- राजनीतिमा राजनेताहरु ‘क्रेन’ र ‘डाइनामाईट’ को भूमिका निर्वाह गर्न सक्नु पर्छ । क्रेनले मात्रै ठूलो चट्टानलाई बोक्न सक्छ, डाइनामाइटले मात्रै विशाल चट्टानलाई कमजोर पार्न सक्छ ।
- विजेता कहिले मैदान छाडेर भाग्दैनन् । भाग्नेहरु विजेता हुन्नन । त्यसैले भाग्नेहरुको पछाडि तर्क–कुतर्क र वाद–विदाद गर्दै दोहरी खेल्नुको तुक छैन । फेरी एउटै कुरो पटक–पटक गर्दा भिन्न परिणाम प्राप्त हुँदैन ।
- एउटा पुरानो भनाई छ, ‘अनुभवले मानिसलाई पूर्ण बनाउछ ।’ तर, अब यसले मात्रै काम चल्दैन । अब अनुभवसंगै ‘फिडब्याक’ जोडे मात्रै कुनैपनि संस्था, दल, नेता, नेतृत्व र व्यक्तित्व ‘परफेक्ट’ बन सक्छ ।
- दिनेश यादव (Dinesh Yadav)-----------------------------------------
 |
| DINESH YADAV(writer) |
राजनीतिमा एकता र एकिकरण, मोर्चा र मोर्चाबन्दी तथा गठबन्धन र सहकार्य अनिवार्य विषय हुन । खासगरि शक्तिशाली बन्नका लागि यो झनै अपरिहार्य हुन आउँछ । अधिकार प्राप्तिको लडाईमा त मित्र शक्तिसंग हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प नै हुँदैन, रहँदैन । किनभने यस्ता लडाई लड्नेहरुका लागि सत्तामा बसेकाहरु संधै ‘बहिरा’ हुने गरेको पाइन्छन्, हुन्छन् । ‘कोलाहल’ मच्चिने गरि आबाज बाहिर नआउञ्जेल उसले सुनेको कतै उदाहरण भेटिन्न । जहाँसम्म मधेस र मधेसीको सन्दर्भ छ, सय भन्दा बढी ‘नर–बली’ सत्तामा बसेकाहरुले लिइसक्दा पनि तिनीहरुको आबाज अझै सुनिएको छैन । त्यसैले त त्यो क्षेत्र र त्यहाँका बासिन्दा अझै पनि आन्दोलनमै छन्।आन्दोलन सफल बनाउनका लागि पनि माथि उल्लेखित ६मध्ये कुनै एक विकल्प राजनीतिमा आवश्यक पर्छ ।
भनिन्छ, राजनीतिमा राजनेताहरु ‘क्रेन’ र ‘डाइनामाईट’ को भूमिका निर्वाह गर्न सक्नु पर्छ । क्रेनले मात्रै ठूलो चट्टानलाई बोक्न सक्छ, डाइनामाइटले मात्रै विशाल चट्टानलाई कमजोर पार्न सक्छ । त्यसैले परम्परागत र पुरातनवादी सोच, मानसिकता र संस्कार भएका शासक र शासकीय घेरारुपी चट्टानका लागि शक्तिशाली बन्नुको विकल्प छैन, हुँदैन । छिटपुट घटनालाई छाडी दिने हो भने मधेसी दल र त्यसका नेताहरु एकै ठाममा आएकै कारण मुलुकका विभिन्न क्षेत्र र भूगोलमा बसोबास गर्ने थारु, मधेसी, मुस्लिम, जनजाति, आदिवासी, अल्पसंख्यक, दलित, शोषित, पीडित,उपेक्षित र दमितलगायतका मागको संवोधन भएकै हो । तिनीहरु बीचको एकता, मोर्चाबन्दी र गठबन्धनले विगतमा नेपाली राजनीतिक बृतमा क्रेन र डाइनामाइटको भूमिका निर्वाह गरिसकेको छ । पहिलो पटक ०६३–६४ को मधेस आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशवासीका नाममा दुई पटकसम्म सम्बोधन गर्न वाध्य पारेको घटना होस या तीन ठूला दलहरुले चाहेरै पनि एकै चरणमा पछिल्लो स्थानीय निर्वाचन गराउन नसक्नु, मधेसी दलहरुको एकता÷गठबन्धनकै परिणाम हो । ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिहरु नेपालको पछिल्लो संविधान ‘फास्ट ट्रयाक’ बाट जारी गर्न बाध्य हुनुको अन्य जे कारण भए नि मधेस केन्द्रित दलको मोर्चाबन्दी त्यसको ‘गुरुत्व केन्द्र’ बनेकै हो । भलै, त्यस बेला तत्कालिन मधेसी मोर्चाको भूमिका ‘फ्रि फल’ को नभएरै मधेसीजन ‘वेटलेसनेस’ अवस्थाबाट गुज्रिनु परेको थियो । त्यसैले त तिनीहरुको मनले सिरिङ–सिरिङको अनुभूति गरेको थियो, त्यस्ताका । पछिल्लो समय मधेसी मोर्चामा आबद्ध आधा दर्जन दल एकिकृत भएर राष्ट्रिय जनता पार्टी(राजपा) बनेपछि मधेसीजन फुरुङ र दंग भएका छन् । तर, भित्रभित्रै ‘ब्याड स्मेल’ आउन थालिसकेकाले चिन्तित समेत बनेका छन्, उनीहरु । त्यो ‘स्मेल’ संघीय गठबन्धनको नेतृत्व विवादका रुपमा सर्वत्र फैलाइएका छन । नकारात्मक सन्देश दिने उद्देश्यले भित्रकै केही महात्वाकांक्षी, अवसरवादी र प्रचारका भोको हुनेहरुले त्यो गराएकाले सच्चाउने र सच्चिने दुबै भूमिका राजपा नेतृत्वले निर्वाह गर्नै पर्छ । ‘मधेसी दलमा फाँटो’, ‘मधेसी पार्टी अलग्गिए’, ‘मधेसी दल टुक्रिए’ वा ‘विभाजित भए’ भन्दै भट्याउँदै देउसी खेल्नेहरु यहाँ धेरै भएकाले जोशमा होस पुर्याउन जरुरी छ । अतः कुनैपनि निर्णय गर्दा नेतृत्वले ‘म्याच्युरिटी’ र ‘ग्रयाभिटी’ निर्वाह गर्न सक्नु पर्छ ।
अर्को कुरो, विजेता कहिले मैदान छाडेर भाग्दैनन् । भाग्नेहरु विजेता हुन्नन । त्यसैले भाग्नेहरुको पछाडि तर्क–कुतर्क र वाद–विदाद गर्दै दोहरी खेल्नुको तुक छैन । फेरी एउटै कुरो पटक–पटक गर्दा भिन्न परिणाम प्राप्त हुँदैन । पछिल्लो एकीकरण परिणाममुखी बन्न कै लागि हो भने गज्ज्ब भो । तर देखाउनैका लागि हो भने यसले देश र मधेसको राजनीतिमा दुर्गामी प्रभाव छाड्ने निश्चित छ । अतः विजेता बन्नकै लागि नेताहरु अग्रसर भएका हुन भने सही समयमा सही निर्णय गर्न सक्नु पर्छ । आपसमा कलह, द्वन्द्व र वैमस्यता कायम हुने वा गराउने खालका विवादास्पद निर्णयहरुबाट टाढा बस्नै पर्छ । कहिले ‘होल्ड’ र कहिले ‘फोल्ड’ गर्ने भन्ने कुरा नेतृत्वले राम्ररी बुझ्न नसके दुर्घटना हुने गर्छ । एउटा पुरानो भनाई छ, ‘अनुभवले मानिसलाई पूर्ण बनाउछ ।’ तर, अब यसले मात्रै काम चल्दैन । अब अनुभवसंगै ‘फिडब्याक’ जोडे मात्रै कुनैपनि संस्था, दल, नेता, नेतृत्व र व्यक्तित्व ‘परफेक्ट’ बन सक्छ । किनभने औलामा सीमित सामाजिक संजालको युग हो, यो । तिललाई पहाड र पहाडलाई तिल बनाउने क्षमता यसमा छ । एकीकरणपछिका चुनौतिहरु धेरै छन् । त्यसैले नेतृत्वपंक्तिले सही ‘अब्जर्भर’हरुको छनौट गर्नै पर्छ । सकारात्मक सुझाब, सल्लाह, प्रतिक्रिया र आलोचनाबाटै कुनै पनि संस्था अग्रणी बन्नसक्छ । नेतृत्वपंक्तिको गणेश परिक्रमा र हनुमान चालिसा पाठ गर्नेहरु कै कारण दलहरुमा एकिकरणपछि ‘पोलिटिकल क्रयास’ भएको उदाहारण विश्वमा छयापछयाप्ती भेटिन्छन् । फेरी हिजोआज प्रशंसक भनेकै कार्यकर्ता र स्वार्थ पुर्ति गर्न चाहने जमात मात्रै हुन । शुभचिन्तकहरुको त ‘मोरल सपोर्ट’ मात्रै हुनेगर्छ । उसले ‘अब्जर्भर’ को भुमिका चाहीँ निर्वाह गर्न सक्छन । आलोचनात्मक प्रतिक्रियाहरु दिएर ‘राइट ट्रयाकर’ बन्न पनि सक्छ, बनेका उदाहारणहरु पनि छन् ।
- मधेसी दलमा एकिकरणबाट भएको ‘राजपा’ को अविष्कार मधेसी नेताको वाध्यता या आवश्यकता हो, या दुबै हो ? राजपाका अविष्कारक र सिल्पिकारहरुबाटै यो विषय स्पष्ट हुनु पर्छ ।
मधेसी दलमा एकिकरणबाट भएको ‘राजपा’ को अविष्कार मधेसी नेताको वाध्यता या आवश्यकता हो, या दुबै हो ? राजपाका अविष्कारक र सिल्पिकारहरुबाटै यो विषय स्पष्ट हुनु पर्छ । एकछिनका लागि मानौ यी दुवैका लागि हो भने ‘संघीय गठबन्धन’ को नेतृत्वबारे वक्तव्यवाजी किन ? जहाँसम्म एक घटकले नसोधिकनै निर्वाचनमा गएको विषय छ, त्यो पनि एकीकरणको वाध्यता र आवश्यकतासंग मेल खाने विषय हैन । मधेसमा निर्वाचन त बाँकी छदै छ नि । त्यहाँ ‘छाडा’ हुनेहरुलाई तह लगाए भई हाल्थ्यो । यसले मधेसका बृद्धिजीवि वृतमा दुईटा प्रश्नले स्पेस पाएको अवस्था छ , एउटाः कही प्रचारका लागि मात्रै त एकिकरण भएको हैन, अर्कोः एकिकरण रणनीतिक मात्रै त हैन ? यदि एकिकरण प्रचारात्मक र रणनीतिक मात्रै हो भने यो दीर्घावधिसम्म टिक्नै सक्तैन । तर, तर्कपूर्ण र कमन सेन्सको प्रयोग गरी सहज ज्ञान (इन्टयुशन) का आधारमा नेतृत्वबाट गरिएको एकिकरण हो भने ‘वाह–वाह’ भन्न धेरैलाई कर लगाउने छ । ‘मधेसीहरु संधै फुट्न जानेका छन’ भन्नेहरुका लागि पछिल्लो एकीकरण मुखमा बोझों लगाउन काफी हुनेछ ।
जे होस, केही दलहरुमाथि राष्ट्रवादको सम्मोहन हावी भएकै बेला भएको एकीकरण सन्देशमूलक छ । संगठन, सिद्धान्त र विचारलाई समायोजन गर्दै अघि बढे राजपा बनाउनेहरु आफ्नो मकसदमा अवश्य पुग्न सक्ला । ‘युज ब्याट्री’ र फतवा जारी गर्ने मंच पनि नबनोस, राजपा । संधै चर्चामा रहनका लागि वक्तव्यबाजीबाट पनि पार्टी जोगिनु पर्छ । छ दलका छ प्रवक्ता एउटै मञ्चमा आएकाले समायोजनमा समस्या त छ, तर असम्भव छैन । त्यस्तै, सत्तामा पुगेपछि आफ्नै सिद्धान्त र सन्तान (कार्यकर्ता) हरुको आहार गर्दै पत्नि भक्ति, आफन्तभक्ति, जातिभक्ति, नातागोताभक्ति र पैसाभक्ति देखाउने पुरानो रोगको अब चाही उपचार हुनु जरुरी छ । त्यहाँ रोगीहरुले पार्टीलाई कलंकित मात्रै पार्दैन सिंगो मधेसीको शीर निहुराउने गर्छन् ।
- सत्तामा पुगेपछि आफ्नै सिद्धान्त र सन्तान (कार्यकर्ता) हरुको आहार गर्दै पत्नि भक्ति, आफन्तभक्ति, जातिभक्ति, नातागोताभक्ति र पैसाभक्ति देखाउने पुरानो रोगको अब चाही उपचार हुनु जरुरी छ । त्यहाँ रोगीहरुले पार्टीलाई कलंकित मात्रै पार्दैन सिंगो मधेसीको शीर निहुराउने गर्छन् ।
०६३ को पहिलो मधेस विद्रोह जारी रहँदा सत्तामा बसेका केही मधेसी नेताले उक्त विद्रोहलाई ‘पानीको बुलबुला’ भनेका थिए । तिनै नेता पछि आफूलाई सच्चाउदै मधेस आन्दोलनमा सरिक भए । मोर्चाबन्दी गरी आन्दोलन गरे, सफल पनि भए । मुलुकमा संघियता, समावेशिता, समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी पनि भयो । आज तिनै नेताहरु एकाकार भएका छन्, डोरीका ६ सुता एक भएका छन् । अब, पानीको बुलबुला हैन, पानीको एक थोपा जस्तै बनेका छन् । जब पोखरीमा पानीको एक थोपा झर्छ, त्यसले एउटा यस्तो तरंगको सिर्जना गर्छ, जुन सबै दिशाहरुमा टाढा–टाढा सम्म फैलिन्छ । त्यस्तै संदेश संचार भएको छ, एकीकरणपछि ।
छ घटकबीचको एकीकरणपछि बनेको राजपाका चुनौतीहरु प्रशस्तै छन् । तल्कालको चुनौती भनेको नेतृत्वकै थियो । नयाँ पार्टीको नेतृत्व कसले गर्ने ? तर,नेताहरुले महाधिवेशन नभएसम्म पार्टी संचालन ‘अध्यक्षमण्डलीय’ पद्धतिबाट गर्ने निर्णय गरेर त्यसको सामाधान निकालेको देखिन्छ । दलको कामचलाउ पदाधिकारीको चयन र जिम्मेवारीको बाँडफाँड अर्को चुनौती हो । महात्वाकांक्षीहरु धेरै भएकाले यो विषय सबैभन्दा जटिल देखिन्छन । पहिलेकै दलमा पदाधिकारी बन्न मरिहत्ते गर्नेहरु अब चाहीँ चुप लागेर बस्लान भन्ने देखिँदैन । हुन त केही पदाधिकारीहरुको चयन गरिएका छन् , त्यसमा नेतृत्वपंक्तिको सुझबुझले गरेको निर्णय देखिन्छ । यसैगरि मिडियामा आफ्नो पहूँच बढाउने र मिडियाकर्मीलाई ब्रेकिङ न्युज दिनका लागि स्रोत बन्ने चाहना राख्नेहरु पनि राजपामा धेरै छन् । यसको समायोजन गर्न नेतृत्वलाई कठिन हुन सक्छ । एउटै समाचार पहिले जस्तै ६ प्रवक्ताहरुको छ खाले गए मिडियामा विश्वसनीयता गुम्ने खतरा पनि उत्तिकै रहन्छ । अलिक म्याच्योर्डलाई तत्कालै प्रवक्ता तोकेर अघि बढे राम्रो हुन्छ ।
- विभिन्न पार्टी र स्कुलिङबाट आएका नेता तथा कार्यकर्ताहरुलाई समायोजन हुन समय लाग्ने भएपनि तिनीहरुलाई ‘भींडमा छाडिएको साँढे’ हुनबाट रोक्नु नेतृत्व पंक्तिको अर्को चुनौती हो । पूर्व पार्टीभित्रै ध्रुविकृत अवस्थामा रहेका नेताहरुबीच नियमित संवाद कायम राख्न पनि जरुरी छ ।
यसैगरि राजपाको गठन बाहय शक्तिकेन्द्रको आडमा भएको आरोप लगाउनेहरु पनि छन् । यो आरोपलाई पुष्टि हुने कुनैपनि गतिविधि पार्टीले तत्कालै रोक्नु पर्छ । मित्रशक्ति दलहरुलाई चिढ्याएर मधेसी मुद्दाको संवोधन हुन सक्तैन । यसो गरिए त्यो त बदलाको भावले प्रेरित भएको ठहरिने छ । विभिन्न पार्टी र स्कुलिङबाट आएका नेता तथा कार्यकर्ताहरुलाई समायोजन हुन समय लाग्ने भएपनि तिनीहरुलाई ‘भींडमा छाडिएको साँढे’ हुनबाट रोक्नु नेतृत्व पंक्तिको अर्को चुनौती हो । पूर्व पार्टीभित्रै ध्रुविकृत अवस्थामा रहेका नेताहरुबीच नियमित संवाद कायम राख्न पनि जरुरी छ । यसका लागि छुट्टै एउटा प्लेटफार्म बनाउनु पर्ने हुन सक्छ । मधेसी मोर्चा र संघिय गठबन्धका नाममा सरकारसंग हुने वार्तामा सबै पक्ष जाने गरेकामा अब त्यसमा विराम लागेको अवस्था छ । एकीकरणपछि बागी (?) संघीय गठबन्धन पनि थपिएका छन । अगामी दिनहरुमा यसको छिनोफानो लाग्ने नै छ ।
अब नेताहरु चलचित्रको निर्देशक जस्तो भुमिका देखिनुपर्छ । निर्देशकले भन्छन, ‘लाइट्स, क्यामेरा, एक्सन’ । नेतृत्वपंक्तिले यी तीन शब्द भन्नु पर्ने अवस्था छ । लाइट्स र क्यामेरा मात्रै भनेर हँुदैन, एक्सन नभनिकनै अगाडि बढ्न असम्भव छ । सामाजिक संचालको व्यापकता र पहूँच भएको यो युगमा ‘आइडिएशन’ले मात्र पुग्दैन, एक्सनतर्फ अग्रसर हुनै पर्छ । अब यो मात्रै भनेर पुग्दैन, कि हामी गर्नेछौ । अगाडि बढ्नुस अनि गर्नुस् । मधेशी नेताहरु एक कदम त अगाडि बढेका छन, यो पनि एउटा प्रगति नै हो । किनभने पहिलो कदम नै सबैभन्दा चुनौतिपुर्ण हुने गर्छ । घृणा, तिरस्कार र निषेधले भरिएको समाजमा समृद्धिको प्रसार गर्ने प्रकाश–स्तम्भ मधेसी नेताहरु अब बन्नैपर्छ । विगतमा आफ्नै कुसंस्कार र वेमेल संस्कृतिले लगाएको दाग हटाउन पनि यसो गर्नैपर्ने देखिन्छ । नकारात्मक दृष्टिकोणमा सीमित भएर काम छैन । शंकाको अन्धकारमा रुमिलिए पनि काम छैन । अब त निद्राबाट ब्युझिनै पर्ने बेला आएको छ । (युवा डट कम मासिकका लागि २०७४ वैशाख २६ मा लेखिएको आलेख)