Friday, 11 January 2019

मिथिला यी कारणहरूले बन्न सक्तैन प्रदेश -2


  • दिनेश यादव (DINESH YADAV)  -------
मधेसी, जनजाति, आदिवासी, थारु, मुस्लिम, दलितलगायतले नेपाली भाषालाई जसरी विगतमा एकल जातिय भाषा भनेर विरोध गरेका थिए, आज प्रदेश २ मा मिथिला र मैथिलीप्रति त्यस्तै अवस्था छ । नेपालको भाषिक तथ्यांक अनुसार त्यहा“ ‘बहुसंख्यक’ ले बोल्ने भाषा मैथिली हो । तर ३ प्रतिशत मात्र जनसंख्या रहेको कथित उच्च जाति (मैथिल ब्राह्मणबादी)को यसमा कब्जा रहेको आरोप त्यहा“ बसोबास गर्ने ‘सोलकन’ र ‘ओबिसी’ लगायतका अन्य जाति÷समुदायले लगाउ“दै आएका छन् । ‘आरोपित जाति’ का अगुवा/अभियानीहरुले यसको खण्डन गर्नुको साटो नेपालीय मिथिला र मैथिली भाषामा उनीहरुले आफ्नो एकल जातिय शैली, संस्कृति, पहिरन, रहनसहन र लवज अन्यमाथि थोपारेको भन्ने दुखेसो पनि ती समुदायको छ । उनीहरु भन्छन्, ‘खासगरि पारि पट्टीबाट आयातित संस्कृति र शैली प्रदेश २ का बहुसंख्यकमाथि लांधिदैछ । यसको हाकाहाकी प्रमाणका रुपमा कथित ‘पाग’ र ‘मैथिल’ शब्द सबैलाई भिडाइ दिनु, लगाई दिनु जस्ता गतिविधिलाई लिन सकिन्छ ।’ यी दुई गतिविधिमा ‘छापामार’ शैली आजसम्म पनि जारी रहेको पुष्टि विभिन्न मिडिया र सामाजिक संजालले गरेकै छ । मैथिल ब्राह्मणबादीको नेतृत्व या नेतृत्वदायी भूमिकामा रहेको संघसंस्था र पेशागत संगठनहरुको जुनसुकै कार्यक्रममा पनि यो पहिरन भिडाइ दिने चलन नै चलाइएको भान जो कोहीलाई पर्ने गर्छ । यसको सर्वत्र विरोध गरिएकै छ । अझ पत्रकार महासंघका केन्द्रिय पदाधिकारीदेखि क्षेत्रिय र जिल्ला तहका सदस्यहरुले समेत एकल जातिय यो पहिचानलाई ‘समग्र मिथिला’ कै ‘शान’ भन्दै हिडेको पाइनु दुखद रहेको प्रतिक्रिया यो पहिरनको विपक्षमा रहेका संचारकर्मीहरुको छ । अन्य पेशाकर्मीको अवस्था पनि उस्तै छ । त्यसैले कथित उच्च जातिका बाहेकहरु ‘मिथिला र मैथिली’ मा उकूमुकुसको अवस्थाबाट गुज्रिरहेको भनाईपनि धेरैको छ । यी भनाईका पक्षपातिहरु भन्छन्, ‘ब्राह्मणवादीहरुको ‘दासत्व’ स्वीकार गर्नेहरु मात्र अब मैथिली भाषामा अटाईएको अवस्था छ । अन्य बा“की कि त पलायन भईसके या विकल्पमा अन्य भाषा रोजेर आ–आफ्नो बाटो तताई सकेका छन् ।’ मिथिला क्षेत्रमा मगही, ठेठलीलगायतका भाषाको प्रचार पछिल्लो समय बाक्लै रुपमा हुनु यी र यस्तै कारक तत्वका कारणले नै हो । अझ प्रदेशका एकजना मन्त्री त मगही र पगडीकै प्रचार अभियानमा सक्रियताका साथ जुटिसकेका छन् । यहा“ भनि दिउ“, मिथिलामा मैथिलीको विकल्प अन्य हुन सक्तैन, तर अन्य भाषाको सम्मान पनि मिथिलाबासीले गर्न सक्नुपर्छ । फेरी यही एउटा आधारमा प्रदेश २ को नामाकरण ‘मिथिला’ प्रदेश र कामकाजको भाषा ‘मैथिली’ पनि बनाइनु हुन्न । प्रदेशको नामाकरण ‘मधेस’शब्द निर्विकल्प बनाईनु पर्छ । मिथिला वा मिथिला–भोजपुराले प्रदेशका सबै जातजाति र भाषाभाषीलाई समेट्न सक्तैन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेस(नेका) संधै मधेस र मधेसीको विपक्षमा रहेको र समग्र तराईलाई जोड्ने हिन्दीलाई सम्पर्क भाषाका रुपमा त्यहा“ स्थापित हुनबाट रोक्न तथा भाषिक द्वन्द्व कायमै राख्न मैथिली र मिथिलाको पक्षमा उभिने गरेको छ । यसबाट सचेत हुन जरुरी छ । खासगरि मधेस केन्द्रित दलका नेता,कार्यकर्तालगायतले यो समस्या समाधान गर्नका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने अपरिहार्यता देखिन्छ ।  

प्रदेश २ मा ४५ प्रतिशत मैथिली भाषी भएको भनिएको छ । तर यसैलाई शतप्रतिशत मानेर अगाडि बढनेहरु एउटा अभियान चलाई रहेका छन् । त्यसमा ९५ प्रतिशत जति मैथिल ब्राह्मणबादी अगाडि देखिएका छन् । ५५ प्रतिशतको भाषा र पहिचानलाई वेवास्ता गर्ने प्रयास त्यहा“ गरिएको छ । यो प्रदेशमा मैथिलीपछि क्रमशः भोजपुरी, बज्जिका,उर्दू, थारु, मगही, नेपाली र हिन्दी भाषी रहेका छन् । यी भाषाभाषीहरुसंग अछूतको व्यवहार गर्दै पारीको (खासगरि दरभंगा र मधुबनी बला) पहिचान, संस्कृति र अभियानलाई नेपालमा स्थापित गर्न केही मानिस किन लागेका हुन, स्पष्टै छ । पारी पट्टी ‘हिन्दू सर्किट’ र ‘मिथिला जोन’ को चर्चा चलिरहेको छ । त्यसको उद्देश्यबारे यहा“ भनिराख्नु पर्छ जस्तो लाग्दैन । भारतमा मिथिला राज्यको माग गर्ने र दरभंगा महाराजको थिति यता बसाउन खोज्ने कथित एजेन्टहरु नेपालमा सक्रिय छन् । एक जना भारतीय नागरिक त विराटनगरमा मैथिलीको नाममा अनलाइन पत्रिका नै चलाई रहेका छन् । तिनका गतिविधिलाई हेर्दा नेपालीय मिथिला र जनक–सियाको मैथिली भन्दा पारीकै चिन्ता बढी रहेको देखिन्छ । उक्त अनलाइनमा प्रकाशित नेपालीय मैथिलीप्रतिको असान्दर्भिक सामग्रीहरुले यो कुरोको पुष्टि गर्छ । अझ उदेक लाग्दो त के छ भने त्यसका सल्लाहकारहरुमा आफूलाई मैथिली अभियानी ठान्ने ‘भेट्रान्स’ हरु समेत रहेका छन् । पछिल्लो समय अर्का एक व्यक्ति पुस्तक प्रकाशकका नाममा नेपालमा मैथिल ब्राह्मणबादलाई स्थापित गर्नेगरि गतिविधि शुरु गरेका छन् । पहिले पारीकै एकजना उद्यमीलाई दिल्लीमा पत्रिका प्रकासनको नाममा लुट मच्चाएका ती ‘जातिबादी’ प्रकाशक अहिले काठमाडौंमा व्यावसाय संचालन गरिरहेका महोत्तरीका अर्का एकजनालाई ‘मुर्गा’ बनाउन लागि परेका छन् । त्यसमा साथ दिनेहरु नेपालकै केही ‘नटवरलालहरु’ पनि छन् । तिनीहरु नेपालीय मिथिलालाई जातिय रुपमा विभाजन गर्न लागि परेका छन् । प्रदेश २ मा द्वन्द्व सिर्जना गरि तिनीहरु आफ्नो ‘बार्गेनिङ’ क्षमता बढाउने ध्याउन्नमा रहेको दाबी स्रोतको छ । यस्ता गतिविधिले पनि मिथिला र मैथिलीलाई कमजोर गरेकै छ । यी गतिविधिहरुले मैथिली एउटा जातिय भाषा भएको प्रमाणित गरिदिएको छ ।  

त्यस्तै, प्रदेश २ मा भाषाका नाममा सिन्डिकेट चलाउने वा कार्टेलिङ गर्नेहरु आफ्नो बर्चस्प जोगाउने दौडमा पछिल्लो समय जोडतोडले लागेका छन् । यस्तो दौडमा लागेकाहरुमा भाषाकै खेतिपाति गरेर जीवोकोपार्जन गर्नेहरु, सरकारी सुविधा र लाभका पद पाउनेहरु, पुरस्कारका लागि मरिहत्ते गर्नेहरु, केही रकमको परियोजना पाउनेहरु, कट्टर परिवादवादीहरु, घोर जातिबादीहरु, सरकारी सेवाबाट अवकास पाएर बेरोजगार बनेकाहरु, रेडियोमा नाम सुन्न चाहनेहरु, प्रचारमुखि आरजेका पिछलग्गूहरुलगायतका बढी देखिएका छन् । भाषिक भावनालाई चिटिङ गरि विगतमा विभिन्न धन्दा चलाउनेहरु पनि यो अभियानमा सक्रिय छन् । बहुसंख्यक जातिको प्रतिनिधित्व गर्नेहरु यो अभियान भन्दा निकै टाढा रहेका छन् । यो पनि मिथिला नामाकरणका लागि बाधक हो ।  प्रदेश २ को नामाकरण मिथिला र कामकाजको भाषा मैथिली हु“दैमा प्रान्त सम्बृद्ध हुन्छ भने होइन । तर जुन रुपमा केही व्यक्ति यो अभियानमा लागेका छन, त्यसले प्रदेशमा दीर्घकालिन सांस्कृतिक द्वन्द्व र कहिले उपचारै हुन नसक्ने मनोवैज्ञानिक असर पार्ने चाही निश्चत छ । सजग र बौद्धिक वर्गहरुले अब चाही आ–आफ्नो मौनता तोड्नै पर्ने टडकारो भई सक्यो । 
कुनै बेला काठमाडौंमा नेपाल भाषा(नेवारी) र राजबिराजमा मैथिली भाषालाई कामकाजी भाषा बनाउनु पर्ने निर्णयको विपक्षमा वकालत गर्नेहरु अहिले मैथिली र मिथिलाका पक्षका चर्को रुपमा प्रस्तुत भईरहेका छन् । मधेस आन्दोलनको विपक्षमा रहेका र ‘मधेसी’ शब्द भन्ने बित्तिकै विदेशी ठान्नेहरु मिथिलाको पक्षमा दलबलसहित लाग्नुको रहस्य यहा“ खोल्तनु पर्दैन । उनीहरुलाई थाहा छ, मधेस र मधेसीलाई जति खुम्च्याउन सक्यो त्यति बलियो भइन्छ । त्यही अनुरुप मधेसी दलहरुको आकार खुम्चिदै पनि गईरहेको छ । मधेस केन्द्रित दलहरु पहिले  ‘समग्र मधेस एक प्रदेश’ को नारा दिए, आठ जिल्लामा खुम्चिन पुगे । सप्तरी पूर्व र पर्सा पश्चिमको मधेसबाट हात धुनु पर्यो, यसलाई स्वीकार गर्दै अघि बढिसकेका छन् । अब भाषा र नामाकरणको नाममा मधेसलाई कमजोर पार्न खोजिएको छ । मैथिलीको नाममा मधेसलाई दुई/तीन जिल्लामा मात्र सीमित गर्ने षडयन्त्र भईरहेको छ । यो कुरा सम्बन्धित सबैले नबुझिदिंदा मधेसी थप कमजोर बन्ने निश्चित छ । यसबाट मुठीभरकालाई फाईदा त होला, तर सिंगो मधेस र मधेसी विभिन्न अवसरबाट फेरी पनि बञ्चित हुनेछन् । अन्य भाषाहरु भोजपुरी, बज्जिका, मगही लगायतकालाई पनि दुई या एक–एक जिल्लामा सीमित गरी द्वन्द्व सिर्जनाको चक्रव्युमा मधेसीलाई फसाईंदैछ । यसमा सत्ताजाति र पहू“च भएकाहरु टेको बन्न पुगेका छन् । जुन एउटा ठूलो दूर्भाग्य नै हो । केही व्यक्तिहरु जसरी ‘एक्टिभिस्ट’का रुपमा प्रस्तुत भईरहेका छन् यसले प्रदेश २ नेपालको ‘कश्मीर’ बन्ने निश्चित छ । प्रदेश जाति–जातिमा विभाजित छदै थियो,अब भाषा–भाषामा झगडा फसाएर एउटै समुदायबीच मनोमालिन्यता बढाउने रणनीतिको असली पात्र मधेसी किन बन्ने ?  

मैथिलीको नाममा मधेसलाई दुई/तीन जिल्लामा मात्र सीमित गर्ने षडयन्त्र भईरहेको छ । यो कुरा सम्बन्धित सबैले नबुझिदिंदा मधेसी थप कमजोर बन्ने निश्चित छ । यसबाट मुठीभरकालाई फाईदा त होला, तर सिंगो मधेस र मधेसी विभिन्न अवसरबाट फेरी पनि बञ्चित हुनेछन् । अन्य भाषाहरु भोजपुरी, बज्जिका, मगही लगायतकालाई पनि दुई या एक–एक जिल्लामा सीमित गरी द्वन्द्व सिर्जनाको चक्रव्युमा मधेसीलाई फसाईंदैछ । यसमा सत्ताजाति र पहू“च भएकाहरु टेको बन्न पुगेका छन् ।

मैथिल ब्राह्मणवादीहरु पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई मैथिली भाषी मान्न तयार छैनन, जबकी नेपाली टोपीमाथि ब्राह्मणवादीको कथित ‘पाग’ लगाएर आफूलाई प्रस्तुत गर्ने उनी पहिलो बनेका हुन । मिथिलाको ‘लेजेन्डर’मा पनि उनी अटाउन सकेनन् । तर, जसले ‘मेरो मातृभाषा हिन्दी’ भनेका थिए, तिनलाई सुच्चा मैथिली भाषीका रुपमा प्रस्तुत गरिएको छ । पूर्व उपराष्ट्रपति परमानन्द झा मिथिलाको ‘लेजेन्डर’मा सबैभन्दा माथि पारिएका छन् । त्यस्तै, ‘सस्ता जिनगी मह“गा सिनुर’ जस्तो सफल र चर्चित मैथिली चलचित्र बनाउने र मैथिली/मिथिलाका लागि अहोरात्री चिन्तन–मनन गर्ने व्यक्तित्व मुरलीधरलाई एक लाखको विद्यापति पुरस्कार अनुवादक(जुन उनको विद्या नै होइन) दिइयो । नेपालकै शास्त्रीय गीत/संगीतका धरोहर र युगपुरुष मध्येका एक गुरुदेव कामतको मैथिली भाषामा अतूलनीय योगदान छ । तर उनलाई मैथिलीमा समेटन कथित मिथिला अभियानीहरु चुकेकै छन् । यसपालि राष्ट्रपतिद्वारा विभूषित गरिने विभिन्न मान पदवी र अलंकारसहितको राष्ट्रिय पुरस्कार छनौट समितिमा गैर–मैथिल ब्राह्मण सदस्य परेकै कारण उनीमाथि पहिलो पटक न्याय भएको छ । नेपाल सरकारले यो वर्ष प्रदेश २ मा क्षेत्रिय र राष्ट्रिय गरि चार वटा पुरस्कार प्राप्त गर्नेमा चारै जना एउटै जिल्ला धनुषा र एउटै जाति ‘ब्राह्मण’का परे । यहा“ यो भनिदिउ कि पुरस्कृत हुने चारै जनाको योगदान मिथिला र मैथिलीमा छ, तर पुरस्कार छनौटमा समावेशिकरण त हुनै पर्ने होइन र ? यसको कारण समितिमा कट्टर मैथिल ब्राह्मणबादी भएरै हो । अहिले तिनीहरु भन्दै छन, प्रदेश २ को नाम मिथिला । यी प्रतिनिधिमूलक उदाहरणहरु मात्रै हुन । यसबारे एउटा फेरिस्तनै तयार पार्ने ल्याकत यो स्तम्भकारसंग छ । अरु जातिसंग सरोकारै नरहने गरि गरिने कार्य या गतिविधिले मिथिला र मैथिलीलाई जोड्ने हैन, तोड्ने छ । तोडेकै पनि छ । त्यसैले तत्काल मिथिला र मैथिलीप्रतिको बहुसंख्यक जातिको मोह भंग भएको अवस्था छ । पछिका लागि यसलाई विचारणीय बिन्दू भन्दै थाती राख्नुको अहिले कुनै विकल्प छैन । प्रदेश २ को जनमत हेर्ने हो भने तत्कालका लागि बहुजन मधेसीजन मधेस प्रदेशकै पक्षमा देखिएका छन् । 

अर्को कुरो, संधै अवसरको खोजीमा राजनीतिक पार्टीहरु चहार्दै हिड्नेहरु आफ्नो चाकडी कौशलताकै कारण उच्च पदमा पुगे । तर मैथिली भाषाका नाममा स्थापना गरिएको राष्ट्रिय प्रतिभा पुरस्कार नेपालीय मैथिलीभाषी प्रतिभा/सर्जकलाई हैन भारतीय नागरिक, त्यसमा पनि आफ्नै सहगोत्री महेन्द्र मलंगिया(ब्राह्मण) लाई उनीहरुले पटक–पटक दिलाए । महेन्द्रलाई दुई लाखको विद्यापति पुरस्कार र प्रज्ञा प्रतिष्ठानबाट दिइने एक लाखको पुरस्कार तथा चौधरी समूहको अर्को एक लाखको पुरस्कार दिलाउन सफल भए । 'यी तीनै सिफारिसमा रमेशरञ्जन झा र धिरेन्द्र झा ‘प्रेमर्सी’ लगायतको प्रत्यक्ष संलग्नता रहेको छ, 'जनकपुरलाई कार्यक्षेत्र बनाई पत्रकारितामा सक्रिय मैथिली अभियानीले एक साक्षात्कारमा भनेका थिए । सलहेसमाथि कलम चलाउने व्यक्तिहरु गैरब्राह्मण बढी भएपनि सलहेसको नाममा स्थापना गरिएको पुरस्कार सुनिल मल्लिकलाई दिइएको गुनासो गर्नेहरु मिथिलामा प्रशस्तै भेटिन्छन् । यस्तो संकिर्णताबादले प्रदेश २ को नाम मिथिला कसरी राख्ने भन्ने प्र्र्रश्न धेरैको छ । 

मिथिलाभित्र लुकेको सचाई विस्तारै बाहिर आउने क्रम पछिल्लो समय केही बढेको छ । केही महिनाअघि नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले राजधानीमा आयोजित कार्यक्रममा भनेका थिए, ‘मैथिली भाषा मात्र ब्राह्मण–कायस्थमा बोलिने गरिन्छ ।’ यदि यसमा सत्यता छ भने मिथिला क्षेत्रमा अन्यले बोल्ने भाषा कसरी मैथिली भए । अझ त्यही कार्यक्रममा वामपन्थी नेता रामचन्द्र झाले भनेका थिए ‘ब्राहमण कायस्थको बोली मैथिली भाषाको मानक हो (०१८ मे, काठमाडौं) ।’ त्यसअघि उनले बर्दिबासको एउटा कार्यक्रममा भनेका थिए, ‘मिथिला र मैथिली हाम्रो बाजेपुर्खाले आर्जेका हुन, मैथिल ब्राहमणहरुले यसको जगेर्ना गर्नुपर्छ ।’ उनले त्यस अगाडि भनेका थिए,‘मिथिलामा कोही मगही भाषी आफूलाई भन्छ भने भनुन यसमा मैथिल ब्राह्मणहरुले किन टाउको दुखाउने हो । तर हाम्रा पुर्खाको भाषा, संस्कृति र पहिचानलाई जोगाउन हामी मैथिल ब्राह्मणले कुनै कसर बांकी राख्दैनौं ।’यो उनको नितान्त जातिय अभिव्यक्ति हो । यी र यस्ता अभिव्यक्ति तथा भनाईहरुले मैथिली बोल्ने सवर्ण र बहुजन समाजको मन टूटेको छ , कुडिएकै छ । फेरी त्यही अनुरुपमा काम पनि हुनु दुर्भाग्य हो । नेपाली कांग्रेसका एक जना केन्द्रिय मधेसी नेताका कुनै बेला प्रचारक रही सकेका केही युवाहरु मिथिला अभियानमा पर्साबाट आठ जिल्लाका लागि यात्रा शुरु गरेका छन् । यो मधेसीलाई जोड्ने मिसन भन्दा पनि नेकांको मधेस लाइनबाट बढी प्रेरित र केन्द्रित छ । यो गतिविधिले मिथिला र मैथिलीलाई कमजोर पार्ने निश्चित छ ।  

मैथिली भाषामा साधु–जनकविको उपाधि पाएका वैद्यनाथ मिश्र ‘यात्री’ले लेखेका छन्, ‘मैथिल महासभाक सिद्धान्तानुसार मैथिल ब्राह्मण तथा कर्ण कायस्थ मात्र सुच्चा मैथिल हुन’(विदेह, डिजिटल पोर्टल)। अनुशन्धानमुलक पुस्तक ‘पुस्तक इलिट एण्ड डेभलपमेन्ट’ ले पनि यही तथ्यलाई पुष्टि गर्छ । पुस्तकमा लेखिएको छ, ‘दरभंगा महाराजको नेतृत्वमा आधा सताब्दसम्म सक्रिय रहेको ‘मैथिल महासभा’ मा ‘मैथिल’ बन्नका लागि क्राइटेरिया निर्धारण गरिएको थियो, त्यसमा ब्राह्मण–कायस्थबाहेकलाई ‘मैथिल’ को परिभाषामा समावेश छैनन । ’ नेपालमा त्यही ‘मैथिल’ लाई स्थापित गर्ने लयमा काम भईरहेको छ । भारतको मिथिला क्षेत्रमा ब्राह्मण भोटबैंकको राजनीतिले ब्राह्मण र कायस्थले लगाउने ‘पाग’ माथि डाकटिकट जारी गरिएपनि दरभंगा र मधुबनी लगायतका मैथिली भाषी क्षेत्रमा गैर–ब्राह्मणलाई यो आन्दोलनमा जोड्न सकेका छैनन् । नेपालमा पनि त्यही अनुरुप कार्य भइरहेको छ । यो पहिरनको चर्को रुपमा विरोध भई रहदा पनि छापामार शैली यसमा अझै देखिने गरिएको छ ।  

मिथिला नामाकारण यो कारणले पनि असंभव छ कि मैथिल ब्राह्मणबादीहरु पदमा गएपछि आफ्नै गोस्त्र, ईस्टमित्र र नातागोतालाई बढी प्राथमिकता दिनेगरेको पुरानै रोग छ । यी जातिको नेतृत्वमा रहेको कुनै पनि संस्था या कार्यालयमा अन्यलाई निषेध या छुत झै व्यवहार गर्छन् । उदाहरणका लागि भारतको बिहारको लोकसेवा परीक्षालाई लिन सकिन्छ । हिसाब बाहेक अन्य कुनै विषयमा ९० प्रतिशत भन्दा बढी अंक के संभव छ ? तर ‘मैथिल’ ब्राह्मणले ९० प्रतिशत भन्दा बढी अंक मैथिली पेपरमा दिएर बिहारमा बीपीएससी परीक्षा उत्तीर्ण गराईको थियो । लालूप्रसाद यादव पहिलो पटक मुख्यमन्त्री बनेपछि बीपीएससीबाट मैथिली विषय हटाइएको तितो यथार्थ नै छ । नेपालमा विद्यापति पुरस्कार आजसम्म पनि विवादमुक्त हुन नसक्नुको कारण ‘मैथिल ब्राह्मण’हरुको जातिय धङधङ्गती नै भएको विश्वास धेरैको छ । मधेसका मिथिला क्षेत्रमा पनि त्यस्तै अवस्था देखिन्छ ।  

मैथिली र मिथिलाप्रति विभिन्न व्यक्तिहरुको आ–आफ्नै तर्क र मतहरु छन् । खासगरि बुद्धिजीवि र विद्वान कहलिएकामध्ये एक्का–दुक्का बाहेक प्रदेश २ को भाषा र नामाकरणबारे खुलेर कोही लेख्न र बोल्न चाहेका छैनन् । यथार्थ चित्रण गर्नेमा भाषाविद् डा.योगेन्द्रप्रसाद यादव पनि एक हुन । उनले मंसिर १ को कान्तिपुर कोशेलीमा भनेका छन्, ‘म मैथिलीभाषी छु, कुनै अवधीभाषीसंग म हिन्दीभाषामा कुराकानी गर्छु । हिन्दीभाषा एउटा सम्पर्क भाषा छ । मधेसमा विभिन्न मातृभाषीबीच हिन्दी सम्पर्क भाषा छ । हिन्दी भाषा भारतको बहुसंख्यकको मातृभाषा होइन तर पनि सम्पर्क भाषा भएकाले सरकारी कामकाजको भाषा समेत हो । त्यसैगरि अंग्रेजी पनि भारतमा सम्पर्क भाषा छ । प्रदेश २ मा हिन्दी मातृभाषी छन् तर एकदमै न्यून । तर,दोस्रो भाषाका रुपमा अर्थात सम्पर्क भाषाका रुपमा हिन्दीलाई समावेश गर्न सकिन्छ ।’ यो एउटा यथार्थ परक विश्लेषण हो । यसैबीच डा.सुरेन्द्र लाभले प्रदेश २ मा मधेस कि मिथिला भनेर नेपाल साप्ताहिकमा एउटा छोटो आलेखमा प्रदेशको नाम र भाषामा क्लियरकट रुपमा प्रस्तुत हुन सकेको छैनन् । उनले मधेश या मिथिला दुवै असंभव जस्तै बन्दै गएको तर्क सारेपनि सामाधानको पक्ष र विकल्प प्रस्तुत गर्न सकेनन । तर पत्रिका भने मिथिला प्रदेशको पक्षमा देखिने गरि प्रस्तुत भएको छ । अन्त्यमा कोर मधेसी समुदाय प्रदेश २ को नामाकारण ‘मधेस’ बाटै हुनु पर्ने पक्षमा देखिएका छन् । उनीहरुले मधेस र मधेसीलाई एउटा पहिचानका रुपमा स्थापित गर्न चाहेका छन् । केही जातिबादीहरु भने मिथिला प्रदेशमा देखिएका छन् । मिथिलाको ऐतिहासिकतालाई कसै कम आंकलन गर्न मिल्दैन, तर त्यही बहानामा सय भन्दा बढी मधेसी समुदायको सहादत र बलिदानीलाई अवमूल्यन गरिने प्रयास गर्नु ठूलो दुर्भाग्य हुनेछ ।  प्रदेशको सरकार र त्यसको नेतृत्व गरेका दलहरुको आधिकारिक धारणा अब चाही यो विषयमा आउनै पर्ने देखिन्छ । (युवा डटकम मासिक पत्रिकाका लागि ०७५ मंसिर १६ मा लेखिएको आलेख) 


No comments:

Post a Comment