Sunday, 24 December 2023

‘क्रिसमस डे’ले सबैलाई एकजुट बनाउन सहयोग गर्ने उपराष्ट्रपति यादवको विश्वास



उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गर्नुभएको सन्देशमा  नेपालमा मनाइने अन्य पर्वहरु जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले भन्नुभयो, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुशी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।” खुशी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो । 

उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले उत्प्रेरित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।  रासस

Saturday, 16 December 2023

जीवन_सूत्र (#Life_Formula)

 


गाउँ (#फकिरा) बाट राजधानी आएको साता जति भएछ । एता आए पनि गाउँले काकाको सम्झना झलझल्ती आइ रा'छ । गाउँमा छँदा उनीसंग पटक-पटक भएको संवादहरू जीवन, परिवार, समाज र देशको प्रगतिका लागि सूत्र झै लाग्न थालेको छ।

#काकाले एकदिन मसंगको संवादमा भन्दैथ्ये -

'बाबु ! तिमीहरू गाउँ बाहिर गएर राम्रो गर्यौं । यहाँ त अब बस्न सक्ने अवस्था नै रहेन । केही कथित मुहःपुरूख(अगुवाहरू) ले गाउँलाई पुरै भाँडी सकेका छन् । घर-घरमा झगडा लगाएका छन्..! '

काका ननस्टप बोली रहेका थिए । बीचमा रोक्दै मैले जिज्ञासा राखें, ' काका ! को मुहःपुरूख??, को-को छन् त्यस्ता ।'

काका : ' (अलिक कड्किदै) हैट ! गाउँको बच्चा-बच्चालाई थाहा छ । सोध्नु सबैले भनिदिनेछन् । म बुढालाई नाम ओक्लिन नलगाऊ । भित्ताको पनि कान हुन्छ, कसैले तिनीहरूलाई सुनाई दिए #मैदान (खुला दिशापिशाब गर्ने ठाउँ), #पैनछुवा (आफ्नो दिशा पखाल्ने कार्य), #चौरचरण(बस्तुभाउलाई चराउने ठाउँ) आदि सबै बन्द गर्ने उर्दि जारी गर्छन् । फेरी म गरीब जो परें..!' 

यी कुराहरू भनिरहँदा काकाको मनमा त्रास रहेको सजिलै जो कोहीले पनि लख काट्न सक्थे । म पनि त्यही निस्कर्षमा पुगें ।

म: (काकाको काँधमा हात राखेर अनुहार हेर्दै) 'काका यो युगमा पनि डराउने हो र ? '

काका खिसिक्क #हाँसे । एताउता हेर्दै गम्छाको पगडी टाउकोमा बेस्सरी बाँधेपछि भने, ' बाबु! म डराएको हैन, अनावश्यक झमेलामा पर्न मात्र नचाहेको हो...। ममाथि पंचायती बसाउलान भन्ने डर चाहीं छ, है। खैनी-बिडी, सुपारी जो खर्च गराउँछन् । पंचायतीको नाममा केही बेरोजगारहरूको दिनचर्या यसरी नै बित्ने गरेको छ ।'

काकाको गाउँमा दैनिक हुने अनावश्यक #पंचायतीप्रतिको आक्रोस सुनेपछि शुरूमा उनले भनेको कुरामा ध्यानाकर्षण गराउने प्रयास गरें । सोधें, ' काका ! क-कसको घरमा झगडा छ ?'

काका : 'भनि साध्य छैन , बाबु । क-कसको नाम भन्ने ...? ' लामो साँस लिँदै काकाले थपे -

 ' बाबु ! जुन घरपरिवारमा दाजुभाइहरूबीच प्रेम र ठूलाबडाको सम्मान र आदरभाव हुन्छ, त्यहाँ ईश्वरको बास हुन्छ । प्रेम विभाजित भएपछि रामायण लेखियो, सम्पत्ति बाँडिएपछि महाभारत लेखियो, मानिसको पतन तब शुरू हुन्छ,जब उसले आफ्नैलाई गिराउने सल्लाह अरूबाट लिन शुरू गर्छ...!'  काकाले समय सोधें, बिहानको ११ बजेको रहेछ । जलखोई (नास्ता) गरेर जान अनुरोध गर्दा स्नानध्यानपछि मात्र गर्ने भनेर काका #पुरनी पोखरीतिर लागे ।म भने काकाले भनेका अन्तिम पंक्तिमा घोत्लिदैं सोफामा बसिरहे । #Dineshyadav #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife 


#दिनेश_यादव 

@काठमाण्डौ_कलंकी

२०८०/०८/२९

Sunday, 3 December 2023

#एकताको_अंकगणित


गाउँमा काकालाई अचेल स्रोता पाउँनै मुश्किल छ । उनलाई सुन्न कोही तयार छैनन् । हुनु पनि कसरी ? गाउँ युवाविहिन छ, पिढी अन्तर छँदैछ, काकाका दौंतरीहरू रोग पत्ता नलागिकनै स्वर्गलोक पुगिसकेका छन् । उनी भने अझै उस्तै तन्दुरूस्त छन् । अझ उनका  सामाजिक ज्ञानका कुरा कुनै विश्वविद्यालयमा पठाइने पाठ्यपुस्तक भन्दा कम छैनन् । मैले एकताका पुस्तकहरूमा पढेका कुराहरू उनको मुखारबिन्दूबाट सुन्न पाउँदा बिछट्टै आनन्दको अनुभूति हुने गरेको छ ।


काका आज अन्ध्यारो मुद्रामा भेटिए । निराश, उदास र चिन्तित पनि देखिन्थे । मैले उनको अनुहार हेरेँ अनि सोधें -

'काका आज चिन्तित मुद्रामा किन ?'

नजिकै उर्मिले राखिदिएको चियाको ग्लास नियाल्दै, त्यसमा परेको तर पन्छाउने सुर उनले के कसेका थिए, उनको हातको लौरो भूँईमा एक्कासी बजारिएर चर्को आबाज निस्कियो ...! त्यो आबाज मेरो लागि विरलै सुनिने घटना थियो । 

म : काका ! चिया खानुस् , म लौरो उठाइँ दिन्छु...! 

काका : (अलिक भावुक भन्दै...) बाबु ! तिमी असाध्यै असल छौं । 

म: ए....ए....! (एक छिन अलमलिदैं) ।


काका चियाको चुस्कीसंगै सुनाउन थाले  - 'बाबु ! जसरी '१०', '१००ʼ, '१०००ʼ, ʼ१००००' ... बढ्दै  जान्छ, शून्य (ता) थपिदैं जान्छ । त्यसैले हाम्रा पूर्वजहरूले सगुन र व्यवहारमा '११ʼ, '२१', ʼ५१ʼ, '१०१', '१००१' दिने प्रचलनमा ल्याए ....। किन, थाहा छ ?'


वर्षौं कक्षाकोठामा गणित पढाएको म काकाको यो अंकगणित बुझ्नै मलाई गाह्रो भै रहेको थियो । तत्काल म अनुत्तरित थिएँ । एकैछिन मौन के बनेको थिएँ, काकाले मेरो मौनता भंग गर्दै भने - 'बाबु ! किताबी ज्ञान र व्यवहारिक ज्ञानमा फरक छ । सुन - सगुनमा शून्य अंकको साटो एक थपेर दिनुको अर्थ : एक (एकता) कायम रहोस् , शून्य(ता) हैन....!'

म: (काकाको अनुहार हेरेको हेरे गर्दै,छक्क पर्दै) काकाको अंकगणित गजबको रै'छ ...!


काकाको एकताको यो अंकगणित व्यवहारिक मात्र छैन अर्थपूर्ण, शिक्षाप्रद र धेरै अर्थमा सांकेतिक पनि छ ।


काका जुरूक्क उठ्दै खाटमा अडेस लगाएर राखिएको लौरो उचाल्दै मबाट छुट्टिने तर्खर गर्दै भने - 'बाबु ! गाउँमा अचेल पहिले जस्तो एकता कहाँ छ र ? हाम्रा पूर्वजले कायम गरेको एकता, सद्भाव, सदाचार, मैत्रीभाव, अपनत्वभाव, भाईचारा, मेलमिलाप ... अब छैन । मेरो चिन्ता र निराशाको कारण यही हो   ....।' काका आफ्नो गन्तव्यतिर लाग्नु भयो , म भने उनको एकताको मननयोग्य संदेशमा घोत्लिदैं गाउँमा आफ्नो दैनिकीमा व्यस्त भएँ ....। #एकता_नै_ठूलो_बल_हो  #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife 


#दिनेश_यादव 

@राजगढ_०६_फकिरा

२०८०/०८/१७

Saturday, 2 December 2023

उपराष्ट्रपति यादवद्वारा अपाङ्गता भएकाहरूको अन्तराष्ट्रिय दिवसको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले अपाङ्गता भएका व्यक्तिहरुको #अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण #अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तोत्तर प्रगतिका लागि हार्दिक #शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले आज डिसेम्बर ३ (मंसिर १७ गते) मा दिनुभएको शुभकामना सन्देशको #पूर्ण_पाठ :-

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 


सन् १९९२ मा संयुक्त राष्ट्रसंघीय महासभाले हरेक वर्षको डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेयता विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आएको छ । यो दिवस मनाउनुको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्नु रहेको छ । यस वर्ष यो दिवसको नारा ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि, उहाँहरुको साथ र उहाँहरुद्वारा ‘दिगो विकास लक्ष्यहरु (एसडीजी)’ को बचाउ र प्राप्त गर्ने कार्यमा एकता’ रहेको छ । यसले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि उहाँहरुको अतूलनीय योगदान र महत्वलाई दर्शाएको छ । 


अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकार सम्पन्न बनाउँदै उहाँहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउन जरुरी छ । संविधानमा उहाँहरुका लागि भएको व्यवस्था अनुरुप सामाजिक सुरक्षा, सशक्तीकरण, सहभागिता र समावेशिताका अधिकारलाई अक्षरशः पालना गर्ने दायित्व सबैको हो । 


यो दिवसका अवसरमा वर्षेनी उठान गरिने र बहसमा ल्याइएका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित सवालहरुलाई संवोधन गर्नु पर्दछ । खासगरी, नेपाल सरकारलगायत विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले गर्दै आएको पैरवीहरु कार्यान्वयनमा ल्याउनु पर्दछ । उहाँहरुलाई अर्काको भर नपर्ने गरी जीवनयापन गर्ने सीप र दक्षता प्रदान गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउन पनि आवश्यक छ । किनभने उहाँहरुको सीप, सेवा र क्षमता राज्यको दिगो विकासमा उत्तितै महत्वपूर्ण छ । अपाङ्गता भएका व्यक्तिमैत्री भौतिक संरचना निर्माण र कानूनको पालना सबैले गर्नु पर्दछ । उहाँहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा समान सहभागिता र अवसर दिएर समाज एवं देशको दिगो र फराकिलो विकासका लागि उहाँहरुलाई  उत्साहित गर्न सक्नुपर्दछ ।


अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरुको लागि क्रियाशिल सरकारी निकाय तथा संघसंस्थालाई यो अन्तर्राष्ट्रिय दिवसमा अपाङ्गता भएकाहरुको अधिकार प्राप्तिका लागि थप उर्जासहित दत्तचित्त भई लाग्न उत्प्रेरित गर्दै हौशला प्रदान गरोस् भन्ने कामना गर्दछु । 

धन्यवाद 

२०८० मंसिर १७ गते आइतबार ।

रामसहाय प्रसाद यादव 

उपराष्ट्रपति 


काकाको यक्ष प्रश्न (Uncle's question)

#नेपाली_लघुकथा 

 

 मेरो गाउँको एक जना काकाले भन्दैथ्ये- 

बाबु ! तिमी पढेलेखेका छौं । एउटा कुरा सोधौं ?'


म : सोध्नुस्, काका ! के कुरा हो ?


काका : जवाफ दिने शर्तमा मात्रै सोध्छु ।


म : (केही गम्भीर मुद्रामा) , सोध्नु न काका जानेको भनौंला ।


काका : (मेरो अनुहार हेर्दै...)

बाबु ! विज्ञानले भन्छ-सुन जल्दैन ।

रामायणले भन्छ-सुनको लंका जलेर राख/खरानी भयो !

यसमा कुन सत्य हो ??


म अक्कमकिँदै, काकाको अनुहार हेर्दै - प्रश्नको उत्तर दिनु भन्दा पनि उनको गम्भीर र गहिरो जिज्ञासाको स्तरप्रति आश्चर्यचकित भएँ । म विज्ञानको विद्यार्थी, वैज्ञानिक तथ्यलाई स्वीकार गरें, त्यही अनुरूप काकालाई उत्तर दिएँ ।


काका जोड्-जोड्ले हाँस्दै मेरो हात समाउँदै सोध्नुभयो-

...फेरी 'धार्मिक अन्धता' किन ? गाउँभरी लाउडीस्पीकर लगाएर चर्का-चर्का धर्मका कुरा किन ? धर्मले अरूलाई हानी पुर्याउनु हुन्न भन्छ । म मुटु, सुगर र प्रेसरको रोगी तथा मेन्टली विक्षिप्त भएको दीर्घ रोगी पनि हूँ, चर्को ध्वनीले म झनै सिकिस्त बन्दै गा'छु ......! मेरो आबाज कसले सुन्ने ? शान्त वातावरणमा बाँच्न पाउँने मेरो  अधिकारको रक्षा कसरी र कसले गर्ने .....??


काकाले श्रृंखलाबद्ध यस्तै धेरै प्रश्न तेर्साउन थालेपछि बल्ल थाहा भयो, काकाले शुरूमा राख्नु भएको जिज्ञासाको अर्थ ।


"कसैको आस्था र विश्वासविरूद्ध काकाको जिज्ञासा र प्रश्न होइन, प्रश्न उनको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको हो । त्यो अधिकारको रक्षा हामी सबैले गरौं । कुनै पनि 'धर्मअन्धता' त्यागौं, सबैले आफ्नो ऊर्जा सिंगो मानव हित र कल्याणमा खर्चौं ।'


#दिनेश_यादव 

@राजगढ_०६_फकिरा

२०८०/०८/१६