निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि जेठ १६ सम्म दल दर्ता हुन गरेको आह्वान अन्तर्गत आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखामा निवेदन दिएका १३९ मध्ये ४१ वटा दल मधेसीको नेतृत्वमै रहेका छन् । गत वैशाख १७ देखि जेठ १६ सम्म परेको निवेदनका आधारमा सद्भावना पार्टी र मधेसी जनअधिकार फोरमको नाममा पाँच–पाँच वटा छन् । त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका नाममा दुईटा दलले निवेदन दिएका छन् ।
–दिनेश यादव
माग र मुद्दा मात्रै होइन घोषणापत्र समेत उस्तै–उस्तै रहेको मधेसी नेतृत्वका दलहरूको संख्या हवात्तै बढेको छ । ती दलका नेताहरूको माग र मुद्दाको उठान शैली तथा घोषणापत्रका वाक्य विन्यासहरु फरक–फरक भएपनि सबैको सार भने एउटै छ । पहिचान, संघियता र समावेशिकता उनीहरुको साझा मुद्दा हो । तर पनि उनीहरु एकजूट हुन सकेका छैनन् । मधेसीहरुको सांस्कृतिक, भाषिक, सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक सवालहरुको सवोधन हुनुपर्ने जिकिर खुबै गर्छन, उनीहरु । तर, एकै थलो र मञ्चमा बसेर मधेस र मधेसीको मुद्दा सम्बोधन गराउन उनीहरु पटक–पटक चुक्दै आएका छन् । सत्ताका लागि मोर्चा र एकता गर्न निपुण मधेसी नेतृत्वको दलहरु सत्तामा नहुँदा धुँजा–धुँजामा बाँडिन्छन्, टुक्रिन्छन् । संविधानसभाअघि एक हातको औला बराबर रहेको मधेसी दलहरु संविधानसभापछि दुवै हात र खुट्टाको औलाको गन्तिमा अटाउन सकेनन् । ‘सद्भावना’ र ‘फोरम’ को ‘ट्याग’ लगाउनेहरु बीस भन्दा बढी भएका थिए । व्यक्तिपिच्छे नेता र नेतापिच्छे पार्टीको गठन भयो । पछिल्लो समय ‘एक पार्टी, एक झण्डा र एक निर्वाचन क्षेत्र’ को अवधारणा÷प्रस्तावलाई ती मध्ये केहीले अघि सारेका छन् । ती प्रस्ताव सार्नेहरु संविधानसभापछि बनेको हरेक सरकारमा सत्तासिन हुने अवसर पाएका थिए । पटक–पटक सरकारमा गएपनि आफूहरु सम्मिलित मोर्चाले विगतका सरकारहरुसंग गरेको सहमतिलाई समेत कार्यान्वयनमा ल्याउन साहस जुटाउन सकेनन् । अहिले एकले अर्कोमाथि आरोप लगाउँदै हिलो छ्यापाछ्याप गर्दै हिडेका छन् । अनि कुरो गर्छन् ः मधेसीको सबैखाले मागको संवोधन एकजूट भएर निर्वाचन लडेर जिते मात्र सम्भव हुन सक्छ । मधेसी दलहरुमा एकता नभए पहाड खस्ने जस्तो भाषण थोक्दै हिडेका छन्, मधेसी नेताहरु । निमुखा मधेसी जनतासंग ढाटको खेति गरिरहेका छन् । कुरो मधेस र मधेसीको गर्ने तर सत्ता नपाए ‘पानी बिनाको माछो’ जस्तो प्रवृतिले स्वयं नेताको पनि हि तगर्दैन । जनताको हित गर्ने त कुरै भएन । अहिले जनताको विश्वास उनीहरुमाथिबाट गुमेको अवस्था छ । पछिल्लो समय एकताका कुरा गर्ने मधेस केन्द्रित केही दलहरु आ–आफ्नै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । गोलमेच सम्मेलन गरि सबैलाई एकजूट गर्दै अघि बढ्नु पर्नेमा जति नेता त्यति पार्टी दर्ता गराएर उनीहरुले इतिहास रचेका छन् ।
निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि जेठ १६ सम्म दल दर्ता हुन गरेको आह्वान अन्तर्गत आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखामा निवेदन दिएका १३९ मध्ये ४१ वटा दल मधेसीको नेतृत्वमै रहेका छन् । गत वैशाख १७ देखि जेठ १६ सम्म परेको निवेदनका आधारमा सद्भावना पार्टी र मधेसी जनअधिकार फोरमको नाममा पाँच–पाँच वटा छन् । त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका नाममा दुईटा दलले निवेदन दिएका छन् । आयोगमा दल दर्ताका लागि निवेदन दिएका मधेसी नेतृत्वको दललाई जातिगत रुपमा सात भागमा विभाजन गर्ने हो भने सबैभन्दा बढी ओबिसी समुदायको नेतृत्वमा १४ वटा रहेका छन् । त्यसपछि तराई–मधेसका उच्च जाति (ब्राह्मण÷राजपूत) नेतृत्वको ९, यादव नेतृत्वमा ८, थारु जातिका ४, मुस्लिम समुदायका दुई र दलित एक तथा अन्य तीन वटा दल मधेसीको नेतृत्वमा रहेका छन् । अन्य तीनमा शरदसिंह भण्डारी, र मोतिप्रसाद दुगडको दल समेत रहेका छन् । ओबिसी अन्तर्गत साह, तेली, कानु, कलबारलगायतका झण्डै चार दर्जन जाति पर्छन् । यादवलाई पनि यही समूह अन्तर्गत राखिए ओबिसी समुदायका व्यक्तिको नेतृत्वमा दलको संख्या २२ पुग्नेछ । अर्थात यी जातिहरु विभाजित मानसिकताबाट ग्रस्त भएकाले नेपालको मधेसमा ठूलो जनसंख्या भएर पनि सबै क्षेत्रमा पछाडि परेका हुन् ।
मधेस र मधेसीकै हकअधिकारको सुनिश्चिता गर्ने नाममा मधेसी नेताहरुले दर्ता गराएका दलहरुमध्ये अधिकांशको प्रधानकार्यालय काठमाडौं उपत्यकामा रहेको छ । निर्वाचन आयोगको सूचीलाई हेर्ने हो भने ४१ मध्ये आठ जना मधेसीले नेतृत्व गरेको दलको कार्यालय मधेस क्षेत्रमा रहेका छन् । ती दलहरुमा अमर यादव नेतृत्वको मधेस तराई फोरम (रौटहट, गौर), भोलाप्रसाद मुखिया नेतृत्वको जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स(जनकपुरधाम, धनुषा), विमल ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता पार्टी नेपाल (लहान ४), प्रितम मुखिया नेतृत्वको पिछडा वर्ग निषाद दलित जनजाति पार्टी(कटहरी–६ मोरंग) र रामबाबु सिंह नेतृत्वको विश्व सत्यजीत पार्टी (पिडारी चौक , जनकपुर) ले मात्र आफ्नो कार्यालय मधेस भनेर उल्लेख गरेका छन् । त्यस्तै, गुलाब मिकरानीको नेपाल मधेसी जनता दल (विरगंज १८, पर्सा), भाग्यनाथ गुप्ता नेतृत्वको मधेसी जनअधिकार फोरम मधेस (विरगंज १०, पर्सा) र विमलप्रसाद यादवको नेपाल समाजवादी पार्टी लोहियावादी(मिथिलानगर ,विरगंज पर्सां) छन् । यी बाहेकका कुनै पनि पार्टीको प्रधान वा मुख्य सम्पर्क कार्यालय मधेस क्षेत्रमा छैन । संविधानसभा अघि र पछि बनेका मधेस केन्द्रित प्रमुख दलहरु मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी , सद्भावना पार्टी लगायतका कुनैको पनि मुख्य कार्यालय राजधानी बाहिर छैन । तर यसको अर्थ यो होइन कि मधेसवादी दलहरुले आफ्नो प्रधानकार्यालय मधेसमै खोल्नुपर्छ । कार्यालय जहाँ खोलेपनि मुद्दामा अडिग र दृढ संकल्पित त हुनै पर्ने होइन । फेरी चुनाव जितेर राजधानी छिरेपछि निर्वाचन क्षेत्रमा नआउने रोग मधेसी नेताहरुको पुरानै हो । यो रोगको उपचार समयमै नभए नेताप्रतिको मोह थप क्षयीकरण उन्मुख भएर जनताहरु ‘रिभर्स’ मा मतदान गर्न सक्छन् , जुन मधेसी नेताको हितमा विल्कुलै हुनेछैन । फेरी धेरै दल र धेरै नेताहरु निर्वाचनका बेला मधेस क्षेत्रमा गए जनताहरु ‘कन्फ्युजन’ मा पर्न सक्छन् । यी र यस्तै खाले जटिलतालाई चिर्दै नेताहरु अघि बढे अगामी संविधानसभाको निर्वाचन मधेसको पक्षमा आउन सक्छ । (QUATER EDITION, KANTIPUR , 6th JUNE 2013)
मधेसीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताका निवेदन दिएका पार्टीहरु -
अदर ब्याकवार्ड क्लास ‘ओबिसी’ नेतृत्वको दल
१.सद्भावना पार्टी–राजेन्द्र महतो
२.सद्भावना आनन्दीदेवी–डा.भाष्कर गुप्ता
३.राष्ट्रिय सद्भावना पार्टी कौशलेन्द्र शर्मा
४.मधेसी जनअधिकार फोरम मधेस–भाग्यनाथप्रसाद साह
५.नेपाली जनता दल–हरिचरण साह
६.जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स–भोलाप्रसाद मुखिया
७.पिछडा वर्ग निषाद दलित जनजाति पार्टी–प्रितम मुखिया
८.राष्ट्रिय जनता दल– भरतप्रसाद महतो
९.युवा महिला जनता पार्टी–गोपाल राय
१०.जनता दल लोकतान्त्रिक पार्टी –हरिनारायण कामती
११.लोक दल –कौशलकुमार सिंह
१२.मधेस समता पार्टी– मेघराज नेपाली निषाद
१३.नेपाल जनभावना पार्टी– गुरुदेव कामद
१४.लोकतान्त्रिक पार्टी नेपाल –जीवन साह
ब्राह्मण÷राजपूत नेतृत्वमा रहेका दलहरु
१.तमलोपा–महन्थ ठाकुर
२.संघीय सद्भावना पार्टी–अनिल झा
३.नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)– विकासकुमार तिवारी
४.लोकतान्त्रिक जनता पार्टी नेपाल–विमल ठाकुर
५.संघीय समावेशी समाजवादी पार्टी –अशोककुमार ठाकुर
६.युवा नेपाल पार्टी–राजेशकुमार झा
७.विश्व सत्यवादी पार्टी–रामबाबु सिंह
८.राष्ट्रिय मधेस एकता पार्टी–मधुसुदनप्रसाद सिंह
९.नेपाल किसान युवा पार्टी –संजयकुमार मिश्र
यादव जातिको नेतृत्वमा रहेको दलहरु
१.मधेसी जनअधिकार फोरम नेपाल–उपेन्द्र यादव
२.मजफो (गणतान्त्रिक)– राजकिशोर यादव
३.तमलोपा नेपाल–महेन्द्र राय यादव
४.मधेस तराई फोरम–अमर यादव
५.राष्ट्रिय मधेस बहुजन समाज पार्टी–इन्तु राय यादव
६.सोसल रिपब्लिकन पार्टी –रामबाबु राय यादव
७.नेपाल समाजवादी पार्टी (लोहियावादी)– विमलप्रसाद यादव
८.सहकारी पार्टी नेपाल –ध्रुवनारायण यादव
थारु समुदायको नेतृत्वमा रहेको पार्टीहरु
१.फोरम लोकतान्कि–विजयकुमार गच्छादर
२.नेपाल लोकतान्त्रिक समाजवादी–उपेन्द्र गच्छदार
३.थारुहट तराई पार्टी नेपाल – भानुराम थारु
४.राष्ट्रिय थारु समाज एकता पार्टी –सोविन्द्र चौधरी
मुस्लिम समुदायको नेतृत्वमा दलहरु
१.राष्ट्रिय जनविकास पार्टी–गुलाब मिकरानी
२.नेपाल मधेसी जनता दल–शेख अब्दुल सलाम
दलित समुदायको नेतृत्वमा दल
१.बहुजन समाज पार्टी नेपाल –गंगाप्रसाद महरा
अन्य राजनीतिक दलहरु
१.राष्ट्रिय मधेस समाजवादी पार्टी –शरतसिंह भण्डारी
२.नवनेपाल निर्माण पार्टी विजयकुमार लोहिया
३.नेपाल जनसमावेसी एकता पार्टी विर्सुलाल उराव
No comments:
Post a Comment