wदिनेश यादव
| Dinesh Yadav,Writer |
मधेस केन्द्रित दलका अधिकांश ‘हेभिवेट’ नेताहरुले पछिल्लो निर्वाचन जित्न सफल भएका छन् । चुनावमा वाम भर्सेज प्रजातान्त्रिक गठबन्धन भनिएपनि मधेसी भर्सेज वाम–प्रजातान्त्रिक गठबन्धन नै थियो । निर्वाचन परिणामले त्यस्तै देखाएको छ । नेपाली कांग्रेसको दोहोरो चरित्रले उसको आधार केन्द्र गुमेको छ । त्यसका ‘हेभिवेट’ भनिएका नेताहरुले पराजयको सामना गर्नु परेको छ । उक्त पार्टीमा रहेका केही ‘दम्भी’ नेताहरु मधेसीका नाममा नेतृत्वमा पुग्ने तर मधेसका लागि एउटा सिंकोसम्म नभाँच्ने खालका हैसियतमा थिए । तिनीहरुमा अहम्वाद र जातिवाद परकाष्टामा पुगेको थियो । विरासतमा पाएको राजनीतिक अवसरलाई व्यक्तिगत स्वार्थसिद्धीमा लगाएका थिए । भन्नका लागि आफू राष्ट्रिय पार्टीका राष्ट्रिय नेता भन्थे तर सिंगो मधेस भन्दा पनि आफ्नो गाउँ–क्षेत्रमा मात्रै केन्द्रित र सीमित भएका थिए । त्यस्ता नेतालाई जनताले यसपटक धुलो चटाएर राम्रै सबक सिखाएको छ । आफूखुशी निर्वाचन क्षेत्र बनाउने र मधेसी दलका नेताहरुलाई कमजोर बनाउने गरी भूगोलको रेखा कोर्ने मतियारहरु यसपटक हारेकोमा जनतालाई आत्मसंतुष्टि पक्कै मिलेको हुनुपर्छ । नेपाली कांग्रेस त एउटा उदाहरण मात्रै हुन । आफूलाई प्रमुख दलको कित्तामा राख्नेहरुको हैसियत पनि विगतमा त्यस्तै देखियो । मधेसका आन्दोलनकारी शक्तिहरुसंग सम्झौता गर्ने तर माग संवोधनको अवस्था आउदा आनाकानी गर्ने नियत तिनीहरुको पनि छँदै थियो, छ । वामपन्थी वा प्रजातान्त्रिक कित्तामा आफूलाई राख्न रुचाउनेहरुले मधेसलाई संधै आफ्नो विर्ता ठाने, मत आफ्नै तर मतदातालाई गैर ठाने, मधेस आफनै तर मधेसीलाई आफ्नो कहिले ठानेनन्, त्यहाँको कर आफ्नै तर विकासलाई कहिले आफ्नो दायित्व ठानेनन् । त्यसैले यी दुई कित्तावालहरु संधै मधेसमा ‘बुख्याचाहरु’ को खोजीमा मात्रै लिन रहे । मधेसमा ‘बुख्याचा’ बन्ने चाहना राखेकाहरु पनि छयाप्छयाप्ती भेटिने गरेकै छन् । त्यस्ताको मुखमा पनि बुँझो लगाई दिने काम मधेसका जनताहरुले यसपटक गरे । मधेसी जनता कसैका दास र रैति हैनन भन्ने प्रमाणित पनि तिनीहरुले गरिदिएका छन् । त्यस्तै, दामाच्युपै (दारु, मासु, च्युरा र पैसा) मा भोट किन्न सकिने पुरानो मानसिकताले ग्रस्त भएकालाई पनि यसपाली मतदाताहरुले गजबले पाठ सिकाए । तर, केही ‘शो–पिस’ को नमुना बनेकाहरु हुलमुलमा विजय भएका छन्, तिनीहरुबाट जनताले पहिले भन्दा बढी भुमिका हेर्न चाहेका छन् । अब, हेर्न बाँकी छ, तिनीहरुको प्राथमिकतामा मतदाता छन या सीमित हुल,झुण्ड र समूहको प्रतिनिधित्व गर्ने नेताहरु छन् ?
राजधानी र तराई–मधेसका सहरमा बसोबास गर्ने सम्भ्रान्त, शिक्षित वर्गहरुको मुखारविन्दूबाट बढी सुनिने शब्द हो, ‘मधेसका अधिकांश मानिस मूर्ख र बेइमान हुन्छन ।’ एक्टिभिस्ट मधेसीलाई यी दुईटै आरोपले झनक रिस उठ्न सक्छ । तर सम्भ्रान्तहरुले दिएको तर्क धेरैलाई सही लाग्न थालेको छ । उनीहरु भन्छन्, ‘बेईमान दुई प्रकारका छन्, एउटाले बेइमानी अन्यन्तै नम्र स्वभावले गरिरहेका छन भने अर्कोले शान देखाएरै बेइमानी गरिरहेका छन् । यस्तो अवस्थामा कुनै ईमानन्दार व्यक्तिले ती बेइमानमाथि आरोप लगाएको अवस्थामा, उल्टै उसैमाथि हजारौं आरोप लगाई दिने गर्छन ।’ त्यसैगरि, मुर्खका बारेमा उनीको तर्क छ, ‘मधेसमा मुर्ख पनि दुई किसिमका छन् । एउटाले आफूलाई नम्र भावमा मूर्ख थान्छन र अर्को महामूर्ख हुन्छन, तर आफूलाई ठूलो विद्वान ठान्छन, साँच्चै विद्वान भएकाहरुलाई मुर्ख प्रमाणित गर्ने प्रयासमा तिनीहरु रहेका हुन्छन । आफनै समस्या समाधान गर्न नसक्ने तर अरुलाई सलाह दिदै हिड्नेहरु चैते स्वभावका हुन्छन् । यिनै चैतेहरुका कारण देश÷दुनिया विग्रेको हो । माथि उल्लेखि दुई तर्कहरु तराई–मधेसमा क्रियाशिल संघ÷संस्थादेखि पार्टीहरु समेतमा पाइन्छ । तिनीहरुका कार्यकर्ताको मानसिकता पनि यस्तै हुन्छ । पार्टीहरुमा देखिएको पत्निभक्ति र पार्टी कार्यालय तोडफोड तथा गैरसरकारी संस्थाहरुमा अर्धाङ्गिनीभक्ति र जातिय धङधङ्गीलाई यसको प्रतिनिधिमूलक उदाहरणका रुपमा लिन सकिन्छ । यी र यस्तै कारणले मधेस र मधेसी समुदाय पछाडि परेको हो । समयमै मुर्ख र बेइमानहरुलाई चिन्न नसक्दा समस्या जटिल बन्दै बनेको हो । मधेसका युवाजतिलाई नेताहरुको झोला बोक्नैबाट फुर्सत छैन अनि साठी क्रस गरेकाहरुबाट क्रान्तिकारी निर्णयनै हुन नसक्ने अवस्थालाई अब चिर्नु पर्छ । मुर्ख बनाउने बेइमानहरुसंग मधेस र मधेसीलाई बचाउन सकिए त्यस क्षेत्रमा तत्कालै कायापलटको सम्भावनालाई नकारार्न सकिन्न ।
अर्को कुरा, पछिल्लो निर्वाचनमा मधेसी र गैर–मधेसी नेता तथा पार्टीका अध्यक्षको जीतमा यसपटक ठूलो अन्तर देखियो । केही बाहेक अधिकांश मधेसी नेताहरुको जीत झिनो मतान्तरले मात्रै भएको छ । त्यसैले आफ्नो क्षेत्रको विकासमा जोड नदिएको अवस्थामा अगामी निर्वाचनमा ती नेताहरुको आफ्नै संसदिय या प्रदेशसभा सिट गुम्ने निश्चितप्रायः छ । किनभने कुनै पनि मधेसी नेताका लागि सुरक्षित र आरक्षित क्षेत्र एउटा पनि छैन । ‘ह्रदेयश त्रिपाठी प्रवृति’ भएकाहरु विकास नगरेपछि, जनताको घरदैलोमा नपुगेपनि जित्न चाहीँ सक्लान, तर शान र मान चाहीँ पाउने छैन । अधिकांश मधेसी नेताहरु आ–आफ्नो क्षेत्र या जिल्ला परिवर्तन किन गर्नु पर्यो भन्ने कुरोको हेक्का राख्नै पर्ने देखिन्छ । पछिल्लो चुनावमा नेताहरु जनता भन्दा पनि जातिय भोटका आधारमा निर्वाचन जितेका छन् । यसमा केही अपवाद पनि होलान । तर, सत्यता यही हो कि जातियताकै आधारमा धेरैजसो नेताहरु निर्वाचन जितेका हुन । जातिकै भोट लिएर विजय बनेका नेताहरु अब जातिबाद, परिवारवाद, आफन्तवाद, नाताबाद लगायतबाट माथि उठेर अघि बढनुको विकल्प छैन । कांग्रेस र बामपन्थी दलहरुमा रहेका मधेसी नेताहरुले जस्तो जातियताको पगडी टाउकोमा राखेर हिड्ने हो भने ‘हेभिवेट’ नीधिको हालत धेरैले भोग्नै पर्नेछ । साम, दाम, दण्ड र भेद अप्नाउँदा पनि ‘बिचरा’ भन्दा माथि तिनी उठ्नै सकेनन् । हाल तिनी आफ्ना मतदातालाई रिझाउने कार्यलाई एक सुत्रिय अभियानका रुपमा अघि बढाएका छन् । त्यही अभियानको एउटा पाटोको रुपमा एक जना भिसीको नियुक्ति गरेको कुरा कसैबाट लुकेको छैन । त्यसैले अरु लडेको देखेर पनि शिक्षा प्राप्त गर्न सक्नु पर्छ । यसका लागि लड्नै या खस्नै पर्छ भन्ने छैन । भूमाफिया गिरोहका नाइके जीवनाथ चौधरीदेखि संजय टकला र सिरहाका जेलर कर्णसम्मलाई उपयोग गर्दा पनि धनुषाको जनताले नपत्याउनुको पीडा त्यहाँबाट पराजित हेभिवेटहरुबाहेक अरु कसलाई पो थाहा होला । त्यसैले सम्बन्धित महानुभावहरुको चेत खुलोस भन्ने अपेक्षा जन–जनको छ ।
राष्ट्रिय जनता पार्टीमा अध्यक्ष मण्डलका वरिष्ठ नेतामध्येका एक रहेका महन्थ ठाकुर अब शारिरीक रुपमा थिल्थिलो बन्दै गएका छन् । भनिन्छ, पार्टीमा उनका निकट रहेका गलत मानसिकता भएका मानिसका कारण राजनीतिक प्रभाव समेत कमजोर बन्दै गएको छ । पार्टीमा सद्भावना पार्टी पृष्ठभूमिका राजेन्द्र महतो हावी हुँदै गएका छन् । पछिल्लो निर्वाचन परिणामले पनि त्यसको पुष्टि गरिदिएको छ । प्रतिनिधि सभा मात्रै हैन, प्रदेश सभामा समेत महतो निकट सांसद र विधायकको बढी जीत भएको छ । यसो हुुनुको प्रमुख कारण ठाकुर उमेर कै कारणले सबै कार्यकर्तासंग राम्ररी खुलेर बोल्दैनन भने महतो यो मामिलामा अलिक अगाडि रहेका छन् । पछिल्लो समय समानुपातिक प्रतिनिधिहरुको सूचिलाई लिएर पनि अध्यक्ष मण्डलका ठाकुर धेरै आलोचित बनेका छन, प्रदेश सभा प्रमुखका रुपमा गरेको सिफारिसका कारण उनको आलोचना सामाजिक संजालमा खुबै हुने गरेको छ । यसमा यो पनि हुन सक्छ कि पार्टीभित्रै उनलाई कमजोर बनाउने चाहना राख्ने नेताहरुले गलत प्रचारवाजी गर्न यी टुल्सहरु प्रयोग गरेका हुन । यदि यो हो भने पार्टी कार्यकर्ताहरु एउटै छतरी मुनि लामो समयसम्म नअटाउने स्थिति पनि आउन सक्छ । छ टाउके एकाकार बनेपछि तिनका अधिकांश कार्यकर्ताहरु अलमलमा छन् । त्यो अलमल हटाउन सक्ने र आफ्नो संरक्षकत्व प्रदान गर्न सक्ने नै अगामी दिनमा राजपाको प्रभावशाली नेता बन्ने छन् ।
अन्त्यमा, सही नारा र मुद्दा बोक्न नसक्ने दलहरु संधै पछाडि पर्छ । एमालेले ‘राष्ट्रियता’ को मुद्दा उठाएर अघि बढयो ठूलो पार्टी बन्यो, माओवादी केन्द्रले वामबन्थीसंग एकिकरणको मुद्दालाई अंगिकार गर्दै एमालेसंग विलयका नीति लियो, राम्रो प्रदर्शन गर्यो । कांग्रेस बिना मुदाकै निर्वाचनमा गयो, फितलो प्रदर्शन गर्दै आफ्नो आधारभूमि तराई–मधेसलाई गुमाउनु पर्यो । मधेसवादी दलहरु संघिय फोरम र राजपाले गठबन्धनका रणनीति अंगिकार गर्दै मधेसीको मुद्दालाई जीवितै राख्ने वाचाका साथ अघि बढ्ला पछिल्लो निर्वाचनमा अपेक्षाकृत बढी सफलता हात पार्यो । तर, मधेसी दलहरुको प्रदर्शन सप्तरीदेखि पर्साका आठ जिल्लामा मात्रै राम्रो देखिएकोे छ । यसले ती दलहरुको ‘एक मधेस’ या ‘दुई मधेस प्रदेश’को नारालाई कमजोर बनाई दिएको छ । त्यसैले अबका दिनमा मधेस केन्द्रित दलहरुले संगठन विस्तार र जनताका घरदैलोमा विकास पुर्याउने कार्य तथा मधेसका बाँकी मुद्दाहरुलाई सम्बोधन गराउने तर्फ सजक, सचेत र सक्रिय भूमिका निर्वाह गर्नै पर्ने देखिन्छ । मधेसमा अब ‘बुख्याचा’ हैन ‘हेभिवेट’को खाँचो छ । ( २ माघ २०७४ मा युवा डटकमका लागि लेखिएको मेरो आलेख)
No comments:
Post a Comment