Saturday, 23 March 2024

होली पर्वका अवसरमा उपराष्ट्रपतिको शुभकामना संदेश

नेपालीहरुले अत्यन्तै उत्साह, उमङ्ग र हर्षोल्लासका साथ मनाउने महान पर्व फागुपूर्णिमा (होली) को शुभ उपलक्ष्यमा देश र विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
खुशी, आनन्द, प्रेम र एकताको प्रतीक होली नेपाली संस्कृतिको एउटा महत्वपूर्ण पर्व र उत्सव हो । नृत्य, संगीतका साथ होरी गीत र जोगिरा गाउने, मिठो परिकार बनाएर खाने र परस्पर खुशी साटासाट गर्दै यो पर्व मनाइन्छ । आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रुपमा समेत रहेको होली पर्व सालिनता र परस्पर मेलमिलाप र आत्मियता अभिवृद्धि गर्ने अवसर पनि हो । हाम्रो राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरुलाई बलियो बनाउने महान अवसरका रुपमा हामी सबैले यसलाई उपयोग गर्न सक्नु पर्दछ । साथै, बहुआयामी महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षहरुलाई नयाँ पीढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अंगिकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक छ ।
नेपालमा यो पर्व भूगोल र क्षेत्र विशेष अनुसार फरक–फरक नामले आ–आफ्नै मौलिक परम्परा अनुसार मनाइन्छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लाहरुमा र त्यसको भोलिपल्ट तराई–मधेशका जिल्लाहरुमा फागुपूर्णिमा, होली, होरी, फगुवा, रङ्गपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रही आएको छ । प्राचीन कालमा होली चंदन र अबिर लगाएर मनाइन्थ्यो भने अचेल यसमा प्राकृतिक रंगहरुको पनि प्रयोग हुन थालेका छन् । यो पर्वका अवसरमा मानिसले एकअर्कालाई रंग र अबिर लगाउने, पिचकारीमा विभिन्न रंग मिश्रित पानी भरेर होली खेलिन्छ ।
तराई–मधेशमा होली पर्व वसन्त पञ्चमीबाटै शुरु हुन्छ । होलीको एक दिन पहिले गाउँले र टोलबासीहरु एकै ठाउँमा भेला भई सामूहिक रुपमा होलिका दहन (समत जलाउने) परम्परा छ । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको जीत, अधर्ममाथि धर्मको जीत र खराबमाथि असलको जीतको रुपमा यो अनुष्ठान गर्ने पौराणिक एवं धार्मिक मान्यता रही आएको छ । होलिका दहनको भोलिपल्ट धूमधामका साथ होली खेलिन्छ । यस अवसरमा विशेष परिकारहरु मालपुवा, दालपुरी, खिर, मिठाई आदि खाने र खुवाउने चलन छ । सामूहिक रुपमा डम्फूको तालमा फगुवा गीत र जोगिरा गाएर रमाइलो गरिन्छ ।
तराई–मधेशमा कूलदेवताको पूजाआजा गरेपछि रंग, अबिर र पिचकारीले होली खेल्ने पौराणिक परम्परा अनुसार उमेरमा आफूभन्दा कान्छोलाई टिका लगाउने, परिवार–समाजमा उमेरले कनिष्ट रहेकाहरुले मान्यजन्यहरुको पाउ–चरणमा र दौतरीहरुले एकअर्काको अनुहारमा रंग र अबिर लगाई दिने परम्परा छ । यो भनेको उमेर अनुसार एक अर्काप्रति श्रद्धा, प्रेम, सम्मान र स्नेह प्रदान गर्नु हो । पछिल्लो समय यो परम्पराले विकृत स्वरुप ग्रहण गर्नु चिन्ताको विषय हो । अपरिचित, जो सुकै बटुवा, उमेरमा आफूभन्दा जेठो, ज्येष्ठ नागरिक लगायतमाथि फोहोर पानी छ्याप्ने, लोला हान्ने र हुलहुज्जत गर्ने जस्ता कुसंस्कृतिले होलीलाई अमर्यादित बनाउनु हुँदैन । यसप्रति सम्बन्धित सबै सचेत र सावधान हुन अति आवश्यक छ ।
यसैगरी, फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकअगाडि रंगीचंगी ध्वजापताकासाथ सिँगारिएको चीरमा पूजाआजा गरेपछि उपत्यका लगायतका क्षेत्रमा फागु शुरु भएको मानिन्छ । उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी होलीको दिन जलाउँने परम्परा छ । उक्त चीरको खरानीको टीका लगाए सबैखाले अनिष्ट टर्ने जनविश्वास रही आएको छ ।
अन्त्यमा, सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेश, क्लेश, मतभेद बिर्सेर एकअर्कालाई रंग अबिर लगाउँदै फागुपूर्णिमा (होली) पर्व मनाउनुले हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै होली पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
२०८० चैत्र ११ गते आइतबार ।
(ने.सं. ११४४, चिल्लाथ्व १४ आइतबार) ।
रामसहाय प्रसाद यादव
उपराष्ट्रपति

Wednesday, 20 March 2024

सामाजिक रुपान्तरणमा मधेशी आयोगको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले मधेशी आयोगले मधेशी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ ।
मधेशी आयोगको पाँचौं वार्षिकोत्सवका अवसरमा बुधबार आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई संवोधनका क्रममा उहाँले उक्त धारणा राख्नुभएको हो । ‘नेपालमा उल्लेख्य जनसंख्या रहेको मधेशी समुदायको इतिहास र पहिचान, हकहितको संरक्षण र सम्वर्धन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी आयोगले बिना विषयान्तरको आफ्नो कार्यादेश र संवैधानिक व्यवस्था अनुसार मधेशी जनअपेक्षा अनुरुप सक्रियता बढाउन जरुरी छ ’ उहाँले भन्नुभयो, ‘ आयोगले यो वार्षिकोत्सवलाई विगतमा गरेका काम र गतिविधिहरुको समिक्षा गर्ने अवसरको रुपमा लिँदै आफूलाई परिस्कृत र परिमार्जित गर्न आवश्यक छ । ’
उपराष्ट्रपति यादवले मधेशी समुदायका लागि आयोगले सचेतना र सशक्तिकरण कार्यक्रमका साथै मधेशी समुदायको हकहित संरक्षण गर्दै मधेश र मधेशीको इतिहास तथा मधेश जनविद्रोहका उपलब्धीहरुलाई दस्ताबेजिकरण र मधेशीको अधिकारको पृष्ठपोषण गर्नमा क्रियाशील हुनु पर्ने बताउनु भयो ।
‘मधेशमा विद्यमान बेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्र अब पुग्दैन । उसको क्षेत्राधिकारले निर्धारण गरेका विषयहरुमा संवैधानिक व्यवस्था अनुसार सशक्त रुपमा आफ्नो उपस्थिति दर्ज गराउँदै अघि बढ्न पनि जरुरी छ ’ उहाँले भन्नुभयो, ‘विगतमा केही संवैधानिक आयोग र मधेशी आयोगको क्षेत्राधिकार परस्पर बाँझिएको जस्तो देखियो । खासगरी मधेशी समुदायको जाति वा थर सूचीकरणमा देखिएको विरोधाभाषपूर्ण अवस्थाहरुलाई कानूनी व्यवस्था अनुसार ‘ओभरल्याप’ नहुने गरी अघि बढ्न आवश्यक छ । संवैधानिक आयोगहरुबीच परस्पर बाँझिने कानूनी क्षेत्राधिकारलाई संशोधन गर्न जरुरी छ । तर, यसैको नाममा आयोगहरुबीच आपसी मनोमालिन्यता बढाउने कुनै पनि कदमले राम्रो नजिर बसाल्दैन । यसप्रति आयोग सचेत, सतर्क र सावधान हुने विश्वास लिएको छु ।’
उहाँले मधेशी आयोगका दस्ताबेजहरु कुनै दल वा व्यक्ति केन्द्रित भन्दा पनि सिंगो देश र मधेशी समुदाय केन्द्रित हुनु पर्ने बताउनु भयो । ‘आयोग आरक्षणका सबालमा संविधानमा व्यवस्था भए अनुरुपको ‘क्लस्टर’ लाई आत्मसात गर्दै विवादास्पद निर्णयहरु आफ्नो दस्ताबेज मार्फत सार्वजनिक गर्नबाट जोगिनु पर्दछ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘संविधानको मूल मर्म अनुसार बहुलता र समानतामा आधारित समतामूलक समाज तथा समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षणमा मधेशी आयोग कोशेढुंगा बन्ने गरी नेतृत्व लिन सक्नु पर्दछ ।’
उहाँले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबै इमान्दारीपूर्वक अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै यस कार्यमा मधेशी आयोग लगायतका अन्य संवैधानिक आयोगको काँधमा झनै बढी जिम्मेवारी रहेको बताउनु भयो । ‘समानता, समावेशिता र प्रतिनिधित्वको सबालमा मधेशी आयोग नेतृत्व पंक्तिमा उभिन सकोस् ’ उहाँले भन्नुभयो, ‘ आजको विशेष अवसरमा यस आयोग मार्फत् संविधान र कानूनको मर्म अनुसार मधेशी समुदायका सबै खाले समस्या समाधान गर्न आयोगले अभिभावकत्वको भूमिका निर्वाह गर्न सकोस् भनि शुभकामना दिन चाहन्छु ।’
२०८० चैत ०७ बुधबार ।

Tuesday, 5 March 2024

#होली (अनुभव र भोगाई)

दिनेश यादव
पूर्वी नेपालको झापा शिवगञ्जमा मेरो बाल्यकाल बित्यो । त्यहींको जनआदर्श माविबाट मेरो स्कूले शिक्षा पुरा भयो । आजपनि त्यो ठाउँ मेरा लागि प्यारो छ, म त्यहाँको धर्तिलाई सत्–सत् नमन गर्छु । किनभने त्यहाँ मैले 'एउटा नेपाली'को परिचय र सम्मान पाएको थिएँ। आज मेरो त्यो परिचय कता–कता हराएको जस्तो भान मलाई परेको छ । नेताहरुका कारण यहाँ कोही पहाडे, कोही हिमाले त कोही मधेसे बनेका छन् । व्यक्तिपिच्छे मात्रै होइन दलगत रुपमै नेपाली हुनुको परिभाषा बदलिएको अवस्था छ.......... ।
होली आउँदा मेरा मनभित्र प्रश्नहरुको थुप्रो लाग्छ । आज त्यही होलीको अनुभव लेख्ने जमर्को गरेको छु । शिवगञ्जमा सबै नेपाली भएरै होली खेल्थ्यौं, औंधी रमाइलो हुन्थ्यो । म आफ्ना बालसखाहरू (शिवगंज बजारका ईश्वर पाठक, मातृका राजबंशी, सूर्य राजबंशी, दधिराम गणेश, दीपेन्द्र अग्रवाल, राजेश मित्तल, लोकेश अग्रवाललगायत) संग खेलेको होली मेरो मानसपटलमा ताजै छ । त्यहाँ खेलिएको होलीमा कुनै सम्प्रदायिकता थिएन । सबैजना मिलीजुली खेल्थ्यो, होली । एक जना दिदी (नाम उल्लेख गर्न उपयुक्र्त थानिन) ले मेरा श्रद्धेय गुरु रामदेव मण्डल सरसंग गणितको ट्युशन पढ्न आउँदा पहिलो पटक मलाई ‘पश्चिमा’ भनेकी थिइन, त्यो पनि जिस्किने क्रममा । ती आदरणीया दिदीबाट मायाले ‘काले’ र ‘चकचके बांदर’ को उपमा मैले धेरै पटक पाएको थिएँ । लामो छुट्टिमा आफ्नो जन्मथलो सप्तरी फकिरा जाँदा या त्यहाँबाट शिवगञ्ज फर्किदा तिनै दिदीले ‘देश’ बाट कहिले आयो भन्थिन , बस त्यति हो । म खुब रमाउँथे । यसैगरि अर्का आदरणीय सर प्रह्लाद रायबाट ‘सतार’ र ‘कुपात्र’ को संज्ञा त धेरै चोटी पाइयो ।
तर मलाई ‘#मधेशी’ कसैले भनेका थिएनन । त्यहाँका रैथाने राजबंशी, ताजपुरिया, गन्गाई, सन्थाललगायतका साथीलाई चाहीं ‘मधेशी’ भनेर सम्बोधन गरिन्थ्यो, त्यसताका । होली खेल्दा भने यी सबै परिचय हराउँथ्यो, तीन दिन मजाले खेलिन्थ्यो । पहिलो दिन कादो (हिलोपानी), दोस्रो दिन रंग र तेस्रो दिन अबिर । उमेर बढ्दै जाँदा मेरो होली खेल्ने तरिका र समूह फेरिए, फरक भए, तर हामी एकै थियौं ।
शिवगंजबाट एसएलसी सकाएर भारतमा लामो समयसम्म अध्ययनपछि २६ वर्षअघि राजधानी छिर्दा मेरो परिभाषा र परिचय एकाएक बदलियो , मलाई यहाँ #मधेशी बनाइयो । मलाई मधेशी भनेर बोलाउदा कति चोटी त धेरैसँग झगडै पनि गरें, रामधुलाई पनि खाइयो, कुटियो पनि । यी सब अतित भइसक्यो म बिर्सन चाहन्छु । तर राज्यले, खासगरी राजधानी केन्द्रित सत्ता (काठमाडौं) ले चाडबाडलाई पनि मधेशी र पहाडे भनेर छुट्याइ दिएको देख्दा म खिन्न हुन्छु, दुखी बन्छु । पहाड र मधेशमा एक–एक दिन विदा छुट्टाछुट्टै किन ?
सांस्कृतिक चाडबाडले देशका नागरिकहरुलाई एक आपसमा जोड्छ । राज्यले भने विभाजनको रेखा कोरी दिएको छ , किन ? मेरो गाउँ फकिरा सप्तरीमा जिउँदो होली (जितहा होली) अर्थात पहाडी समुदायले होली खेल्ने दिन नै प्रमुख रुपमा हामी होली खेल्छौ । होलिका दहनअघि नै हामी होली खेल्छौ । राजधानीको बासमा पनि हामी यसै दिन होली खेल्छौ । तर धेरैले सोध्छन्, ‘तपाईहरुको होली त भोली होइन, आजै किन खेल्नु भो ? ’ म अबाक हुन्छु, बोली फुट्दैन,जबाफ दिन सक्तिन । अनि मनमनै प्रश्न गर्छु , किन राज्यले नेपाली नागरिकलाई दुई धुंजामा बांडेको होला ? के होलीका अवसरमा दुई दिन सार्वजनिक विदा दिन सकिन्न ? होलीलाई के राष्ट्रिय पर्व बनाउन सकिन्न ? नेपाली जनताले विभाजित होली कहिलेसम्म मनाउने त ? .......बुरा न मानौं होली है।
( नोट : यो सामग्री नौ वर्षअघि फेसबुकमा मैले लेखेको स्टेटसबाट साभार गरिएको हो।

Sunday, 3 March 2024

हाइकु (#हिन्दी)



बहु संस्कारी

जब तक तपती

चूल्हे की आग

♧♧♧♧♧♧♧


चूल्हे की आग

नसिब कहाँ उसे

जो है गरीब ।

♧♧♧♧♧♧♧


चूल्हे जलती

पेट की आग बुझती

ऊर्जा मिलती ?


♧♧♧♧♧♧♧

निर्धनताएँ

चूल्हे की शत्रु बना

शैतान भूख ।

#दिनेश_यादव
काठमाण्डू (नेपाल)
2 मार्च 2024

Language: Hindi
Source : #Sahityapedia .  #हाइकु_लैब
https://sahityapedia.com/%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a5%81-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-239614/

जुत्ता पसले (#नेपाली_लघुकथा)


कीर्तिपुरको एउटा जुत्ता बनाउने पसलका साहुलाई सोधें - 'पार्टी वेयर सूज छ ?'

साहू : ''छ '

(मैले लगाएको स्पोर्ट सूज र मेरो अनुहार हेरेपछि) तिनले सोध्यो, ' कसका लागि हो ?'

म : 'बुवाको लागि हो । '

तिनले स्टोरबाट पुराना मोडेलका जुत्ताहरू निकाल्दै भन्यो,'

'बुढापाकाका लागि यिनै जुत्ताहरू अहिले चलनचल्तीमा छन् ।'

म: 'यी त पुराना मोडेल पो हुन्, नयाँ मोडेलहरू देखाउँनुस् न।'

साहु :(मेरो अनुहार हेर्दै), कहाँको पार्टीमा लगाउने ?'

म : 'बुझिनँ , साहूले के भन्नु भएको ?'

साहू : 'मैले भनेको यतैको पार्टीमा लगाउने हो या मधेशतिरको पार्टीमा लगाउने जुत्ता तपाईंलाई चाहिएको हो ?'

यो भनाईपछि एकछिन म अलमलिएँ ...! भने,' भूगोल अनुसार जुत्ता पनि हुने रै'छ, हो ?'

 साहू: 'हो त नि ।'

 म :'ए..ए..! त्यसो भए दुवै ठाउँमा लगाउन मिल्ने जुत्ता चाहियो ।'

साहू: 'कुन पोशाकका लागि: कोट,धोती-कुर्ता या पाइजामा कुर्ताका लागि ?'

म : (फेरी अलमलिदै), सबैमा फिट हुने जुत्ता साहूजी ।'

साहूले चुच्चो न चुच्चो कालो हिल जुत्ता र जालिदार लेदर स्याण्डल दुवै एकै चोटी मेरो अगाडि प्रर्दशनमा राख्यो । 

म : 'बुढापाकाका लागि चुच्चो हिल त मिल्दैन हौ, लगाउँदा लड्न सक्छन् ।'

साहू: 'यहाँ चल्ने यस्तै हो । त्यसो भए लेदर स्याण्डल नै लिनुस्-सबै  पोशाक, सबै ठाउँको पार्टीमा लगाउन मिल्छ ।' यति भन्दै तिनले स्याण्डलको विशेषता एउटा मौसमविद्, जलवायूविद्, भूगोलविद् जस्तै व्याख्या गर्न थाल्यो । 

म केही छिन मौन बस्दै भने, 'म जुत्ता लिन आएको हूँ, लेडर स्याण्डल हैन ।'

साहू अझै भन्दै थिए,'मिलाएर दिन्छु लानु न ।'

म जुरूक्क उठें अनि सोधें, 'वरपर अरू पसल होला नि ?...'

यति के भनेको थिएँ,अब तिनी आर्थिक विश्लेषकको भूमिकामा पो पुगेछ । आर्थिक मन्दी, बजार-व्यापार स्खलनको अन्तहिन व्याख्यान दिन थाले छन् ।


म तिनलाई बिचैमा रोक्दै भने, '....जे होस् यो मन्दी अवस्थामा पनि तपाईंले पुर्खौली पेशालाई टेको दिनु भएकोमा खुशी लाग्यो ।' मैले शुभकामना भन्न नपाउँदै तिनी एकाएक जंगिदै भने,' कुन र कसको पुर्खौली पेशा... ? के भन्नु भा'को.... ? म प्योर क्षेत्रीको छोरा हूँ । साथीभाईको संगतले जुत्ता बनाउन तिर लाग्या हूँ । तपाईंले सोचे जस्तो जातको म होइन, बुझ्नु भयो ....?' 

साहूको शृंखलाबद्ध शब्दबाणबाट आजित  म उम्किने बहाना खोजिरहेकै बेला तिनले भनेछन्, 'तपाईंलाई आफ्नो कुनै उत्पादन बेच्दिन ....!' 

जुत्ता किन्न गएको म, एक जना व्यापारीबाट थरी-थरीको विश्लेषण, आक्रोस, कुन्ठा  सुनेर घर फर्कें ।

'अमूक जातिसंग 'जोडिएको' कर्म, काम, पेशा, व्यवसाय अन्य जातिकाले गर्दा वा गरेमा के तिनले पनि जुत्ता बनाउने र बेच्ने यी साहू जस्तै आक्रोश र कुण्ठा पालेका होलान ?' 'के मन्दी बजारका व्यापारीहरू ग्राहक/उपभोक्त्तासंग यसरी नै पेश हुन्छन् ?' जिज्ञासा राखें !


#दिनेश_यादव

काठमाण्डौ (नेपाल)

२०८०फागुन २० आइतबार ।