| Dinesh Yadav |
समय :बिहान ९ः३० बजे आइतबार, २०७३ पुस २४ । स्थान :कलंकीस्थित आफ्नै घरको बार्दली ।
घटना : भर्खरै ओछ्यान छाडेको थिएँ, बार्दलीमा पुसको पारिलो घाम मलाई स्वागत गर्न तम्तयार थियो । ढोका खोलेर बाहिर निस्कदा प्लास्टिक कुर्ची तातिसकेको रै’छ । थुचुक्कै बसे, आनन्द अनुभव भयो । केही समय त्यही बसेर कान्तिपुर पढ्न मन लाग्यो । भतिज निशान्तले सिरानी नजिकै बिहानै राखिदिएको पत्रिका ल्याएर पढ्न थाले । त्यसैबीच आधा आकासको प्रतिनिधित्व गर्नेमध्येकी एक सदस्य (मेरी पत्नि) नजिकै आएर ठिङ उभिन । नजिकै छिमेकीको घरमा बहालमा बस्ने एउटी बहिनी पनि आफ्नी सानी छोरीसंगै उताको बार्दलीमा घाम तापेर बसिरहेकी थिइन । ती सानी बालिका (उमेर अन्दाजी ३ वर्ष) ले मेरी पत्निलाई उतैबाट संधै सम्बोधन गर्ने शब्द, ‘आमा’ हो । आज एकाएक तिनले भनिछन्, ‘माथि आमा’ । यो शब्द उनको विवेकले अविष्कार गरेको हो, यसमा मौलिकता छ । ती अबोध बालिकाले यो शब्द किन रोजेकी होलान भनेर हामी दुई केही बेर यसमा घोतल्यौं । धेरै मथ्थापिच्चीपछि थाहा भयो, उनी बस्ने घरको बार्दली हामी भन्दा तल छ, त्यसैले होला ती बालिकाले यसो भनेको हुन सक्छिन् । अझ हामी चौथो तल्लामा र तिनीहरु तेस्रो तल्लामा बस्छन । तर, ठ्याक्कै यही कारण हो, भन्न सकिन्न ।
ती बालिकाको यो शब्द सुनेर मेरी पत्नि जोर–जोरले हाँसिन । र केही बेर ती अबोध, माया लाग्दो र ‘तिक्ष्ण माइन्ड’ भएकी बालिकासंग संवाद गरेपछि किचेन छिरिन । म भने त्यही बार्दलीमा बसिरहे, चियाको प्रतिक्षामा । बिहान दूध चिया नभई हुँदै हुन्न मलाई । केही समयपछि जगमा पानी र खाली तर ठूलो स्टिलको ग्लास मेरो नजिकै पत्निले लिएर आइन । यो चिया पाकेको मेरो लागि संकेत थियो । किनभने म पहिले घटाघट दुई ग्लास पानी चढाउँछु त्यसपछि मात्रै चियाको चुस्की शुरु हुन्छ । नभन्दै चिया पनि आयो । अब भने कुनै हात खाली थिएन, एउटामा बिना चिनीको ठूलो ग्लासमा चिया र अर्को हातमा कान्तिपुरको भगिनी प्रशासन ‘दि काठमाडौं पोस्ट’ । त्यसमा भानुभक्त आचार्यको पत्रकारितासंग सम्बन्धित आलेख प्रकाशित भएको रहेछ, त्यसैमा आखाँ टिकाइ रहेको थिए । पत्नि भने किचेनको काममा व्यस्त हुन गइसकेकी थिइन । बाहालमा बसेकी ती बहिनीको मुखारविन्दूबाट निस्केको एउटा आबाज एकाएक मेरो कानमा ठोक्कियो, ‘ ये भैया छिटो आउँ त ।’ शायद ती अबोध बालिकाले ती बहिनीको कोठामा केही बदमासी ग¥यो जस्तो भान भयो । त्यसैले यो वाक्य विन्यास ती बहिनीबाट भयो भन्ने ठाने । हुनत, यस्ता वाक्यहरु (२०४९ देखि २०६४ सम्म) कीर्तिपुरमा छँदा खुबै सुन्थे । तर, त्यहाँ ‘ए मर्सिया छिटो आउ’ सुनिन्थ्यो । मर्सियाको प्रयोग कीर्तिपुरेहरुले आफ्ना साना बालबालिकाले बदमासी गरेपछि डराउनका लागि गर्दा रै’छन्, त्यो पछि थाहा भयो । तराई–मधेसमा भने बालबालिकाले बदमासी गरे अभिभावकहरुले तिनीहरुलाई डराउन प्रयोग हुने शब्दहरु हुन्, ‘पुलिस’ वा ‘भूत’ । त्यता ‘ए पुलिस आउ यिनलाइ (बदमासी गर्ने बालबालिका) लाई समातेर लैजाउ’ भन्ने चलन छ । त्यस्तै, ‘भूत आयो/आउँछ’ भनेर डराईन्छ । तराईको मिथिला क्षेत्रमा बालबालिकाहरुलाई डराउनका लागि काल्पनिक पात्र ‘लक्करसुङ्गहा’ को प्रयोग पनि हुनेगरेको पाइन्छ । उपत्यकामा भने अलिक फरक रै’छ । अन्य स्थानमा पनि फरक होला । तर, यसरी डर देखाउनु ठीक होइन । यी विधि बालमनोविज्ञानमा नकारात्मक प्रभाव पार्छ । एउटाले सिंगो समुदाय र अर्कोले प्रहरी प्रति नकारात्मक सोचको विकास गराउँछ । भनिन्छ, बाल्यकालमा परेको छाप अमिट हुन्छ । त्यसैले यस्तो कार्य तत्कालै बन्द गरिनुपर्छ ।
अब अलिक विगततिर जाऊँ । दोस्रो जनआन्दोलन र मधेस विद्रोहअघि ‘मधेस’ शब्द सुनेपछि छनक्क रिस उठ्थ्यो । पछि–पछि ‘मधेस’ र ‘मधेसी’ शब्द प्यारो लाग्न थाल्यो, यसप्रति सामिप्यता पनि बढ्दै गयो । तर, विस्तारै प्रिय बनिसकेको ‘मधेसी’ शब्द एकाएक थाहै नपाई ‘भैया’ मा परिणत भइसकेको रै’छ । अब, परिचय एकाएक भेरिएको छ । ‘मधेसी’ को ठाउँमा ‘भैया’ बनिसकेको थिएँ । हाल यो शब्द ‘चाचा जी’ र ‘काका जी’ मा परिणत भइसकेको छ । यो मेरो उमेरको कारणले हो या आन्दोलनको कारणले हो , त्यो थाहा भएन । तर, ‘भैया’ सम्बोधनले पनि रिस उठ्छ । अझ आफूलाई जुवान नै ठान्ने मैले ‘चाचाजी’ बाट कसैले सम्बोधन गर्ने कुरो कसरी स्वीकार्नु ? तराई–मधेसका धेरैलाई यी शब्दहरुबाट हुने सम्बोधन अप्रिय लाग्ने गरेकै छ । सार्वजनिक सवारी साधनमा काम गर्ने सहचालक भाईहरुबाट भने यो सम्बोधन संधै मैले भोग्दै आएको छु । एकपटक त कलंकीबाट सीतापाइला जाने एउटा माइक्रोबसमा पुच्चे भाईले ‘दादाजी’ अर्थात् ‘हजुरबा’ बाटै सम्बोधन गरिसकेका छन् ।
फेरी, कीर्तिपुरतिर एक पटक फर्कौ । मैले एउटी कीर्तिपुरे आमालाई सोधेकै थिए,‘ तपाईहरुले बच्चा बदमासी गरेपछि किन मर्सिया भनेर बोलाउनु हुन्छ ?’ जबाफमा तिनले भनेकी थिइन,‘मनु मखु मर्सिया ।’ मैले अर्थ सोधे । तिनले जबाफ फकाईन,‘मधेस मान्छे होइन, मरेको मदेसे पनि उठ्छ रे........ ।’ म अबाक भए । केही बेर ती आमालाई ट्वाल्ल हेरिरहे । पछि बोझिलो मन लिएर नयाँ बजारस्थित कोठामा फर्केको थिएँ । कीर्तिपुर छाडेको झण्डै १० वर्षपछि त्यस्तैखाले अनुभूति भएको आज फेरी भा’छ । मधेसी या भैया भनेर ती समुदायलाई खलनायकका रुपमा प्रस्तुत गरिनु अनुचित हो । बालमनोविज्ञानमा यसप्रकारको भनाईको असर लामो समयसम्म रहिरहन्छ । बोल्दा नेपाली भाषाको प्रयोग तर सम्बोधन गर्दा अन्य बोली (जस्तै :भैया) को प्रयोगले अन्जानमा कसैलाई होइच्याउने काम नगरौं । नेपाली शब्दकोष या जनजिब्रोमा नभएको शब्दले कसैलाई पोल्छ र त्यही शब्दको प्रयोग कसैले गर्छ भने त्यो एक प्रकारको विभेद पनि हो । नेपालीमै दाई, दाजू, दिदी , आमा....भनौ । भैया, धोति, चाचाजी, दादाजी जस्ता शब्दको प्रयोग नगरौं, बालबालिका समक्ष पनि यसको प्रयोगमा सचेत रहौं ।
(मेरो यो अनुभूतिको सम्पादित अंश ई–कान्तिपुरको अनलाईन संस्करणमा प्रकाशित छ,यहाँ भने जस्ताको त्यस्तै राखिएको छ )
No comments:
Post a Comment