएन । शेयर पनि किन कम भए ? यी र यस्ता कारण पनि खोतल्नु पर्छ । यो इस्युमा भोला पासवान जी को रिपोटिंगलाई डिटेलमा नया पत्रिकाले बैशाख २१ मंगलबार ७ः३२ बजे पोस्टाएको छ । यो सामग्री तयार पार्दासम्म ६१८ शेयर छन् । त्यस्तै, मनोहर पोखरेलजीको रिपोटिंगलाई अन्नपूर्ण पोस्टले बैशाख १८ मा २२ः०७ बजे पोस्टाएको रहेछ । यो सामग्री तयार पार्दासम्म एउटा पनि शेयर छैन ।




मनोहरजीले पठाएको लिंकमा पनि शेयर छैन । कान्तिपुरमा अवधेश झाको यो विषयको समाचार वैशाख १९ गते ९ बजेर ४ मिनेटमा पोस्ट्याउँदा ८५ शेयर मात्रै पाएको छ । बरु मधेस लाईभले बैशाख १८ गते २०ः०६ बजे पोस्ट्याएको समाचारले ‘एक दलमलव एक के (एक हजार भन्दा बढी) शेयर पाएको छ । गोरखा पत्रको अनलाइनमा यो सामग्री छैन , प्रिन्ट भर्सनमा भने छ , शेयर गर्ने संख्या खुल्दैन । सामाजिक संजालमा मैले शेयर गेरको यो संग सम्बन्धित सामग्रीले बरु राम्रो माइलेज पाएको छ । यहाँ सुझाब छ: सम्वेदनशील विषयबारे आएको समाचारहरु सम्बन्धित संस्थाका पत्रकारहरुले सामाजिक संजालमा शेयर गर्दा
बढी भन्दा बढीमा सूचना सम्प्रेषण हुने भएकाले यतातिर पनि ध्यान दिने हो कि ?
यो घटनामा पीडित परिवारलाई सहयोग र न्याय दिलाउने प्रयासमा संलग्न सुनिता साह, शिवकुमार राम, राजेश विद्रोहीसहित अन्य संचारकर्मीलाई धन्यवाद र आभार । पीडीतले न्याय पाऊन, निर्दोषमाथि अन्याय न होस् !
सामाचारका लिंकहरु
https://ekantipur.com/pradesh-2/2021/05/02/161992556957212773.html
https://www.nayapatrikadaily.com/news-details/63626/2021-05-04
http://annapurnapost.com/news/178930
https://madheshlive.com/2021/05/8854?fbclid=IwAR3Cwoyimhsg-bQSvLk3MngbTEwMOgC4FUyev8p0md8fwfY0ChPAdLsAkoo
https://www.nepalpostdainik.com/npd/2021/05/01/17548/
https://www.nepalkhoj.com/2021/05/03/87956/?fbclid=IwAR2hvp86niF3yz_lriB5v8eeUfn9gbLDBlkb62nXFmz_rByg2-_2bYeqzvU