Saturday, 14 May 2016

प्लम्बरका छोरा यसरी बने अर्बपति

जेष्ठ १, २०७३- समाजमा पुख्र्यौली सम्पत्तिमा रजाइँ गर्नेहरू प्रशस्तै भेटिन्छन्। कर्म नगर्ने अनि भाग्यमा मात्र विश्वास गर्नेहरू पनि त्यत्तिकै छन्, समाजमा। तर, पुख्र्यौली धन नभएका र सधै कर्ममा विश्वास गर्नेहरूले यो संसारमा नाम र दाम दुवै पाएका उदाहरण पनि भेटिन्छ। ती मध्येका एक हुन्, अमेरिकी व्यापारी केन्नेथ गेरार्ड ल्यांगोन। आफ्नै श्रम र पसिनाले उनी अर्बपति बनेका छन्। 
उनका बुबा प्लम्बरको काम गर्थे भने आमा एउटा सानो ‘क्याफ्टेरिया’ मा मजदुरी गर्थिन्। सुन्दा आश्चर्य लाग्न सक्छ, मजदुरका छोरा कसरी अर्बपति बन्न सक्ला? तर, केन्नेथ अर्बपति बनेर देखाइदिएका छन्, व्यापारमा सफल भएर चर्चितसमेत बनेका छन्। हुन त उनको जीवनको सुरुको समय धेरै संघर्षपूर्ण रह्यो। उनले जीवनमा कुनै पनि कामलाई सानो ठानेनन्, मानेनन्। किशोरावस्थामा उनी कसाईका सहयोगी भएर काम गरे। त्यस्तै एउटा लामो द्रुतमार्ग निर्माणको काममा मजदुरीसमेत गरे, माटो खने, पैसा कमाए। उनी हाई स्कुलका विद्यार्थी छँदा प्रिन्सिपलले उनका अभिभावकलाई केन्नेथलाई कलेज पठाउने चिन्ता छाड्न भनेका थिए। अभिभावक भने उनलाई जसरी पनि पढाउन चाहन्थे। किनभने ल्यांगोनलाई आफूजस्तै मजदुरी गरेर जीवन यापन गरोस् भन्ने चाहना आमाबुकाको फिटिक्कै थिएन। बकनेल युनिभर्सिटीमा पढाउन पठाउनका लागि उनीहरूले एक पटक घरमै ल्यांगोनलाई ‘बन्धक’ पनि बनाए। सानैदेखि काम खोज्दै हिँड्ने स्वभावका कारण पढाइ त बिग्रिने होइन भन्ने चिन्ता आमाबुवालाई थियो। पछि ल्यांगोनले पढाइको महत्त्व बुझे। अनि कामसँगै विश्वविद्यालयमा पढ्ने निधोमा पुगे। साढे तीन वर्षमा उनी अर्थशास्त्रमा स्नातक डिग्री गरे। त्यसपछि उनी सेनामा भर्ना भए। वाल स्ट्रिटमा जानुअघि दुई वर्ष उनी सेनामै सेवारत रहे। सञ्चारमाध्यमहरूका अनुसार पछि उनले आफ्नो नामै पनि परिवर्तन गरेर आर डब्लू प्रेसप्रिक राखे। 
 ल्यांगोनको जन्म न्युयोर्कस्थित रोस्लिन हाइट्समा सन् १९३५ सेप्टेम्बर १६ मा इटालेली–अमेरिकी आमाबुबा र मजदुरी गर्ने परिवारमा भएको हो। बकनेल युनिभर्सिटीमा विद्यार्थी छँदा एक जना कसाईका सहयोगी भएर काम गर्दा खुबै रमाएको उनी बताउँछन्। यति मात्रै होइन उनी म्याचका क्रममा गल्फर्स क्लबमा चियालगायतका समानहरूसमेत पुर्‍याउने काम गरे। बकनेलमा छँदा उनी आपसी भाइचारा कायम राख्न खोलिएको ‘सिग्मा ची’ क्लबका सदस्यसमेत भए। स्नातक सकेर न्युयोर्क फर्कंदा रोस्लिन हाइट्सको नाम म्यानहटन भइसकेको थियो। त्यहाँ उनले न्युयोर्क युनिभर्सिटी स्टर्न स्कुल अफ बिजनेसमा रात्रिकालीन सेवामा भर्ना भए। दिनभरि काममा व्यस्त रहने राति विश्वविद्यालयको पढाइ गर्थे उनी। साँझको आंशिक समयमा न्युयोर्कमा ‘ल्यांगोन प्रोग्राम’ पनि सञ्चालन गर्न उनी भ्याए। जुन कार्यक्रम लोकप्रिय पनि बन्यो। 
सन् १९६० को दशकको सुरुमा उनले बाल स्ट्रिट फाइनान्सियल सर्भिसेज कम्पनीमा आरडब्लू प्रेसप्रिकको नामबाट आफ्नो करियर सुरु गरे। केही समयभित्रै उनी त्यसमा ‘मुभर एन्ड सेकर’ को भूमिकामा नयाँ व्यापार विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भए। सन् १९६८ मा ल्यांनोरले रोज पेरोटसँग भेट्ने अवसर पाएँ। त्यो भेट उनको लागि सार्थक रह्यो। रोजसँगै मिलेर इलेक्ट्रोनिक डेटा सिस्टम व्यापारमा लगानी गरे। सन् १९७४ मा त्यो व्यापारको साटो नयाँ कम्पनी खोल्न उनले सुर कसे। नयाँ कम्पनीहरूले उनलाई सफलता प्राप्त हुँदै गयो। त्यसपछि भवनहरूको विकास गर्ने व्यापारतिर लाग्ने सोच बनाए। यसका लागि योजना बनाउन थाले। संजोग नै भन्नुपर्छ, उनले घर सुधार शृंखला ‘ह्यान्डी डान’ मा लगानी गर्ने अवसर पाए। 
‘ह्यान्डी डान’ का सीईओ बनार्ड मार्कस र सीएफओ अर्थुर ब्ल्यांकसँग उनको राम्रो सम्बन्ध कायम भयो। उनी उक्त कम्पनीमा एक जना मामुली लगानीकर्ता भए पनि आफ्नो कडा परिश्रमले दुवैको मन जित्न सफल भए, त्यो व्यापारले केही समयमै फड्को मार्‍यो। यसले ‘ह्यान्डी डान’ का माउ कम्पनी ‘दि डेलिन कर्पोरेसन’ का सीईओ स्यान्डफोर्ड सिगिलोफसँग उनको घनिष्टता बढ्यो। पछि उनले मार्कस र ब्ल्यांकलाई ‘होम डिपोट’ कम्पनीमा लगानीका लागि तयार गरे। त्यही कम्पनीले उनलाई अर्बपति बनाइदियो। हाल यो कम्पनीमा तीन लाखभन्दा बढी कर्मचारी छन्। उनको चर्चा तब मात्रै भयो जब उनले न्युयोर्क स्टक एक्सचेन्ज खरिद गरे। उनी व्यापारमा मात्रै आफ्नो लगानी र योगदान पुर्‍याएका छैनन्, विभिन्न सामाजिक र परोपकारी कामका लागि लाखौं डलर सहयोगसमेत गरेका छन्। खासगरी विश्वविद्यालय, मेडिकल रिसर्च र प्रशिक्षण, शिक्षा र बालबालिकालाई सहयोग गर्दै आएका छन्। 
हाल अमेरिकी राज्य न्युयोर्कको स्यान्ड्स प्वाइन्टमा बसोबास गर्ने ८० वर्षीय केन्नेथ ल्यांगोन आफ्नैले सञ्चालन गरेको कम्पनीमा गरेको लगानीले अर्बपति छन्। फोब्र्स अखबारका अनुसार यो वर्ष उनी ३ अर्ब अमेरिकी डलरका साथ विश्वका अर्बपतिको सूचीमा ६३८ औं स्थानमा छन्। अखबारको अनलाइन संस्करणमा उनको कुल सम्पत्ति तीन अर्ब अमेरिकी डलर (रियल टाइम २३ मे २०१६) उल्लेखै छ। उनी यो वर्ष अमेरिकाको सर्वाधिक धनाढ्यहरूको सूचीमा २३० औं स्थानमा छन्। केन्नेथ ल्यांगोनको लगानी रहेको प्रमुख कम्पनीहरूमा होम डिपोट, युनिफाई र इली लिली एन्ड कम्पनी हुन्।
(एजेन्सीको सहयोगमा)

Tuesday, 10 May 2016

सुपारी तस्करीमा मिलेमतोको आरोपमा सईसहित १२ प्रहरी कारबाहीमा

बारामा सुपारी तस्करीमा मिलेमतोको आरोपमा सईसहित १२ प्रहरी कारबाहीमा परेका छन् । कारवाही गरिएकाहरुमा अञ्चल प्रहरीका घुमुवा सई राजेश यादव, सीमावर्ती मटिअर्वा छोटी नाकास्थित प्रहरी चौकीका इन्चार्ज असई रञ्जित दास, घुमुवा प्रहरी हवल्दार नागेन्द्र बैठा, जवान दिनेश पासवान, प्रमोद राउत अहिर, अशोककुमार प्रसाद, हवल्दार जितेन्द्र यादव र रामसेवक दास छन् । त्यस्तै कारवाहीमा परेकाहरुमा जवान हिम्मतलाल दास, राजेश्वर राउत अहिर, रामबालक महरा, सन्तोषकुमार यादव र रामचन्द्र छन् । तर, क्षेत्रीय प्रहरी स्रोतले बाराका एसपी समेत सुपारी प्रकरणमा मुछिएकाले कारवाहीको दायरामा ल्याइने भनिएपनि ती एसपीको नाम उल्लेख छैन ।  सुपारी साहू मटिअर्वा ९ का बृजकिशोर साहविरुद्ध प्रहरीमाथि ढुंगामुढा गर्न लगाएको आरोपमा सार्वजनिक मुद्दा दायर गरिएकोमा उनी फरार छन् । साहले सुपारी बैध भएको प्रमाण हुँदाहुँदै अरुको बहकाउमा प्रहरीले रिसइबी साँध्न सुपारी नियन्त्रणमा लिएर पथलैया राजश्व अनुशन्धान कार्यालयमा बुझाएको आरोप लगाएका छन् । यसैबीच मटिअर्वामा पुरुराज रिमालको नेतृत्वमा नयाँ टोली खटाइएको छ । 
Kantipur ko page 8 ma 28 Baishak 2073 ma prakashit News 

Sunday, 8 May 2016

३५ पटकको असफल वार्तापछि फेरी सरकारको आह्वान


३५ पटक असफल वार्ता र साढे दुई महिनादेखि टुटेको त्यो वार्ताको शृंखलामा निरन्तरता दिन सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग वार्ताकै लागि फेरी आह्वान गरेको छ । तर यस अवधिमा मोर्चाको स्वरुपमा परिवर्तन भइसकेको छ । पहिले ४ दल रहेको मोर्चामा ७ पार्टी पुर्‍यो । हाल मोर्चाकै नेतृत्वमा २९ दलिय संघिय गठबन्धन बनिसकेको छ । अब पनि सरकारले वार्ताका लागि चार दललाई मात्रै डाँकेको छ । मोर्चाकै तीन घटक सरकारको ‘पोइन्ट आउट’ बाहिर परेको छ भने २९ दलिय गठबन्धनलाई सरकारले प्रेषित गरेको आह्वानपत्रमा ‘नेग्लेट’ गरेको छ । मधेसी मोर्चाले शक्ति संचय गर्दै आफ्नो संघर्षलाई पहाडका जनजाति/आदिबासीसंग मिलेर फराकिलो बनाइसकेको अवस्था छ । तर, त्यसलाई नजरअन्दाज गर्दै पुरानै शैली सरकारले प्रदर्शन गरेको छ । मोर्चाकै भनाईमा ‘संघियता विरोधी’ व्यक्तिकै संयोजकत्वमा बनेको समितिमा आफूहरु नबस्ने र नफस्ने अडान पटक–पटक दोहराउँदै आएको छ । त्यसैले अब पनि वार्ता सफल होला जस्तो लाग्दैन । तर वार्ताको विकल्प पनि छैन । साँच्चिकै र सार्थक वार्ताकै सोच हो भने वार्ताको वातावरण बनाउनु सरकारको दायित्व अन्तर्गत पर्छ । त्यो दायित्वबोध भई अघि बढे मुलुकका नेताहरु ‘राजनेता’ बन्नेछन् । वार्ताकै लागि वार्ता गर्न मात्रै आह्वान गरिएको हो भने त्यो देश र जनताका लागि समस्याबाहेक अरु केही सिर्जना गर्न नसक्ने दाबी मधेस क्षेत्रका जानकारहरुको छ ।  

चार किलो सुनको सर्ट लगाउँछन्

Published on Kantipur Dail dated 7 May 2016 
- दिनेश यादव(काठमाडौं)  
गरगहना बनाउन मानिसले सुनको प्रयोग गर्छन्। तर, भारतमा एक जना धनाढ्यले सुनकै सर्ट बनाएर लगाउँछन्। त्यो पनि ४ दशमलव १० किलोग्रामको। आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर उक्त सर्ट बनाउन लगाएका थिए। त्यसयता त्यो सर्टको व्यापक चर्चा हुँदै आएको छ, ‘गिनिस बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता पनि भइसकेको छ। यसरी चर्चा पाउने र सुनको सर्ट लगाउनेमा महाराष्ट्र नासिकका ४७ वर्षीय कपडा व्यापारी पंकज परख हुन्। सानैमा उनलाई सुनप्रति मोह उत्पन्न भएको थियो। जब उनी पाँच वर्षका थिए, त्यही बेला पहेंला धातुहरूसँग खेल्ने उनको रुचि रहेछ।
आठ कक्षासम्म मात्रै पढेका उनी विद्यालयबाट ‘ड्रप आउट’ भई परिवारको सानो कपडा व्यापारमा संलग्न भए। तर, पंकजको पहेंलो धातु खासगरी सुनप्रतिको मोह कायमै थियो। सुनको औंठी, सिक्री लगाउने उनको चाहना थियो। एक दिन सुनकै सर्ट लगाउँला भन्ने सोचेकै थिएनन्, उनले। अथक परिश्रम र कडा संघर्षले सुनकै सर्ट लगाउने हैसियतमा पुगेका छन्, अहिले उनी। यसका लागि उनले कपडा व्यापारमा धेरै समय खर्चे। फलस्वरूप आम्दानी पनि बढ्दै गयो। त्यही आम्दानीले पंकजले आज ‘सुन मान्छे (गोल्ड म्यान)’ को नाम पाएका छन्। आफ्नो लक्ष्य दृढ र त्यसलाई प्राप्त गर्न कडा संघर्ष गर्न सक्नेको प्रगति एक दिन निश्चित हुँदो रहेछ।
पंकज यसको एउटा राम्रा उदाहरण बनेका छन्। महाराष्ट्र राज्यमा राष्ट्रिय कंग्रेस पार्टीका सदस्यसमेत रहेका उनी महाराष्ट्रका एक सफल व्यापारीबाट पनि चर्चित छन्। उनी मुम्बईबाट २६० किमि दूरीस्थित येओला सहरका नेसनलिस्ट कंग्रेस पार्टीका उपमेयर हुन्। महाराष्ट्रको मुम्बई नजिकै अर्बौंको उनको कपडा व्यापार छ। उनी येओलामा बस्छन्। पंकजको सम्पत्तिको स्रोत गार्मेट फ्याब्रिकेसन व्यापार नै प्रमुख हो।
जहाँसम्म पंकजको सुनको सर्टको कुरो छ, त्यसमा १८–२२ क्यारेडको सुन प्रयोग गरिएको छ। यो सर्ट बनाउन २० कालिगढलाई ३ हजार २ सय घण्टा लागेको थियो। सुनको सर्टमा अन्य सर्टमा जस्तै लगाउन सजिलो होस् भनेर सात वटा टाँक छन्, ती सबै सुनकै छन्। यो लगाउनमा अरामदायी र हानिरहित रहेको पंकज बताउँछन्। उनका अनुसार यसलाई सफा र मर्मतसमेत गर्न सकिने भएकाले लाइफटाइम ग्यारेन्टी छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार विश्वकै सबैभन्दा महँगो सुनको सर्ट भएकाले पंकजलाई हालै गिनिस बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त भएको छ। सर्टको मूल्य २ करोड ८ लाख रुपैयाँ हुन आउँछ।
पंकजले सुनको सर्ट मात्रै लगाउँदैनन्, सुनकै घडी, सुनकै सिक्री, ठूलो रिङ, गोल्ड मोबाइल कभर, गोल्डेन फ्रेम भएको चस्मा लगाउँछन्। यी वस्तुहरूसहित झन्डै १० किलोको सुन उनको शरीरमा सधैं हुने गरेको छ। पंकजले एक अन्तर्वार्तामा भनेका थिए, ‘जब म आफ्नो चम्किलो सर्टमा लाइसेन्स प्राप्त रिभाल्वर लिएर निस्कन्छु, सबै महिलाले मलाई नै हेर्छन्, पुरुषहरू भने एकोहोरिएरै हेर्छन्।’ सडकमा कुनैखालको अवरोध नहोस् भनेर उनी आफ्ना निजी गार्डहरूका साथ निस्कने गर्छन्। उनका दुई सुरक्षागार्ड छन् , जुन सधैं उनको साथमै हुन्छन्। झन्डै २५ वर्षअघि उनको विवाहमा बेहुलीभन्दा बढी सुन उपहार पंकजले नै पाएका थिए। अधिकांश अतिथिले पंकजका लागि सुन ल्याएका थिए। एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘सुनप्रतिको मेरो माया देखेरै होला मैले उपहारमा धेरै सुन पाएको हुँ।’ पंकजले सुनप्रतिको आफ्नो मोहबारे परिवारका सदस्यहरूलाई धेरै पहिलेदेखि थाहा रहेको बताए। उनले सन् २०१४ मा आफ्नो ४५ औं जन्मदिनका अवसरमा आफ्नो लागि २ लाख १३ हजार अमेरिकी डलर मूल्य पर्ने उक्त चर्चित सुनको सर्ट बनाउन लगाएका थिए।
महाराष्ट्र खडेरीको चपेटामा छ। हालै एक रिपोर्टअनुसार यो वर्ष मात्रै १ सय २६ जना कृषकले त्यहाँ आत्महत्या गरिसकेका छन्। कृषकहरूले आत्महत्या गर्नुका ऋणको बोझ, अनाजको उत्पादनमा कमी र घर खर्च धान्नै नसक्ने महँगी नै रहेको हो। तर, त्यही राज्यका पंकजले सुनकै सर्ट लगाउँदा धेरैलाई विरोध गर्ने मौका प्रदान गरेको छ। केही स्थानीय बासिन्दाले पंकजको यो अनौठो सोखलाई धन सो गर्ने रूपमा लिएका छन्। केहीले भने उनलाई राजनीतिकर्मीसमेत भएर जनताको धनमा रजाइँ गरेको आरोपसमेत लगाउँछन्।
यी आरोपहरूलाई चिर्न पंकज केही सामाजिक कार्यमा समेत आफ्नो योगदान पुर्‍याउँदै आएका छन्। उनले केही वर्षअघि १२० जनाको पोलियो अपरेसनमा आर्थिक सहयोग गरे। हरेक वर्ष कम्तीमा एक साता एक हजार बेड भएको हस्पिटलमा स्वयंवसेवक भई काम गर्छन्। खासगरी भारतमा पोलियो उपचारका लागि उनको योगदान रहँदै आएको छ। यसैगरी उनी अस्पतालमा भर्ना भएका निर्धनहरूलाई खाना, औषधि, शल्यक्रिया लगायतमा सहयोग पनि गर्छन्। उनले सुनकै सर्टको चर्चाका कारण हिन्दी सिनेका अभिनेता अमिताभ बच्चनले पंकजलाई घरमै बोलाउँदा खुसी भएको बताउँछन्।
पंकज परख एक्लो भारतीय होइनन्, सुनको सर्ट लगाउने। सन् २०१३ मा दत्त फुगेले २ लाख ३० हजार ८ सय ८८ अमेरिकी डलर खर्चेर सुनको सर्ट बनाएका थिए, जुन उनको कुल सम्पत्तिको एक तिहाइ थियो। सन् २०१३ अप्रिल १५ मा बीसीसीले दत्तका बारेमा एउटा स्टोरी सार्वजनिक गरेको थियो। त्यसमा विश्वकै सबैभन्दा महँगो सर्टबारे उल्लेख थियो। दत्तले बनाएको सुनको सर्टको तौल ३ किलोग्राम थियो।(Kantipur)
स्रोत : एजेन्सीहरू