पत्रकारितामा मौलाउँदै गएको पैसाकारिता
मुद्दा र उद्देश्यहीन बन्दै गएको नेपालको पत्रकारिता । यहाँका केही पत्रकारहरू व्यापारीको भुमिकामा देखिन थालेका छन् । समाचार सामग्री मात्रै होइन अखबारको अस्थिपंजर ठानिने सम्पादकीयलाई समेत उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका साधन बनाउने समेत चुकिरहेका छैनन् । त्यसैले त अन्य मुद्दाहरुलाई छाँयामा पार्ने गरि उनीहरूले महिनौसम्म पनि एउटै विषयवस्तुलाई संपादकीय बनाई रहेका छन् । खासगरि मधेस मुद्दामा क्रियाशिल वा केन्द्रित केही कथित मिडियाहरू एक सुत्रिय मागका रुपमा संचार समावेशिकतालाई अघि बढाएका छन् । नेपालको संचार क्षेत्र र त्योसंग सम्बन्धित संस्थाहरुमा समावेशिकता नरहेको कुरा अब नौलो रहेन । तर पद प्राप्ति र विदेशको भ्रमण टोलीमा आफ्नो सहभागिताकै पत्रकारिता र संपादकीय या प्रेस सामग्री प्रकाशित गरेर संचार क्षेत्रमा समावेशिकरण सम्भव छ त ? यो यक्ष प्रश्नबारे पत्रकारहरुले सोच्नै पर्ने बेला आएको छ । नेता, मन्त्री र पार्टीका कार्यरतालाई कामधेनु गाई बनाएकाहरुले मात्रै यस प्रकारको कार्य गर्न सक्छन् । गाईलाई दूध देउञ्जेल घाँसपात, दिन छाँडेपछि मुंग्रो बर्साउने स्थितिले त्यसता पत्रकारिता गर्नेहरुको गलत मानसिकता र दरिद्र सोचलाई उजागर गरेकै छ । त्यसैले मुलुकलाई वर्तमान जटिल परिस्थितिबाट त्राण दिलाउनका लागि पनि त्यस्ता पत्रकार÷संपादक÷प्रकाशकले पत्रकारिता गर्दा अनुचित हुनेछैन । जातिगत पत्रकारिता छाँड्दै सर्वेतु सुखिनः को भावलाई अनुशरण गर्दै अगाडि बढे पत्रकारहरु देवतुल्य पक्कै हुनेछन् । अमूक मन्त्रिले आफूलाई अमुक निकायमा नियुक्ति गरेन भन्दै अमुक व्यक्तिको खैरो खन्दै हिड्नु कुनैपनि दृष्टिकोणले राम्रो पत्रकारिता मानिदैँन । भनिन्छ, पत्रकारिता जनसंचारको सबैभन्दा सुलभ, सस्तो र सशत्तः साधन हो । नेपोलिन बोनापार्टले पनि भनेका थिए कि चार विरोधी अखबारहरूको मारक क्षमताका अगाडी हजारौं बन्दुकको शक्ति पनि बेकार हुन्छ । यही कुरा भारतका लोकप्रिय कवि अकबर इलाहाबादीले यसरी भनेका थिए, ‘जब तोपको मुकाबिला गर्नु छ भने अखबार निकाल । अमेरिकी पूर्व राष्ट्रपति ज्याफरले पनि पत्रकारितालाई विश्वमा मन्त्र झै उच्चारण गर्ने गरिएको उल्लेख गर्दै भनेका थिए, ‘स्वतन्त्र प्रेसबिना लोकतन्त्र एक पाइला पनि अघि बढ्न सक्तैन ।’ अतः पत्रकारिता लोकतन्त्र र अधिकार प्राप्तिको लडाई लड्नेहरुका लागि प्राणवायु हो । त्यस्तै, पत्रकारिताको मुख्यतः तीन काम हुन्छ– विभिन्न गतिविधिहरूको सूचना दिनु, जनमतलाई अभिव्यत्तः गर्नु र संचित सूचनाहरूका आधारमा जनमत तयार गर्नु । त्यसैले त यसलाई राष्ट्रको तीन स्तम्भहरु ः विधायिका, कार्यपालिका र न्यायपालिकापछि चौथो स्तम्भ भनिएको हो । नेपाली पत्रकारिता कुनै बेला मिशन जर्नलिज्मलाई आफ्नो ध्येय बनाएको थियो भने अहिले विशुद्ध व्यवसायमा परिणत भएको भनिने गरिएको छ । तर केही संचारकर्मीको व्यक्तिगत स्वार्थ, दम्भ र द्रव्य मोह तथा जातिय धङधङतीका कारण पत्रकारिता पेशा बदनाम हुँदै गएको छ । अहिलेका संचारकर्मीहरु संसाधन, सुविधाहरू र ऐशो–आरामलाई बढी रुचाउन थालेका छन् । आफ्नो कामप्रतिको निष्ठा विर्सदै गएका छन् । सही सूचना दिनुको साटो अनाप–सनाप लेखेर अखबारका पन्नाहरु मात्र भर्ने गरेको भान हुन थालेका छन् । केही पत्रकारहरुले आफ्नो हैसियत सरकारी कार्यालयका बाबुसाहेब जस्तो बनाउँदै लगेका छन् या यसका लागि उद्दत देखिएका छन् । सुविधा प्राप्ति, राम्रो जीवनशैली बिताउने अवसरको खोजिले पत्रकारप्रतिको सम्मान जन–जनमा घट्दै गएको छ । बौद्धिक प्रखरता, लेखनप्रतिको इमान्दारिता र अध्ययवसाय जस्तो गुणहरूको क्षयिकरणले पत्रकारिता राम भरोसे चल्ने अवस्थामा पुगेको छ । एक विद्वानले भनेका पनि छन्– पत्रकारहरुको दिमाग प्याशुट जस्तै हुन्छ, उसले त्यो बेला मात्रै काम गर्छ जब खुला हुन्छ । तर जाति र पार्टी भन्दा माथि उठ्नै सकेका छैनन्, नेपालका पत्रकारहरु । यसमा आफूलाई मधेसी पत्रकारिताको मियो थान्ने केही कथित संपादक÷प्रकाशक तथा पत्रकारिताको ‘प’ समेत थाहा नपाएकाहरूको नेतृत्वमा रहेको संचार संस्थाका कारण मधेसीमुलका संचारकर्मी दिनप्रतिदिन बद्नाम बन्दै गएका छन् । यसलाई रोक्न सरोकारवाला सचेत हुनैपर्छ ।
अतः मधेसी लगायतका सबै संचारकर्मीले के बुझ्न जरुरी छ भने रिपोर्टरहरू पत्रकारिता रुपी रथ हुन भने सम्पादनसंग जोडिएका पत्रकार त्यसको लगाम र सारथी । त्यस्तै, रिपोर्टर अखबारका आखाँ, कान र नाक हुन भने सम्पादकहरु पत्रकारको मुटु र दिमाग । पत्रकारहरुको भाषामा पक्कड, आफ्नो कर्तव्य, समाचार बोधको विकास, शब्दहरूको सामना, राम्रो लेख्ने शैलीलगायतको जानकारी बिनै पत्रकारिता गर्नेहरुको भीडका कारण यहाँ धेरै समस्या सिर्जित हुँदै गएका छन् । त्यसैले त अहिले केही संचारकर्मीहरु पत्रकारिता होइन पैसाकारिता र पार्टीकारितामा जुटेका छन् । फलस्वरुप पत्रकारका नाममा समाजमा केही शैतानहरुको जन्म भएको छ, देश, मधेस र समाजमा ।
अन्त्यमा, पत्रकारहरुले पत्रकारितालाई गम्भिर र व्यावहारिक बनाउँदै आफूलाई संस्कारयुक्त बनाउन जरुरी छ । उनीहरुले आफ्नो पत्रकारीय गतिविधिहरुबाट देश र समाजलाई जति योगदान पु¥याएका छन् या पु¥याउनु पर्ने हो, त्यो भन्दा बढी गैर–पत्रकारीय गतिविधि गर्दै हिड्नु उचित होइन । उनीहरुको विवादास्पद गतिविधिहरुले पत्रकारितालाई लान्छनायुक्त उपकरण मात्रै बनाउने छैनन्, मर्यादाहिन, कर्तव्यहीन जमातका रुपमा परिभाषित समेत गर्नेछ, गरेको छ । पछिल्लो समय उनीहरुमा मौलाउँदै गएको बनियागिरी सोचले पाठकलाई मात्रै चिढाएको छैन, पत्रकारितालाई आफ्नो धर्म, कर्म र आस्था ठान्नेहरुलाई हत्तोत्साही समेत बनाउँदै छ । त्यसैले यस्ता कुनैपनि आवाञ्छनीय गतिविधिलाई संचारकर्मीहरुले तत्कालै छाड्नु पर्छ । एक कविले यो भनाई ‘हेर्नमा यो न गोरो छ न कालो, न उससंग बन्दुक छ न भाला । हुन त बेधडक, निर्भिक फकिरजस्तो जीवनमा, कागत र कलमका धनी अखबार बाला हुन् ।’ यो पंक्तिलाई मनन र चिन्तन गर्दै अघि बढे पत्रकारहरुको कमलकै शक्तिबाट देश र समाजमा परिवर्तनलाई कसैले रोक्ने छैन । यसैलाई मधेसी पत्रकारहरुले वर्तमान परिप्रेक्ष्यमा एउटा मिशन बनाएर अघि बढनु पर्छ । जीवनको लक्ष्य आफ्नो समाज र समुदायको उत्थान र अधिकार सम्पन्न बनाउने बनेमा मात्रै सबैको हित हुनेछ ।
No comments:
Post a Comment