Friday, 12 July 2013

युवा शौर्य

निरंकुश राणाशासनविरुद्धको आन्दोलन होस् या पहिलो जनआन्दोलन र त्यसको पुरक रुपमा भएको दोस्रो जनआन्दोलन र त्यसपछि भएको मधेस जनविद्रोहमा नेताहरुले युवाहरुको सहयोग, समर्थन र साथ पाए । तर सत्ताको खेलमा नेताहरु चुर्लुम्म डुबेपछि केही टाठाबाठा युवाजन बाहेक अधिकांश बेरोजगारीको सिकार भए या आफ्नो श्रम सस्तोमा बेच्न विदेशिए । नेताहरुको स्वार्थले युवाजगतले अधोगति बेहोरेको एउटा तीतो यथार्थ नै हो । नेपालमा आन्दोलनको सफलताको कुरो गर्ने हो भने विद्यार्थी नेताहरुको भूमिका सराहनीय र प्रशंसनीय छ । 
दिनेश यादव -
युवाहरुमा राजनीतिक चेतनाको विकाससंगै उनीहरुलाई थप परिष्कृत गर्न जरुरी छ । हाल युवाहरु राजनीतिक दलका नेताहरुको भ¥याङ, गुलाम र ‘युज व्याट्री’ मात्रै बनेकाले मुलुकको अवस्था विकट र संकटग्रस्त बनेको हो । दलगत राजनीति होस् या विद्यार्थी राजनीति दुवैको दशालाई सुक्ष्म विश्लेषण गर्ने हो भने उनीहरुको भूमिका सन्तोषजनक छैन, फलस्वरुप मुलुकको राजनीतिक दशा र दिशा डाँमाडोल अवस्थामा पुगेको छ । अपवादलाई छाडि दिने हो भने केही युवाहरु अहिले षयन्त्रकारीहरूको झुण्डमा परिणत भएका छन् । उनीहरु सत्ता र शासनको सुख पाउन आफू संलग्न दलका नेताहरुको ताबेदारी र गुलामी गर्न अभ्यस्थ हुँदै गएका छन्, भएका छन् । त्यसैले त कुनैपनि किसिमको कुटिल कुचक्र रच्ने राजनीतिक दलका आफ्ना नेताहरुको खुलेर विरोध गर्न उनीहरु सकिरहेका छैनन्, तयार देखिदैनन् । आफ्नो बलबुत्तामा राजनीति गर्नु पर्नेमा अमुक नेताको इसारामा चल्दा स्थिति भयावह बनेको हो ।
एकजना विद्वानले एक स्थानमा लेखेका छन्– राजनीतिको साकारात्मक पक्ष ः राजनीतिमा कोही सत्रु हुँदैन भने नाकारात्मक पक्ष ः राजनीतिमा कोही मित्र हुँदैनन् । फेरी किन युवा अमुक नेताको पिछलग्गु बनेर बस्ने ? राजनीतिक दलको विधान र सिद्धान्त मान्नु पर्ने कुरो आफ्नै ठाउँमा छ । तर गलतलाई गलत भन्न नसक्नु युवाजनको लाचारी र निरिहताबाहेक अरु केही हुनै सक्तैन ।
नेपालका अधिकांश राजनीतिक दलको नेतृत्वमा पुगेकाहरु पचास–साठी प्लस उमेरका छन् । उनीहरुको सही नेतृत्व अभावमा पार्टी मात्रै होइन देश र समाजले सही दिशा लिन सकिरहेको छैन । खासगरि प्रमुख भनिएका तीन राजनीतिक दल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्व बृद्ध नेताहरुले गरिरहेका छन् । ‘ओल्ड इज गोल्ड’ भनाई केही हदसम्म सही हुन सक्ला । तर पटक–पटकको अक्षमताले उनीहरु अब ‘गोल्ड’ रहेन भन्ने पुष्टि भइसकेको छ । मुलुकमा यी ‘पाका’ नेताहरुलाई जनताले बारम्बार साथ दिए तर उनीहरुबाट आमजनताले धोका बाहेक अरु केही नपाएको गुनासो धेरैको छ । कहिले प्रजातन्त्र त कहिले लोकतन्त्रका नाममा उनीहरुकै नेतृत्वमा भएको आन्दोलनहरुमा जनताले साथ दिएकै हुन्, सफलता पनि प्राप्त भएकै हो । तर ती आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई असक्षम, बुढा नेतृत्वबाट हुनै सकेन ।  खासगरि युवा जमातको असीम सक्रियतामा नेपालमा पटक–पटक आन्दोलनले सफलता पाएकै हो । निरंकुश राणाशासनविरुद्धको आन्दोलन होस् या पहिलो जनआन्दोलन र त्यसको पुरक रुपमा भएको दोस्रो जनआन्दोलन र त्यसपछि भएको मधेस जनविद्रोहमा नेताहरुले युवाहरुको सहयोग, समर्थन र साथ पाए । तर सत्ताको खेलमा नेताहरु चुर्लुम्म डुबेपछि केही टाठाबाठा युवाजन बाहेक अधिकांश बेरोजगारीको सिकार भए या आफ्नो श्रम सस्तोमा बेच्न विदेशिए । नेताहरुको स्वार्थले युवाजगतले अधोगति बेहोरेको एउटा तीतो यथार्थ नै हो । नेपालमा आन्दोलनको सफलताको कुरो गर्ने हो भने विद्यार्थी नेताहरुको भूमिका सराहनीय र प्रशंसनीय छ । तर नेताहरुबाट शुरुभएको पद लोलुपता र सत्ता केन्द्रित राजनीतिले युवा, विद्यार्थीहरुको त्यो भूमिकालाई अवमूल्यन गरेको भान सर्वत्र परेको छ , र त्यो क्रम अझै जारी छ । यहाँका राजनीतिक दलको केन्द्रिय पदाधिकारीहरुको सूची हेर्ने हो भने युवाहरुलाई नेतृत्वदायी भूमिकामा नेताहरुले कमै पु¥याएका छन् । पुगेकाहरु पनि आफ्नै समक्षमता र संघर्षले पुगेका हुन् । गगन थापा, रविन्द्र अधिकारी, लेखनाथ पौडेल, मनिस सुमन, सन्तोष मेहतालगायत केही अपवाद बाहेक युवाजन अझैपनि पार्टीको निर्णायक तहमा छैनन् । अझ उनीहरु फरक धारका रुपमा मात्रै पार्टीभित्र देखिएका छन् । यस्तो अवस्थाले मुलुकलाई प्रगतितर्फ कसरी दो¥याउन सक्छ ? फेरी यी युवाहरु पनि पार्टीभन्दा माथि उठ्नै सकेका छैनन् ।
मधेसी दलहरुमा भने सद्भावना पार्टीबाहेक अन्य पार्टीको केन्द्रिय पदाधिकारीहरुको सूची हेर्ने हो भने युवाहरुको उपस्थिति नगन्य मात्रै छ । युवाहरुलाई ती दलहरुले भातृसंगठनको पदाधिकारी बाहेक माथि उठ्नै दिएका छैनन् । तमलोपामा जितेन्द्र सोनार, फोरम नेपालमा अभिशेषप्रताप साहबाहेकका युवालाई नेतृत्व पंक्तिले सही अवसर दिएकै छैनन् । तर सरकारविरोधी आन्दोलनमा युवाहरुलाई परिचालन गर्न यी दलहरु सँधै अग्रपंक्तिमा रहने गरेका छन् । सद्भावनामा मनिस सुमनलाई महासचिव र सन्तोष मेहतालाई प्रवक्तामा र अन्य केही युवाहरुलाई केन्द्रिय समितिमा ल्याएर पार्टीले उदाहरणीय काम गरेको छ । तर त्यहाँ ‘एक व्यक्ति एक नेतृत्व र एक निर्णय’ को अवस्था रहेको गुनासो पार्टीकै कार्यकर्ताबाट हुँदै आएको छ । अन्य दलमा पनि यो अवस्था थोर बहुत देखिन्छ । तमलोपाको स्थापनाकाल देखि पार्टीको विद्यार्थी संगठनमा नेतृत्वदायी र सशक्त भूमिका निर्वाह गर्दै आएका सुरेशकुमार मण्डल, फोरम नेपालका अशोक यादव, लोकतान्त्रिक फोरमका कपलेश्वर यादवलगायतका युवा विद्यार्थीहरुको भूमिका पार्टीमा निर्णायक अझै बन्न नसकेको स्थिति छ । मधेसी आन्दोलनबाटै स्थापित अनिलकुमार झाको भूमिकाले धेरै युवाहरुलाई निराश बनाएको छ । पार्टी भित्रै रहेर गर्नुपर्ने काम आफ्नो व्यक्तिगत महात्वाकांक्षाले छुट्टै दल गठन गरी मन्त्री बन्न त सफल भए तर उनको ‘इमेज’ तराई मधेसमा ‘स्वार्थी’ युवा नेताका रुपमा दर्ता भएको धेरैको भनाई छ । मधेस केन्द्रित अन्य दलमा पनि युवाहरु भातृसंगठन बाहेक कार्यसमितिमा छैनन् । अहिले केही पार्टीले तराईका सशस्त्र समूहमा लागेका युवाहरुलाई आफ्नो दलमा भित्राउने भग्मग्दुर कसरत गरिरहेका छन्, केहीले भित्रयाइनै सकेका छन् । तर ती युवाहरुको राजनीतिक दलमा संलग्नतालाई धेरैले ‘संका’ को घेरामा राखेका छन् । राजनीतिक दलहरुले सक्षम र योग्य युवालाई नेतृत्वमा ल्याएर उचित सम्मान गरे देश र मधेसको भविष्य उज्जवल हुन सक्छ । मंसिर ४ मा संविधान सभाको अर्को चुनावको घोषणा भएको छ । राजनीतिक दलहरुले बढी भन्दा बढी युवाहरुलाई उम्मेदवारी दिन लगाएर विजयी बनाई पार्टी जीवनलाई क्रियाशिल बनाउनु पर्छ । होइन भने , देश र मधेस फेरी दशकौ पछाडि धकेलिनेछ ।  
 तर, युवाहरु पनि आ–आफ्नो पार्टीको नेतृत्वपंक्तिको विश्वास चाही जित्नैपर्छ । किनभने उनीहरुले विगतमा प्रदर्शन गरेका गतिविधि÷क्रियाकलापबाट आम जनता राजनीतिको सामान्य अर्थ समेत विर्सन थालिसकेका छन् । जन–जीवनमा राजनीतिको षडयन्त्र, कुटिलता, धूर्तता, चालबाजी, धोखाधडीको पर्याय बनेका नेताहरु भन्दा माथि उठेको आफूहरुलाई उनीहरुले प्रमाणित गरेर देखाउँनै पर्छ । यदि उनीहरुले यसो नगरे यो देश र समाजका लागि दुर्भाग्य हुनेछ । भनिन्छ, राजनीति राष्ट्रिय र अन्तर्राष्टिय सम्बन्धहरुलाई सुचारु र सुगम बनाउने प्रणाली हो । यसको आफ्नै मूल्य र नीतिहरु छन् , जुन सर्वजन हिताय र सर्वजन सुखायको उच्च आदर्शहरुबाट ओत–प्रोत हुन्छ । यिनै आदर्शहरुबाट प्रेरित भएर विश्वमा ठूलठूला परिवर्तन गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेको इतिहास साक्षी छ । हाम्रै मुलुकमा पनि विगतमा भएका जनआन्दोलनहरु र मधेस जनविद्रोहमा युवाहरुको महत्वपूर्ण योगदान रहेको कसैले पनि विर्सनु हुँदैन । जनआन्दोलनको सफलतापछि युवाहरुको भूमिका निस्क्रिय झै बनेको अवस्था छ । उनीहरु राजनीतिलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न उन्मुख देखिएका छन् , यो भन्दा अरु दुखद के हुन सक्छ ?
संवेदना र साहसको सघनतामा युवा शक्ति प्रज्जलित हुने गर्छ । भनिन्छ, जहाँ भाव छछलकिन्छ्, साहसको उदय हुन्छ  र बुझ्नु पर्छ यौवनको मशाल दनदनी ज्वालामा परिवर्तनका लागि आतुर छ, तत्पर छ । विपरीतताले युवाहरुलाई प्रेरित गर्नु पर्ने हो, विषमताहरुबाट उनीहरुमा उत्साह थपिनु पर्ने हो तर त्यस्तो हुन नसक्नु दुखद हो । फेरी समस्याहरुको संवेदनशिलताले नयाँ ऊर्जाको संचार पनि त गर्छ नि । तर युवाहरु समस्याबाट भाग्ने, वाक्क दिक्क भई बाटो विराउने गरेको उदाहरणपनि धेरै छन् ।
 शरिरीक महाबल, प्रतिभाको पराकाष्ठा, आत्माको परम तिव्रता र सबैभन्दा ठूलो कुरो महान उद्देश्यहरुका लागि आफूलाई समर्पित गर्ने बलिदानी साहसबाट युवा शक्तिले संधै असम्भवलाई सम्भव बनाएका छन् । उनीहरुको एक हुंकारबाट साम्राज्य मुठीमा सीमित भएका छन्, राज सिंहासन संकुचित बनेका छन् र नयाँ व्यवस्थाहरुको नवोदय भएका छन् । यति ऊर्जाशिल अवस्था हुँदाहुँदै मुलुक र समाजमा वेथितिहरु बढ्नुले त्यसको भागिदारी युवाहरु पनि कमवेशी छन्, हुन्छन् । वास्तवमा यौवन भनेको देवी महाशक्तिको वरदान हो । त्यसैले युवाहरुले आफ्नो ऊर्जाशिल समय देश निर्माणमा लगाउँनै पर्ने हुन्छ । उनीहरु सकारात्मक सोचका साथ अघि बढ्नै पर्छ ।
अर्को कुरो , संकटको ऐतिहासिक चुनौतिहरुको सामना समय–समयमा युवा शौर्यबाटै हुँदै आएको छ । जब–जब राष्ट्र र विश्व मानवतामाथि संकटको कालो बादल छाएको छ, युवाशौर्य प्रचण्ड अग्नी बनेर त्यसलाई छिन्न भिन्न गरेकै छन् । वैदिक इतिहासका कथाहरु होस या उपनिषदहरुका भनाईहरु, यही कुरालाई पुष्टि गर्छ । युवाहरुले विर्सनु हुँदैन, जनक्रान्तिको नेतृत्व गर्ने ऋषि वामदेव र सामश्रवा युवा नै थिए । त्यस्तै, सदाचारहरु, सत्संस्कारहरुलाई जन–जनसम्म पु–याउन सत्काम र सुकेशाले आफ्नो यौवनको सबै सुखलाई प्रसन्नतापूर्वक त्याग गरेका थिए । दस्युहरुबाट आक्रान्त आर्य संस्कृतिको रक्षा गर्ने महर्षि अगस्त्य युवानै थिए । उनले आफ्नो शौर्यबाट विध्यागिरीलाई झुक्न वाध्य पारेका थिए । यति मात्रै होइन, रावणको महाआतंकको चक्रव्यूह रचनालाई नष्ट गर्न श्रीरामले आफ्नो अभियानको प्राराम्भ युवावस्थामै गरेका थिए । उनले आफ्नो उक्त महाभियानलाई जन–अभियानको रुप दिएका थिए, जसमा कोल–किराँत, शबर, निषादलगायतका जनजातिका असख्य युवायुवतिहरु निस्वार्थ हाम फालेका थिए । यसैगरि आफ्ना अत्याचारी एवं शोषण प्रिय पिता सम्राट हिरण्यकश्पुलाई चुनौति दिने प्रह्लाल किशोर नै थिए । कुटिल–कुकर्मी कंशको विरोधमा जन–अभियान रचाउने कृष्ण–बलराम पनि किशोर नै थिए । त्यसैले यी उदाहरणबाट प्रेरणा लिँदै देश र मधेसका युवाहरु अघि बढे मुलुक र समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिको अन्त्य निश्चित छ । पार्टी नेतृत्वले पनि जौहरी बनेर डायमण्डको खोजीमा तत्परता देखाउनु पर्छ । अगामी संविधानसभाको निर्वाचनमा सबै दलले बढी भन्दा बढी युवा जमातलाई उम्मेदवारी दिन लगाएर मुलुकको समाजिक, आर्थिक, सांस्कृतिक, शेक्षिकलगायतका रुपान्तरमा सहयोग पु¥याउनु पर्छ । मुलुकमा विद्यमान गतिरोधको अन्त्य गर्न युवाहरुको नेतृत्व बाहेक अरु कसैले सक्तैन । राजनीतिमै सेताम्य कपाल बनाएका नेतृत्वहरुले अब चाहीँ अभिभावकको भूमिका बढी निर्वाह गर्नुपर्छ, नेतृत्वको जिम्मा युवा पंक्तिलाई दिए सर्वोत्तम हुनेछ । देश÷विदेशमा धेरै युवाजन मुलुककै नेतृत् वगर्ने हैसियतमा छन्, हाम्रो मुलुकमा पनि त्यस्ता धेरै युवाहरु छन् । त्यसैले सबै राजनीतिक दलले आफूबाट यो सकारात्मक कदमको शुरुवात गरेर देखाउनु पर्छ ।

मधेसमा प्रचारात्मक रणनीति

तराई–मधेसको कुनै ठाउँमा सुतली बम विस्फोट गराउने र निहत्थे जनताको हत्यापछि त्यसको जिम्मेवारी लिन तझाड–मझाडमा लाग्नेहरुबाट समेत पछिल्लो पटक ‘एकता’ वा ‘एकिकरण’ लाई प्रचारको शैली बनाएका छन् । अज्ञात स्थलमा ११ वटा सशस्त्र समूहबीच एकता भएको हालैको प्रचार ‘धन्दाबाज’ मधेसका केही पत्रकारबाटै भए । तर तराई–मधेसमा ती संगठनको कुनै हैसियततै नभएको भनाई त्यस क्षेत्रका जानकारहरुको छ 


दिनेश यादव
पहिले सत्ताका लागि मोर्चाबन्दी गर्ने मधेस केन्द्रित केही दल र त्यसका नेताहरु अहिले अगामी संविधानसभामा बढी भन्दा बढी सिट कसरी ल्याउने भन्ने कसरतमा जुटेका छन् । सत्तामा पुग्नुअघि विगतका सरकारहरुसंग गरेको सम्झौताका एउटापनि मुद्दा आफै सरकारमा पुग्दा समेत कार्यान्वयन गराउन नसक्ने उनीहरु पछिल्लो समय मधेस क्षेत्रमा आफूहरुलाई ‘खाँटी मधेसबादी’ भएको देखाउन तछाडमछाड गरिरहेका छन् । ती मध्ये केही त अन्य दलका कार्यकर्ताहरु आ–आफ्नो पार्टीमा भित्र्याउन व्यस्त देखिन्छन् । कोही भने तराई–मधेसमा ‘सशस्त्र संघर्ष’ का नाममा हत्याहिंसा मच्चाउनेहरुलाई आफूमा समाहित गराउने दौडमा छन् । यी र यस्तै गतिविधिलाई उनीहरुले मधेसमा प्रचारात्मक रणनीति बनाएका छन् । अमुक दलका असंतुष्टहरुको जमातलाई एकपछि अर्को गर्दै आफूमा भित्रयाउन उनीहरुले एकसूत्रिय अभियाननै थालेको जस्तो भान जनतामा पर्न थालेको छ । यो अभियानलाई एउटा अवसरवादी चरित्र भएकाले अर्को त्यस्तै प्रवृतिका व्यक्तिहरुलाई आफूमा समाहित भएको प्रचार पनि उनीहरुले गर्दै हिडेका छन् । केही आपराधिक चरित्रका व्यक्ति समेत यसलाई अवसरका रुपमा भग्मग्दुर उपयोग गर्न व्यस्त छन् । यसले मधेसी मात्रै होइन सिंगो नेपालकै जनता ती दलहरुप्रति सशंकित बनेका छन् । विगतका उनीहरुको गतिविधिबाट आजित बनेका मधेसी जनतामा फेरी डर र त्रास फैलिन थालेको छ । किनभने ‘नाइकेहरु’ विरुद्ध मुद्दा र उजुरीको एउटा थाती नै प्रहरी प्रशासनमा छ । उता आफूहरूलाई ‘सेभ’ बनाउन दलहरुनै अग्रसर भएपछि आपराधिक गिरोह ती ‘नाइकेहरू’ दंग र फुरुंग छन । केही समयअघिसम्म ‘छुट्टै राज्य’ को माग गर्दै हिडेकाहरुको नाम प्रहरीको ‘मोस्ट वान्टेड’ सुचीमा अझै नहटेको अवस्था छ । तर पछिल्लो समय उनीहरु अमुक दलका ‘केन्द्रिय नेता’ बनेर खुल्मखुल्ला हिड्न थालेका छन । विश्लेषकहरु भन्छन्, ‘ नेपालको संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै अपराधिक चरित्रका व्यक्तिहरु राजनीतिक दलहरूलाई आफ्नो ‘सेल्टर’ बनाउनु किमार्थ उचित होइन । यसले मुलुकमा दण्डहिनतालाई प्रश्रय मिल्छ । मधेसी जनताले दलहरुको यो कदमलाई सकारात्मक रुपमा लिइरहेका छैनन् ।’
      एमाओवादीको हेटौडा महाधिवेशनबाट शुरु भएको मधेसका सशस्त्र समूहका ‘नाइकेहरु’ लाई पार्टीमा समाहित गर्ने वा भित्रयाउने क्रम सद्भावना पार्टीले पछिल्लो समयमा पनि निरन्तरता दिइरहेको छ । हुनत, त्यसअघि र पछि पनि केही व्यक्तिले त्यस्तै नीति अख्तियार नगरेका भने होइन । पछिल्लो समय तराई–मधेस जागरण अभियानका जयप्रकाश प्रसाद गुप्ताले सशस्त्र समूहको एउटा ‘झुण्ड’ को नेतृत्वगर्ने राजिव झालाई पार्टीमा भित्रयाएको चर्चा अझै सेलाएको छैन । झालाई गुप्ता आफूले जेल जानुअघि उनकै नेतृत्वमा रहेको गणतान्त्रिक फोरमका उपाध्यक्ष बनाएका थिए । पछिल्लो समय झालाई अभियानका प्रवक्ता बनाइएको छ । यस्तै प्रवृति एमाओवादीमा समेत देखियो । हेटौडा महाधिवेशनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकताका आफूलाई सशस्त्र समूहको ‘नाइके’ भन्न रुचाउने प्रह्लाद गिरीलाई फूल, माला र अबिर लगाएर भित्र्याएका थिए । त्यसलाई पछ्याउँदै अहिले सद्भावनाका राजेन्द्र महतोले त्यस्तै ‘प्रवृति’ का कौटिल्य शर्मालाई पार्टीमा भित्रयाएर उच्च सम्मान दिनुलाई धेरैलाई ‘राजनीति’ मा जे पनि हुँदो रै’छ भन्न कर लगाएको छ । हुनत, महतोले त्यसअघि पनि आपराधिक गिरोहका केही ‘नामूद अपराधी’ पार्टीमा भित्र्याइ सकेका छन् । यसरी राज्यलाई ठाडो चुनौती दिँदै हिड्नेहरुका लागि एमाओवादी, सद्भावना, तराई–मधेस जागरण अभियान ‘सुरक्षा कबच’ का रुपमा देखा परेको छ । र, ती पार्टीहरुले यसको व्यापक प्रचार पनि गर्दै आएको छ । त्यसैले त गिरी एमाओवादीमा प्रवेश गर्दा ताका होस् या सद्भावनामा शर्माको प्रवेश नै किन न होस्, मिडियामा खुबै चर्चा पाएको हो । अझ जयकृष्ण गोइतसंगको वार्तापछि जयप्रकाश गुप्ताले प्रचारमा ल्याएका तथ्यहरुले पनि नेताहरु अब ‘प्रोपागाण्डिस्ट’ बनेको पुष्टि गर्न काफी छ । आतंकबादी र आपराधिक समूहले आफूलाई प्रचारमा ल्याउने विभिन्न हथकण्डा अप्नाउने पुरानै शैली भएपनि शान्तिपुर्ण राजनीतिमा लागेकाहरु त्यस्तै गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । आफूलाई ‘क्रान्तिकारी’ र ‘पृथ्थकतावादी आन्दोलन’ का ‘नाइके’ थान्नेहरु शान्तिपूर्ण राजनीतिमा आफ्नो दिनचर्या कसरी व्यतित गर्ने हुन्, त्यो चाहीँ हेर्न बाँकी छ । अत? यसबारे तत्कालै टिप्पणी गरिहाल्नु उचित हुँदैन, छैन । तर अगामी दिनहरु त्यस्ता व्यक्ति अंगाल्ने राजनीतिक दलका लागि भने सुखद पक्कै हुने छैन । विगतमा डर र त्रास फैलाएर आफ्नो धन्दामा मालामाल बन्न सदैव तत्पर रहनेहरूलाई पार्टीमा प्रवेश गराइ ‘गौवान्वित’ हुनेहरूले के हेक्का राख्नु पर्छ भने खहरे खोलाको बाढी धेरै बेर टिक्ने छैन, टिक्दैन । यो त उनीहरुका लागि जीवनदान दिने विषय मात्रै बन्न सक्छ । हो, यो क्षणिक प्रचार सामग्री त पक्कै बन्न सक्छ । किनभने सशस्त्र समूहका पूर्व ‘नाइके’ भनाउँनेहरुले विगतमा उनीहरुको गतिविधिलाई प्रचारात्मक बनाएको जगजाहेरै छ ।
     यसैगरि, तराई–मधेसको कुनै ठाउँमा सुतली बम विस्फोट गराउने र निहत्थे जनताको हत्यापछि त्यसको जिम्मेवारी लिन तझाड–मझाडमा लाग्नेहरुबाट समेत पछिल्लो पटक ‘एकता’ वा ‘एकिकरण’ लाई प्रचारको शैली बनाएका छन् । अज्ञात स्थलमा ११ वटा सशस्त्र समूहबीच एकता भएको हालैको प्रचार ‘धन्दाबाज’ मधेसका केही पत्रकारबाटै भए । तर तराई–मधेसमा ती संगठनको कुनै हैसियततै नभएको भनाई त्यस क्षेत्रका जानकारहरुको छ । ‘व्यक्तिपिच्छे संगठन खडा गरिएकाहरुले एकिकरणको हौवा फैलाएर मानिसमा डर र त्रास कायम गरी लुट, चन्दा आतंकको खेतिलाई थप मलजल गर्न मात्र खोजेको देखिन्छ’ मधेसका एक बुद्धिजीविले भने । उता, सत्तामा पुगेर जनताका लागि केहीगर्न नसकेको तमलोपालगायतका पार्टीहरू एकिकरण वा मोर्चाबन्दीको प्रस्ताव लिएर मधेसी पार्टीबीच पुगेको प्रचार पनि जारी छ । महिनौ भईसक्दापनि टेरपुच्छर समेत लगाउन नसक्ने नेताहरुको बीच एकता वा एकिकरणको कुनै सम्भावना नरहेको भन्नेहरु मधेसमा प्रशस्तै छन् । सद्भावना महासचिव मनिस सुमनले मधेस आन्दोलन भइरहेका बेला सत्तामा रहेका महन्थ ठाकुरले धेरै मधेसीलाई ‘गोली हानी हत्या’ गरेकाले उनको नेतृत्वमा मधेसकेन्द्रित दलहरुको एकिकरण असम्भव भएको प्रतिक्रिया आफ्नो फेसबुक स्टेटस मार्फत् हालै सार्वजनिक गरेका छन् । उनकै पार्टी अध्यक्ष पनि पार्टी एकिकरणको पक्षमा नरहेको लगभग प्रष्ट भइसकेको छ ।
यसैबीच, असार २२ मा राजकिशोर यादव नेतृत्वको गणतान्त्रिक फोरमबाट सद्भावना प्रवेश गरेका केही नेता÷कार्यकर्ताहरुबारे जयप्रकाश गुप्ता नेतृत्वको अभियानका आत्माराम साहले आफ्नो फेसबुक स्टेटसमा ‘ पंक्षि रुपी नेताहरुलाई अन्न दिएर पार्टीमा प्रवेश गराएकोमा त्यो दिगो नहुने’ आशयसहित प्रतिक्रिया लेखेका छन् । उनले भनेका छन्, ‘रुपैया रुपी पिजडामा ती पंक्षी (आगन्तुक नेताहरु) लाई धेरै टिकाउन सकिने हैसियत र अवस्था मधेसका कुनै नेतासंग छैन । ’ सद्भावनाका केन्द्रिय सदस्य उपेन्द्र महतो भने पार्टीमा आएकाहरुको फोटोसहित विवरण तत्कालै समाजिक संजालमार्फत् सार्वजनिक गर्न जारी राखेका छन् । उनको यो शैली पनि प्रचारात्मक मात्रै भएको ठम्याई धेरैको छ । यसअघि सद्भावना पार्टीले आफ्नो संगठन नेपालको ७५ जिल्लामा पु¥याएर पहाडबाट पनि उम्मेदबारी दिइने प्रचार समेत गरिसकेको छ । यसैबीच, विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले अगामी संविधानसभाको निर्वाचनमा ‘लोकतान्त्रिक फोरम नेपाल’ को नामबाट लड्ने प्रचारमा जुटेको छ । उनको यो प्रचारलाई केही ‘कट्टर’ मधेसीहरुले गच्छदारले ‘मधेस शब्दलाई समेत छाडेको’ आरोप लगाएका छन् । यी र यस्तै प्रचारहरुको प्रभाव अगामी निर्वाचनमा के कति पर्ने भन्नेबारे तत्कालै कसैले केही प्रतिक्रिया जनाउन चाहेका छैनन् । तर अगामी निर्वाचनमा मधेस सबैभन्दा चर्चाको शिखरमा रहने दाबी चाही मधेसी बुद्धिजीविहरुको छ । उनीहरु भन्छन्, ‘पटक–पटक सत्तामा पुगेकाहरुबाट पछिल्लो समय अप्नाइएका प्रचारात्मक शैलीले मधेसको हित कम नेताहरुको हित बढी हुने देखिन्छ । संघियता, समावेशिकता र सेनामा मधेसीको प्रवेशलगायतका मुद्दा आजको मितिमा पनि ज्यूँकात्यूँ छन् । यी मुद्दाहरु मधेसीका मात्रै होइन जनजाति, आदिवासी, दलित, अल्पसंख्य , सीमान्तकृत जनताहरुको पनि भएकाले अगामी निर्वाचन रोचक बन्न पक्का छ । यसले अगामी संविधानसभाबाट पनि मुलुकले संविधान पाउने हो÷होइन भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छन् । राजनीतिक दल तथा त्यसका नेताहरू नानाथरिका प्रचारात्मक शैली अप्नाएपनि जन–जनले मुलुकमा शान्ति र अमनचयन , रोजगारी र अवसर, गाँस, बास, कपास र विकास मात्र चाहेका छन् । नेताहरुले जेसुकै गरुन तर मुलुकको राजनीतिक अस्थिरताको निकाश शान्तिपूर्ण तवरमा होस् भन्ने जनताको चाहना छ ।     

मोर्चाबन्दीतर्फ उन्मुख मधेसी दल

मधेसी नेताहरु आ–आफ्नै दाउमा रहेकाले समस्या खडा हुँदै आएको हो । सरकार बनाउने बेला एक हुनेहरु चुनावमा जाँदा एक नहुनुलाई धेरैले दुर्भाग्यको रुपमा लिँदै आएका छन् । फेरी सत्तासिन बन्नकै लागि दल फोड्नेहरु पनि मोर्चाका लागि ललायित हुनुले उनीहरुको नियत र मनोदशालाई जोकोहीले सजिलै आंकलन गर्न सक्छन् ।


दिनेश यादव 
एमाओवादी, कांग्रेस र एमालेलाई मधेसकेन्द्रित दलहरूले मधेसी विरोधी पार्टी भएको प्रचार गर्छन्, आरोप लगाउँछन । तर, सरकार बनाउने बेला भने उनीहरु मौन बस्छन्, विरोध गर्दैनन् । अर्को संविधानसभाको मिति घोषणा लगतै मधेस केन्द्रित दलका नेताहरुमा फेरी त्यही पुरानै रोग बल्झिएको छ । प्रमुख पार्टीहरुका विरोधमा चर्का भाषणबाजी गर्दै हिडेका छन् । मधेसी बुद्धिजीविहरु भन्छन्, ‘यसो गर्नुको प्रमुख कारण चाहीँ उनीहरु एकजूट हुन नसक्नुको आक्रोश हो । मधेस केन्द्रित दलहरुबीच विलय वा एकिकरण वा मोर्चावन्दीबारे धेरै पहिलेदेखि बहस भएपनि सार्थक रुप धारण गर्न नसक्दा आफ्ना कमजोरीहरु लुकाउन अन्य दलमाथि दोषारोपणमा उनीहरु उत्रेका हुन् ।’ धेरैले विलय वा एकिकरणलाई असम्भव भनेका छन् ।  केहीले भने यसको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । अन्य केहीले चाहीँ मधेसी दलहरुबीच मोर्चाबन्दीसम्म हुनसक्ने लख काटेका छन् । विगत पाँच–सात वर्षयता भारतले नेपालमा आफ्नो ‘इन्ट्रेस्ट’ पुरा गर्न मधेसी पार्टीहरूलाई प्रयोग मात्रै गरेको भन्नेहरु पनि छन् । यी भनाइ राख्नेहरूले ‘मधेसी पार्टीहरुको प्रयोग भारतको केन्द्रिय सरकार वा नेपाल मामिला हेर्ने भारतीय प्रशासक वा काठमाडौस्थित भारतीय दुतावासको नीति अन्तर्गत भइरहेको भन्नेबारे स्पष्ट हुन सक्ने’ स्थिति नभएको तर्क  गर्छन् । तर उनीहरु दाबीका साथ भन्छन्, ‘मधेसी राजनीतिलाई भारतले ‘बार्गेनिंग चिप’ का रुपमा आफ्नो ‘प्राइम इन्ट्रेस्ट’ लाई सन्तुलन बनाउन मात्र प्रयोग गर्दै आएको एउटा तीतो यथार्थ हो ।’ यी भनाईहरुलाई मधेसी दलका केही नेताले ठाडै अस्वीकार गरिदिएका छन् । तमलोपाका नेता तथा पूर्व सभासद् जितेन्द्र सोनलले भारतले आन्तरिक रुपमा राजनीतिमा कुनै हस्तक्षेप गरेको आफूलाई थाहा नभएको बताउँछन् । उनी भन्छन्, ‘भारतले संधै शान्ति, लोकतन्त्र र विकास मात्र चाहेको छ , त्यसैले उसले मधेसी दलहरुलाई प्रयोग गर्ने गरेको आरोप तर्कसंगत छैन ।’
सोनलले केही मधेसी दलहरु विलय वा एकिकरण भएर जाने बताए । उनी थप्छन् , ‘उपेन्द्र यादव र विजयकुमार गच्छदारको नेतृत्वमा रहेको फोरम दुईटा, तमलोपा र सद्भावना एक–एक गरी मधेसमा चार वटा मधेस ‘बेस’ पार्टी हुन । चारैबीच विलय वा एकिकरण सम्भव नभएपनि दुई वा तीन दलबीच यो सम्भव छ । ’ उनले मधेसी जनताले दलहरुलाई मिलेर आउन भनिरहेकाले यसको विकल्प नभएको बताए ।
‘जहाँसम्म नेतृत्वको कुरो छ , यो प्रमुख विषय होइन । तर पनि कुनै खास व्यक्तिको नेतृत्वमा दलहरुबीच एकता वा विलय वा मोर्चावन्दी हुन नसकेको अवस्थामा ‘रोटेशन सिस्टम’ मा जान सकिन्छ ’ उनले विकल्प साथ भने, ‘ मधेसका मेजर पार्टीहरुबीच एकता वा मोर्चावन्दीले सकारात्मक सन्देश दिने भएपनि अन्य साना दलहरुलाई समेत यसमा समाहित गरिनुपर्छ ।’
स्रोतका अनुसार विजयकुमार गच्छदार, महन्थ ठाकुर र उपेन्द्र यादवले अगामी मोर्चाको नेतृत्वमा आ–आफूलाई दाबी गर्दै हिडेका छन् । तर आन्तरिक र बाह् शक्ति केन्द्रहरु भने गच्छदार र यादवको नेतृत्वमा भन्दा ठाकुरलाई अघि सारेका छन् । ‘पार्टी विलयका लागि प्रत्यक्ष प्रभाव भारतीय संस्थापन पक्ष र काठमाडौंस्थित दुताबासको रहँदै आएको छ ’ एक जना मधेसी विश्लेषकले भने, ‘संस्थापन पक्ष र दुताबास दुबैले गच्छदारलाई अन्य सबै पार्टीका नेताहरुलाई ठाकुरको नेतृत्वमा एकिकरण गर्न दबाव दिइरहेको छ ।’
यसैबीच, राजेन्द्र महतोले मधेसी दलहरुबीच विलय वा एकिकरण वा गठबन्धनमा खासै चासो नदेखाएपनि यो कुरोलाई पुर्ण अस्वीकार चाही गरेका छैनन् । स्रोतका अनुसार मधेसको सबैभन्दा पुरानो पार्टी सद्भावना भएकाले महतो आफ्नै नेतृत्वमा दलहरुबीच एकिकरण वा विलय हुनुपर्ने चाहना राखेका छन् । त्यसैले ‘मृत्तप्राय’ बनिसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा पहिले उसले आफ्नो प्रतिनिधि पठाउने गरेकोमा पछिल्ले समय महतोले त्यसो गर्न समेत उचित ठानेनन् ।
मिडियाहरु मार्फत् मधेसी दलहरुबीच एकता वा मोर्चावन्दीको चर्चा भइरहँदा सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले यसबारे वार्ता नै नभएको प्रतिक्रिया दिए । ‘तमलोपा, लोकतान्त्रिक फोरम र फोरम नेपालसंग यसबारे कुनै वार्ता भएको छैन ’ कर्णले भने, ‘वार्ता भएपछि मात्र हाम्रो पार्टीको अडान के हुने स्पष्ट हुन्छ ।’ उनले मधेसी पार्टीको विलय वा एकताको कुनै सम्भावना नरहेको बताए । ‘मोर्चाबन्दीसम्म चाहीँ गर्नुपर्ने पक्षमा हामी छौ ’ उनले भने, ‘ मोर्चाबन्दीको नेतृत्व कसले गर्ने भन्ने विषय छलफलबाट तय गरिनुपर्छ । ’
यता, तमलोपा नेपालका दानबहादुर कुर्मीले पनि मधेसी दलहरुमा विलय वा एकिकरणको सम्भावना नरहेको बताए । ‘तर मधेसी दलहरुबीच चुनावी मोर्चाबन्दी अपरिहार्य छ ’ उनले भने, ‘ जनताको चाहना मधेसी दलहरु एक भएर आउनु पर्छ । चुनावका लागि अगामी दिनमा बन्ने मोर्चाको नेतृत्व शक्ति केन्द्रहरूको चाहना अनुसार कुनै एक व्यक्तिबाट असम्भव छ ।’ पूर्व सभासद् समेत रहेका कुर्मीले दुई वा तीन जनताको नेतृत्वमा मोर्चाबन्दी हुन सक्ने बताए । ‘नामै तोकेरै भन्ने हो भने उपेन्द्र यादव, विजयकुमार गच्छदार र महन्थ ठाकुरको नेतृत्वमा मोर्चाबन्दीको सम्भावना छ ’ उनले भने ।
मधेसी नेताहरु आ–आफ्नै दाउमा रहेकाले समस्या खडा हुँदै आएको हो । सरकार बनाउने बेला एक हुनेहरु चुनावमा जाँदा एक नहुनुलाई धेरैले दुर्भाग्यको रुपमा लिँदै आएका छन् । फेरी सत्तासिन बन्नकै लागि दल फोड्नेहरु पनि मोर्चाका लागि ललायित हुनुले उनीहरुको नियत र मनोदशालाई जोकोहीले सजिलै आंकलन गर्न सक्छन् । त्यस्तै, एउटा दलका नेता मधेस विद्रोह आफूहरुको नेतृत्वमा भएको दाबी गर्दै हिडेका छन् भने अर्को मधेसी दल तराई–मधेसको सबैभन्दा पुरानो पार्टी भएको डिंग हाक्दै हिडेका छन् । तेस्रो पार्टी भने दोस्रो मधेस विद्रोह आफ्नो नेतृत्वमा भएकोले मधेसी दलहरुबीचको एकताको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएका छन् । पछिल्लो भनाई राख्ने नेता शक्ति केन्द्रहरुको गोटी बन्न आतुर भएकाले मिडियामा उसैको खुब चर्चा हुने गरेको भनाई विश्लेषकहरुको छ ।