Saturday, 30 January 2021
दुलारीले पाइनन् मैथिलीभाषीको ‘दुलार’
मैथिली भाषी र मिथिलाकी दुलारी देवीलाई सातौं र अति पिछडिएको जातिबाट पहिलो पटक ‘मधुबनी पेन्टिङ’ का लागि भारतीय सरकारको राष्ट्रिय पुरस्कार ‘पद्मश्री’ प्रदान गरिएको छ । भारतमा गणतन्त्र दिवस ‘२६ जनवरी’ मा उनलाई यो सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय सरकारले गरेको हो । मधुबनी रांटीमा ५४ वर्षअघि जन्मेकी उनी गाउँकै कायस्थ परिवारको घरमा भाडाकुंडा माज्दै पेन्टिङ सिकेकी हुन् । अशिक्षित र गरीब परिवारका कारण १२ वर्षकै उमेरमा विवाहमा बाँधिएकी उनको कोखबाट एउटी छोरी जन्मेकी थिइन । श्रीमानसंग पटक–पटक अनबन र सानै उमेरमा छोरीको निधनपछि उनी माइती रांटी फर्केकी हुन् । त्यही मधुवनी पेन्टिङकी सिद्धहस्त महिलाको घरमा ६ रुपैयां दैनिकमा काम थालिन । बुबा मछुवा अनि आमा खेतिहर मजदूर, उनी भने अरुको भाडाकुडा माज्ने र घरमा पोछा लगाउने काम गर्थिन । मालिकिनीको घरमा संधै ‘मधुबनी पेन्टिङ’ को कार्य हुने गरेकाले उनीमा पनि सिक्ने रहर पलायो । घरको सबै काम सकेर उनी पेन्टिङ हेर्दै आफै बनाउन थालिन । पछि प्रशिक्षण पनि लिईन । आज तिनै दुलारी देवी पद्मश्री पुरस्कार पाउन सफल भएकी छन् । यसो त पुरस्कारले मानिसको भेट त भर्दैन , तर त्यसले व्यक्तित्व विकास र पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने कुरो सत्य हो । सन २०२१ मा दुलारी देवीले पद्श्री पुरस्कार पाउनुअघि १९७५ मा जगदम्बा देवी, १९८१ मा सीता देवी, १९८४ मा गंगा देवी, २०११ मा महासुन्दरी देवी, २०१७ मा बौआ देवी र २०१८ मा गोदावरी दत्तलाई यो सम्मान प्राप्त गरी सकेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार दुलारी देवीबाहेक पुरस्कृत भएका सबै कथित उच्च जातिबाट प्रतिनिधित्व गर्छन् । यसो त कलाकारितामा जातिपाति हुदैन, हुनु पनि हुन्न । तर, यसमा (खासगरि मैथिली भाषी क्षेत्रमा) जातिप्रथा रहेको पुष्टि गर्ने थुप्रै तथ्यहरु अध्ययनका क्रममा फेला परेका छन् । दुलारी देवीलाई पछ्याउदै जादा पहिलो पटक महशुस भयो कि कलाकारितामा पनि जातिप्रथा हाबी छ । जसलाई वर्षौदेखि ‘मिथिला पेन्टिङ’ वा ‘मधुवनी पेन्टिङ’ को नाममा कथित उच्च जातिका (विशेषतः ब्राह्मणवादीहरु) ले भजाउने काम गर्दै आएका थिए, र अहिले पनि छन् ।
भारतको केन्द्रिय सरकारले मधुबनी बिहारकी दुलारी देवीलाई पद्मश्री सम्मान दिएर ‘हरिजनी पेन्टिङ’ वा ‘बहुजनी पेन्टिङ’ लाई पहिलो पटक सम्मान दिएको छ । मल्लाह जातिकी दुलारी देवी होस् या पासवान जातिकी शान्तिदेवी होस्–यी दुईले बनाएको चित्र ‘मधुवनी पेन्टिङ’ वा ‘मिथिला पेन्टिङ’ हुदै होइन, मान्नु हुन्न । यदि भएको भए दुलारीलाई यो सम्मान धेरै पहिले प्राप्त भईसक्नु पथ्र्यो । मुख्यतः ब्राह्मण र कायस्थले बनाउने पेन्टिङहरु बढी चर्चा र प्रचारमा छन् । पछिल्लो समय यी जातिबाहेककाहरु समेत आफ्नो क्रान्तिकारी उपस्थिति देखाउदै छन् । खासगरी नेपालीय मैथिली भाषी क्षेत्रमा कथित उच्च जातिका बाहेकका युवा कलाकारहरु अजित साह, श्यामसुन्दर यादव, हरिओम मेहता, लक्ष्मण मण्डल, मिथिलादेवी यादव, सरिता मण्डल र रञ्जू यादवसहितको धमाकेदार उपस्थिति भएको छ । यो अत्यन्तै सकारात्मक पक्ष भएपनि सन्तोषजनक भने होइन । ‘वुमेन्स आर्ट जर्नल (वर्ष ११, अंक १) ’ मा प्रकाशित एउटा आलेख अनुसार ब्राह्मण र कायस्थ जातिका महिलाले बनाउने चित्रहरुमा दुर्गा, काली र गणेशको चित्र बढी हुन्छ । राम–सीता कथा र शिव–पार्वती विवाहसंग सम्बन्धित प्रसंगहरु ती चित्रहरुमा बढी दर्शाउने गरिन्छ । अर्कोतिर ‘हरिजनी’ चित्र मुख्यतः दलित र अन्य पिछडा जातिका महिलाहरुले बनाउछन् ,जुन मैथिली भाषी क्षेत्रका बास्तविक भूंईमान्छे र माटोपानीसंग सम्बन्धित हुन्छन् । जसमा विभिन्न जनावरहरु (हात्ती, बाख्रा, मयूर, सुगा, परेवा आदि) को चित्रहरु देख्न सकिन्छ । भान्छामा खाना पकाउदै गरेकी महिलाको दर्शन पनि उनीहरुको चित्रमा गर्न सकिन्छ । ‘हरिजनी’ चित्रमा महिलाहरुले आफ्ना लोकनायक (राजा सलहेस र राहुकेतु आदि) को चित्र बनाउछन् । यी महिलाहरुले यसो गर्नुका कारण केही ‘जाति विशेष’ लाई अघोषित रुपमा हिन्दू देवी–देवताको चित्र बनाउन प्रतिबन्धित गर्नु पनि हुन सक्छ । यसको ठोस प्रमाण दुलारी र शान्ति देवीको चित्रहरुले वर्षौपछि मान्यता पाउनु पनि हो । यदि यसो नभई दिएको भए दुलारी देवीहरुले पद्श्रीका लागि ४६ वर्षसम्म कुर्नु पर्थेन । अहिले यो सम्मान पाएपछि केही मिडियाले ‘मधुवनी पेन्टिङ’ वा ‘मिथिला पेन्टिङ’ लाई सम्मान भन्दै प्रचार गर्दै छन् । तर, दुलारी देवी ओझेलमा छिन्, उनीबारेका सामग्रीहरु ‘मैथिली र मिथिला जिन्दाबाद’ भन्नेहरुको नेतृत्वमा रहेको मिडिया,पोथी, सामाजिक संजालका वालहरु, मैथिली भाषाका पोर्टलहरुमा विरलै भेटिनुका कारण जके ? कुनै ब्राह्मणवादीले पद्मश्री पाएको भए प्रचार र बधाईले अहिलेसम्म उधम मच्चिसकेको हुन्थ्यो । तर, दुलारी देवी पिछडा जातिकी भएकाले उनी मैथिली र मिथिलाको नाममा राष्ट्रिय सम्मान पाएर पनि ओझेलमा छिन । यो घटनाले मैथिली र मिथिला कसको र कुन जातिको कब्जामा छ भन्ने कुरा सहजै भन्न सकिन्छ ? ‘मैथिली मेरो पनि हो’ भन्नेहरुलाई पाग प्रचारको छापामार शैलीले मोह भंग गर्दै लगेकै थियो । अहिले खास जाति विशेष र त्यसका अगुवा तथा मैथिली अभियानीहरुमा देखिएको दुलारी देवीप्रतिको पूर्वाग्रही मानसिकताले त्यो मोह भंगमा मलजल गरेकै छ । मैथिलीप्रतिको अनुरागलाई छियाछिया पारिदिएको छ । नेपालको सन्दर्भमा:खै, यसरी कसरी पो भाषिक जनगणनामा मैथिली भाषीको जनसंख्या बढ्ला ? र मैथिली मातृभाषामा शिक्षा गाउँ–गाउँको पाठशालामा पुग्ला ? तर, एउटा कुरा चाही सत्य हो, यी दुई कुरा नभएपनि मैथिली भाषाका नाममा ठेकेदारी र कार्टेलिङ गर्नेहरुको खेतिपाति जारी रहने पक्का छ ।
अध्ययनका क्रममा दुलारी देवीबारे लेख्नेहरुमा अब्राह्मण बढी छन् । अझ गैरमैथिली भाषीले बढी लेखेका छन् । ती मध्ये कला प्रेमी गीता वुल्फको ‘फ्लोइंग माई पेन्ट ब्रस’, मार्टिन लिकाउजको फ्रेन्चमा लेखिएको ‘मिथिला’ मा दुलारी को जीवन गाथा र कलाकृतिहरु समेटिएको पुस्तक, हिन्दीको चर्चित कला पत्रिका ‘सतरंगी’ र ‘मार्ग’ मा दुलारीको जीवनी र चित्रहरुको सुन्दर वर्णन प्रमुख हुन । यसैगरी, अशोककुमार सिन्हाको पुस्तक ‘बिहार के कालजयी शिल्पकार’ मा पनि दुलारी देवीको चर्चा छ । इन्दिरा गान्धी खुला विश्वविद्यालय (इग्नू) को मैथिली पाठ्यपुस्तकमा समेत उनको चित्रहरु परेका छन् । बेंगलुरुको विभिन्न शिक्षण संस्थान, सरकारी र गैरसरकारी भवनहरुको पर्खालमा ५ वर्षसम्म उनले चित्र कोरिन, त्यसको प्रशंसा गर्नेहरु दिनप्रति दिन बढेकै छन् । मद्रास, केरल, हरियाणा, चेन्नई र कलकत्तामा उनको चित्रको माग बढेको धेरै भईसक्यो । यति मात्रै होइन, मगही भाषी क्षेत्र बोध गयास्थित नौलखा मन्दिरको पर्खालहरुमा दुलारी देवीद्वारा बनाइएको पेन्टिङ आज पनि मानिसको ध्यान केन्द्रित गर्दै आएको छ । तर, मिथिला/मैथिलीमा उनी पद्श्री सम्मान पाउनुअघि हराएकै थिइन, पुरस्कार पाएपछि पनि उनको प्रचार छैनन, देखिदैनन् । १० हजार भन्दा बढी पेन्टिङ बनाईसक्दा पनि उनलाई नचिन्नु वा मान्यता नदिनु दुर्भाग्यपूर्ण छ ।
‘गुगल सर्ज’ मा पनि दुलारी देवीबारे चर्चा गर्नेहरु अब्राह्मण बढी भेटिन्छन् । उनले पद्श्री पुरस्कार पाएपछि मिडियामा कभरेज हेर्दा पनि अधिकांशमा तिनले नै समाचार लेखेका छन् । मिडियामा खबर लेख्नेहरुमा सुमिता जैसवाल (दैनिक जागरण), अमित मण्डल (अमर उजाला), ऋषिकेष सिंह (नवभारत टाइम्स), एसपी सिन्हा (लोकमत न्यूज), अमृता सिंह ‘कौशिक’ (डिएनएन भारत), अमरीश हरदेनिया (फोरवार्ड म्यागेजिन) लगायतका छन् । अंग्रेजी अखबार ‘द इन्डियन एक्सप्रेस’ बाहेक अन्यले दुलारीलाई स्पेस दिएको पाइएन । यो पत्रिकामा यशी र आशिषकुमार झाले फरक एंगल दिएर जे लेखेका छन्, मौलिक छन् । उनले व्यवसायिक पत्रकारिता निर्वाह गरेका छन् । धेरै हिन्दी पत्रिकाहरुमा एक त कभरेज छैन, कभरेज गरेपनि कपी पेस्ट मात्रै छ । स्थलगत रिपोर्टिंगको आभाव देखिएको छ । मैथिली भाषाको अनलाईन पत्रिका होस वा प्रिन्टमा–यो सामग्री तयार पार्दासम्म समाचार छापिएको पाइएन । कसैले भेटाएको भए, लिंक सेयर गरी दिन विनम्र आग्रह छ । मिथिला र मैथिलीको गढ मानिएको दरभंगा र मधुवनीबाट प्रकाशित हुने अखबार र पोर्टलमा दुलारीबारे सामग्री छैन । तर, समस्तीपुरका युवाहरुले संचालन गर्ने ‘समस्तीपुर लाईभ’ र ‘पोल्कार्टोपिडिया’ मा दुलारी देवीबारे राम्रो कभरेज छ । युट्युमा पनि दुई चेली तुला गोएन्का र ज्योती श्रीवास्तवले छ/सात वर्षअघि बनाएको भिडियोमा दुलारी देवीलाई हेर्न र सुन्न सकिन्छ ।
यी तथ्यहरुले के देखाउछ भने परम्परावादी चित्र वा ब्राह्मणवादी मानसिकता भन्दा फरकधार समात्दा मैथिली/मिथिलामा वहिष्करणमै परिने रहेछ । दुलारी कचनी शैली (रेखा चित्र) मा महारथ हासिल गर्नु र अब्राह्मण हुनु उनको दोष रहेछ ? पातलो रेखा कोरेर चित्रको आकार दिई रंग भर्ने उनको कुशलताको सम्मिश्रण र मौलिकता ब्राह्मणवादीलाई नपचेको हो कि ? जे होस् उनको चित्रमा अभिव्यक्त प्रेम र समानताको सुन्दर अभिव्यक्ति अजम्बरी छ । दुलारी देवीको सहास र संघर्षलाई सत् सत् नमन गर्नैपर्छ । ‘हरिजनी पेन्टिङ’ र ‘बहुजनी पेन्टिङ’ ले पहिलो चोटी भारतमा सरकारी मान्यता पाएकोमा सर्वजनका लागि खुशीको कुरा पक्कै हो ।
Friday, 15 January 2021
Sunday, 10 January 2021
पत्रकारिताको भाषा सम्पादनमा मैले सिकेको पाठ
करेन्ट लागेर दुई हात्तीको मृत्यु ??..यो आजको गोरखापत्रमा छापिएको छ । समाचारमा चौपायाको ‘मृत्यु’ लेखिन्न, ‘मरे’ लेख्नुपर्छ भनेर भाषाशास्त्रीहरुले सिकाएका थिए । अहिले त ‘बाघको मृत्यु’, ‘गाईको मृत्यु’, ‘हात्तीको मृत्यु’ भनेरै लेखिन थाल्या’छन् । दशकअघि पहाडी जिल्लाका एकजना संवाददाताले ‘अज्ञात रोगले दर्जन चौपायाको मृत्यु’ भनेर लेखेका रहेछन् । उक्त समाचार सम्पादनका क्रममा एक पटक झुक्किर ‘मृत्यु’ नै छापिएर आएपछि संगै समाचार कक्षमा काम गर्ने एक सहकर्मी/भाषाशास्त्रीले झण्डै मेरो सातो नै लिएका थिए । तिनले भनेका थिए, ‘सम्पादनमा गम्भिरता देखाउनुस्, चौपायाको मृत्यु हुन्न भनेर थाहा छैन ?’ मैले जबाफ फर्काएको थिएँ, ‘बाई मिस्टेकली त्यस्तो हुन गयो ।’ त्यसपछि तिनले मेरो कंचट तात्ने गरी भनेका थिए, ‘ तराई–मधेसका साथीहरुको नेपाली भाषा नै कमजोर हुन्छ, त्यही भएर यो त्रुटि भएको प्रमाणित भयो.. ।’ म केही बेर मौन बसें अनि भने, ‘मातृभाषा नेपाली हुनेले उत्तैबाट त्यस्तै पठाएछन् त ? झुक्किएर गयो, के गर्ने ?’ जबाफ आयो, ‘भाषा सम्पादनमा झुक्कियो भनेर कहाँ छुट पाईन्छ ?’ मैले भने, ‘ नेपाली मातृभाषीले त गल्ती गर्दा रहेछन्, म परें ‘अनेपाली’ मातृभाषी, मेरो मातृभाषा मैथिली, स्कूले शिक्षाको माध्यम नेपाली, उच्च शिक्षाको माध्यम अंग्रेजी.....। तर तपाईले जुन मानसिकता मविरुद्ध प्रदर्शन गर्नुभयो, त्यसबाट मेरो चित्त दुख्यो ...। ’ त्यसयता १५ वर्ष भन्दा बढी भयो, तिनलाई मैले आफ्नो भाषा सम्पादनमा प्रश्न चिन्ह खडा गर्ने मौका नै दिएको छैन । बरु तिनले थुप्रैपटक त्रुटिहरु दोहराएका छन् , ती सबै मसंग संग्रहित छन् । नेपाली पत्रकारितामा तिनी जस्ता मानसिकता भएकाहरु अझैपनि धेरै छन् जसले मधेसीहरुको ‘नेपाली भाषा राम्रो हुन्न’ भन्ने पूर्वाग्राही सोच राख्छन् । कुनै व्यक्ति/समुदाय/वर्ग विशेषसंग आग्रह/पूर्वाग्रह राख्नेहरुको खै के पो उपचार छ र ?....आज पुस २६ मा गोरखापत्रको पृष्ठ १२ मा छापिएको ‘...हात्तीको मृत्यु’ समाचारले मलाई विगत सम्झाई दिएको छ । अनि भन्न मन लागेको छ– के बाघ माता दुर्गा, गाई माता लक्ष्मी र हात्तीलाई भगवान गणेश मानिने भएर यस्तो लेखिन थाल्या हो ? या मलाई गलत सिकाए या मैले गलत बुझें ?
Saturday, 9 January 2021
Saturday, 2 January 2021
गोरखापत्रमा एउटै समाचार उही पृष्ठमा दुईपटक प्रकाशित
गोरखापत्रको प्रदेश २ पृष्ठको एउटै समाचार एउटै पृष्ठमा दुई पटक छापिएको छ । ‘१७ वर्षदेखि फरार अभियुक्त कारागार चलान’ शीर्षकमा रहेको सप्तरीको समाचार पहिले एक कलममा र यो समाचारसंगै जोडिएको ‘फरार अभियुक्त कारागार चलान’ मा फेरी तीन कलमलाई दुई कलम बनाएर प्रकाशित गरिएको छ । एउटै पृष्टमा दोहराएर एउटै समाचार छापिनु गम्भिर त्रुटि हो ।
‘छोराको आशमा गर्भपतन गराउने प्रवृति’
गोरखापत्रमा २०७७ पुस १८ पृ.९ मा प्रकाशित यो समाचारले डर लाग्दो संकेत गरेको छ । यसले छोराछोरीमाथि विभेद अझै कायम रहेको पुष्टि हुन्छ । कर्णाली प्रदेशको यो समाचारमा दुई वर्षयता जन्मे बच्चाको संख्यामा छोराको संख्या बढी रहेको उल्लेख छ ।
Subscribe to:
Comments (Atom)












