 |
Dinesh Yadav(दिनेश यादव )
|
कान्तिपुर दैनिकमा २० असोज २०७५ मा ‘कोशेली’ मा प्रकासित ‘गाउँका कथाहरु’ शिर्षकको पुस्तक समिक्षा पढेपछि केही लेख्न मन लाग्यो । पुस्तकका लेखक रमेशरञ्जन झा र समिक्षक रोशन जनकपुरी दुवै यथार्थ भन्दा निक्कै पर गएर प्रस्तुत भएका छन् । समिक्षकले गर्ने धर्म भनेको पुस्तकको ‘दुधको दूध र पानीको पानी’ छुट्याउनु नै हो । दुई/चार आना यताउती हुन सक्नु मानवीय स्वभावका रुपमा लिन सकिन्छ । तर, लेखकको यशोगान र भजनमै आफूलाई सोह्रैआना प्रस्तुत गर्नु वा खर्चिनु समिक्षक अधर्मी मात्रै बन्नु होइन, ऊप्रति पाठकको वितृष्णा जाग्न सक्छ । समिक्षामा पुस्तकको मूल्य, प्रकाशक, वितरक, पृष्ठ, सज्जा, प्रिन्ट, प्राप्ति हुने स्थानलगायतका जानकारी उल्लेख छैनन । यसले ‘पुस्तक खास प्रायोजनका लागि लेखिएको’ या ‘झोलालाई विक्री स्थल बनाउने केही लेखककै पदचिन्हलाई पछ्याएको’ कुरालाई समिक्षकले पुष्टि गरिदिएका छन् । निष्पक्षता कायम गर्न नसक्नुले समिक्षक लाभ र लोभमा चुर्लुम्म डुबेको पनि पुष्टि हुन्छ । पुस्तक समिक्षक र पुस्तकका कमजोरी यहाँ बूँदागत रुपमा पस्कने जमर्को गरेको छु ।
- पुस्तक समिक्षामा ‘.....विविध पात्रसंग संवाद गरेको महशुस गर्न सक्छ ’ पछिका वाक्य भूतकालमा लेखिएका छन् । त्यहाँ ‘ग्याप’ छ, सन्दर्भ मिल्दो छैन । समिक्षकले क्रमबद्धतालाई ध्यानमा राख्नै पर्छ । समिक्षामा त्यो महशुश गर्न पाइएन ।
- समिक्षामा ‘कथाको विशिष्टता भनेको चित्रात्मकता र ग्राम्यशैलीका तिखर संवाद हुन’ भन्ने आशय/वाक्य बे्रेक्ररसहित तीन ठाउ“मा परेको छ । यो स्तुतिगानको पराकाष्ट हो ।
- समिक्षामा नटुआ (स्त्रीको स्वाङ गर्ने र नाटकहरुमा स्त्रीपात्रको भूमिका गर्ने) उल्लेख छ । मिथिलामा ‘नटुवा’ नाचसंग सम्बन्धित छ, नाटकसंग होइन । ‘नटुवा’को अर्थ समग्र रुपमा नाच गरेर मनोरञ्जन प्रदान गर्ने पात्रको रुपमा लिइन्छ, तर नाटकको स्त्रीपात्र भनि अपव्याख्या गरिएको छ । नाटकमा ‘नटुवा’ होइन ‘छक्कडबाजी’ भन्ने हुन्छ । कुवंरब्रिजभान, सलेह नाच, अल्हारुदल, गोपीचन्द जस्ता मौलिक नाचमा ‘नटुवा’ हुन्छ ।
- ‘फुलवा हरण’ विशुद्ध मिथक र कल्पनामा आधारित छ । तर समिक्षकले ‘सामाजिक यथार्थ बयान’ भनेका छन् । केही स्थानमा बाहेक कथाकार र समिक्षक दुवैले ‘सेतो झुठ’ पस्केका छन् । यसले हामी जस्ता मैथिली पाठकलाई दिग्भ्रमित बनाउन खोजिएको भान हुन्छ ।
- पुस्तकका नाम ‘गाउँका कथाहरु’ राखिएको छ, तर पुस्तकमा जातिय विभेद, ब्राह्मणवादी आडम्बरका कुराहरु नगन्य रुपमा समेटिएका छन् । मिथिला क्षेत्रमा कथित उच्च जातिकाले जसरी भ्रामक र काल्पनिक कथाहरु रचेर खास जातिविशेषलाई देवतुल्य बनाइएका कथाहरु छ्यापछयाप्ती भेटिन्छन छन् । त्यस्तै भ्रामक शब्दजालहरु पुस्तकमा परेका छन् । ‘सामाजिक कथा’ भएकाले होला, लेखक फरक शैलीमा प्रस्तुत मात्र भएका छन् । त्यसैले त मिथिला क्षेत्रमा जकडिएर रहेको मनुवादी संस्कृतिको विपक्षमा पुस्तकले कही केही बोल्दैन् । पुस्तकमा विवसता र वाध्यताका कुरा त परेका छन्, तर त्यो बिकाउ र लेखकको आत्मरतिको उद्देश्यले मात्र । वाध्यतामा परेकाहरुको समस्या समाधान गर्ने उपाय कुनैपनि कथामा छैन । पुस्तकका अधिकांश कथा पढेपछि पाठकलाई निस्कर्षमा पुग्नै हम्मे पर्छ । केहीमा निस्कर्ष निकाल्ने बलजोर गरेमा ‘नकारात्मक’ भाव मात्रै आउछ ।
- मैथिली र मिथिला परिवेशमा लेखिएको यो पुस्तक समग्र तराई–मधेसलाई प्रतिनिधित्व गर्दैन । तर पुस्तकको समिक्षा हेर्दा समग्र मधेस क्षेत्रलाई प्रतिनिधित्व गर्ने भान पर्ने गरि समिक्षा प्रकाशित छ ।
- मिथिलाका कथित उच्च जातिकाले बोल्ने भाषा शैली पुरस्तकको अर्को कमजोरी हो । ग्राम्य परिवेश भन्ने तर धनुषाकै वरपर रहेर अधिकांश कथा लेखिएका छन्, त्यसैले ठाउँ–ठाउँमा विविधता खडकिन्छ । पुस्तकको समिक्षाले पनि यही कुरालाई पुष्टि गर्छ । कथाका धेरै शब्दाबली सामान्य मैथिलीजनले बुझ्न र उच्चारण गर्न नसक्ने खालका छन् ।
- मिथिलामा ‘पोइल’ जाने चलन विरलैको घटना हो । यो क्षेत्रमा जसरी बुढा बुबाआमालाई वृद्धाश्रममा पठाइन्न, त्यसरी नै ‘पोइल’जाने हुदैन । तर कथाकार र समिक्षक दुवैले त्यही ‘पोइल’ को वरपर रहेर यसलाई किन सामान्यीकरण गर्न उद्दत रहेका छन, बुझि नसक्नुछ । अपवादमै बढी केन्द्रित देखिएका छन् ।
- सोझा श्रमजीवि र अभिजात्य वर्गको कुरा त पुस्तकमा गरिएको छ । तर मिथिलाकै शासनजाति र त्यसले हरेक शासन प्रणालीमा पाएको अंश र अवसरका कुरा कतै गरिएको छैन । लेखक र समिक्षक दुवै ‘वामपन्थी’ र अभिजात वर्ग ‘उच्च जाति’का भएरै होला ‘शिल्पी समुदाय’का श्रमका कुरालाई जोडदार रुपमा कथा मार्फत उठान गर्न सकेका छैनन् । तीनका विकृतिहरुलाई भने उजागर गरेकै छन् । यसको उदाहरण ‘बघवा’ लाई लिन सकिन्छ । ‘चोरी÷डकैती’ गर्ने समुदाय भनेर ‘बघवा’ को कथामा अमुक जातिलाई होच्याउने गरि चित्रण गरिएको छ । अझ यसलाई ती जातिको ‘पेशा’ कै रुपमा अपव्याख्या गरिएको भान हुन्छ, जुन ठूलो दुर्भाग्य हो । पुर्खाका गलत क्रियाकलापलाई उजागर गरि ती जातिका नयाँ पीढिलाई दोषी समुदायका सदस्य बनाउन लेखक र समिक्षक उद्दत देखिनु दुखद हो । फेरी ती समुदाय उक्त गलत क्रियाकलापमा किन लागेका हुन भन्ने कुरा लेखकले स्पष्ट गर्न सकेका छैन । यो कमजोरी भने समिक्षकले पनि उदृत गरेका छन् ।
- पुस्तक र समिक्षामा उल्लेखित ‘चायवाली’ कथा चाही नाटक र चलचित्रका पात्र हुन सक्छन्, वास्तविक जीवनमा यो विरलैका घटना हो । यो कथामा ‘बहुविवाह’ लाई प्रश्रय दिने गरि प्रस्तुति भएको भान हुन्छ । कथामा उल्लेखित सामाजिक पक्ष एउटा कुरा हुन सक्छ तर लेखक जुन तरिकाले यसमा प्रस्तुत भएका छन्, त्यो बेमेल छ । टिबी सरुवा रोग हो, श्रीमान्को मृत्यु भएको भनिएको छ । तर पुस्तकमा क्षयरोग भनेको सरुवा रोग भनेर सामान्य रुपमा बुझ्ने गरि आउन सकेको छैन । क्षयरोगी पति मरेपछि उनका प्रेमिका सौतालाई पनि आफैसंग राख्ने कुरा उल्लेख छ । यो सकारात्मक भएपनि ‘सरुवा रोग’ प्रति सचेतना र ‘बहुविवाह’लाई निरुत्साहित गर्ने भाव कथामा खड्किन्छ ।
- पुस्तकमा ‘यात्रा’ र ‘बदनाम सहर’ मिथिलामा असान्दर्भिक छ । यसमा गलत प्रयोग कथाकारले गरेका छन् । गर्भवति भएकै अवस्थामा विदेशिएका पतिलाई अस्वीकार गरिदिने महिला पात्र ‘दौना’ लाई स्वाभिमानी भनिएको छ, तर पतिको विवशताबारे कथा मौन छ ।
- सातौं कृर्ति लेखिसक्दा पनि लेखक कथाकारका रुपमा पुस्तकमा परिपक्व देखिएका छैनन् । गाउको पृष्ठभूमिमा लेखिएको १३ कथा समग्र मिथिलाको ग्राम्य परिवेशलाई समेट्न सकेको छैन । ‘जनकपुर भनेको मिथिला र मिथिला भनेको जनकपुर’ शैलीमा लेखक प्रस्तुत भएका छन् । होच्याएर बोल्ने भाषा शैली पुस्तकमा छ्यापछ्याप्ती भेटिन्छ । ‘फुलवा’ आफै एउटा होच्याउने शब्द हो । आफूभन्दा सानोको नाम अगाडि मिथिलामा ‘वा’ जोड्ने चलन पुरानै हो । तर सम्भ्रान्त र कुलिन जातिमा ‘वा’ प्रत्यय जोडिएको विरलै पाइन्छ । उच्च जाति र मालिकहरुले गरिब मजदुरलगायतका लागि यस्ता शब्दको प्रयोग बढी गर्छन । लेखक पुस्तकमा ‘मालिक जाति’ का रुपमा प्रस्तुत भएका छन् । ‘बघवा’ को ‘वा’ पनि त्यही रुपमा पुस्तकमा परेको छ । लेखक वामपन्थी तर शब्दको चयन ‘सामन्ती’ जस्तो गरेका छन् । पुस्तकमा समावेश गरिएको सामन्त ‘महेश्वरबाबु’ या ‘मकसुदनबाबु’ नेताकै रुपमा छन् । तिनीहरु गलत गरेपनि ‘बाबु’ बनेका छन, तर श्रम गरेर खानेहरुलाई ‘फुलवा’ बनाइएको छ । सामन्त भनेपछि ‘बाबु’ लेखिरहनु पर्छ र ? लेखक त सामन्ती रुपमा प्रस्तुत भए नै, समिक्षक पनि यो वर्ग छुट्याउने कुरालाई कोट्याउन नसक्नु या नोटिस गर्न नसक्नु दुर्भाग्य हो ।
- पुस्तकमा उल्लेखित शब्दाबलीहरु कन्जुश बाबु, पोइल जानु, चोरी/डकैती, अपहरण....जस्ता विकृति र विसंगति मात्रै मिथिलामा छैन, त्यहाँ भएका सकारात्मकतालाई पनि पुस्तकमा स्थान दिनु पथ्र्यो, त्यसमा लेखक हाकाहाकी चुकेका छन् । समिक्षकको पनि यसमा कमजोरी देखियो । (कलंकी, शिवनगर, काठमाडौं)

No comments:
Post a Comment