Saturday, 24 April 2021

मैथिलीमा ‘कोरोना’ र ‘कारोनाक संत्रासमे ओझरायल जिनगी’

काठमाडौं– मैथिली भाषाका दुई पुस्तक बजारमा आएको छ । वरिष्ठ साहित्यकार रामदयाल राकेशको ‘कोरोना’ उपन्यास र अर्का मुर्धन्य साहित्यकार रामभरोस कापडि ‘भ्रमर’ को ‘कोरोनाक संत्रासमे ओझरायल जिनगी’ शीर्षकमा लकडाउन डायरी बजारमा आएको हो । लेखक एवं मैथिली संस्कृतिविद् रामदयालको उपन्यास कोरोना कालको मानसिक स्थिति–विशेषको उत्पादन हो जसमा नायिकाको यौनिक प्यास र कुण्ठाको विषयवस्तु बडो मार्मिक शैलीमा पस्किएको छ । उपन्यासकारले पुस्तकमा नायिकाले आफ्नो देहको उपयोग–उपभोग स्वेच्छाले गर्दै राजनीतिक शिखरमा कसरी पुग्न सफल भएकी छन् भन्ने तथ्यलाई गजब तरिकाले उजागर गर्ने प्रयास गरेका छन् । एउटा शिक्षक र राजनीतिकर्मी तथा एउटी यौवनाको प्रसंग उपन्यासमा रोचक र यथार्थपरक रुपमा आएका छन् । ‘कोरोना’ उपन्यास छोटो भएपनि कोरोनाकालको एउटा फरक मनोविज्ञान बुझ्न पाठकलाई यसले सहयोग पुग्न सक्छ । भारत दरभंगास्थित ‘मिथिला लेखक मञ्च’ प्रकाशक रहेको यो उपन्यास बिहार मुजफ्फरपुरस्थित शारदा प्रिन्टर्समा मुद्रण गरिएको छ । देवनागिरीको ‘क’ अक्षर अर्थात् ‘केओ नहि सडक पर’ शीर्षकबाट शुरु भई ‘म’ अक्षर अर्थात् ‘मृगतृष्णा’ मा आएर उपन्यासले बिट मारेको छ । उपन्यासको भूमिका मैथिली साहित्यकार चन्द्रेशले लेखेका छन । यसैगरी, लेखक एवं साहित्यकार रामभरोसले लकडाउन डायरीमा कोरोना कालको यथार्थ चित्रण गरेका छन् । लेखकले पुस्तकमा १६ वटा ‘लकडाउन डायरी’ विभिन्न शीर्षकमा पाठक समक्ष पस्केका छन् । यसमा कोरोनाको संत्रास, कोरोनाकालको ढिलासुस्ती/कमजोरी, जन–जनको पीडा, नेपालको राजनीतिक दाउपेचलगायतका विषयवस्तु बडो सजीव शैलीमा प्रस्तुत गरिएका छन् । जनकपुर ललितकला प्रतिष्ठानले प्रकाशन गरेको यो पुस्तकको मुद्रकमा पटनास्थित किशोर अफसेट प्रेस रहेको छ ।

No comments:

Post a Comment