Sunday, 16 February 2025
स्वार्थ समूहको घेराबन्दीमा संस्था, दुर्घटना असम्भावी !
कुनै पनि संस्था बदनाम हुनुको पछाडि त्यो संस्था अमूक स्वार्थ समूहको घेराबन्दीमा पर्नु हो । संस्थामा नियुक्त 'केही' अक्षम र अकर्मण्य व्यक्तिको भूमिकाले पनि संस्था बदनाम हुने हो । विगतका बदनाम र विवादास्पद, अव्यवहारिक र अप्रमाणिक पद्चिन्हहरूलाई पछ्याउँदा दुर्घटना हुन सक्छ। पहिले संस्था, त्यसपछि व्यक्ति हो, तर व्यक्ति पहिले भएपछि समस्या निम्तिने गर्छ । संस्था स्थायी हो, त्यहाँ कार्यरत व्यक्ति अस्थायी हो । संस्था एउटा प्रणाली र ठोस नीति अनुरूप चल्नु पर्छ । कसैको लहड र सनकीपनले संस्थाको ओज, सम्मान र प्रतिष्ठामा आँच पुग्न सक्छ । कुनै व्यक्तिका स्वार्थ, अयोग्यता र असक्षमता संस्थामा हावी हुन थालेपछि संस्थाको गरिमा ओरालो लाग्न सक्छ ! विगतका थुप्रै नजिरहरू घाम झै छर्लङ हुँदाहुँदै पनि स्वार्थ समूहको चङ्गुलमा संस्था फस्नु दुःखद मात्रै छैन, संस्थाकै सम्मान धारासायी बनाउने खालको छ। 'औपचारिकता पुरा गर्नमा मात्र सीमित' समूहलाई आफ्नो स्वार्थ पुरा गर्न उपयोग गर्दै आफूमाथि आउने भैपरी दोष ती समूहमा लगाएर उन्मुक्ति खोज्ने सोच डरलाग्दो दुष्परिणामको संकेत हो । यो संकेतलाई नजरअन्दाज गर्नु ठूलो भूल हुन सक्छ । समय छँदै सचेत हुन जरूरी छ । संस्थाको विश्वसनीयता कायम राख्न सबैले स्थायी र ठोस प्रणालीमा आधारित भएर काम गर्न आवश्यक छ ।
मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश
बैतडी, फागुन ३ गते । मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो ।
सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको शनिवार देहावसान भएको छ । गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको छैन ।
मलामी जाने मानिस नभेटिँदा शव वाहन वा ट्याक्टरका लागि कुरा गरे पनि शनिबार रातिसम्म पनि टुङ्गो नलागेको मृतकका कुरुवा छोरा ३० वर्षीय प्रकाश टेलरले बताउनुभयो । प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकसमेत हुनुहुन्छ ।
आमाको मृत्यु हुँदा मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर आँगनमा बस्नु परेको प्रकाशले पीडा सुनाउनुभयो । भक्कानिँदै उहाँले भन्नुभयो,“मलामी जाने मानिस भइदिए घरबाट आघा घण्टाको दूरीमा ढणालीगाड पर्छ । त्यतै दाहसंस्कार गर्न सकिन्थ्यो । तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा एक्लो अनुभूति भएको छ ।”
प्रकाशका ७२ वर्षीय रोगी बुवा श्रीमतीको मृत्युपछि ओछ्यानमा थला पर्नुभएको छ । सामान्य ज्याला मजदुरी र खलो (बालीघरे) मा काम गरेर जीविका चलाउँदै आएका टेलर परिवार गाउँकै एक मात्र दमाई परिवार हुनुहुन्छ ।
मलामी जाने मानिस नभएपछि आफ्नो पुर्ख्यौली थातथलो पाटन नगरपालिका–४, बगाडी गाउँका नातेदारलाई शव वाहन वा ट्याक्टरको व्यवस्था गरिदिन टेलिफोन गरेको प्रकाशले बताउनुभयो ।
मलामी जाने मानिस नभएकाले गाडीको व्यवस्था गरिदिन वडा कार्यालयमा पनि फोन आएको सिगास गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले शव वाहन वा ट्याक्टरका लागि नजिकको छिमेकी पाटन नगरपालिकासित कुरा भइरहेको बताउनुभयो । सवारी जिपले शव बोक्न नमानेका कारणले समस्या भइरहेको उहाँले बताउनुभयो ।
दमाई जातीको शव बोकेर मलामी जान सोही अन्य दलित जातीका मानिस तयार नभएपछि गाडीका लागि पाटन नगरपालिकामा टेलिफोन आएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो ।
उहाँले दलितभित्र यस्तो जातीय विभेद रहिरहेसम्म जनप्रतिनिधिले कति चोटि गाडीको व्यवस्था गर्न सक्छन् ? भन्ने प्रश्न गर्नुभयो । “शव व्यवस्थापनका लागि जनप्रतिनिधि र दलित संघ सस्था मिलेर गरौँला तर जातकै कारणले शव नउठ्ने अवस्था किन विद्यमान छ ? यस्तो कुरीति हटाउन दलित, गैर ददित सबै एकजुट हुन जरुरी छ । यस्तो घटना भोलि पनि हुन सक्छ ? समाजले विभेद गरिरहने हो भने कतिजनाको शव बोकेर अर्को ठाउँमा लैजान सम्भव होला ?”
स्रोत :गोरखापत्र, ३ फागुन २०८१, शनिबार
गोरखापत्रका संवाददाता गोकर्ण दयालको रिपोर्ट
Subscribe to:
Comments (Atom)

