Monday, 31 May 2021

‘पत्रकारहरु पत्रकारिता मार्फत् कमाई धन्दामा’ (भाग–१)

....पत्रकारहरु पत्रकारितालाई माध्यम बनाई कमाई धन्दामा लागेका छन्.....पत्रकारहरुले स्थानीय सरकारी कर्मचारी, व्यापारीसंग रकम माग्ने गरेको समेत पाइन्छ । स्थानीय सरकारी कर्मचारी, व्यापारी पनि आफ्नो विपक्षमा समाचार नआओस् भन्ने ध्येयले पत्रकारलाई पैसा दिन्छन् । विशुद्ध पत्रकारिता मात्रै गरेर जीवन यापन गर्ने पत्रकार अत्यन्तै थोरै छन्........।
‘मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरु’ शीर्षकमा तुलानारायण साहले ‘मिडिया अध्ययन ५’ का लागि तयार पारेको आलेखमा उल्लेख गरिएका वाक्यांशहरु हुन यी । मैले जेठ १६ मा राजबिराज सदरमुकामका दुई तस्बीर र आफ्नै गाउँ फकिराबारे लेखेको फेसबुक स्टेटसपछि तराई–मधेशका पत्रकार र पत्रकारिताबारे धेरै तथ्यहरु विभिन्न क्षेत्रका बौद्धिक वर्ग मार्फत् प्राप्त भएका छन् । ती सबै हेर्न भ्याएको छैन । तर, जति हेरेको छु, सिंगो पत्रकारकै शिर निहुंराउने खालका छन् । यो लेखि रहँदा कसैलाई आग्रह वा पुर्वाग्रह लाग्न सक्छ । तर, तितो सत्य के हो भने मधेसका केही पत्रकारहरुलाई डाम्न सक्ने आधार/प्रमाणहरु थुप्रै छन् । यही बाहनामा सबै पत्रकारलाई जेनेरलाईज गर्न भने सकिन्न, त्यो पक्षमा म छैन । धेरै ईमानदार पत्रकारहरु पनि रहेको ती बौद्धिक वर्गहरुले मसंगको साक्षात्कारमा बताएका छन् । खासगरी प्रदेश २ को
पत्रकारिताबारे तिनीहरुले पठाएका र संवादका क्रममा भनेका सबै तथ्यहरुप्रति मेरो आफ्नै रिजरभेसन छ । त्यसमा मेरो सहमति र विमति खोज्नु भन्दा पनि पर्दा पछाडि र पत्रकारितालाई बद्नाम गर्नेहरुलाई सार्वजनिक गर्ने दायित्व सबैको हो । त्यसैले जे मैलै पाएँ, सुनें त्यो यहाँ पस्कने जमर्को गर्दैछु । यहाँ एउटा कुरा भनि दिउँ, यो ब्लगको उद्देश्य कसैलाई होच्याउने, अपमान गर्ने, गिराउने वा गिज्याउने नियतले पक्कै लेखिएको होइन । यसमा लेखिएका कन्टेन्टहरु कसैसंग मेल खान गए त्यो संयोग मात्रै हुनेछ । यदि कसैलाई यसबाट चोट पुग्न गए क्षमायाचना गर्छु । एक जना पत्रकारका हैसियतले मैले सत्य सार्वजनिक गर्नैपर्छ, त्यो गरेको छु । यसै आधारमा कसैले मविरुद्ध साइबर बुलिङ गर्न सक्छन् । त्यसको प्रवाह मलाई पिटिक्कै छैन । यहाँ नाम सार्वजनिक नगर्ने सर्तमा मैले ब्लग लेख्न पाउने अनुमति पाएकाले त्यही अनुरुप जिल्लागत रुपमा आएका प्रतिक्रियाहरु यहाँ उल्लेख छन्
सप्तरी : केही बाहेक यहाँका अधिकांश पत्रकारहरु पैसा कमाउने धन्दामा छन् । गलत तरीकाले धन आर्जन गर्ने र राजनीतिक हैसियत बढाउँन तल्लिन छन् । पत्रकार कम पार्टीका कार्यकर्ता बढी छन् । नेपाली कांग्रेस, एमाले (विभिन्न गुट), माओवादी(गुटगत), जनता समाजवादी पार्टी(गुटगत) वा जातिय हिसाबमा पत्रकारहरु वर्गिकृत छन् । ज्ञानेन्द्र शाहको ‘कू’ पछि सप्तरीमा खोलिएको राष्ट्रवादी पत्रकार समाजका पदाधिकारीको नाम समेत भन्दै तिनीहरु पनि तत्कालिन पत्रकार महासंघको अध्यक्षबाट जातिय आधारमा विभेदमा परेको सप्तरीका बौद्धिक वर्गले बताएका छन् । उक्त विभेद त्यस बेला सतहमा आयो जब तत्कालिन सूचना तथा संचारमन्त्री टंक ढकाललाई राजबिराजमा स्वागत गर्नेहरुलाई गिरिजाप्रसाद कोइरालको नेतृत्वमा रहेको सरकारका गृहमन्त्री कृष्ण सिटौला राजबिराज आएका थिए । तत्कालिन कांग्रेस समर्थित पत्रकारले ढकाललाई स्वागत गर्नेहरुमध्ये पत्रकार महासंघका तत्कालिन अध्यक्षलाई सिटौलाको कार्यक्रममा प्रवेश गर्न दिए , अन्यलाई निषेध गरेको थियो । सप्तरीका पत्रकारहरु ठेक्कापट्टामा लागेको कुरा पनि आएको छ । त्यसको पुष्टि विभिन्न माध्यमबाट भएकै छन् । अझ पत्रकार महासंघको तत्कालिन अध्यक्ष समेत ठेक्कापट्टा धन्दामा लागेको पुष्टि नै भइसकेको छ । मैले पाएको जानकारी अनुसार केही पत्रकारले आफ्नो केरा खेतमा लाखौं रुपैयाँ खर्चेर पिच लगेको , आफ्नै श्रीमति र परिवारका अन्य सदस्यहरुको नाम राखेर उपभोक्ता समिति खडा गरी सरकारी विकास बजेटमा कुम्ल्याएको, विभिन्न ठेकेदार कम्पनीबाट रकम असुलेको र रकम दिन नमानेपछि समाचार बनाएको जस्ता आरोप लगाउनेहरु पनि भेटिएका छन् । अझ ती प्रमाणहरु समेत आफूसंग भएको भनेका छन् । गहिरो दुःख व्यक्त गर्दै तिनले भनेका छन्– अनि सडक नबनेको, पुल नबनेको, विजुलीबत्ती नपुगेको, स्कूलमा शिक्षकले नपढाएको, दलितमाथि बर्बर दमन भएको, महिलामाथि परिवारिक सदस्यबाट हिंसा भएको, स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले बजेटको दुरुपयोग गरेको ...........जस्ता समाचार पत्रकारले किन लेख्छन् ? के कसैले जानी–जानी दुधालू गाईलाई लठ्ठी हान्छ ? ....थुप्रै अनुत्तरित प्रश्नहरु ममाथि नन–स्टम तिनले तेर्साए । म निरिह जस्तै बन्न पुगें । अबाक पनि भएँ । ....थुप्रै कुरा छन् । सांकेतिक रुपमा मात्रै उल्लेख गरेको हुँ । आवश्यक परे नामसहित पनि सार्वजनिक गर्न सकिन्छ । तर, मेरो उद्देश्य सम्बन्धित पत्रकारलाई सचेत र सावधानी गर्ने मात्र रहेकाले त्यता जान चाहिनँ ।
सिरहा: यहाँका पत्रकारहरु अन्य ठाउँको जस्तै पार्टीगत, जातिगत, व्यक्तिगत, वर्गगत रुपमा विभाजित छन् । सबैभन्दा बढी यहाँका पत्रकारहरु प्रहरीमैत्री हुने गरेका छन् । अरुलाई शक्ति र पावरको धौंस देखाउनका लागि उनीहरुले त्यसो गरेको हुनुपर्छ । मलाई उपलब्ध केही नामावली र तस्वीरहरुले त्यो कुरालाई सहजै प्रमाणित गर्न सक्ने खालका छन् । यहाँ पनि केहीलाई अपवादका रुपमा छाडि दिने हो भने अधिकांश पत्रकार कम , पार्टीका कार्यकर्ता भएर बढी सक्रिय छन् । सिरहाका बुद्धिजीविले समाचार समेत कटिङ गरेर पठाएका छन् । अझ सरकारी संचार माध्यममा कार्यरत एकजना पत्रकारले पटक–पटक लहानका मेयरसंग फोटो खिचाएको र उसैको पक्षमा लेखेको दाबीसहित सामग्री पढाएका छन् । तिनले भनेका छन्– अव्यवस्थित बजारप्रति केही पत्रकारले त्यो बेला आबाज उठाउँछन्, जब लेनदेन मिल्दैन । अनि असल पत्रकार र पत्रकारिता र विकास पत्रकारिताको कुरा तपाई गर्नु हुन्छ...। ’ यी र यस्ता धेरै प्रश्न समेत ममाथि तेर्साए ।
धनुषाः सबैभन्दा बढी गुनासा धनुषा जिल्लाबाटै आएका छन् । पत्रकार महासंघका तत्कालिन बहालवाला अध्यक्षले नगरप्रमुख मात्रै होइन एक जना पत्रकारसंगै पनि लेनदेन डिल गर्न खोज्दा नमिल्दा आफ्नो गुट तिनीहरुविरुद्ध परिचालन गरेको त्यहाँका बुद्धिजीविले बताएका छन् । उनीहरुले भनेका छन्, ‘एक जना पत्रकारको चरित्र त यस्तो सम्म देखिएको छ, तिनी नेपाली कांग्रेस सरकारमा हुँदा त्यो पार्टीको मधेसी नेतालाई कामधेनू गाई बनाएर दुहिरहे । अचेल मधेसी दलका केही नेता र मन्त्रीलाई आफ्नो दुहूनो गाई बनाएका छन् । तिनका लागि दलगत सिद्धान्त, आचरण र चरित्र फगत रकम असुल्ने धन्दा बाहेक अरु केही होइन भन्ने प्रमाणित हुन्छ । अझ एक जना त पत्रकार महासंघमा अध्यक्ष पद्मा एउटा पार्टीबाट आधिकारिक उम्मेदवार बनाउने आश्वासन धेरै पहिले पाएका थिए । तर, आश्वासन जातिगत यू–टर्न गरेपछि ती पत्रकार बौख्लाहटको सिकार भए । अहिले तिनी आफैपनि जातिगत मोर्चा बनाउन तल्लिन देखिएका छन् । धनुषामा केही पत्रकारहरु प्रायोजित समाचार लेख्ने गरेको तथ्य समेत फेला परेको ती बृद्धिजीविले बताएका छन् । अझ धनुषामा दारु र मांसमा बिक्ने पत्रकारहरु धेरै रहेको तिनले दाबी गरेका छन् । विवादास्पद व्यक्ति प्रमुख भएर आएपछि तिनलाई फूलमालासहित स्वागत गर्दै फोटो सार्वजनिक गर्नेले जनताका हितमा पत्रकारिता गर्लान् भन्ने आश नगरेको भो– भन्दै आक्रोस समेत तिनले पोखे । जनकपुरमा एकै जनाको नाममा चार भन्दा बढी संचार माध्यम दर्तामा छन् । अब भन्नुस्–तिनले गर्ने पत्रकारिता कस्तो होला ? तिनले केका लागि पत्रकारिता गर्दैछन् यहाँ भनिराख्नु पर्छ जस्तो लाग्दैन । एक जना आफै संचारजगतको नेतृत्वमा छन् तर तिनले अरुलाई माथि उठाउनु भन्दा आफ्नो श्रीमतिलाई जिताउन पत्रकार महासंघको चुनावमा लागि परेका थिए– फेरी उही मधेसका असली पत्रकार रे भन्दै मलाई व्यंग्य सुनाए । जनकपुरमा सफाई अभियानका नायकका रुपमा चिनिने एक जना नेता जो पहिले आफै पनि पत्रकार थिए–तिनीविरुद्ध केहीलाई उचालेर बदनाम गराउने कुचेष्टा भएकोमा जनकपुरका ती बृद्धिजीविले दुख व्यक्त गरे । तिनले भन्दै थिए– एउटा दैनिक पत्रिकालाई पार्टी र त्यसको गुटगत समुहबाट प्रदेश २ को सबैभन्दा बढी विज्ञापन प्राप्त हुन्छ । तर तिनले लेखेको सामग्री पनि विवादमुक्त हुन सकेको छैन । ‘जता माल त्यतै ताल’ भन्ने उक्ति अचेल तिनले प्रमाणित गरेका छन । त्यसैले तिनले गर्ने पत्रकारिता आमनागरिकका लागि नभई आफ्नो लागि पैसा कमाउन मात्र भएको दाबी गरेका छन् । भूमाफिया, गुन्डा नाईके, भ्रष्टाचारी जस्ता उपाधिले डामिएका व्यक्ति केही पत्रकारलाई आफ्नो खल्तीको चेक बनाएका छन्, तिनलाई जुनबेला आवश्यक पर्छ– भजाउने गरेका छन् ।
क्रमशः
http://www.martinchautari.org.np/files/Media-Adhyayan/Media-Adhyayan-5_Commentary_Tulanarayan-Shah.pdf

Saturday, 15 May 2021

मधेसी परेनन् राजदूतको सिफारिसमा

मधेस केन्द्रित दल राजपाको महन्थ–राजेन्द्र गुटको समर्थनबाट सरकार जोगाउन सफल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको सार्वजनिक गरेको छ । बैशाख ३१ मा मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिंदै प्रस्तावित नाम संसदीय सचिवालयमा पठाइएको बताएका छन् । यो सिफारिसमा मधेसी, दलित, थारु, अल्पसंख्यकसहितका समुदाय परेका छैनन् । सिफारिसका लागि पठाइएको सूची हेर्दा ११ मध्ये आठ जना खसआर्य÷पहाडे ब्राह्मण (७२ दशमलव ७३ प्रतिशत), पहाडे जनजाति २ जना (१८ दशमलव १८ प्रतिशत) र मुस्लिम एक जना (९ दशमलव ०९ प्रतिशत) रहेको छ । यसमा एक जना महिला मात्र परेका छन् । कान्तिपुरमा देवेन्द्र भट्टराई लेख्छन्, ‘प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ अब प्रश्न छ के महन्थ–राजेन्द्र गुटले यो सरकार समक्ष मधेसीसहितका समुदायको समावेशिताका लागि आबाज उठाउन सक्लान त ?

Sunday, 9 May 2021

बदल्ने चाहना

एकजना सुफी फकीर जलालुदीन रुमीबारे धेरै पहिले कुनै एउटा पुस्तकमा पढेको थिएँ – जलालुदीन युवा छँदा उसले अल्लाह (ईश्वर/भगवान) संग प्रार्थना गर्दै बरदान मागे छन्, ‘हे अल्लाह! मलाई यति शक्ति देऊ कि म पुरै संसार बदल्न सकूँ ।’ अल्लाहले केही जबाफ दिएनन् । समय बित्दै गयो । रुमीले फेरी अल्लाहसंग अर्को बरदान मागे छन्, ‘ हे अल्लाह! मलाई यति शक्ति देऊ कि म आफ्नाहरुलाई बदल्न सकूँ ।’ यसमा पनि अल्लाहबाट कुनै जबाफ आएन । रुमी जब बुढा भए । अल्लाहसंग फेरी बरदान मागे छन्, ‘हे अल्लाह ! मलाई यति शक्ति देऊ कि म आफूलाई बदल्न सकूँ ।’ यसपटक चाहिं अल्लाहले मौनता तोडदै भन्यो, ‘रुमी ! तिमीले यही कुरो युवा अवस्थामा मागेको भए त्यति बेलै क्रान्ति भई सक्थ्यो ।’ हरेक मानिस अरुलाई बदल्ने ध्याउन्नमा त हुन्छन् तर समय छँदै आफूलाई बदल्ने चाहना राख्दैनन् ।

राजनीतिमा बोलकबोल

कुनै सानो गाउँको एउटा कथा छ । जहाँ दुई दाजूभाई गाउँको प्रमुख बन्न चुनाव लडिरहेका हुन्छन् । गाउँको कूल मतदाता मध्ये आधा–आधा दुवैसंग हुन्छ । अचानक गाउँकै एउटा रुखमुनि कपाल काटेर गुजारा गर्ने एक जना ठाकुर/हजाम समुदायका मानिस पनि मतदाता बन्न पुग्छन् । उसलाई गाउँलेहरुले पगलेट, मुर्ख भनेर हेप्ने गर्दा रहेछन् । उसको नाम मण्डेला रहेछ । यसो त उनको यो नाम पनि खाता खोल्ने बेला गाउँकै सहकारीमा कार्यरत महिला कर्मचारीले राखि दिएकी रहेछन् । खैर, अब गाउँको प्रमुुख को बन्ने भन्ने साँचो मण्डेलाको भोटमा अडिन पुगेछ । यो थाहा पाएपछि दुवै उम्मेदवारले मण्डेलालाई भाउँ दिन थाले छन् । महँगा कपडा, खानपान, पक्की घर, गाडी, पैसालगायत सबै सुविधाको वर्षा उनीमाथि गरी दिन्छन् । मण्डेलाले दुवैलाई आफ्नो मत दिने वाचा पनि गर्छन् र आफूलाई चाहिने सबै सुखसुविधा प्राप्त गरिरहन्छन् । केही दिनसम्म यो जारी रहन्छ । एक दिन ती महिला कर्मचारीले मण्डेलालाई नेल्सन मण्डेलाबारे जानकारी दिंदै एउटा मतदाताको मतको मूल्य बताई दिन्छिन् । मण्डेला अब गाउँको प्रमुखको प्रतिस्पर्धामा रहेका एउटा भाईसंग गाउँमा सडक मर्मत गर्न भन्छन् भने अर्को भाईलाई विद्यालयमा नयाँ कोठा थप्न भन्छन् । एउटा भाईलाई स्वास्थ्यलय बनाउन भन्छन् भने अर्कोलाई विजुलीको खम्भा गाड्न भन्छन् । अब प्रमुखका लागि भिडेका दुई दाजूभाई मण्डेलाको भोटको बोली (बोलकबोल) पुरै गाउँमा लगाउन पुग्छन् । त्यो पनि लाखौंबाट शुरु भई करोड रुपैयाँसम्म हुन्छ । दुवै दाजूभाईलाई थाहा छ कि मण्डेलामाथि एक/दुई करोड रुपैयाँ खर्च गरेपनि सौदा सस्तै पर्छ । किनभने कमिसन दिनेहरु करोडौ रुपैयाँ दिन जो तयार छन् । अहिले नेपालको राजनीतिमा के यो भन्दा केही फरक देख्नु भा’छ ? (स्केचको स्रोत:नागरिक दैनिक) ।

Tuesday, 4 May 2021

लाल बुझकर पत्रकार

एउटा चर्चित शब्द छ– नेपालीमा ‘लाल बुझकर’, हिन्दीमा ‘लाल बुझक्कड’ र अंग्रेजीमा ‘वाइजेकर’ । जसको अर्थ हुन्छ–यस्तो मुर्ख व्यक्ति जसले वास्तवमा केही जानेको हुँदैन, अटकलबाजी गर्छन र उटपट्याङ अनुमान लगाएर दुरुह कुरा गर्छन (पुस्तक डट ओआरजी) ।
पत्रकारितामा यस्तै लाल बुझक्करहरुका बारेमा यो ब्लग लेख्दैछु । सत्य र तितो छ, यथार्थमा आधारित छ । कसैको चित्त दुखे क्षमा गर्नुहोला । यहाँ उल्लेख गरिएको घटना सप्तरीमा एउटा दलितको हत्यासंग सम्बन्धित छ । घटना अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिनको हो अर्थात मे १ तारिखमा सप्तरी राजगढ–५ मलेकपुरका मुसहर समुदायका बुधु वा बुधन वा बुध (व्यक्ति एउटै तर नाम फरक–फरक मिडियामा छुट्टा–छुट्टै उल्लेख) को निर्ममतापूर्वक हत्या गरिएको जानकारी मैले सामाजिक संजालमार्फत् हिजो मात्रै (२०२१ मे ३ मा) पाएँ । त्यसको स्रोत सिरहाका एक जना दलित अधिकारकर्मी राजेश विद्रोहीको फेसबुक वाल बन्न पुग्यो । बिहानको समय थियो, एउटा निर्धन, निःसहायको हत्या भएको घटनाको खबरले मन मेरो कुडियो । अझ मेरै गाउँपालिका राजगढसंग सम्बन्धित घटना रहेछ । ध्यानाकर्षण हुनु स्वभाविकै थियो । म उकूसमुकुसमा परे, एउटा संचारकर्मीको नाताले के सहयोग गर्न सकिन्छ भन्दै धेरै बेर घोतलिए , एकोहोरिए । पछि कविता लेखेर सामाजिक संजालमा पोस्ट्याउने सोच बन्यो । कविता एकाएक फुर्यो, मैले लेखे अनि आफ्नो स्टेटस र राजेश जीको वालबाट फोटो लिएर पोस्ट्याउनुअघि गुगल गरे, बुधुबारे सामग्री कत्तै भेटिएन । फेरी बिहानीको एफएमहरुको समाचारमा पनि उक्त घटनाबारे केही सुनेको थिइनँ । अत्यन्तै सम्वेदनशील विषयमा मिडियाहरुमा कभरेज नदेख्दा मन झनै खिन्न भयो । त्यसपछि मैले आफ्नो सामग्री फेसबुकमा पोस्ट्याएं–
स्टेटस राखेको झण्डै एक घन्टापछि मेरा सहकर्मी समेत रहेका प्रिय भाई अवधेशकुमार झाको स्टेटस आयो । स्टेटसमा लेखिएका शब्दावलीहरु पढ्दा दुःख लाग्यो । मैले कसैलाई मेन्सनै नगरी लेख्दा पनि अवधेश भाईको चित्त साह्रै दुखेको रहेछ, मेरो स्टेटसबाट । केही बेरमा उनले कान्तिपुरको लिंक समेत पठाई आफ्नो कार्यलाई पुष्टि गर्ने प्रयास गरेका रहेछन् । जुन आवश्यक थिएन । तरपनि उनको त्यो कार्यलाई स्वभाविकै ठानेर ‘गुड’ र ‘थ्याङ्क्स’ लेखिदिएँ ।
मेरो स्टेटसमा उनको प्रतिक्रिया विरलै आउने गरेको अवस्थामा यो प्रतिक्रियाले म अचम्भित पनि भएँ । उनको यो स्टेटस एउटा पत्रकारको जस्तो नभएर दलिय स्वाँठहरुको जस्तो आएको देखेर खिन्नता बोध भयो । भाई अवधेशलाई पेशागत व्यवसायिकतामा जोड दिन आग्रह छ । भाईले अझै म्याच्युरिटी देखाउनु पर्छ । पत्रकार महासंघको नेतृत्व गरिसकेको अवस्थामा सप्तरीकै एक जना अग्रज पत्रकारको नाम उनको देहवसान भईसकेको कयौं दिनपछि पनि त्रुटिपूर्ण रहेकोले सच्चाउन भाईलाई सुझाब पनि छ । नाम, थर र फ्याक्टहरु क्रस चेक गरी मात्रै लेख्नुपर्छ । होइन भने विश्वसनीयता घट्छ । साथै, सामाजिक संजालमा स्टेटस लेख्दा काम गर्ने संस्थालाई लज्जित बनाउने गरी अशुद्ध लेख्नेहरुको झुण्डमा सर्वोत्कृष्ट बन्ने प्रयास नगर्दा राम्रो होला । पत्रकारितामा तपाईको सक्रियता र योगदानको खाँचो सप्तरीलाई धेरै छ । एउटा अग्रजको नाताले यति चाहिं सुझाब दिएको हुँ । लाल बुझक्कड पत्रकार नबन्नु । बरु संकेत चाल पाएर सर्तक र सावधान हुनु ।
मेरो वालमा सप्तरीका अर्का पत्रकार एवं ‘मानवअधिकारवादी’ समेत रहेका मनोहर पोखरेल जी पनि आफ्नो सप्रमाण प्रस्तुत भए । मेरो वालमा उनले प्रतिक्रिया लेखेको मलाई सम्झना छैन । तर, उनको यो प्रस्तुति बडो अनौठो लाग्यो । बिना नाम मेन्सनकै ‘पत्रकार’ र ‘अधिकारकर्मी’ लेख्दा पनि उनी तेब्बर रुपमा आफैलाई भनेको जस्तो गरी प्रस्तुत हुनुले दुखी बनायो । के सप्तरीमा उनी मात्रै अधिकारकर्मी र पत्रकार हो ? मैले चिनेको पत्रकार मनोहर पोखरेल शालिन व्यक्तित्वको धनी भन्ने हो । तर, मेरो त्यो ‘हाइपोथेसिस’ उनको यो एउटै स्टेटसले फेल गरी दिएको छ । शायद प्रिय मनोहर जीलाई राजेश विद्रोहीको नाम मेन्सनबाट ईष्र्या रहेछ, त्यसैले त मोफसल र काठमाडौंको विषयवस्तुलाई आक्रोशित भावमा लेखेका रहेछन् । तपाई मानवअधिकारवादी पनि हो, के मैले एउटा पीडितको पक्षमा लेख्नै नहुने हो ? गलतलाई गलत भन्न सक्ने ल्याकत मसंग छ । गल्ति गर्नेको नामै मेन्सन गरेर लेख्ने शायद कोही संचारकर्मी छन भने ती मध्ये एउटा म पनि हो । एउटा दलितको निर्ममतापूर्वक हत्या भएको घटनामा पीडितले जसरी पनि न्याय पाऊन भन्ने चाहना मात्र मेरो थियो, हो । कसैप्रति म आग्रह वा पूर्वाग्रह बन्नु पर्ने कारणै छैन । अर्को कुरा, कसैको भावनामा आघात पुर्याउने आशय वा उद्देश्यले मैले आफ्नो स्टेटस लेखेकै हैन, छैन । हो, त्यस्तो कसैलाई लागेको छ भने त्यो उसैको कमजोरी र समस्या हो । यसमा म के पो गर्न सक्छु ? यो स्टेटसको एउटा सुखद पक्ष चाहि के
अनुभव गरे भने– सप्तरीया पत्रकार र मानवअधिकारकर्मीहरु स्थानीय संवेदनशील घटनाप्रति प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सचेत/सतर्क छन् , कसैले उनीहरुको काम र सक्रियताको क्रेडिट दिओस् भन्ने चाहना पनि उनीहरूमा रहेछ । यो स्वभाविकै पनि हो । तर, कसैको नामै मेन्सन नगरिए पनि कुनै प्रतिक्रियालाई आफूमाथि ‘प्रहार’ बुझ्नु चाहिं उनीहरुको कमजोरी हो । त्यसैलाई टेको समेत बनाई प्रतिक्रिया दिनेविरुद्ध खनिनु अर्को गम्भिर त्रुटि हो । गम्भिर र संवेदनशील घटनाप्रति मेरो ध्यानाकर्षणपछि लाल बुझक्कड भई तपाईहरुले जुन प्रतिक्रिया र आक्रोश पोख्नु भएको छ, त्यसलाई सकारात्मक रुपमा लिएको छु । तर, तपाईहरु सच्चिनै पर्ने स्पेस अझै छ । जस्तै–
१.एउटै क्षेत्र र स्थलबाट गरिएको तपाईहरुको रिपोर्टिङमा मृतकको नाम कुनैमा ‘बुधु’ र कुनैमा ‘बुध’ वा ‘बुधन’ भनेर आएको छ । (कान्तिपुरमा ‘बुधु’, अन्नपूर्ण पोस्टमा ‘बुधन’, गोरखा पत्रमा ‘बुध’....) कुन चाहिं सहि हो ? यस्तो त तब मात्रै हुन्छ जब सतही रिपोटिंङ गरिन्छ वा कसैको भनाईमा गरिने रिपोर्टिङमा मात्रै यस्ता त्रुटि आउने हो । कसले, कहाँ र कसरी त्रुटि गरे– त्यसमा सचेत हुनुपर्छ र सच्चिनु पर्छ ।
२. नयाँ पत्रिकाकर्मीले पोस्टमार्टमका लागि शवलाई धरान पुर्याउन शववाहनका लागि गरेको १० हजार आर्थिक सहयोग अत्यन्तै प्रसंशनीय कार्य हो । यो सहित अन्य सहयोगी हातहरुलाई सलाम र सम्मान छ । पीडित परिवारको दयनिय आर्थिक अवस्था छ । राजबिराजमा पोस्टमार्टम् हुन नसक्दा धरान लानुपर्ने बाध्यता बुधु जस्ता निमुखा परिवारले अब झेल्न सक्तैनन् । यो विषयमा साइड स्टोरी गर्न सकिन्छ । त्यो तपाईहरुबाट हुन जरुरी छ ।
३.सप्तरी गाउँ नै गाउँले भरिएको जिल्ला हो । त्यसैले गाउँघरमा धेरै बेथितिहरु छन् । स्थलगत रिपोर्टिंग मार्फत् उजागर गर्नुस् । दक्षिण भेगका जनताका लागि स्वास्थ्य, यातायात र शिक्षामा अझै पहुँच छैन । यता पनि ध्यान पुगोस् । जिल्ला प्रशासन, प्रहरी कार्यालय, अस्पताल वा अदालतमा आएको विषयहरुलाई मात्रै समाचार नबनाउन आग्रह छ । सिरहा रोडको दास पेट्रोल पम्पमा बर्सौदेखि टेम्पोमा सिन्डिकेट लगाइएको छ । त्यहा गैरकानुनी रुपमा असुली हुने गरेको छ । त्यसलाई निर्मूल पार्ने गरी रिपोर्टिंग गर्नुस् ।
४.बिना लाईसेन्सको भाङ पान पसलमा छ्याप्छयाप्ती झुन्ड्याइएका हुन्छन् । यो गैरकानुनी हो । पान पसलबाट यी सामग्री यसरी बेच्न पाईन्न । यत्तातिर पनि तपाईहरुले रिपोर्टिंग गर्नु पर्ने देखिन्छ ।
५.सोसस इस्युहरुमा सामग्रीहरु कम देखिएका छन् । त्यता पनि ध्यान दिनु जरुरी छ ।
६.गाउँघरमा अनाधिकृत रुपमा जाँड पसलहरु खोलिएका छन् । त्यहाँ पाइने रक्सी कमअसल खालका भएकाले धेरै जना बिरामी हुने गरेको र केहीको ज्यान पनि गएको छ (केही महिनाअघि मेरै गाउँका दुई जना बिते) । यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
यी त केही प्रतिनिधिमुलक उदाहरण मात्रै प्रस्तुत गरें । अन्य मुद्दा र सवाल पनि हुनसक्छन्, खोजिनीति गर्दै उजागर आवश्यक छ । अन्त्यमा तपाईहरुले लेखेको समाचारमा जन–जनको पहुँच किन हुन सकेन ? एउटा सोचनिय बिन्दू यो पनि हो । बुधुकै समाचार सामग्री गुगल गर्दा अपेक्षा गरे अनुसारको भेटिएन । शेयर पनि किन कम भए ? यी र यस्ता कारण पनि खोतल्नु पर्छ । यो इस्युमा भोला पासवान जी को रिपोटिंगलाई डिटेलमा नया पत्रिकाले बैशाख २१ मंगलबार ७ः३२ बजे पोस्टाएको छ । यो सामग्री तयार पार्दासम्म ६१८ शेयर छन् । त्यस्तै, मनोहर पोखरेलजीको रिपोटिंगलाई अन्नपूर्ण पोस्टले बैशाख १८ मा २२ः०७ बजे पोस्टाएको रहेछ । यो सामग्री तयार पार्दासम्म एउटा पनि शेयर छैन ।
मनोहरजीले पठाएको लिंकमा पनि शेयर छैन । कान्तिपुरमा अवधेश झाको यो विषयको समाचार वैशाख १९ गते ९ बजेर ४ मिनेटमा पोस्ट्याउँदा ८५ शेयर मात्रै पाएको छ । बरु मधेस लाईभले बैशाख १८ गते २०ः०६ बजे पोस्ट्याएको समाचारले ‘एक दलमलव एक के (एक हजार भन्दा बढी) शेयर पाएको छ । गोरखा पत्रको अनलाइनमा यो सामग्री छैन , प्रिन्ट भर्सनमा भने छ , शेयर गर्ने संख्या खुल्दैन । सामाजिक संजालमा मैले शेयर गेरको यो संग सम्बन्धित सामग्रीले बरु राम्रो माइलेज पाएको छ । यहाँ सुझाब छ: सम्वेदनशील विषयबारे आएको समाचारहरु सम्बन्धित संस्थाका पत्रकारहरुले सामाजिक संजालमा शेयर गर्दा
बढी भन्दा बढीमा सूचना सम्प्रेषण हुने भएकाले यतातिर पनि ध्यान दिने हो कि ? यो घटनामा पीडित परिवारलाई सहयोग र न्याय दिलाउने प्रयासमा संलग्न सुनिता साह, शिवकुमार राम, राजेश विद्रोहीसहित अन्य संचारकर्मीलाई धन्यवाद र आभार । पीडीतले न्याय पाऊन, निर्दोषमाथि अन्याय न होस् !
सामाचारका लिंकहरु
https://ekantipur.com/pradesh-2/2021/05/02/161992556957212773.html
https://www.nayapatrikadaily.com/news-details/63626/2021-05-04
http://annapurnapost.com/news/178930
https://madheshlive.com/2021/05/8854?fbclid=IwAR3Cwoyimhsg-bQSvLk3MngbTEwMOgC4FUyev8p0md8fwfY0ChPAdLsAkoo
https://www.nepalpostdainik.com/npd/2021/05/01/17548/
https://www.nepalkhoj.com/2021/05/03/87956/?fbclid=IwAR2hvp86niF3yz_lriB5v8eeUfn9gbLDBlkb62nXFmz_rByg2-_2bYeqzvU