Friday, 13 June 2025

गोरखापत्रको मैथिली पृष्ठ : शैलीगत त्रुटिहरू !

गोरखापत्रको मैथिली पृष्ठमा देखिएको शैलीगत त्रुटिहरू उदेक लाग्दा छन् । भाषाप्रति नै वितृष्णा बढाउने यी त्रुटि र शैलीमा तत्काल सुधारको खाँचो छ । यो ब्लग मैथिलीको विकृत भाषागत शैली,भाषिक एकरूपता र सांस्कृतिक संवेदनशीलतामा केन्द्रित छ ।
●शैलीगत विसंगति र व्याकरणीय त्रुटि:
गोरखापत्र दैनिकको २०८२ जेठ २ गते प्रकाशित मैथिली भाषा पृष्ठमा पटक-पटक दोहरिदै आएको अक्षम त्रुटिहरूप्रति मेरो व्यक्तिगत ध्यानार्षण भएको छ । ती त्रुटिहरू पहिलो होइन, अन्तिम पनि नहुने देखिन्छ । पृष्ठमा पटक-पटक देखिने केही शैलीहरूले सुधारको संभावनालाई निस्तेज गरेको छ ।'मे'/'के', 'सँ'/'स', 'छन्हि'/'छनि', 'सभ'/'सब', 'नई'/'नहि' जस्ता शब्दहरूको असंगत प्रयोग शैलीले मैथिली भाषाप्रतिको हेलचक्राईलाई पुष्टि गर्छ । यसलाई एउटा गम्भीर चुनौती कै रूपमा व्याख्या गर्न सकिन्छ ।
पत्रकारितामा भाषिक एकरूपता पाठकको विश्वास र सामग्रीको स्पष्टताका लागि अनिवार्य हुन्छ। गोरखापत्रजस्तो राष्ट्रिय दैनिकमा यस्ता त्रुटिहरूले पाठकको विश्वसनीयतामाथि प्रश्न उठाउँछ । उदाहरणका लागि, 'देश/विदेश', 'देश-विदेश' वा 'देश या विदेश' जस्ता फरक शैलीहरूले सम्पादकीय लापरवाही र मानक शब्दावलीप्रति उदासीनता पनि झल्काउँछ।
●शब्द चयन र सांस्कृतिक सन्दर्भ:
'बिराजमान' शब्दको प्रयोग निर्जीव वस्तुका सन्दर्भमा अनुपयुक्त छ, किनभने यो शब्द सामान्यतः जीवित वा पूजनीय व्यक्तित्वका लागि प्रयोग हुन्छ । त्यसैगरी, 'देवपुरुष' शब्दको प्रयोग 'गोसाईं' वा 'देवतापितर' जस्ता स्थानीय र सांस्कृतिक रूपमा स्वीकार्य शब्दहरूको तुलनामा बेमेल देखिन्छ । यस्ता शब्दहरूले मैथिलीको लोकमैत्रीपूर्ण शैली र सांस्कृतिक पहिचानलाई कमजोर बनाउँछ । पत्रकारिता र साहित्यमा स्थानीय भाषिक संवेदनशीलता र चलनलाई प्राथमिकता दिनु आवश्यक छ ।
●भाषिक दोहराव र कमजोर संरचना:
यो अंकको मुख्य सामग्रीमा शीर्षकका शब्दहरूको बारम्बार दोहरावले लेखनको गुणस्तरलाई कमजोर बनाएको छ । यो दोहरावले पाठकको ध्यान भट्काउँछ र सामग्रीको प्रभावकारिता घटाउँछ । साथै, विरोधाभासपूर्ण भाषाशैलीले पाठकमा भ्रम सिर्जना गर्न सक्छ। उदाहरणका लागि,'जनकविताक कालजयी शिल्प: भगैत' शीर्षकको सामग्रीमा सांस्कृतिक र व्याकरणिक त्रुटिहरूले लेखको विश्वसनीयतामाथि प्रश्न उठाउँछ ।
●सम्पादकीय जवाफदेहिता:
गोरखापत्रजस्तो स्थापित मिडियामा यस्ता त्रुटिहरू दोहोरिनु सम्पादकीय प्रक्रियाको कमजोरीको संकेत हो । मैथिली भाषाको पृष्ठलाई गुणस्तरीय बनाउन सम्पादक, लेखक र भाषाविद्हरूको सहकार्य आवश्यक छ । पृष्ठ संयोजकको अक्षम लापारवाही छताछुल्ल छ । स्पष्ट दिशानिर्देश,सम्पादकीय दायित्वको वेवास्ता भाषिक ज्ञानको अभाव र प्रशिक्षणको कमीले यस्ता समस्याहरू बारम्बार दोहोरिरहेका छन्।
●सुझाव:
-मैथिली भाषाका लागि व्याकरण, शब्दावली, र लेखन शैलीको मानक दस्तावेज तयार गर्नुपर्छ। यसले विसंगतिहरूलाई कम गर्न मद्दत गर्छ।
-मैथिलीको लोकजीवन र सांस्कृतिक सन्दर्भलाई ध्यानमा राखेर शब्द चयन गर्नुपर्छ । उदाहरणका लागि, 'देवपुरुष'को सट्टा 'गोसाईं' वा 'देवतापितर' जस्ता शब्दहरू प्रयोग गर्नु उपयुक्त हुन्छ।
-सामग्री प्रकाशन गर्नुअघि कडा सम्पादकीय जाँच र भाषिक विशेषज्ञको संलग्नता आवश्यक छ ।
-पाठकहरूको प्रतिक्रिया संकलन गरी त्रुटिहरूलाई सुधार गर्ने प्रक्रिया स्थापित गर्नुपर्छ।
●निष्कर्ष : गोरखापत्रको मैथिली पृष्ठमा देखिएका यी त्रुटिहरूले भाषिक गुणस्तर र सम्पादकीय जिम्मेवारीमा सुधारको आवश्यकता देखाउँछ। मैथिली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस्ता समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ। बुद्धिजीवी र सुधि पाठकहरूको सहभागिताले यस्ता मुद्दाहरूलाई उजागर गर्न र सुधारका लागि दबाब सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । ●दिनेश यादव
द्रष्टव्य : यस ब्लगमा उल्लेखित विचार मेरो नितान्त व्यक्तिगत हो ।

No comments:

Post a Comment